भर्खरै :

आँखा खुलाइदिने विद्वत्वर्गप्रति आभार !

आँखा खुलाइदिने विद्वत्वर्गप्रति आभार !

म कुनै खास त्यस्तो लेखक पनि होइन र विद्वान् त झन् हुँदै होइन । तैपनि, सामान्य पाठकसम्म भएकोले जानीनजानी यदाकदा लेख्ने गर्छु । भन्छन्, “जान्ने गम्किन्छ नजान्ने चम्किन्छ ¤”
केही वर्षयता ‘मजदुर’ दैनिकमा पनि लेख्दै आएको हुँ । यस क्रममा यसअघि छापिएका थुप्रै लेखका विषयमा ठीक बेठीक छ भनेर कसैबाट पनि प्रतिक्रिया आएन । तर, यही वैशाख १६ गतेको अङ्कमा छापिएको लेखका विषयमा भने निकै कडा टिप्पणीहरू आए ¤ यसबाट मलाई राम्रो कुरा गौण र नराम्रो कुरो प्रकट हुँदो रहेछ ।
पहिलो टिप्पणी वैशाख १७ गते छापिएको ‘सम्यक’को थियो । विश्व इतिहासलाई सान्दर्भिक ढङ्गले प्रस्तुत गरिएको उक्त टिप्पणीजन्य लेखले मलाई निकै प्रभाव पा¥यो । उक्त लेखको एउटा हरफमा, “जङ्गबहादुर राणा आफैँले मामा पर्ने माथवरसिंह थापाको हत्या गरे” लेखिएको रहेछ । ‘मामा पर्ने’ त अरू पनि हुन्छन् तर माथवरसिंह थापा जङ्गबहादुरका साख्खै मामा नै थिए । सोही अङ्कमा छापिएको अनाम पाठकको अर्को टिप्पणी पनि तथ्यपरक र पठनीय लाग्यो । १८ गते छापिएको प्रकाश नेपालको आक्रोश र देशभक्तिपूर्ण टिप्पणी त झन् तर्कपूर्ण र रोमाञ्चक थियो । उक्त लेखमा मेरो नाम ‘इन्द्रबहादुर’ बनाइएको देख्दा लाग्यो, ‘लेख राम्ररी पढ्ने हतारले नाम राम्ररी पढ्नै भ्याउनुभएनछ !’
२० वैशाखमा छापिएको ‘एक नियमित पाठक राम’ को टिप्पणी पनि रोचक र मननीय थियो । यतिमात्र होइन, यस अङ्कमा त मेरै लेखका विषयमा सम्पादकीयसमेत आयो ¤
पत्रिकाका सम्पादक आदरणीय विष्णुगोपाल कुसीसरको मितभाषी, शालीन स्वभाव र सुमधुर–आत्मीय व्यवहारबाट म ज्यादै प्रभावित भएको छु । मेरै कारणले उहाँलाई पर्न गएको ‘सम्पादकीय तनाव’प्रति क्षमा चाहन्छु ।
अब रह्यो, मेरो आफ्नो स्पष्टीकरण । सुरुमै भनेको छु, म कुनै खास त्यस्तो लेखक पनि होइन र विद्वान् त झन् हुँदै होइन । एकजना दार्शनिकले भनेजस्तो, मलाई केही पनि थाहा छैन भन्ने कुरो मात्र थाहा छ । मैले न त ‘भीमसेन थापा र तत्कालीन नेपाल’ भन्ने किताब पढेको छु, न त ‘पारिवारिक षड्यन्त्रका कथाहरू’ नै । (अब ती किताबहरू पढ्ने विचार छ ।) बरु, इतिहासशिरोमणि बाबुराम आचार्यको ‘अब यस्तो कहिल्यै नहोस्’, इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ र चितरञ्जन नेपालीको ‘जङ्गबहादुरको कथा’ पढेको छु । बुझेको छु भन्दिनँ ।
भावनामा बग्ने मेरो बानी छ । धेरैजसो ‘जङ्गबहादुर’ उपन्यासबाट प्रभावित भएर, केही– नयाँ मुलुक फिर्ता ल्याएको तथा जङ्गे पिलर गाडेको कुरा सम्झेर र बाँकी टुक्राटाक्री पढेको आधारमा मैले जङ्गबहादुरप्रति त्यस्तो धारणा बनाएछु ! मेरो बोधो अध्ययन र गलत बुझाइबाट ‘मजदुर’ दैनिकको लोकप्रियता तथा गौरवमय इतिहास र विद्वान् पाठकगणमा पर्न गएको अप्ठ्यारोप्रति क्षमाप्रार्थी छु । साथै आँखा खुलाइदिने विद्वत्वर्गप्रति आभार प्रकट गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *