भर्खरै :

मार्क्सको उथलपुथलपुर्ण जीवन

मार्क्सको उथलपुथलपुर्ण जीवन

सन्दर्भ २०५ औँ कार्ल माक्र्स जन्म दिवस

(प्रस्तुत आलेख कार्ल माक्र्सकी जीवनसाथी जेनी माक्र्सले सन् १८६५ तिर लेखेको आत्मसंस्मरणात्मक लेखको अंशको अनुवाद हो । यो खासमा प्रकाशनको लागि लेखिएको थिएन । त्यसकारण यसमा पात्र र घटनाक्रमको शिलशिलामा केही समस्या छन् । तथापि जेनीको यो संस्मरणको ठुलो महत्व छ किनभने, यसले माक्र्स एक जना घरको पुरुषको रूपमा कस्तो हुनुहुन्थ्यो भन्ने कुरा बुझाउँछ । माक्र्सको परिवारले भोगेका प्रतिकूल समयको यसमा विस्तृत चर्चा छ । यसको शीर्षक हामीले राखेका हौँ । मूल प्रकाशनमा यसको शीर्षक अर्कै छ ।)

सन् १८४३ को जून १९ मेरो विवाह भएको दिन । हामी इबर्नबर्ग हुँदै क्रुजनाचबाट रेन–प्लाज गयौँ । अनि बदेन–बदेन हुँदै क्रुजनाच फर्कियौँ । क्रुजनाचमा हामी सेप्टेम्बर महिनाको पुछारसम्म बस्यौँ । भाइ एडगरसँग आमा ट्रिभस फर्किनुभयो । अक्टोबरमा म पेरिस पुगेँ । त्यहाँ हर्वेग (जर्मनका चर्चित कवि तथा मध्यम वर्गीय पुँजीवादी प्रजातन्त्रवादी, सन् १८१७–१८७५) र उनकी जहानसँग मेरो भेट भयो ।
पेरिसमा कार्ल (माक्र्स) र रुगले ‘जर्मन–फ्रान्सेली अभिलेख’ नामको पत्रिकाको सम्पादन थाले । जुलियस फ्रोबेल पत्रिकाका प्रकाशक थिए । पहिलो अङ्क छापिएपछि नै त्यो पत्रिका धरापमा प¥यो । हामी फाबोर्ग सेन्ट जर्मेनको ¥यु भान्युमा बस्थ्यौँ । त्यहाँ झिना मसिना कुरामा ठुलठुला कुरा र विवाद भइरहन्थ्यो । हाम्री सानी जेनी(ठुली छोरी) को जन्म सन् १८४४ को मे १ का दिन भयो । जेनी जन्मेपछि म पहिलो पटक लाफेटी (ज्याक लाफेटी १७६७–१८४४, फ्रान्सका बैङ्क मालिक र राजनीतिक नेता) को अन्तिम संस्कारको निम्ति घरबाट निस्केकी थिएँ । त्यसको ६ हप्तापछि म हुलाकी गाडीमा मेरी बिरामी छोरी बोकेर ट्रिभस गएकी थिएँ । … सेप्टेम्बरमा म फेरि पेरिस फर्केँ । मसँगै एक जना जर्मन नर्स थिइन् । त्यत्तिबेलासम्म जेनीको चार वटा दाँत पलाइसकेका थिएँ ।
म पेरिसमा नहुँदा कार्ललाई भेट्न फेडरिक एङ्गेल्स आएका रहेछन् । …सन् १८४५ को सुरुतिर एक दिन अचानक प्रहरी कमिसनर हाम्रो डेरामा आए । उनले साथमा गुइजोटले जारी गरेको देश निकालाको सूचना बोकेका थिए । (फ्रान्कोइस पियरे गुइलाउमी गुइजोट, १७८७–१८७४ फ्रान्सका शासक थिए । सन् १८४० देखि सन् १८४८ को फ्रान्सेली क्रान्तिको अवधिसम्म उनी फ्रान्सको आन्तरिक तथा बाह्य नीति कार्यान्वयनको जिम्मेवारीमा थिए ।) पर्सियाली (जर्मन) सरकारको आग्रहमा उनले सो सूचना जारी गरेका थिए । ‘कार्ल माक्र्सले चौबिस घण्टाभित्र पेरिस छोड्नपर्नेछ’, देश निकाला पुर्जीमा लेखिएको थियो । मैले भने चौबिस घण्टामै पेरिस छोड्न परेन । केही समय म त्यहीँ बसेँ । त्यो समयमा मैले हामीसँग भएका फर्निचर र पर्दा बेचेँ । हामीले ज्यादै सस्तोमा ती सामान बेच्नुप¥यो । हामीले जसरी पनि यात्राको लागि खर्च जुटाउनु थियो । हर्वेगले हामीलाई दुई दिन आफ्नो घरमा बस्ने व्यवस्था गरेर सदाशयता देखाए । बिरामी ज्यान र कठ्याङ्ग्रिदो जाडो मौसममा कार्लसँगै हामी बस्रेल्स पुग्यौँ । त्यत्तिबेला फेब्रुअरी महिना लागिसकेको थियो । ब्रेसल्समा हामी बोइस साउभेज होटलमा बस्यौँ । त्यहीँ पहिलो पटक हेनजेन र फ्रेलिग्राथसँग मेरो भेट भयो । मे महिनामा हामी होटलबाट एउटा सानो घरमा बसाइँ स¥यौँ । पोर्ट दु लौभेनबाहिर ¥यु दे एल‘एलाइन्समा डा. ब्रेउरसँग हामीले त्यो घर भाडामा लिएका थियौँ ।
एङ्गेल्स त्यहाँ आइपुग्दा हामीले घरमा सबै कुरा राम्ररी मिलाई पनि सकेका थिएनौँ …केही समयपछि हेस पनि आफ्नी जहानसँगै त्यहाँ आइपुगे । अनि सेबास्टियन सेलर नामका एक जना अर्का जर्मन पनि त्यो जर्मन समूहमा जोडिन आइपुगे । त्यहाँ उनीहरूले सम्पर्क कार्यालय स्थापना गरे र जर्मनहरूको त्यो सानो बस्तीमा खुसीसाथ हामीले दिन बिताउन थाल्यौँ । केही बेल्जियमेलीहरू पनि त्यसमा जोडिए । तीमध्ये एक जना थिए जिगट । केही पोल (पोल्यान्डका बासिन्दा) पनि त्यहाँ समावेश भए । हामी प्रायशः साँझपख जाने आकर्षक क्याफेहरूमध्ये एउटा क्याफेमा मैले बुढा लिलिवेलसँग परिचय गरेकी थिए । उनले त्यत्तिबेला नीलो कमिज लगाएका थिए ।
त्यो सालको गर्मीयाममा एङ्गेल्ससँग मिलेर कार्लले जर्मन दर्शनको आलोचना लेख्न थाले । …जर्मन दर्शनको आलोचना निकै बाक्लो थियो र वेस्टफालियाबाट त्यो पुस्तक प्रकाशित भयो । वसन्तयाममा जोसेफ वेदेमेयर हामीलाई भेट्न आए । हाम्रो घरमा पाहुनाको रूपमा केही दिन बसे पनि । अप्रिल महिनामा मेरी प्यारी आमाले मलाई सघाउन ब्रसेल्समा आफ्नी एक जना भरपर्दो सहयोगी पठाउनुभयो । तिनी सहयोगीसँगै म फेरि एकपटक आमालाई भेट्न गएँ । चौध महिनाकी जेनी मेरो काखमा थिइन् । म माइतीमा ६ हप्ता बसेँ । अनि लाउरा जन्मन दुई साताअघि हामी हाम्रो सानो बस्तीमा फर्कियौँ । लाउराको जन्म सेप्टेम्बर २६ मा भयो ।
भाइ एडगर कामको खोजीमा ब्रसेल्स आएका थिए । उनले हामीसँगै ब्रसेल्समा जाडोयाम बिताए । उनले सेलरको कार्यालयमा काम पाए । पछि सन् १८४६ को वसन्तयाममा हाम्रा प्रिय विल्हेम उल्फ पनि त्यही कार्यालयमा सामेल भए । उनलाई महसुर फ्याउरो उपनाम दिइएको थियो । प्रेस कानुन मिचेको आरोपमा उनलाई सिलेसियाको किल्लामा कैदी बनाइएको थियो । तर, उनी त्यहाँबाट भागेका थिए । त्यसकारण, उनलाई त्यो उपनाम दिइएको थियो । उनी हामीकहाँ आइपुगेको दिनबाट हाम्रा प्रिय फ्याउरोसँग गहिरो मित्रताको सुरुवात भयो । सन् १८६४ को मे महिनामा उनको निधनपछि मात्र हाम्रो सम्बन्ध छुट्यो । …


त्यत्तिबेला क्रान्तिको कालो बादल जताततै मडारिरहेको थियो । बेल्जियमको क्षितिज पनि कालो न कालो थियो । आम जनताको सामाजिक शक्ति मजदुरवर्ग सबभन्दा बढी प्रभावित थियो । प्रहरी, सेना, नागरिक सुरक्षाकर्मी सबैलाई मजदुरवर्गसँग लड्न तम्तयार अवस्थामा राखिएको थियो । उनीहरूलाई कुनै पनि अवस्थामा मजदुरमाथि दमनमा उत्रन तयार राखिएको थियो । परिस्थितिमा विचार गरी जर्मनका मजदुरहरूले पनि आफू सशस्त्र हुनुपर्ने निधो गरे । उनीहरूले छुरा, सानो बन्दुक आदि किनेर ठिक्क पारेका थिए । कार्लले स्वेच्छाले उनीहरूलाई चन्दा दिएका थिए । भर्खरै पुख्र्योली सम्पत्तिबाट उनलाई केही पैसा हात लागेको थियो । तर, राज्यको आँखामा भने मजदुरहरूका यस्ता काम षड्यन्त्र र आपराधिक योजना थियो । माक्र्सले पैसा पाए र त्यसको उनले हतियार किने । त्यसकारण, राज्यलाई जसरी भए पनि उनलाई पन्छाउनु थियो । एक रात ढिला दुई जना मानिस जबरजस्ती हाम्रो घरमा पसे । उनीहरूले कार्ल खोइ भनी सोधे । कार्ल नजिक आउँदा उनीहरूले आफू प्रहरी भएको जानकारी दिए । अनि उनलाई केही प्रश्न सोधे । उनलाई उनीहरूले आफूसँगै लिएर गए । म आत्तिएर उनीहरूकै पछि पछि लागेँ । वरपरका मानिसहरूसँग मैले सहयोगको लागि हारगुहार गरेँ । म रातको अन्धकारमा घर घरै गुहार माग्दै पुगेँ । अचानक मलाई पनि एक जना प्रहरीले समातेर अँध्यारो कारागारमा थुने । कारागारको त्यो कोठामा घर नभएका मगन्ते, आवारा र पतीत आइमाईहरू थुनिएका थिए । त्यो कालो कोठामा म निस्सासिएँ । सुँकसँुक गर्दै म त्यहाँ पस्दा सन्तापमा डुबेकी एक जना बन्दीले आफू बसिरहेको ठाउँमा सँगै बस्न दिइन् । खाट कडा थियो । म त्यसैमा पल्टेँ । बिहान मैले झ्यालबाट फलामे बारबाहिर दुब्ला पातला शोकमा डुबेजस्ता अनुहारहरू देखेँ । झ्यालबाट नियाल्दा मैले हाम्रा पुराना असल मित्र जिगटलाई देखेँ । उनले मलाई देखेपछि आँखाले तल्तिर फेर्न सङ्केत गरे । उनले सङ्केत गरेको दिशातिर हेर्दा कार्ललाई सिपाहीँहरूले लाँदै गरेको देखेँ । एक घण्टा पछि मलाई पनि सोधपुछ कक्षमा लिएर गए । मलाई दुई घण्टा पुछताछ गरे । मेरो मुखबाट उनीहरूले मुस्किलले केही सूचना पाए । सोधपुछपछि सिपाहीँहरूले बग्गीमा राखेर मलाई घर पु¥याए । साँझपख बल्ल मैले मेरा तीन अबोध बच्चालाई अङ्गालोमा बेरेँ । त्यो घटनाले हल्लीखल्ली मच्चायो । सबै अखबारले त्यो घटनाको समाचार सम्प्रेषण गरे । केही समयपछि कार्ल पनि रिहा भए र उनलाई तत्कालै बेल्जियम छोड्न आदेश दिइयो ।
कार्लले त्यसअघि नै पेरिस फर्किने मनस्थिति बनाइसकेका थिए । लुइस फिलिपको आदेशमा आफूविरुद्ध जारी भएको देश निकालाको सूचना खारेज गर्न फ्रान्सको अन्तरिम सरकारसमक्ष उनले आवेदन दिएका थिए । फ्रान्स सरकारले तत्कालै उनीविरुद्ध देश निकालाको सूचना खारेज ग¥यो । त्यसमा फ्लोकनको हस्ताक्षर थियो । त्यसमा कदरको भाषा प्रयोग गरिएको थियो । यसरी पेरिस सहरको ढोका हाम्रो लागि फेरि खुल्यो । नयाँ क्रान्तिको उदाउँदो सूर्यमुनि बस्नुभन्दा सजिलो हाम्रो लागि के पो हुनसक्थ्यो र ? हामीलाई त्यहाँ जानु थियो, जसरी पनि जानु थियो । हामीसँग भएका सबै सामानको पोको पन्तुरो कस्यौँ । बेच्न मिल्ने सामान बेच्यौँ । तर, चाँदीका थाल र मलाई असाध्यै मन पर्ने लुगा राखिएका बाकस भने ब्रसेल्समै छोड्ने निधो ग¥यौँ । पुस्तक पसले भोगलरको जिम्मामा ती बाकस ब्रसेल्समा छोडिए । भोगलर हामीलाई निकै सहयोग गर्थे । हामी बिदा हुँदा उनले हामीलाई निकै मद्दत गरेका थिए ।
तीन वर्ष बसेर हामी ब्रसेल्सबाट बिदा भयौँ । हामी पेरिस हिँडेको दिन जाडो र धुम्म परेको दिन थियो । केटाकेटीलाई न्यानो बनाउन हामीलाई हम्मेहम्मे भएको थियो । सबभन्दा कान्छो जम्मा एक वर्षको त थियो ।…

मे महिनाको अन्त्यतिर कार्लले नयाँ राइनिङ पत्रिकाको अन्तिम अङ्क निकाले । त्यो पत्रिका रातो रङमा छापिएको थियो । हो, उही विख्यात ‘रातो रङ’मा । पत्रिकाको रूप र विषय दुवै रातो थियो । एङ्गेल्स तत्काल बेदनको विद्रोहमा सामेल भए । त्यहाँ उनी विलिचका सहयोगी थिए । कार्ल केही समयको लागि पेरिस जाने सोचमा थिए । किनभने, उनलाई जर्मनीमा बस्न असम्भव थियो । (कार्ल माक्र्सले सन् १८४५ मा पर्सियाको नागरिकता त्यागेको कारण देखाएर सन् १८४९ को मे महिनामा त्यहाँको सरकारले उनलाई ‘विदेशी’ भन्दै ‘आतिथ्यको नियम उल्लङ्घन गरेको’ अभियोग लगाएको थियो ।) मसहुर फ्याउरो (रेड उल्फ) उनको पछि लागे । तीन जना केटाकेटी साथ लगाएर म मेरो पुरानो गृहनगर हेर्न र प्यारी आमालाई भेट्न बिनजेन हुँदै माइती गएँ । बिनजेनबाट म केही समयको लागि ब्रसेल्स जानुप¥यो । ब्रसेल्समा मैले बन्दकीमा राखेका चाँदीका थाल निखनेर बेच्न मैले त्यहाँ पुग्नुप¥यो । वेदेमेयर र उनकी जहानले मलाई त्यहाँ सत्कार गरे । मेरा सामान बन्दकी राखेको मान्छेसँग कुरा मिलाउन उनीहरूले मलाई मद्दत गरे । यसप्रकार मैले फेरि यात्राको लागि खर्चको जोहो गरेँ ।
कार्ल मसहुर फ्याउरोसँग बादेन–फ्लाज गए र त्यहाँबाट पेरिसतिर हानिए । … सबैतिर क्रान्तिमाथि चर्को दमन भइरहेको थियो । हङ्गेरीको क्रान्ति, बादेन विद्रोह, इटालियाली विद्रोह सबै दबाइयो । हङ्गेरी र बादेनमा विद्रोहीहरूमाथि मुद्दा मामिला व्यापक चलेको थियो । सन् १८४८ को अन्त्यमा अत्यधिक बहुमतका साथ विजयी भएका लुइस नेपोलियनको कार्यकालमा ५० हजार फ्रान्सेलीहरू ‘सात पहाडको सहर’ मा प्रवेश गरे र इटालीमाथि कब्जा जमाए । (सन् १८४९ मा रोमन गणराज्यविरुद्ध फ्रान्सेलीहरूको सशस्त्र हमला । पोपको सत्ता पुनःस्थापना गर्ने लक्ष्यका साथ त्यो विद्रोह भएको थियो ।) विजयको उन्मादमा प्रतिक्रान्तिका नारा नै ‘वार्सालाई सत्ता फर्काऊ’ र ‘विद्रोहीलाई खत्तम गर’ थिए । क्रान्तिको पराजयपछि पुँजीपति र्गले सन्तोषको श्वास फेरे, निम्न पुँजीपतिवर्ग आ–आफ्ना काममा फर्के । उदारपन्थी निम्न भौतिकवादीहरू आफ्ना गोजीमा मुट्ठी कस्दै बसेका थिए । मजदुरहरूमाथि दमन भयो र हत्या गरियो । तरबार र कलम लिएर गरिब र शोषितको शासनको लागि लडेका मानिसहरू विदेश भागे र त्यही एक गाँस खान पैसा कमाउन सकेकोमा सन्तुष्ट थिए ।
पेरिसमा कार्लले क्लव तथा गोप्य मजदुर सङ्गठनका नेताहरूलाई सम्पर्क गरे । सन् १८४९ को जुलाइमा म उनलाई साथ दिन पेरिस पुगेँ । त्यहाँ हामी एक महिना बस्यौँ । तर, त्यहाँ पनि हामीलाई सन्तोष र शान्तिका साथ बस्न दिइएन । एक दिन चिनेजानेकै एक जना प्रहरी अधिकारी आएर हामीलाई भने,“कार्ल माक्र्स र उनकी जहानले चौबिस घण्टाभित्र पेरिस छोड्नुप¥यो ।” सदाशयतावश उनै प्रहरी अधिकारीले मोर्बिहानको भेनासस्थित आफ्नो घरमा हामीलाई शरण दिए ।
निःसन्देह कार्लले त्यस्तो निर्वासन स्वीकार गरेनन् । मैले मेरा सबै सरसामान र मालताल पोको पारेर लण्डनमा टाउको छोप्ने छाना खोज्न जाने निधो गरेँ । म भन्दा अघि कार्ल त्यता लागिसकेका थिए । उनको लण्डनमा ब्लाइन्ड (कार्ल ब्लाइन्ड, १८२६–१९०७, सन् १८४८–४९ मा बादेन क्रान्तिकारी आन्दोलनमा भाग लिएका जर्मनी प्रचारक । सन् १८५० दशकमा उनी लण्डनको जर्मनी आप्रवासीहरूका नेता)सँग निकटको सम्बन्ध थियो । जर्मनीका सर्वहारा कवि तथा प्रचारक, कम्युनिस्ट लिगका सदस्य तथा माक्र्स र एङ्गेल्सका मित्र जर्ज वेर्थ (१८२२–१८५६) पनि पछि लण्डन आए । म लण्डन पुग्दा मैले सुरुमा उनलाई नै भेटेको थिएँ । तिनताक म बिरामी थिएँ । स–साना तीन जना कलिला बालबच्चा बोकेर त्यहाँ पुग्दा म थकानले चुर भइसकेकी थिएँ । उनले मेरो लागि एक जना सूचीकारको लिचेस्टर चोकस्थित एउटा आवासीय घरमा बस्ने व्यवस्था मिलाए । हामीले हतारमै चेल्सीमा एउटा ठुलो घर खोज्यौँ । किनभने, मेरो शिरमाथि शान्त छाना चाहिने समय नजिकिँदै थियो । नोभेम्बर ५ (बेलायतमा त्यो दिन वर्सेनि ‘बारुद दिवस’ मनाउने चलन छ) को दिन मानिसहरू बाहिर ‘सधैँको लागि गे फौक्स’ भनेर चिच्याइरहेको बेला अनुहारमा सानो मुखुण्डो लगाएका केटाहरू झकिझकाउ गडा चढेर आइरहेका थिए । अनि सबै जना चर्को हल्ला गरिरहेका थिए । त्यही समय मेरो सानो हेनरिकको जन्म भयो । हामीले महान् विद्रोही फौक्सको सम्मानमा छोरालाई पनि त्यही नामले बोलाउन थाल्यौँ ।
केही समयपछि बादेनबाट भागेर जिनोआ हुँदै एङ्गेल्स लण्डन आइपुगे ।
दैनिक हजारौँको सङ्ख्यामा आप्रवासी लण्डन आइपुग्थे । उनीहरूमध्ये निकै थोरैको मात्र आफ्नै केही इलम थियो । सबै जनाको अवस्था लगभग दयनीय थियो । सबै जनालाई मद्दतको खाँचो थियो । सबैजना मद्दतकै खोजीमा भौतारिरहेका हुन्थे । परदेश बसाइँको क्रममा यो समय हाम्रो लागि सबभन्दा दुःखद समय थियो । दुःखीलाई मद्दत गर्न आप्रवासी समितिहरू गठन भए । बैठक र भेलाहरू भए । अपिलहरू छापियो । कार्यक्रमहरू आयोजना गरिए । जुलुसका तयारी थालिए । सबै आप्रवासी समूहमा मतान्तरहरू हुन्थे । धेरै समूह क्रमशः विभाजित हुन थाले । अन्ततः एकातिर जर्मन प्रजातन्त्रवादीहरूबिच विभाजन भयो भने अर्कोतिर समाजवादीहरूबिच पनि विभाजन भयो । कम्युनिस्ट श्रमिक जनताबिच पनि प्रस्ट विभाजन देखियो ।
सन् १८४९ को ग्रीष्मयाममा कार्लले लण्डनमा सम्पादन गरेर हेमवर्गमा छापिने गरी एउटा नयाँ पत्रिका प्रकाशनको लागि तयारी थाले । असङ्ख्य कठिनाइ सामना गर्दै सुरुका तीन चार अङ्क प्रकाशन पनि भयो । त्यो पत्रिकाको नाम ‘नयाँ राइनिच पत्रिकाको समीक्षा’ थियो । त्यो पत्रिकाको प्रकाशनमा ठुलो सफलता प्राप्त भयो । तर, त्यसका विक्रेतालाई जर्मन सरकारले किनेको थियो । त्यसकारण पत्रिकाको बिक्री वितरण पक्ष ज्यादै फितलो थियो । त्यसकारण त्यो पत्रिकाको आयु धेरै लामो भएन ।

सन् १८५० को अगस्टमा मलाई सञ्चो थिएन । तैपनि मैले आफ्नो बिरामी बच्चालाई छोडेर कार्लको काकासँग भेटघाट र केही मद्दतको लागि हात फैलाउन होल्यान्ड जाने निधो गरेँ । पाँचौँ सन्तानको सम्भावना र भविष्यको चिन्ताले मलाई निकै सताएको थियो । क्रान्तिले निम्त्याएको प्रतिकूल प्रभावले कार्लको काकालाई गहिरो असर गरेको थियो । उनको आफ्नै व्यापार थियो र उनका छोराहरू पनि थिए । उनी क्रान्तिको विरोधमा थिए । क्रान्तिकारीहरूसँग उनको ठुलो रिस थियो । उनले मलाई केही मद्दत गर्न नसक्ने बताए ।

सन् १८५० को वसन्तमा हामी चेल्सीस्थित घर छोड्न बाध्य भयौँ । मेरो छोरा फौक्स बिरामी थियो । दैनन्दिनका समस्या र अप्ठ्यारोले गर्दा पर्ने चिन्ताले मेरो स्वास्थ्य अवस्था खराब थियो । चौतर्फी समस्या र आसामीले लखेटालखेट गर्न थालेपछि लेसेस्टर चोकको एउटा जर्मन होटलमा एक साता बस्यौँ । तर, हामी त्यहाँ लामो समय बसेनौँ । एक बिहान हाम्रा सम्मानित साहुजीले हामीलाई बिहानको खाना दिन मानेनन् । हामी अर्को बासको खोजी गर्न त्यहाँबाट निस्कियौँ । त्यस्तो अभरको बेला मेरी आमाले दिनुभएको पैसाले हामीलाई जोगाउने गथ्र्यो । एक जना यहुदी तुना व्यापारीको घरमा हामीले दुई वटा कोठा फेला पा¥यौँ । ती दुई कोठामा चार केटाकेटीसहित हामीले बडो कष्ट झेलेर गर्मीयाम काटेका थियौँ ।
त्यही ग्रीष्मयाममा कार्ल र उनका केही निकट साथीहरू आप्रवासीहरूका गतिविधिबाट आफूलाई पूर्णतः अलग भए । अनि कुनै पनि जुलुस र कार्यक्रममा भाग लिएनन् । उनी र उनका साथीहरूले श्रमिक शिक्षा समाज परित्याग गरे । …लण्डनमा लेखेर जीविकोपार्जन गर्ने एङ्गेल्सको प्रयास निरर्थक भयो । उनी मेनचेस्टर गए र त्यहाँ उनका पिताको कपडा कारखानामा निकै कडा सर्त मानेर कारिन्दाको जागिरे भए । हाम्रा सबै साथीहरूले पढाउनेलगायतका काम गरेर पनि आफ्नो पेट पालेका थिए । त्यो साल र त्यसपछिका दुई वर्ष हाम्रो लागि सबभन्दा कष्टकर समय थियो । हामीलाई लगातार गहिरो चिन्ताले सताइरह्यो । सबै किसिमका अभाव र न्यूनतम आवश्यकता पनि पूरा गर्न नसकेको अवस्थाले हामी घेरिएका थियौँ ।
सन् १८५० को अगस्टमा मलाई सञ्चो थिएन । तैपनि मैले आफ्नो बिरामी बच्चालाई छोडेर कार्लको काकासँग भेटघाट र केही मद्दतको लागि हात फैलाउन होल्यान्ड जाने निधो गरेँ । पाँचौँ सन्तानको सम्भावना र भविष्यको चिन्ताले मलाई निकै सताएको थियो । क्रान्तिले निम्त्याएको प्रतिकूल प्रभावले कार्लको काकालाई गहिरो असर गरेको थियो । उनको आफ्नै व्यापार थियो र उनका छोराहरू पनि थिए । उनी क्रान्तिको विरोधमा थिए । क्रान्तिकारीहरूसँग उनको ठुलो रिस थियो । उनले मलाई केही मद्दत गर्न नसक्ने बताए । यद्यपि म आफै अगाडि उभिए पछि उनले मेरो कान्छोको लागि केही उपहार हातमा दिए र मलाई धेरै मद्दत गर्न नसकेकोमा उनले निकै सन्ताप माने । म त्यहाँबाट हिँड्दा मेरो मनोभाव बुढो मान्छेले बुझ्न सकेनन् । म रित्तो हात विस्मात् बोकेर घर फर्केँ । घर पुग्दा मेरो सानो एड्गर बुरुक्कबुरुक्क उफ्रेर म छेउ आयो । उसको अनुहार मायाले खुलेको थियो । सानो फौक्सले आफ्ना साना हात फैलाएर मलाई अँगालोमा बे¥यो । मैले उसको माया धेरै समय अनुभूत गर्न पाइनँ । नोभेम्बर महिनामा त उसको मृत्यु भयो । उसलाई निमोनिया भएको थियो । मेरो दुःख र पीडाको कुनै सीमा थिएन । ऊ नै मैले गुमाएको पहिलो सन्तान थियो । त्यत्तिबेला मलाई भविष्यको गर्भमा कस्ता कस्ता दुःखका दिन छन् भन्ने कुराको कुनै कल्पना थिएन । त्यस्ता दुःख जसका सामू सबै अरू दुःख फितला फितला थिए । छोराको निधनपछि हामी त्यो सानो डेरा छोडेर त्यही बजारको अर्को डेरामा बसाइँ स¥यौँ ।
सन् १८५१ को मार्च २८ मा मेरी छोरी फ्रान्जिस्का जन्मिन् । हामीले उनलाई नर्सको जिम्मा लगायौँ । घरमा अरू बच्चासँगै हामीले उनलाई ती तीन कोठामा हुर्काउन सक्ने अवस्था थिएन ।… सन् १८५१ र १८५२ हाम्रा कठिनभन्दा कठिन वर्षहरू थिए । ती वर्षमा हामीले सबै प्रकारका साना ठुला कठिनाइ, चिन्ता, दुःख र अभाव झेल्यौँ ।
सन् १८५१ को गर्मीयामको सुरुतिर एउटा घटना घट्यो । त्यो घटनाबारे म यहाँ चर्चा गर्न चाहन्नँ । तर, त्यो घटनाले मेरा व्यक्तिगत र अरू पनि चिन्ता बढाउन टेवा पु¥यायो । वसन्तयाममा पर्सियाली सरकारले कार्लका सबै साथीहरूलाई राइन प्रान्तमा सबभन्दा खतरनाक क्रान्तिकारी षड्यन्त्र गरेको आरोपमा मुद्दा चलायो । उनीहरू सबैलाई जेलमा कोचियो । उनीहरूमाथि निकै खराब व्यवहार भयो । सन् १८५२ को अन्त्यसम्म पनि उनीहरूको मुद्दाको कुनै सुनुवाइ भएको थिएन । उनीहरूमाथिको मुद्दा कोलोन कम्युनिस्ट मुद्दाको नामले विख्यात छ । सबै आरोपितले आफूमाथिको आरोप अस्वीकार गरे  । डानिएल्स र ज्याकोबीलाई ३ देखि ५ वर्षको जेल सजाय सुनाइयो ।
माक्र्स एन्ड एङ्गेल्स थु्र द आइज अफ देर कन्टेम्पोरारिजबाट अनुदित
नेपाली अनुवाद : नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *