पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
ललितपुर, २३ वैशाख । विश्व सर्वहारावर्गका महान् गुरु कार्ल हेनरिक माक्र्सको २०५ औँ जन्म दिवसको अवसरमा नेमकिपा ललितपुरको आयोजनामा शुक्रबार ललितपुरमा प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले कामदारवर्गले सुख पाउने सिद्धान्तका प्रतिपादक कार्ल माक्र्स सर्वहारावर्गका महान् गुरु तथा माक्र्स उन्नाइसौँ शताब्दीका विश्व चर्चित व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । माक्र्सले मानव समाजमा दुःखको कारण शोषण भएको पत्ता लगाउनुभएको चर्चा गर्दै उहाँले सर्वहारावर्गको हित गर्ने व्यवस्था समाजवाद हुँदै साम्यवाद पुग्ने बन्दोबस्त हो भन्नुभयो ।
उहाँले माक्र्सले द्वन्द्वात्मक भौतिकवादी दर्शन, अतिरिक्त मूल्यको शिक्षा र वैज्ञानिक समाजवादबारे व्याख्या–विश्लेषण गर्नुभएको बताउनुभयो ।
नेमकिपा सिद्धान्तनिष्ठ र देशभक्त पार्टी भएको उल्लेख गर्दै उहाँले शासक दलहरूले जनताको गरिबीको मौका छोपेर पैसा, सामान, झूटो आश्वासन बाँडेर मत लिने काम गलत भएको बताउनुभयो ।
नेमकिपा बाग्मती प्रदेश समिति सदस्य एनवी श्रेष्ठले माक्र्सवाद मानव समाज र प्रकृतिको विकाससम्बन्धी नियमहरूको अध्ययन गर्ने विज्ञान हो र शोषित तथा उत्पीडितवर्गको नेतृत्वमा हुने क्रान्तिको अध्ययन गर्ने विज्ञान हो ।
उहाँले नेमकिपाका जनप्रतिनिधि निर्वाचित भएको भक्तपुर नगरमा नमुनाको रूपमा शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ, सम्पदा संरक्षण, व्यवस्थित आवास क्षेत्र निर्माण गरी जनपक्षीय कार्य पारदर्शी ढङ्गले गरिरहेको छ भन्नुभयो ।
उक्त कार्यक्रममा नेमकिपा ललितपुरका सचिव नरेश महर्जनले माक्र्सले सर्वहारावर्गलाई आफूले सुख पाउने बाटो देखाउनुभएको बताउँदै समाजवादी क्रान्ति गर्नु नै सर्वहारा वर्गको हितको निम्ति हो भन्नुभयो ।
उहाँले समाजवादी व्यवस्थामा व्यक्तित्व विकासमा समान अवसर हुने, उत्पादनका साधनहरू सामाजिकीकरण हुने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य सुवर्ण शाक्यले समाजवादी व्यवस्थामा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य कवीन्द्र डंगोलले समाजवादी व्यवस्थाले धनी र गरिबबिचको दूरी कम गर्दै लाने र माक्र्सवादी सिद्धान्तको पहिलो प्रयोग सोभियत रुसमा छ भन्नुभयो ।
कोरोना कालमा समाजवादी देश चीन, प्रजग कोरिया र क्युवाले आफ्नो जनतालाई रोगबाट बचाउन सफल भएको उल्लेख गर्दै उहाँले पुँजीवादी देशहरूमा कोरोनाबाट धेरै कामदार जनताको ज्यान गएको बताउनुभयो ।
राजवीर डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा टीकाराम, विज्ञन्द्र, भुइकाजी महर्जनले पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
Leave a Reply