भर्खरै :

विदेशी दलालहरूदेखि सावधान !

विदेशी दलालहरूदेखि सावधान !

हालै सञ्चारमाध्यमले नेपालबाट हरेक दिन करिब तीन हजार नेपाली युवाहरू (विदेशको सेवा र हित गर्न रगत पसिना बगाउन) विदेश गइरहेको समाचार छ । यो देशको लागि दुर्भाग्य र दुःखद समाचार हो । यसरी दैनिक हजारौँ नेपाली युवाहरू विदेसिनु कुनै नौलो कुरा भएन । सरकारी तथ्याङ्कअनुसार विश्वका ११२ देशमा र अरू विभिन्न स्रोतअनुसार १७२ देशमा ७०÷८० लाख हाम्रा नेपाली युवाहरू कामदार भएर पुगिसकेका छन् । उनीहरू रहरले विदेसिएका पक्कै होइनन् । देशमा रोजगारीको अवसर नपाउँदा विदेसिएका हुन् ।
यो नेपाली काङ्ग्रेसका नेता रामशरण महतले आफू अर्थमन्त्री हुँदा संसद्लाई छलेर अर्थ बजेटमार्फत प्रत्येक निर्वाचन क्षेत्रबाट २÷२ सय नेपाली युवाहरूलाई विदेशमा सस्तो ज्यामी, नोकर, दास हुन पठाउने नीतिको परिणाम हो । सामाजिक सञ्जालमा त्यस्तो नारकीय जीवन भोग्नुपरेको र दैनिक ८÷१० जना युवाहरूको लास आइरहेको समाचार सुन्दै छौँ । नेकाका गगन थापाले विदेशमा कामदार पठाउन योग्य नेपाली युवाहरू अझै ६÷७ वर्षको लागि मनग्य भएको बताएका थिए । बहुदलीय प्रजातन्त्र आएपछि सरकारमा गएका आजसम्मका शासक दलहरूले नेपाली युवाहरूलाई रोजगारीका लागि घर खेत बेचेर विदेसिन बाध्य पारेका छन् । त्यसको बिचौलिया र दलाल पनि उनीहरू नै हुन् । त्यसैले, उनीहरूलाई विदेशी दलाल भनिएको हो ।
उनीहरूले विदेशीको बुद्धि, सल्लाह, आदेश निर्देशनमा देशको कृषि अर्थतन्त्रमा कृषि विकास गर्नुको साटो, उद्योग कारखाना बढाउनुको सट्टा भएको आत्मनिर्भर कृषि अर्थतन्त्रलाई ध्वस्त बनाइदिए† नेपालले बनाएका, मित्र देशले बनाइदिएका उद्योग, कारखानाहरू पनि ध्वस्त बनाइदिए† देशका सबै कृषि, उद्योग र कारखानाहरू विदेशीको पाउमा चढाइदिए र देशको कृषि, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी सबै परनिर्भर बनाइदिए । उनीहरूले देश र जनताको निःस्वार्थ सेवाको लागि नभई दलको सिद्धान्त, विचारलाई नै पद, सत्ता र सुविधासँग साटेका छन् । उनीहरूले यसको लागि कुकुरझगडा गरिरहेका छन् । उनीहरूलाई विदेशीले खेलाइरहेका छन् । उनीहरू विदेशीका गोटी भएका छन् । उनीहरूलाई देश र जनताको कुनै सरोकार छैन, मतलब छैन । उनीहरू कसैले आजसम्म देशघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, लगानी बोर्ड, विदेशी थिचोमिचोको विरोध गरेका छैनन् ।
मुखले सार्वभौम, स्वाधीन देश नेपालको दल, नेता, नागरिक भन्न नथाक्ने, मातृभूमिको रक्षाको लागि छातीमा गोली थाप्न तयार छौँ भन्न नथाक्ने शासक नेताहरूले नेपाली युवाहरूलाई विदेशको लागि ज्यान दिने भाडाको सिपाहीँ भर्ना गर्ने गोर्खा भर्ती केन्द्र खारेज त के विरोधसम्म गर्ने आँट गरेका छैनन् । हाम्रा नेपाली युवाहरूले केही सय, हजार डलर तलब सुविधा पाउलान् । उनीहरूले वीर गोर्खाली भनेर हाम्रा युवाहरूलाई आँखा चिम्लेर लगेको पक्कै होइन । उनीहरूलाई सेनापति बनाउन, मालिक बनाउन लिएको होइन । उनीहरू जोखिम र खतरनाक काममा लगाउन लगेका हुन् । उनीहरू जोखिम ठाउँमा आफ्नो देश, जनता र सेनाको सुरक्षार्थ खटाउने हुन् । दुई देशबिचको लडाइँमा आफूले भनेजस्तो नबस्ने, आदेश नमान्ने कमजोर देशमाथि अत्याचारपूर्ण आक्रमण गर्न, साम्राज्य फैलाउन, उपनिवेश जमाउन, आफ्नो अधीनमा राख्न युवाहरूलाई अग्रपङ्क्तिमा राखेर भिड्न पठाउने हुन् ।
सन् १९१४ को प्रथम विश्वयुद्ध र सन् १९४५ को दोस्रो विश्वयुद्धमा बेलायत अमेरिकालगायतका साम्राज्यवादी देशहरूले सोभियतलगायत युरोपेली देशहरू, ल्याटिन अमेरिका, अफ्रिका, एसियामा गोर्खाली नेपाली युवाहरू प्रयोग गरेका थिए । भारतले यस्तै चीनसँगको सन् १९६२ को युद्धमा नेपाली युवाहरूलाई प्रयोग गरेको थियो । हाम्रो अगाडि फोकलैण्ड युद्धको इतिहास साछी छ । अर्जेन्टिनाको आफ्नो भूभाग फोकलैण्ड टापु द्वीप फिर्ता लिन खोज्दा बेलायती साम्राज्यवादले यी नै भाडाका सिपाहीँ नामले चर्चित गोर्खा भर्ती केन्द्रका नेपाली युवाहरूलाई नै अग्रपङ्क्तिमा लड्न पठाएको थियो । अर्जेन्टिनी जनताले नेपाललाई बेलायती साम्राज्यवादका दलाल भनी विरोध गर्दै आएका छन् । भोलि उनीहरूलाई भारत, बेलायत र अमेरिकाले हाम्रो र एसियाली देशहरूको विरुद्धमा प्रयोग गरेमा कुनै आश्चर्य हुनेछैन । यो भर्ती केन्द्र बन्द गर्न हिजोदेखि देशभक्त नेपाली जनताले माग गर्दै आएका थिए । सचेत जनताले त्यसको विरुद्ध आवाज बुलन्द गर्दै आएका थिए तर आजसम्मका कुनै सरकारले त्यो बन्द गर्न आँट गरेका छैनन् ।
यी शासकहरूले आफू जन्मे, हुर्केको देश आफ्नै बाहुबल र पौरखले बनाउँछु भन्न सकेका छैनन् । उनीहरूले देश बनाउन रगत पसिना नेपाली माटोमा बगाइन्छ तर विदेशीसँग हात थापिन्न, विदेशीसँग झुकिन्न भन्न सकेका छैनन् । प्राकृतिक स्रोत र साधनले धनी देशका शासक नेताहरूले सुनको कचौरा थपेर विदेशीसँग देश विकासको नाउँमा सहयोग मागी हिँडेका छन् । विगतमा नेपाली काङ्ग्रेसका मन्त्री भएका गगन थापाले अमेरिकी साम्राज्यवादसँग पचास करोड डलर विकासको नाममा मागेर देशघाती एमसीसी अनुमोदन गरिसकेका छन् । उही बेला उनैले त्यस्तै चीन र भारतसँग पनि सहयोग मागौँ भनेको देशभक्त नेपाली जनताले बिर्सेका छैनन् । त्यस्ता नेताहरू दल र सरकारमा रहेसम्म देश आफ्नो खुट्टामा उभिने छैन । उनीहरू हाम्रो सुन्दर र स्वाधीन देश बनाउने पुर्खाहरूलाई बिर्सन्छन्† हाम्रा वीर योद्धाहरूलाई बिर्सन्छन् । सायद विदेशीहरूको ह्विस्की, वियर, डलर लोभ आदिमा उनीहरू अन्धो हुन्छन् । यदि यसो नहुँदो हो त नेपाल र नेपालीको हालत र जीवनस्तर आज यस्तो हुने थिएन ।
दक्षिण अफ्रिकाका विश्व चर्चित स्वतन्त्रता सेनानी एवम् रङ्गभेदविरोधी नेता नेल्सन मण्डेलाले यदि कुनै देशमाथि आक्रमण गर्नु छ, हातमा लिनु छ, ध्वस्त बनाउनु छ भने धनजनको क्षति हुने गरी लडाइँ गर्नुपर्दैन† त्यस देशको शिक्षालाई विभिन्न विकासको नाममा हातमा लिए पुग्छ भनेका थिए । त्यस देशको शिक्षा नीति भनेको देशको स्नायु केन्द्र हो† आँखा हो । नेपालमा अमेरिका, बेलायतलगायतका युरोपेली देश, भारतले यो हतियार प्रयोग गरिरहेको नेपाली जनताले अनुभव गरिरहेका छन् । सरकारहरूले नेपालको विकासको लागि होइन विदेशीको लागि सस्तो ज्यामी उत्पादन गर्दै छन् । देशमा दलालहरूले शिक्षालगायत सबै क्षेत्रमा नवउदारवाद भित्याइरहेका छन् ।
देशमा समाजवादको प्रभाव बढ्दै गएकोले शासकहरूले साम्राज्यवादी र विस्तारवादी देशसँग सहयोग मागिरहेका छन् । ७०÷८० लाख नेपाली युवाहरू तथा विद्यार्थीहरू विदेश जान बाध्य छन् । नेपालको अधिकांश क्षेत्रका बहुमत युवा र विद्यार्थीहरूमा प्रगतिशील विचार, समाजवादी विचारको प्रभाव थियो । त्यसकारण, शासकहरुलाई सीमा अतिक्रमण, विदेशी थिचोमिचोको विरोध, देशको सार्वभौमिकता, स्वाधीनताको रक्षार्थ आवाज उठाएको मनपर्दैन । देशको शोषक, सामन्तको अन्याय, अत्याचारको विरोधमा उत्रेको, क्याम्पस, संसद्, स्थानीय तहमा प्रगतिशील विचारको बाहुल्यता भएको मनपर्दैन । त्यसैले, देशभक्त बुद्धिजीवी, राजनैतिक विश्लेषक, पत्रकार, लेखकहरूले नेपाललाई सधैँ विदेशी शक्ति राष्ट्रको उठबसमा राख्न नहुने भन्दै आएका छन् । शासक दलका नेताहरूले जबसम्म देशलाई स्वतन्त्रता, आत्मनिर्भरता, स्वाधीनता, सार्वभौमिकता र विकासको लागि विदेशी पञ्जाबाट मुक्त गर्दैन तबसम्म उनीहरू विदेशी दलाल नै हुनेछन् । अतः नेपाली जनताको साथ र सहयोगमा यसको विरुद्धमा लडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *