भर्खरै :

गरौँ दूधको दूध पानीको पानी

नक्कली भुटानी शरणार्थी काण्डसँग गाँसिएका सबैलाई कारबाही होला त ? प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू र गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठज्यू ? कि यो देखावटी नाटकमात्र हो सोध्न मन लागेर दुःख दिएको हुँ । अन्यथा अर्थ नलागोस् । कुनै अपराधी नउम्कियोस् र कुनै निरपराधी पनि नपरोस् । यो सर्वमान्य सिद्धान्त हो । यही हुन्छ अन्ततोगत्वा भन्ने पत्याउँ त ? रामबहादुर थापा (बादल) को नाम बारम्बार अखबारहरूमा आइरहन्छ । यो के हो ? उहाँको छोरा र उहाँका सुरक्षा सल्लाहकार पक्रिसक्नुभएको हो । रामबहादुर थापा (बादल) को नाम आइरहन्छ । तर उहाँ न खण्डन गर्नुहुन्छ न त गर्नुहुन्छ मण्डन ! यो त भएन नि ! यदि बादल चोखो भए उहाँमाथि ठूलो अन्याय भयो । होइन र दोषी भए मुद्दाउपर नै बाक्लो छाया प¥यो । बादल पनि मौन हुनुहुन्छ । किन ? भन्ने प्रश्न उठेको छ । अखबारमा त बादल पत्नी नैनकलाको नामसमेत छापिएको छ । यसरी नाम छापिँदैमा अपराधी भन्नु पनि अन्याय हुन्छ । तसर्थ, रामबहादुर थापा (बादल) को धैर्य पनि तमासाको रहेछ । आफ्नो आचरण एवं सदाचारविरूद्ध जे, जस्तो जति लेखे पनि एक शब्द नबोल्ने । उहाँको मौनता पनि एउटा समाचार बनेको छ । यो के होला ? कोही भन्न सक्दैन । छोरो घरमा छैन । आफ्नो छोरो मात्र नभएको हो र आफ्नो सुरक्षा सल्लाहकारको छोरो पनि घरमा छैन रे । काममा देश बाहिर गएको हो कि लुकेको हो ? केही सङ्केत छैन कतैबाट । बादलजी यो मौन तोड्न मिल्दैन ? सरकार पक्ष के गर्दै छ ? यो मुद्दामा ? कतैबाट केही त आउनुप¥यो ।
कति धेरै ठगी ?
नक्कली भुटानी शरणार्थी प्रकरणको खाता पल्टाउँदा झन्डै नौ सयको हाराहारीमा नाम रहेको छ रे यो मुद्दामा एक अर्ब रूपैयाँभन्दा बढीको ठगी भएको छ रे भन्ने पत्ता लागेको छ, अड्कल गरिएको छ । यो मुद्दाको खोजतलास गर्न लागेको त प्रहरीले कति समय भयो गएको शनिबारसम्म प्रहरीले मुख खोलेको छैन । गएको चैत १२ बाट पक्राउ सुरू गरेको रेकर्ड नै छ । झन्डै दुई महिना हुनलाग्यो । प्रहरीको बढीमा तीन महिनाभित्र सम्बद्ध ठाउँमा प्रतिवेदन बुझाइसक्नुपर्ने कानुनी व्यवस्था रहेछ । नेपाल प्रहरीले यो मुद्दामा ३२ जनाउपर राज्यविरूद्धको अपराध, सङ्गठित अपराध ठगी, किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष रहेछ । ती ३२ जनामा १६ जना फरार छन् रे । १६ जनालाई समाती थुनामा राखी बयान लिई कसुर पत्ता लगाई सार्वजनिक पदमा बसिसकेका विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र बाँकीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि थप अनुसन्धान गर्नुपर्ने भन्दै दुवै निकायमा लेखी पठाउने राय छ । पक्राउ परेका अभियुक्तविरूद्ध कसुर गर्दाको भूमिका र संलग्नता अनि सार्वजनिक जिम्मेदारीको अवस्था हेरेर छुट्टाछुट्टै चार्जसीटसहित बिगो, कैद र जरिवानाको माग दाबी गरिने रहेछ । फरार रहेकाहरूको हकमा पक्राउ परेपछि कानुनबमोजिम हुनेरहेछ ।
अपराधशास्त्र सरल हुँदैन
अस्ति आइतबार पनि भुटानी शरणार्थी काण्डका १६ जना पक्राउ परेका अभियुक्तहरूको पूरा प्रतिवेदन र उनीहरूलाई सम्बद्ध निकायमा बुझाउन सकेन सम्बद्ध निकायले भाउजूको सम्बोधनले को भाउजू ? अनुसन्धानकर्ताहरूले खुट्याउन सकेनन् । तसर्थ, भाउजू पक्राउ परिनन् । भाउजु पक्राउ परेकी भए अर्को लहरो तानिन्थ्यो र अर्को लहरो तानिन्थ्यो । अर्को लहरो तानिँदा अर्को पहिरो थर्कन्थ्यो । तर, यति धेरै मान्छे पालिएका छन् यो काण्डमा मेरो मनले शङ्का गर्न लाग्यो कतै यो मुद्दा पनि ललिता निवासको जग्गा काण्डजस्तो त हुने होइन ? यहाँ नेपालमा ठूला मुद्दा किनारा लाग्दैनन् । वर्षौँसम्म झुन्डिरहन्छन् । अब भाउजू चोखै हुने भइन् हो ? भाउजू को हो नखुट्टिएपछि दाजु पनि नखुट्टिने भए । दाजु भाउजू चोखा रहे भने यो सिङ्गो काण्डको माने नै सिङ्गो रहँदैन । अपराध अपराध नै रहँदैन । पापाचार सदाचार रूपान्तरण हुन जान्छ । थिति झन् विकराल हुनथाल्छ । यी सबै वितण्डाको मूल जरो पत्ता लगाउने हो भने अरू सहायक जराहरू सहजै पत्ता लाग्छन् । फेरि यस्ता अपराधशास्त्र पढेका अपराधीहरूको मनोविज्ञान बुझेका प्रहरी अधिकृतहरू यति धेरै छट्टु हुन्छन् आँ गर्दा अलङ्कार बुझ्छन् । यस्तै कुशल एवं दक्ष प्रहरीको अनुसन्धानबाट नै त हो प्रहरी सङ्गीन अपराधको मूल जरोमा नै पुगेर संसारमा भएको सङ्गीन अपराधका मूल गाँठाहरू पत्ता लाग्ने गरेका अपराधको खोजी सरल रेखागणितबाट मात्र हुँदैन । सबै विधा प्रयोग गर्नुपर्छ । अपराधशास्त्र बहुमुखी हुन्छ ।

भाउजू खोज्न सकिँदैन ?
हाम्रोजस्तो विकासोन्मुख देशमा सक्कली अपराधी पत्ता लगाउन कहाँ सहज हुन्छ र ? आज ५८ दिन पुग्यो क्यार यो मुद्दाको श्री गणेश भएको । तर पनि अझै १६ जना अभियुक्त फरारै छन् । प्रहरीले अवश्य नै सक्दो खोजी गरेकै होला नत्र कहाँ पत्ता लाग्थे र यी समातिएका १६ जना पनि । कम चलाख छन् र यी समातिएकाहरू । एउटा खबर आएको छ यी नैमध्ये एकजनाले त एउटा गोप्य महत्वपूर्ण लिखत प्रहरीको हात झम्टी खोसेर बडो चलाखीसाथ मुखमा हाली चपाएर निलिदिएछन् । त्यो कागतले भाउजूको परिचय पो दिन्थ्यो कि ? अपराधका बिन्दु यस्तै यस्तै कुरामा लुकेका फेला पर्छन् । यो वास्तविकता हाम्रो प्रहरी सेवाका अधिकृतमात्र होइन पुराना प्रायः जवानहरूलाई पनि अवगत छ । अब आउँछ यो गम्भीर अपराध प्रकरण कसरी टुङ्गिन्छ । यसमा राजनीतिले खेल्छ, खेल्दैन । नेपालको राजनीति सर्वथा चोखो छैन । यस्तो बहुमुखी अपराध साङली परेको प्रकरणमा कति धेरै पात्रहरूको स्वार्थ गाँसिएको होला ? त्यो पक्ष पनि बिर्सनु हुँदैन । नेताहरू हो ? यो प्रकरणमा तपाईंहरूको ठूलो अग्नि परीक्षा छ । तपाईं अलिकति पनि इमानदार हुनुभएन भने यो ठूलो काण्ड दूधको दूध पानीको पानी हुनसक्दैन । यसलाई दूधको दूध पानीको पानी गराऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *