भर्खरै :

अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी

अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको प्रकरणमा विस्तृत छानबिन भयो कि भएन ? पूर्वउपप्रधानमन्त्रीहरूसमेत यो प्रकरणमा जोडिएको हुँदा पहरो पनि तानिनु स्वाभाविक हो । प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम कारबाहीको लागि प्रधानमन्त्री जिम्मेवार हुन्छन् । एमालेका अध्यक्ष एवम् पूर्वप्रम केपी ओलीका अनुसार १० वर्षअगाडि सक्रिय रहेको नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहले ४ सय नेपालीलाई त्यसैबेला भुटानी बनाएर अमेरिका पु¥याएको थियो । पूर्वप्रम एवम् नेकाका सभापति शेरबहादुर देउवाले आफ्नी पत्नीको नाम नक्कली भुटानी प्रकरणको आरोपी सूचीमा समावेश नगर्न प्रहरीलाई पाँचपटक फोन गरेको पनि बाहिरियो ।
नक्कली भुटानी शरणार्थीबारे नेपाल प्रहरीको अनुसन्धानलाई सहयोग गर्नु पूर्वप्रमहरूको कर्तव्य हो । पूर्वप्रम ओलीले १० वर्षअघि नै नेपालीलाई भुटानी शरणार्थी बनाइएको बारे प्रहरीलाई प्रमाण बताउनु जरुरी छ । आरजुको नाम सूचीमा समावेश नगर्न देउवाले नेपाल प्रहरीलाई फोन गरेको अभिलेख सुरक्षित नै हुनुपर्छ । पूर्वप्रम देउवाले आफ्नो श्रीमतीलाई जोगाउने होइन नक्कली भुटानी शरणार्थी प्रकरणबारे नेपाल प्रहरीको अनुसन्धानलाई मद्दत गर्नु आवश्यक छ ।
प्रम केपी ओलीको कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको हो । प्रम ओलीपछि यो प्रकरणलाई पूर्वप्रम देउवाले अघि बढाएको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) को निर्णयअनुसार गठन भएको कार्यदलले नक्कली भुटानी शरणार्थीको सूची तयार ग¥यो । यो कार्यदललाई प्रम देउवाको सरकारले अघि बढाएको हो । गृहमन्त्री खाणले नक्कली सूची राखेर सक्कली हटाएको हो । गृहमन्त्री थापाको निर्णयलाई प्रम ओलीले जिम्मेवारी लिनु आवश्यक छ भने गृहमन्त्री खाणको निर्णयलाई प्रम देउवाले जिम्मा लिनु जरुरी हुन्छ । नेपाल प्रहरीले ओली र देउवालगायत सम्बन्धित सबैसँग बयान लिएर अनुसन्धानलाई पूर्ण बनाउनु आवश्यक छ ।
बेलायती प्रम वोरिस जोन्सनले कोभिड महामारीको लकडाउन उल्लङ्घन गरेको हुँदा उनलाई बेलायती प्रहरीले जरिवाना गरेको थियो । फिनल्यान्डको प्रधानमन्त्री सास मोरिनलाई डिस्कोमा लागुपदार्थ पिएको आरोप लाग्यो । विधि विज्ञान प्रयोगशालामा परीक्षण हुँदा उनले हल्का मादक पदार्थ पिएको प्रमाणित भयो । अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कर छलीको आरोप लागेको छ । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचारको आरोपमा भर्खरै तीन वर्ष जेल सजाय सुनाइयो ।
नेपालका पूर्वप्रम दुई जनाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अधिकारीलाई सहयोग गर्ने आँट गर्नु जरुरी छ । पूर्वप्रम ओलीले यो प्रकरणमा केही बोलेका छन् तर पूर्वप्रम देउवाले स्पष्टसँग बोलेका छैनन् । नेपाल प्रहरीले नै यो प्रकरणमा जोडिएका पूर्वप्रमद्वय ओली र देउवा, आरजुलगायतलाई सोधपुछ गरेर अनुसन्धानलाई पूर्ण बनाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *