नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
भक्तपुर नगरको पूर्वी भागमा अवस्थित सूजःमारी आन्दोलन सुरुआत गर्ने थलो हो । यो ऐतिहासिक, शैक्षिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक ठाउँ पनि हो । सूजः भनेको सूर्य वा घाम हो भने मारी भनेको अलि फराकिलो बस्नयोग्य ठाउँ हो । यस ठाउँमा पहिला सूर्यको घाम पर्ने वा पूर्व क्षितिजबाट सूर्य उदाएको देखिने भएकोले यस ठाउँलाई सूजःमारी भनिएको हो । यस ठाउँको नाम हाल सूर्यमढी भएको देखिन्छ । जाडोयाममा पारिलो घाम ताप्नको लागि सूर्योदय भएपछि स्थानीय बासिन्दाहरू यहाँ आउने गर्छन् । बिहानको खाना खानुअगाडि पारिलो घाम तापेर मानिसहरू घर जाने गर्दछन् । दिउँसो पनि ज्येष्ठ नागरिकहरू पाटीमा बसेर घाम ताप्छन् । यसले उनीहरूलाई स्वस्थ रहन मद्दत गरेको छ ।
यो ठाउँ ऐतिहासिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिकरूपले महत्वपूर्ण ठाउँ हो । यसले भक्तपुरका गरिब र अशिक्षित जनतालाई शैक्षिक र राजनीतिकरूपले सचेत, सजग र सङ्गठित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालमा वि.सं. २०२३ सालमा भियतनाममाथि अमेरिकी साम्राज्यवादले गरेको आक्रमणको विरोधमा या भियतनामी जनताको समर्थनमा सर्वप्रथम विरोध जुलुस सुरु भएको ठाउँ हो । यो वि.सं. २०३२ साल अर्थात् सन् १९७५ मा भारतीय विस्तारवादले देशद्रोही लेन्डुप डोर्जेलाई गुलाम बनाएर स्वतन्त्र देश सिक्किमलाई निलेको विरोधमा जुलुस सुरु भएको ठाउँ हो ।
यही सूजःमारी दबुबाट वि.सं. २०३६ पुस २३ गते विद्यार्थीहरूको शैक्षिक माग र आन्दोलनको समर्थन गर्दै विद्यार्थी, किसान, मजदुर, सर्वसाधारण जनता सम्मिलित नेपाल मजदुर किसान पार्टीद्वारा आयोजित जुलुस भएको थियो । जुलुसमाथि पुलिसले निर्मम दमन र हस्तक्षेप गरेको थियो । जुलुसले प्रहरी पुलिसको दमनको सामना गर्दै, प्रहरी घेरा तोड्दै विरोध कार्यक्रम सफल पारेको इतिहास हामी सुन्छौँ । त्यस जुलुसमा पुलिसकुटुवाको आरोपमा त्यसबेलाका अग्रज शिक्षकहरू मोहनप्रसाद प्रजापति, चन्द्रबहादुर उलक, अभिभावक किसान कार्यकर्ता रत्नभक्त किसी, विद्यार्थी पुरूषोतम खाइजू गिरफ्तारमा पर्नुभएको थियो । उहाँहरूले ६ र ७ वर्षसम्म अर्थात् वि.सं. २०४२ सालसम्म मुद्दा खेपिरहनुपरेको थियो ।

यसै ठाउँबाट पाकिस्तानका जुल्फिकर अलि भुट्टो, लिवियाका मुहम्मद गद्दाफी, इराकका सद्दाम हुसेन, युगोस्लाभियाका स्लोवोदान मिलेसोभिच, प्यालेस्टाइनका नेता यास्सेर अराफातजस्ता साम्राज्यवादविरोधी, उपनिवेशवादविरोधी, हस्तक्षेपविरोधी देशभक्त नेताहरूको अमेरिकी साम्राज्यवादीद्वारा गरिएको हत्याको विरोधमा जुलुस भएको थियो । त्यस्तै भियतनाम, अफगानिस्तान, प्यालेस्टाइन, सिरिया, ल्याटिन अमेरिका, अफ्रिकाका साना तथा कमजोर देशमाथि अमेरिकालगायतका साम्राज्यवादीहरूको हस्तक्षेप र आक्रमणको विरोधमा यही थलोबाट जुलुस भएको थियो । यसरी नेमकिपाले राजनीतिक आन्दोलन र सङ्घर्ष गरेर जनतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाबारे सचेत र सजग गरिरहेको जनताले अनुभव गरिरहेका छन् ।
जनताको जनजीविकासँग सम्बन्धित खाद्यान्न, इन्धन आदिको कृत्रिम अभाव, शोषण, छुवाछुत, विभेद अन्यायको विरोध, रासायनिक मल कारखाना खोल्ने, मूल्यवृद्धि, बीउबिजन, सिँचाइको पक्षमा र भ्रष्टाचार आदिको विरोधमा पटकपटक आवाज उठाएको ठाउँ हो । सूजः मारी देश र जनताको निःस्वार्थ सेवाबाट डराएर नेमकिपालाई समूल नष्ट गर्न राज्यद्वारा रचित षड्यन्त्र भक्तपुर काण्ड र त्यसको निहुँमा नेमकिपाका नेता कार्यकर्ता र जनतालाई गरेको निर्मम दमनको विरोधमा सर्वसाधारण जनतालाई सचेत र सङ्गठित गरी जुलुस कार्यक्रम गरेको ठाउँ हो सूजःमारी ।
अत्याचारी, दमनकारी निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्र प्राप्त गर्न नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले २०४६ फागुन ८ गते देशमा आन्दोलन चर्काउन आन्दोलनको शङ्ख बजाएको यहीँ सूजःमारी हो । उक्त विरोध जुलुसको नेतृत्व रवीन्द्र खर्बुजाले गर्नुभएको थियो । जुलुस मूल बजार हुँदै ठाउँ ठाउँमा प्रहरीको अवरोध हटाउँदै जुलुस टौमढीमा पुग्दा पञ्चायती मतियार गुण्डाहरूको निर्देशनमा पुलिसले प्रतिबन्धित डमडम गोली चलाएको थियो । उक्त हानेको डमडम गोली छाती, कन्चट, खुट्टा आदि ठाउँमा लागेर भक्तपुरका कृष्णराम दुवाल, राजकुमार सुवाल, निर्मलकुमार शाक्य र हरिकृष्ण भुजुजस्ता जुझारू क्रान्तिकारी युवा विद्यार्थीहरूले सहादत प्राप्त गर्नुभएको थियो । उहाँहरूको सहादतको समाचारसँगै आन्दोलनको आगो देशभरि फैलियो । देशभरि फैलेको आन्दोलनको आगोले पञ्चायती व्यवस्था खरानी भयो । अतः सूजःमारी ऐतिहासिक, राजनीतिक आन्दोलनको शिक्षा चेतना दिने थलो हो ।
सूजमारी मूर्त अमूर्त सांस्कृतिक सम्पदाले भरिएको ठाउँ हो । यहाँ ढुङ्गा, इँटा, तामा, पितल, सुन, चाँदी, काठ आदिमा कुँडिएका मूर्तिहरू पनि छन् । वाकुपति नारायण, अष्टमातृका, दस अवतार, महादेव, भैरव, गरूड, सरस्वती, न्हेपंस्या द्यो आदि देव देवीहरूका साथै गणेश, नासद्यो र विश्वकर्मा, चैत्य, आदिपद्म विहार यसै ठाउँमा छन् । यो हिन्दू र बौद्ध धर्मालम्बीहरूको सद्भाव र आस्थाको केन्द्र पनि हो भन्दा फरक नपर्ला ।
जनैपूर्णिमादेखि एक सातासम्म सांस्कृतिक झाँकीसहितको घिताङघिसी, हास्य व्यङ्ग्य प्रहसन आदि आनन्दले हेर्न मिल्ने ठाउँ हो । त्यस समयमा टोलकै र विभिन्न ठाउँबाट भैरव, कुमारी, ख्या, कवांचा, जङ्गली, खिचा, फाकन्दली, लुसी, नटुवाचा, म्हेखा, हनुमान, गाइँचा, झ्याउरी, ख्याल आदि प्रदर्शन गर्न ल्याउने र जनताले आनन्दसँग हेर्न मिल्ने महत्वपूर्ण ठाउँ हो । यो क्षेत्र सितलामाजू, सिलु आदिको परम्परागत गीत गाउने सिपालु अग्रजहरू तथा विभिन्न गीत, बाजागाजा र नृत्यका अग्रज गुरूहरू भएको ठाउँ पनि हो ।

यो दीपङ्करको मेला लाग्ने ठाउँ हो । भक्तपुरका बौद्धमार्गीहरूले क्वाठण्डौको प्रसन्नशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोठाको चतुब्र्रह्म महाविहार, थाथुबहि, भुइँख्यको जयकीर्ति महाविहार र कुथुबहिको बौद्ध समकृत विहारबाट दीपङ्कर मूर्तिहरू भेला गराउने ठाउँ हो । यही ठाउँको दक्षिणतिर शाक्यमुनि आदिपद्म विहार (तुँ वहाल) रहेको छ । जुन भक्तपुरको पुरानो र जेठो बौद्ध विहार मानिन्छ । यस ठाउँमा दसैँको दिन जीवित देवता कुमारी विराजमान गर्ने चलन छ । भक्तपुरको प्रसिद्ध पर्व बिस्केट जात्राको क्रममा यहाँ ब्रह्मायणी र महेश्वरीको जात्रा गरिन्छ ।
यो ठाउँलाई सांस्कृतिक आदर निकेतनको रूपमा पनि लिइन्छ । यहाँ वाकुपति नारायण परिसरभित्र, बाहिर सूजमारीका पाटीहरूमा ज्येष्ठ नागरिकहरू दिनभरजसो जीवन बिताउँछन् । ज्येष्ठ नागरिकहरू आफूलाई अनुकूल पाटीमा बसेर आराम गर्छन् र आनन्द लिन्छन्, घाम टाप्छन्, पत्रपत्रिका हेर्छन्, सुख दुःख बाँड्छन् । समाज र देशको बारेमा भलाकुसारी गरेर दिन बिताउँछन् । कहिलेकाहीँ गीत गाउने गर्छन् । कसै कसैले बत्ती काट्नेलगायतका अन्य हलुका काम गर्दछन् । उनीहरू वाकुपति नारायणको परिक्रमा गरेर शारीरिक व्यायाम गर्दछन् । केटाकेटी र बालबच्चाहरू खेल्ने र रमाउने ठाउँ पनि हो यो । समय परिवर्तनसँगै सञ्चारमाध्यमको सुविधाले गर्दा यो हराएर गएको छ । मानिसहरू दबु, भैरव र चैत्य वरिपरि परिक्रमा गरी शारीरिक व्यायाम गर्दछन् । यसले ज्येष्ठ नागरिकहरूलाई स्वस्थ गर्न सहजा बनाउँछ । यसलाई एकप्रकारको मानसिक र शारीरिक प्राकृतिक थेरापि हो भन्दा फरक नपर्ला । यो ठाउँ फराकिलो भएको हुनाले विभिन्न सांस्कृतिक गतिविधिहरू हेर्न पाइन्छ ।
सूजमारी शिक्षाध्यन गर्ने केन्द्र पनि हो । यही सूजमारीको दबु, पाटी, वाकुपति नारायणको सत्तलपाटी आजको वागीश्वरी मा.वि. र कलेजको जन्म थलो हो । वागीश्वरी मावि÷कलेजको योगदानस्वरूप यस क्षेत्रमा आज इन्जिनियर, डाक्टर, नर्स, पाइलट एवम् डिग्री प्राप्त गरेका धेरै कर्णधारहरू जन्मिएका छन् । यही ठाउँबाट देश, समाज बनाउने असल, त्यागी, राजनीतिक कार्यकर्ता तयार भएका छन् ।
यो ठाउँ सामाजिक गतिविधि हुने ठाउँ पनि हो । जनतालाई शैक्षिक र राजनीतिक चेतना दिन अग्रजहरूले वि.सं २०३८ सालमा प्रगति प्रस्तकालय सूजमारीको ठुलो पाटीमा स्थापना गरेका थिए । यस पुस्तकालयले विद्यार्थी र युवाहरूलाई कुलतबाट जोगाउन, जुवा, तास र विकृतिबाट बचाउन पत्रपत्रिका, पुस्तकहरू अध्ययन गराउन विभिन्न शैक्षिक, राजनीतिक, सांस्कृतिक गतिविधिहरू गर्दै आएको छ । कहिले रक्तदान, कहिले स्वास्थ्य शिविर, कहिले आँखा शिविर त कहिले समाजमा मौलाइरहेको विकृति र विसङ्गतिबारे सचेत गराउन, सद्भाव ¥याली, हाजिरीजवाफ, चित्रकला, खेलकुद, साहित्य गोष्ठीजस्ता रचनात्मक कार्यक्रम हुँदै आएको थियो । यहाँ पाटी र पुस्तकालय भएको हुँदा विशेषगरी बिहानपख यस ठाउँ र अन्य विभिन्न टोलका मानिसहरू पत्रपत्रिका पढ्ने, किसान दाजुभाइहरू, ज्येष्ठ नागरिकहरू आएर विभिन्न पत्रपत्रिकाहरू अध्ययन गर्ने, उनीहरूबिच पत्रिकामा आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाका समाचार र लेखहरूबारे छलफल हुन्छ । पाटीमा स्थापित प्रगति पुस्तकालयले टोलका सहयोगी दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा मजदुर, श्रमिक, कान्तिपुर, अन्नपूर्ण, गोरखापत्र, मुना, मधुपर्कलगायतका पत्रपत्रिकाहरू, भक्तपुर नगरपालिकाले सहयोग गरेका आफ्ना प्रकाशनहरू ‘भक्तपुर’ मासिक, ‘पाक्षिक’ (नेपालभाषामा प्रकाशित), अन्य पुस्तकहरू पढ्ने व्यवस्था गर्दै आएको देखिन्छ । नगरका अन्य पाटीहरूमा पनि यस्तै सहयोगी हातहरूको सहयोगमा स्थानीय अग्रजहरूको वाचनालय, पुस्तकालय बनाएको, त्यहाँ पत्रपत्रिका पढिरहेको सबैले देखेकै कुरा हुन् ।
स्थानीय जनताको साथ र सहयोगमा उपभोक्ता समिति बनाई करिब दुई करोड सहयोग जुताएर, श्रमदान गरेर वाकुपतिनारायणको मन्दिरमा छाना र त्यसमा सुनको जलप लगाउने र मन्दिर परिसरको पाटी तथा अन्य निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाले पनि उल्लेखनीय सहयोग गरेको छ । वाकुपति नारायणको छाना लगाउन र त्यसमा सुनको जलप राख्न सहयोग गरेका सहयोगी हातहरूको विवरण, आम्दानी, खर्चको विवरण, इतिहाससम्बन्धी लेखहरू सङ्ग्रहित पुस्तक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक समारोहबिच विमोचन गर्नुभएको थियो ।
सुजमारी मानव सभ्यताको विकास सँगसँगै मानिसको आवश्यकता र मानिसको जीवन सहज बनाउन माटाका भाँडा बनाउने विकास गरेको ठाउँ मानिन्छ । यसको वरपर प्रजापतिहरूको बसोबास छ । हिजो मानिसको दैनिकी जीवन सहज बनाउन, चाँडबाँड, जात्रा, पर्व, धर्म, पूजा–पाठ, भोज आदिमा प्रजापतिहरूले बनाएका माटाका भाँडाहरू प्रयोग गर्दै आएका थिए । समय परवर्तनसँगै प्लास्टिक, आल्मुनियमलगायतका भाँडाहरूको विकास, उत्पादन र प्रयोग हुँदा माटाका भाँडाहरू लोप हुँदै छन् । माटाका भाडाहरू मानिसको आवश्यकताअनुसार बनाउन, विकास गर्न मानिसको युगौँयुगको समय, अनुसन्धान, खोज, ज्ञान, विज्ञान, सीप, अनुभव, मेहनत परेकोमा कुनै शङ्का छैन ।
Leave a Reply