नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
ज्येष्ठ नागरिकहरू सन्तुष्ट : सेवा निःशुल्क
मजदुर संवाददाता
भक्तपुर, १० जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अगुवाइमा लामो समयपछिको अध्ययन, खोजीनीति, छलफल, भेला र अन्तरक्रियापछि जेठ १ गतेदेखि भक्तपुर आदर निकेतन सञ्चालन भएको छ । ०७९ साउन १० गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको सो आदर निकेतनको ०७९/१२/२० गते नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक विशेष समारोहबिच उद्घाटन गर्नुभएको थियो ।
हाल आदर निकेतनमा २ पुरूषसहित ९ जना ज्येष्ठ नागरिकहरू छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त निकेतनमा निकेतन व्यवस्थापन समितिले ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सेवा प्रदान गरिरहेको छ । व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीका अनुसार यही जेठ १५ गते ज्येष्ठ नागरिकहरूको उपस्थितिमा स्वास्थ्य शिविरि सञ्चालन हुनेछ । बिहान १० बजेदेखि सुरू हुने भनिएको उक्त शिविरमा विशेषगरी जनरल, मुटुरोग विशेषज्ञले स्वास्थ्य परीक्षण गर्नेछन् ।
भक्तपुर आदर निकेतन व्यवस्थापन समितिले पहिले निकेतनमा आउने प्रत्येक ज्येष्ठ नागरिकसँग मासिक रू. २५०० उठाउने निर्णय गरको थियो । आदर निकेतन प्रारम्भिक चरणमा रहेको हुँदा व्यवस्थापन समितिले हाललाई निःशुल्क सेवा दिइरहेको छ । हाल समितिले दर्ता शुल्क रू. १०० मात्र लिएर ज्येष्ठ नागरिकहरूको सेवा गरिरहेको छ । समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीका अनुसार उक्त रकम सहकारीको सामाजिक विकास कोषबाट सञ्चालन गरिरहेको हो । सहकारीबाट प्राप्त रू. १५ लाख र पहिले जम्मा भएको रू. १४ लाखबाट आदर निकेतन सञ्चालन भइरहेको छ ।
आदर निकेतनमा ज्येष्ठ नागरिकहरूको हेरचाह, खानपिन र सरसरफाइ गर्न, नुहाउन दुई जना दिदीको व्यवस्था गरिएको छ । सुरक्षाको निम्ति एकजना सुरक्षाकर्मी राखिएको छ । ज्येष्ठ नागरिकहरूलाई चिया र खाजाको व्यवस्था गरिरहेको छ ।
ज्येष्ठ नागरिकहरूमध्ये एक जना अशक्त र आँखा नदेख्ने एक ज्येष्ठ नागरिकलाई घरका आफ्नै छोरा बुहारीहरूले आदर निकेतनमा ल्याउँथे र घरमा लान्थे । आदर निकेतनको यो दिवा सेवा हो । ज्येष्ठ नागरिकहरूको सेवा सुश्रुवा गर्न भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले झन्डै रू. ५० लाख बराबरको आदर निकेतनको भवन बनाएको थियो । भवनलाई आकर्षक बनाउन बगैँचाको व्यवस्था गरिएको छ ।
आदर निकेतनमा सहभागी ७६ वर्षीय ज्येष्ठ नागरिक कृष्णभक्त दुवाल आफू निकेतनमा सरिक हुन पाउँदा आनन्दित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यवस्थापन समितिले गरिरहेको व्यवस्थाप्रति म सन्तुष्ट छु, मलाई कुनै समस्या छैन । यहाँ सहभागी हुन सबभन्दा पहिले मैले नै नाउँ दर्ता गरेको हुँ । सेवा शुल्क २५ सय लिए पनि मलाई फरक पर्दैन ।”
अर्का ७६ वर्षीया मोहनलक्ष्मी प्रजापतिले आराम लिनको लागि यहाँ नै ठीक छ भन्नुभयो । घरमा दिउँसो हेर्ने कोही छैन, यहाँ भए अन्य ज्येष्ठ नागरिकहरू पनि हुन्छन्, कुराकानी गर्न पाइन्छ, मन हलुङ्गो हुने भएकोले आएको उहाँले बताउनुभयो ।
७९ वर्षीया रत्नमाया छुस्याबाग पनि सन्तानहरू आ–आफ्नो काममा जाने हुँदा दिउँसो हेर्ने कोही नभएकोले आदर निकेतनमा आएको बताउनुहुन्छ ।
८८ वर्षीय बुद्धिबहादुर ज्याख्व हिँडडूल गर्न सके पनि अलि अशक्त हुनुहुन्छ । सन्तानहरूकै परामर्शमा आफू आदर निकेतनमा आएको बताउने उहाँ पनि आफूलाई आनन्द भएको बताउनुहुन्छ । “यहाँ हामीलाई कुनै दिक्क भएको छैन । बेलाबखत चउरमा गएर हिँडडूल गर्छु”, उहाँले भन्नुभयो ।
सहभागी ज्येष्ठ नागरिकहरूमध्ये एक जना ज्येष्ठ नागरिक ढक्की बुन्नुहुन्छ । बुढ्यौली जीवन, काठमाडौँ महानगरपालिका र एजिङ नेपालको संयुक्त आयोजनामा बुधबार आयोजित ज्येष्ठ नागरिकद्वारा उत्पादित वस्तुको बजारीकरण तथा मेलामा भक्तपुर आदर निकेतनका सुकुल बुन्न जान्ने र ढक्की बनाउन जान्ने दुई जना ज्येष्ठ नागरिक प्रदर्शनीमा सामेल भएको जानकारी समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले दिनुभयो ।
आदर निकेतनलाई निरन्तरता दिन र सहभागी ज्येष्ठ नागरिकहरूको मन जित्न कुनै पनि समाजसेवी, चन्दादाताहरूले आर्थिक सहयोग प्रदान गर्नुपर्ने देखिन्छ । कुनै दाता या समाजसेवीहरूले आ–आफ्नो जन्मोत्सव या मेलाको अवसरमा सहयोग गर्नुपर्ने देखिन्छ । तर, सहयोगको नाउँमा घरमै पकाएर ल्याएको खाना र खाजालाई समितिले निषेध गरेको छ । निरन्तर खर्च गरिरहनुपर्ने हुँदा आयस्रोत भएन भने आदर निकेतन सञ्चालन राम्रो भए पनि निरन्तरता दिन कठिन हुनेछ । तर भक्तपुर आदर निकेतन शनिबार एक दिन बन्द हुन्छ ।
Leave a Reply