नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
(नेपालमा अहिले धेरै प्रकारका धर्म प्रचारकहरूले अनेक किसिमले फरकफरक नामका धर्म प्रचार गर्दै छन् । ती धर्महरूबारे सानो जानकारीको भरमा आँखा चिम्लेर समर्थन र विरोध गर्ने अन्धविश्वास नहोस् भन्ने उद्देश्यले केही धर्महरूको सरल भाषामा सङ्क्षिप्त परिचय दिने प्रयास गरिएको छ । विश्वमोहन जोशी त्रिविका अवकास प्राप्त इतिहासका प्राध्यापक हुनुहुन्छ । पाठक साथीहरू यसबारे आ–आफ्नो टीका–टिप्पणी गर्न स्वतन्त्र छन् – सं.)
चीनको हुनान प्रान्तमा ई.पू. ६०४ मा लाओ त्सेको जन्म भएको थियो । उसको बाल्यकालको नाम ‘ली’ थियो । पछि उनले ज्ञान कीर्ति प्राप्त गरेपछि लाओ त्सेको नामबाट प्रख्यात भए । लाओको अर्थ पुरानो आचार्य वा वृद्ध गुरु हो । लाओ त्सेले आफ्नो वृद्ध अवस्थामा लाओ–ते–चिङ्ग नामक ग्रन्थ लेखे । जसको अर्थ हो ‘मार्ग तथा सद्गुणको ग्रन्थ’ । यही ग्रन्थको आधारमा चीनमा ई.पू. छैटौँ शताब्दीमा लाओवाद नामको नयाँ धार्मिक सम्प्रदायको निर्माण भयो । लाओको अर्थ उचित मार्ग र बाटो हो । चिन्तनमनन र प्रार्थनाबाट परमात्मा ईश्वरको बारेमा जानकारी लिन सकिन्छ । जीवनको उत्थानको लागि नैतिकताको आवश्यकता पर्दछ । दुःखको मूल कारण लालच हो । सुखका लागि मानिस प्रकृतिको नजिक पुग्नुपर्दछ । मानिसले भोगविलास छाडी पवित्र सरल एवं शान्तिपूर्ण जीवन बिताए मात्र सुखी हुन्छ । क्षमा, प्रेम, धैर्य र शान्तिभन्दा ठुलो शस्त्र अरू कुनै छैन । लाओवादका यी नै सिद्धान्त, आदर्श, उपदेश, जीवन मार्गहरू बताउँदै ई.पू. ५१७ मा लाओ त्सेको मृत्यु भएको मानिन्छ ।
कन्फ्युसियस (ई.पू . ५५१ – ई.पू. ४७९)
ई.पू. छैटौँ शताब्दीमा चीनमै अर्को एक जना सामाजिक एवं धार्मिक सुधारको रूपमा अर्का दार्शनिक देखा परे । तत्कालीन चिनियाँ समाजमा कुंग जु (ऋषि कुंग) भनियो यिनलाई । पछि उनी कन्फ्युसियसको नामबाट प्रख्यात भए । उनको जन्म ई.पू. ५५१ मा चीनको ‘शाङतुङ’ प्रान्तको ‘ल’ नामको सहरमा भएको थियो । उनी ३ वर्ष हुँदा पिताको र १७ वर्षको हुँदा माताको मृत्यु भयो । गरिबीको कारणले गर्दा उनले राम्रोसँग अध्ययन गर्न पाएनन् । तैपनि, उनले जीवनलाई सुखमय र आनन्दित बनाउने बाटोको जानकारी प्राप्त गर्ने तरिका वा बाटोको खोजबिनबारे प्रचार गरे । तत्कालीन चीनमा धर्म र समाजमा व्याप्त कुरीति, दोष, अन्धविश्वास, आडम्बर आदि निवारण गर्न आफ्ना विचारहरू जनसाधारणलाई बुझाउन एउटा विद्यालय नै खोले । उनको जीवनको मुख्य उद्देश्य नै जनसाधारणलाई सुखी बनाउनु थियो । धनी गरिब उचनीच भनी उनी कुनै भेदभाव गर्दैनथे । उनलाई दैविक शक्तिमा कुनै विश्वास थिएन । कर्तव्यपालनबाट नै ज्ञान प्राप्ति हुन्छ । शिक्षाको मूल सिद्धान्त नै सद्व्यवहार हो । इष्र्यालाई त्यागी विनम्रता अपनाउनुपर्दछ । यस्तै यस्तै उनका उपदेशहरू नै उनको आदर्श थियो । “जुन व्यवहार तिमीलाई मनपर्दैन, त्यस्तो व्यवहार अरूलाई नगर्नू ।” ज्ञानी मनुष्यको परिचय नै यो हो कि उसलाई कुन कुराको जानकारी छ, कुन कुराको छैन । यस्तै भनाइहरू कन्फ्युसियसका हुन्थे । उनी जीवित हुँदा उनी र उनका विचारले खासै ख्याति पाएनन् । तर, उनको मृत्युको करिब १०० वर्षपछि मेन्सियस नामको चिनियाँ दार्शनिकले कन्फ्युसियसका विचार, आदर्श र सिद्धान्तहरूलाई लोकप्रिय बनाए । फलस्वरूप तत्कालीन चिनियाँ समाजमा उनी देवतुल्य भए र उनका विचार, आदर्श एवं उपदेशहरूले एउटा धर्मकै रूप लियो !
वैदिक सनातन धर्म र यसका उपदेशहरू
आजभन्दा लगभग ४ हजार वर्षअगाडि इरानको पठार हँुदै भारतको उत्तर पच्छिमबाट आर्यहरूले भारतमा प्रवेश गरे । उनीहरूले बिस्तारै सिन्धु घाँटी र उत्तर पश्चिम भारत, गंगा र उत्तर पूर्वी भारतमा आफ्नो प्रभाव स्थापित गरे । जीवनयापनको दौरानमा उनीहरूले विभिन्न क्रियाकलाप र अनुभवहरूबाट थुप्रै जानकारी एवं ज्ञान हासिल गरे । त्यसैको आधारमा तिनीहरूले आफ्नो जीवनपद्धति अघि बढाए । यसरी धेरै पहिलेदेखि भोग्दै सिक्दै आएको परम्परागत शैलीलाई नै आर्यहरूको वैदिक सनातन धर्म भनियो । वेद शब्दले सत्य विद्या, ईश्वरीय ज्ञान, सर्वज्ञानमय अर्थात् ज्ञान भन्ने अर्थ दिन्छ । सूर्य, गणेश, देवी, महादेव र विष्णुका अतिरिक्त शास्त्रमा उल्लेख गरिएका विभिन्न देवीदेवताहरू सबैलाई एकै ईश्वरका विभिन्न रूप मानी समानभावले पूजा अर्चना र आराधना गर्नेहरूलाई सनातनी भनिन्छ । अर्को शब्दमा पहिलेदेखि चल्दै आएको परम्परालाई क्रमशः अगाडि बढाउँदै लाने प्रक्रियालाई पनि सनातन भनिन्छ । वैदिक सनातन धर्मको सबैभन्दा पुरानो शास्त्र ऋग्वेद हो । यही ऋग्वेदमा आधारित भएकोलै यस धर्मलाई वैदिक धर्म भनियो । यही धर्मलाई हिन्दू धर्म, वैदिक धर्म, आर्य धर्म र सनातन धर्म पनि भनियो । यही परम्परा वा वैदिक युगको सुरुआत आजभन्दा करिब ४ हजार वर्षदेखि १० हजार वर्ष अगाडि सुरु भएको मानिन्छ । यी परम्पराहरू बसाल्न धेरै समय र धेरै ऋषिमुनिहरूको प्रयास महत्वपूर्ण रह्यो । भारत वर्षमा यस धर्मको विशेष प्रभाव रह्यो । बहुदेवप्रति विश्वास गर्ने आर्य जातिको धर्म, परम्परा, प्राचीनतम इतिहास, सामाजिक नियम, सदाचार, दर्शन, कला, संस्कृति, आध्यात्मीक ज्ञान आदिको मूलस्रोतको रूपमा वेदलाई नै मानिन्छ । शिष्यले गुरुबाट सुनेर जानिने भएको वेदलाई श्रुति पनि भनिन्छ । यस धर्मसँग सम्बन्धित कथा पुराणहरूअनुसार सृष्टिकर्ता ब्रह्मबाट वेद निर्माण (रचना) भएको भनिन्छ । त्यस्तै महर्षि वेदव्यास वेदलाई सरलिकृत गर्न चार भागमा विभाजन गरे भनिन्छ ¤ विद्वान्हरूले वैदिककाललाई पूर्व वैदिककाल (ई.पू. १५०० देखि ई.पू. १००० सम्म) र उत्तर वैदिककाल (ई.पू. १००० देखि ई.पू. ५०० सम्म) भनी दुई भागमा विभाजन गरेका छन् । सामान्यतः ऋग्वेदको अवधिलाई पूर्व वैदिककाल र अन्य वेद, उपनिषद्, स्मृति ग्रन्थ, पुराण, ब्राह्मण साहित्यहरू निर्माण भएको अवधिलाई उत्तर वैदिककाल भनिन्छ । सामान्यतः ऋग्वेदमा देवताहरूको स्तुति गरिएको छ । यसले देवताहरूलाई यज्ञमा आह्वान गर्दछ । यसमा ज्ञान विज्ञानको विषय पनि पाइन्छ । यज्ञको समयमा गाइने गाना, ज्ञानयोग, कर्मयोग, भक्तियोग सङ्गीतशास्त्र आदिसँग सामवेद सम्बन्धित छ । गन्धर्वहरूले यसको गाना गाउँदछन् । यजुर्वेदमा यज्ञको असल प्रक्रियाका लागि गद्यात्मक मन्त्रहरू समावेश गरिएका छन् । यसमा यज्ञका नियम र विधानहरू पाइन्छ । साथै कर्मकाण्ड, वैद्यशास्त्र, कृषि आदि विषयहरू यसमा पर्दछन् । शुक्ल यजुर्वेद र कृष्ण यजुर्वेद गरी दुई शाखा यजुर्वेदका छन् । अथर्ववेदमा देवताहरूको स्तुति, जादु, तन्त्रमन्त्र, राक्षस, पिशाचजस्ता भयानक शक्तिको वर्णन चिकित्सा, विज्ञान, अर्थशास्त्र, दर्शन, भूगोल, खगोल, वनस्पति, जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान, राजनीति, देशभक्ति, राष्ट्रियतालगायत धेरै विषयहरू समावेश गरिएका छन् । मुख्यतः व्यापारीवर्गको लागि अथर्ववेद महत्वपूर्ण छ । धेरै शताब्दीसम्म वेदलाई मौखिकरूपमा गुरुले शिष्यलाई सुनाउँदै कण्ठ पार्दै जीवित राखियो । पछिमात्र त्यसको लिखित रूप तयार भयो । वेद, उपनिषद्, स्मृति, पुराणहरू, श्रीमद् भागवतगीता, यज्ञयज्ञादीसम्बन्धी थुप्रै ब्राह्मण साहित्यहरू यस धर्मका महत्वपूर्ण ग्रन्थहरू हुन् । बाराणशी, केदार, बद्री, रामेश्वर, जगन्नाथधाम, प्रयाग, हरिद्वार आदि भारतीय क्षेत्रहरू र नेपालको काठमाडौँको पशुपतिनाथलगायत अन्य धार्मिक स्थलहरू हिन्दू धर्मावलम्बीहरूको लागि पवित्र तीर्थस्थलको रूपमा महत्वपूर्ण छन् । कालान्तरमा यस धर्मका विभिन्न सम्प्रदायहरू भएजस्तै सूर्यदेवलाई मान्ने सौर सम्प्रदाय, गणेशलाई मान्ने गाणपत्य सम्प्रदाय, शक्ति (भगवती) लाई मान्ने शाक्त सम्प्रदाय, विष्णुलाई मान्ने वैष्णव सम्प्रदाय, शिवलाई मान्ने शैव सम्प्रदाय आदि । यी विभिन्न सम्प्रदायहरूका पनि विभिन्न शाखा उपशाखा छन् । हिन्दू धर्मले बहुदेववादलाई स्वीकारे पनि देवताहरूको सङ्ख्या यकिन गर्न गाह्रो छ । कतै १३ देवता, कतै ३३ देवता उल्लेख गरिएको ६ भने कतै ३३३९ उल्लेख गरिएको छ । तर, अचेल सबै हिन्दूहरूले भन्दै सुन्दै आएको ३३ करोड वा ३३ कोटि देवताहरू छन् भनी विश्वास गरिन्छ ।
वैदिक सनातन धर्म वा हिन्दू धर्मले पनि मानिसहरूलाई शिक्षा दिने सन्दर्भमा साँचो बोल्नु, धर्म गर्नु, आमा बाबुलाई देवतुल्य मानी सम्मान गर्नु, गुरु र अतिथिलाई देवतासरह मान्नु, परोपकार गर्नु, अरूलाई दुःख नदिनु, गरिबलाई दान दिनु, शुद्ध सफा हुनु आदि नैतिक एवं सदाचारयुक्त उपदेशहरू दिएको छ । सदाचारी भई ईश्वरमा भक्तिका साथ पुनर्समर्पित भए मुक्ति पाइनेछ भनी भनिएको छ । प्राणीमात्र नभई ब्रह्माण्डकै हित हुने उपयुक्त कर्ममा विशेष जोड दिइएको छ । सदा शान्तिको कामना गरिएको छ । हिन्दू धर्मको महत्वपूर्ण ग्रन्थ ‘श्रीमद् भागवतगिता’ मा भगवान कृष्णले साधुसन्त भलादमी मानिसहरूको रक्षाको लागि, दुष्कार्यहरू नास गर्नको लागि, धर्म स्थापनाको लागि, अन्याय अत्याचार आदि पापको विनासको लागि ईश्वर यस धरतीमा अवतरित हुनेछ भनी भनेका छन् । भगवान विष्णुका दस अवतारसँग सम्बन्धित कथा यही भनाइमा आधारित छ ।
प्रायः माथि उल्लेखित केही धर्म र त्यसका प्रवर्तकहरूका उपदेशहरूले मानवले सदा नैतिक, सदाचारी र सद्गुण तथा मानवतावादी जीवन बिताई ईश्वरमा पूर्ण विश्वास राखी मुक्ति पाउने तथ्यलाई नै विशेष जोड दिइएको हामी पाउँदछौँ । तिनीहरूले हिंसा, व्यभिचार, असत्य, निर्दयी, शोषक आदि नहुनु, जाँडरक्सी आदि मद्यपान नगर्नु, अन्याय नगर्नु भनेका छन् । यसको मतलब मानव विकासको विभिन्न युगमा दुष्कार्य, दुष्प्रवृत्ति र दुष्टहरू समाजमा रहेकाले नै विभिन्न धर्म र धर्मका प्रवर्तकहरूले यस्ता उपदेशहरू दिनुपरेको तथ्य स्पस्ट हुन्छ । तैपनि, यस धरतीमा आजको युगसम्म सम्पन्नले विपन्नमाथि, बलियोले निर्धाेमाथि, धनीले गरिबमाथि शोषण, दमन र अत्याचार गरी नै रहेको छ । ती दुःखी, गरिबहरू दैविक न्यायको प्रतिक्षामा रहे । तर, मुक्ति पाएनन् । ती सारा उपदेशहरू त शिष्ट, दयालु, परोपकारी सद्भावका मानिसलाई मात्र काम लाग्ने भयो । तर, क्रूर निर्दयी शोषक र उनको प्रवृत्ति रोक्नको लागि यी उपदेशहरू प्रभावकारी भएन ।
Leave a Reply