भर्खरै :

साहित्य र कलाबारे येनान गोष्ठीमा माओ त्सेतुङको प्रवचन महत्वपूर्ण दस्तावेज

साहित्य र कलाबारे येनान गोष्ठीमा माओ त्सेतुङको प्रवचन महत्वपूर्ण दस्तावेज

‘साहित्य र कलाबारे येनान गोष्ठीमा माओ त्सेतुङको प्रवचन’ सन् १९४२ को मे महिनामा प्रकाशित भएको थियो । त्यो ऐतिहासिक दस्ताबेजले चिनियाँ क्रान्तिमा माक्र्सवाद–लेनिनवादको सघन प्रयोगलाई विशिष्ट ढङ्गले देखाएको छ । मे ४ आन्दोलनदेखि सन् १९४२ सम्मको लामो समयावधिमा क्रान्तिकारी साहित्य र कला आन्दोलनको सिद्धान्तका निश्चित कमी कमजोरीलाई त्यसमा आलोचना गरिएको छ । सांस्कृतिक क्षेत्रअन्तर्गत त्यत्तिबेलाको साहित्य र कला क्षेत्रमा विद्यमान विभिन्न अन्योलग्रस्त र गैरसर्वहारावादी विचारबारे त्यो प्रवचनमा प्रस्ट पारिएको छ । लामो समयदेखि बहसमा रहेको र सुल्झिन नसकेका साहित्य र कला क्षेत्रका प्रश्नहरू त्यसमा समाधान गरिएको छ । त्यसमा कला र साहित्य क्षेत्रले जनताको सेवा गर्नुपर्ने कुरा प्रस्ट औँल्याइएको छ । त्यसमा पनि सबभन्दा पहिला मजदुर, किसान र सिपाहीँको सेवा गर्नुपर्ने बताइएको छ । त्यो लक्ष्य हासिल गर्न साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूले सबभन्दा पहिला आफँैलाई वैचारिकरूपमा तयार गर्नुपर्छ । त्यसको निम्ति उनीहरू आफैँ वास्तविक क्रान्तिकारी सङ्घर्षमा दिलोज्यानले होमिनुपर्छ ।
यो दस्तावेजको प्रकाशन हाम्रो देशको साहित्य र कला क्षेत्रको लागि ठूलो क्रान्ति हो । हाम्रो देशको सांस्कृतिक जीवनका सबै क्षेत्रमा यसले ठूलो क्रान्तिको प्रतिनिधित्व गर्छ ।
यो ऐतिहासिक प्रवचनको प्रकाशनअघि चीनको क्रान्तिकारी साहित्य र कला क्षेत्र बाँझो थियो । तथापि, सिर्जनात्मक पद्धतिको दृष्टिकोणबाट क्रान्तिकारी साहित्य र कला मूलतः आलोचनात्मक यथार्थवादको परिधिभित्रै थिए । यो दस्तावेजको प्रकाशनपछि क्रान्तिकारी यथार्थवादको नयाँ युग आरम्भ भएको थियो ।
यो समयावधिमा केही विशिष्ट साहित्यिक कृतिहरूको रचना भएका छन् । जस्तैः ‘कपाल फुलेकी केटी’ (द ह्वाइट हेयर्ड गर्ल), ‘लि यु–साइको गीत’ (द राइम अफ लि यु–साइ), ‘साङकन नदीको सूर्यास्त’ (सनसेट अफ द साङकन रिभर), ‘आँधीबेहरी’ (द हुरिकन) आदि । तर, येनान गोष्ठीको प्रवचनको महत्व त्यसभन्दा पनि निकै उँचो फैलिएको छ । त्यो कृति आजको साहित्य र कलाको निम्ति विशिष्ट मार्गनिर्देशन हो । हामी विकासको समाजवादी चरणमा प्रवेश गर्दा पनि त्यो हाम्रो विशेष मार्गनिर्देशन रहनेछ । जनताको मन जित्ने गरी लेख्ने प्रश्न, कलाको स्तर वृद्धि, साहित्यिक समालोचनाको मापदण्डबारे सही निर्देशन, साहित्य र कलाबारे पुँजीवादी र निम्न पुँजीवादी दृष्टिकोणको सघन आलोचना, साहित्य र कला क्षेत्रका कार्यकर्ताको वैचारिक प्रशिक्षणको प्रश्न र साहित्य र कला क्षेत्रमा संयुक्त मोर्चाका प्रश्न चीनको सन्दर्भमा मात्र उठेका विशेष प्रश्न होइनन् । बरु क्रान्तिकारी र प्रतिक्रान्तिकारी साहित्य र कलाबिच सङ्घर्ष भएका सबै देशको सन्दर्भमा उठेका प्रश्न हुन् । माओ त्सेतुङको प्रवचनमा यी प्रश्नको द्वन्द्वात्मक समाधान दिइएको छ ।
तथ्यले जोसुकै वा जुनसुकै स्थानमा पनि यो प्रवचनमा भनिएजस्तै गरी साहित्य र कला क्षेत्रमा माओ त्सेतुङका शिक्षा र निर्देशन ठीक ढङ्गले बुझे र दृढतापूर्वक व्यवहारमा लागु गरे उनीहरूले आफ्नो काममा गल्ती गर्ने छैनन् र वास्तविक उपलब्धि हासिल गर्नेछन् । तर, ती निर्देशनको अवहेलनाले सिर्जनात्मक कार्यमा पक्कै गल्ती हुनेछ र त्यस्ता कृतिमा कमी कमजोरी हुनेछ । त्यसकारण, सिङ्गो देश यो ऐतिहासिक कृति हामीले साहित्य र कलाबारे हाम्रा कार्य र दृष्टिकोणको समीक्षा गर्न जरुरी छ र त्यसबारे हाम्रो अध्ययनलाई अझ सघन बनाउन आवश्यक छ ।
हाम्रो साहित्य र कला क्षेत्रमा अझै गम्भीर खालका वैचारिक अन्योल रहेको कुरालाई नकार्न सकिन्न । हाम्रो कृतिमा अझै पनि गम्भीर गल्ती र कमजोरी छन् । साहित्यिक क्षेत्रका कार्यकर्ताको वैचारिक अभियानको क्रममा पछिल्लो वर्षमा त्यस्ता केही कमजोरी उजागर भएका छन् । भ्रष्टाचार, अपव्यय र कर्मचारीतन्त्रविरुद्धको आन्दोलनमा पनि यस्ता समस्या सतहमा देखिएका छन् । यस्ता गल्तीका धेरै कारण छन् । तर, मुख्य कारण साहित्य र कलाबारे अध्यक्ष माओका निर्देशनबारे अपुग बुझाइकै कारण त्यसो भएको हो । हामीले खासमा त्यो कुरा नबुझे पनि हामीले त्यो कुरा बुझेका छौँ भन्ठान्यौँ । त्यही भएर हाम्रो कला नीति कार्यान्वयन गर्ने सन्दर्भमा प्रायशः गल्ती वा विचलन हुने गरेको छ । ‘मजदुर, किसान र सिपाहीका लागि’ साहित्य र कलाका सिद्धान्तको दृढतापूर्वक कार्यान्वयनमा हाम्रो असफलता नै यस्ता विचलन र गल्तीका मूल कारण हुन् ।
येनान साहित्य कला गोष्ठीमा दिनुभएको आफ्नो भाषणमा अध्यक्ष माओले ‘कसको सेवा गर्ने’ भन्ने प्रश्न उठाउनुभएको छ । “विभिन्न जापानविरोधी आधारमा साहित्य र कला क्षेत्रमा संलग्न हाम्रा कामरेडहरूले यो समस्याको समाधान गरिसकेको जस्तो देखिन सक्छ”, उहाँले त्यत्तिबेला भन्नुभएको थियो, “तर, खास कुरा त्यो होइन । धेरै हाम्रा कामरेडहरूले अझै प्रस्ट समाधान भेटाउन सकेका छैनन् ।” आज पनि हाम्रा धेरै कामरेडहरूले यो प्रश्नको प्रस्ट समाधान भेटाउन नसकेको भन्न सकिन्छ ।
अर्को प्रश्न “कसरी मजदुर, किसान र सिपाहीको सेवा गर्ने’ भन्ने हो । ‘हाम्रो कृतिको स्तर जनताको मन जित्न सक्ने गरी उकासिनुपर्छ र हाम्रो कृतिको स्तर जनतालाई मनपर्ने कुरामा निर्धारण हुन्छ” भन्ने कुरामा सहमति जनाउँदै ‘जनताको मन जित्ने कुरालाई प्रथम प्राथमिकतामा राख्ने’ सिद्धान्तप्रति हामी सबै मुखले ठीक पार्दै छौँ । तर, हाम्रा कृतिहरू नियाल्दा या त हामीले जनताको मन जित्ने कुरालाई कम प्राथमिकतामा राख्यौँ अथवा त्यसको गलत व्याख्या ग¥यौँ अथवा त्यसलाई व्यर्थको बनायौँ । अथवा, हामीले जनताको मन जित्नु र कलाको स्तर उकास्नुलाई दुई अलगअलग पाटो बनायौँ – “तिमी जनताको मन जित्नतिर लाग, म कलाको स्तर उकास्नेतिर लाग्छु ।” हामीमध्ये कोही त ‘कलाको स्तर उकास्ने’ नाममा पुँजीवादी साहित्य र कलाको पछि तयार भयौँ । यो गल्तीहरूको एउटा सिङ्गो शृङ्खला हो ।


येनानको प्रवचनमा अध्यक्ष माओले पटक–पटक हामीलाई ‘कसको सेवा गर्ने’ भन्ने प्रश्न आधारभूत प्रश्न भएको सजग बनाउनुभएको थियो । यो प्रश्नमा दृढतापूर्वक सही निर्णयमा उभिन र सोहीअनुसार हाम्रो काम गर्न निम्न पुँजीपतिवर्गबाट साहित्य र कला क्षेत्रमा आएका सबै कार्यकर्ताले वैचारिक प्रशिक्षणको प्रक्रिया पार गर्नुपर्छ । साहित्य र कलाबारे यो प्रवचन अहिलेसम्म नपढेका अथवा मनमनमा यो विचारप्रति प्रतिबद्धता व्यक्त नगरेका हामीमध्ये नै कोही भएको कुरा स्वीकार्न सकिन्न । तर, प्रश्न कसले पढ्यो वा पढेन अथवा यसका पाठ कसले घोक्यो वा घोकेन भन्ने कुरा होइन । बरु हामीले यसका निर्देशनलाई आफैले पालना ग¥यौँ वा गरेनौँ भन्ने कुरा महत्वपूर्ण हो ।
अध्यक्ष माओले हामीलाई मजदुर, किसान र सिपाहीँको सेवा गर्ने इमानदार चाहना बोकेका साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूले आफूलाई वास्तविक क्रान्तिकारी सङ्घर्षमा होम्नुपर्ने बताउनुभएको छ । त्यसो गर्दा उनीहरूको वैचारिक र भावनात्मक प्रशिक्षण हुनसक्नेछ । सँगसँगै उनीहरूले माक्र्सवाद–लेनिनवाद र समाजको पनि अध्ययन गर्नुपर्छ । उहाँले अगाडि भन्नुभएको छ, “माक्र्सवाद–लेनिनवाद भनेको जीवन्त माक्र्सवाद लेनिनवाद हो जसलाई हामीले जीवनमा लागु गर्नसक्छौँ । जनताको सङ्घर्षमा लागु गर्नसक्छौँ । हामीले भनेको माक्र्सवाद–लेनिनवाद पुस्तकका ठेलीमा कैद गरिएको माक्र्सवाद–लेनिनवाद होइन ।” त्यसकारण, समस्याको जरा हामीले वास्तविक क्रान्तिकारी सङ्घर्षमा आफूलाई दिलोज्यानले होमिन्छौँ वा होमिदैनौँ भन्नेमा निर्भर छ । आज कसैले पनि वास्तविक क्रान्तिकारी सङ्घर्षमा आफूलाई दिलोज्यानले होमिने विरुद्ध बोल्ने छैन । तथापि, ‘वास्तविक क्रान्तिकारी सङ्घर्षमा आफूलाई होमेकाहरू’ ले पनि त्यो काम ‘दिलोज्यानले’ गरेको नहुन सक्छ । कुनै समयमा र कुनै निश्चित विषयमा त्यो दिलोज्यानले पनि हुनसक्छ । अनि कुनै बेला र कुनै निश्चित विषयमा त्यो दिलोज्यानले नहुन सक्छ । बरु आधा मनले लागेको पनि हुनसक्छ । यस सन्दर्भमा दिलोज्यानले लाग्नु भन्नुको अर्थ के हुनसक्छ ? त्यसको अर्थ हामी निःस्वार्थी हुनुपर्छ । जनता (मजदुर, किसान र सिपाहीँ) को सेवा गर्ने सिद्धान्तमा दृढ हुनुपर्छ । जनताको हानि हुने कुनै पनि कामको हामीले दृढतापूर्वक विरोध गर्नुपर्छ । त्यसमा कुनै पनि सिद्धान्तहीन छुट वा सम्झौता गर्नुहुँदैन । कार्यकर्ताले त्यसरी काम नगर्दासम्म उसले ‘आधा मन’ ले मात्र काम गरेको हामीले भन्नुपर्छ । कुनै कुनै सन्दर्भमा कार्यकर्ता वास्तविक सङ्घर्षमा सहभागी हुनसक्छ । तर, खासमा उसको सहभागिता पर्यवेक्षकको रूपमा मात्र रहन्छ । त्यसरी टुलुटुलु हेरेर बस्ने प्रवृत्ति वैचारिक प्रशिक्षणको निम्ति गम्भीर अवरोध हो ।
यो वास्तविकतालाई मनमा राखौँ–निम्न पुँजीपतिवर्गबाट आएका हाम्रा बहुमत बौद्धिकहरू दिमागी कार्यकर्ता हुन् । पुरानो समाजमा उनीहरूलाई लगातार बेरोजगारीले लघाथ्र्यो । उनीहरूको जीवनमा कुनै स्थायित्व थिएन । उनीहरूको आर्थिक अवस्था खराब थियो । कतिसम्म आर्थिकरूपमा कमजोर भने उनीहरू बेला बेलामा भोकमरीको शिकार बन्थे । यस्तो अवस्थाले निम्न पुँजीपतिवर्गबाट आएका बौद्धिकहरू पुरानो समाजप्रति असन्तुष्ट थिए । त्यसकारण, उनीहरूले क्रान्तिको चाहना राखे ।
निम्न पुँजीपतिवर्गबाट आएका साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूले पनि सधैँको बेरोजगारी र जीवनको अनिश्चय अन्य पेसामा लागेका बुद्धिजीवीहरूको तुलनामा थप खराब नभए पनि यस्तै गएगुज्रेको अवस्था भोग्नुप¥यो । यो परिस्थितिले निम्न पुँजीपतिवर्गबाट आएका साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूको क्रान्तिकारी चरित्रबारे व्याख्या गर्दछ ।
अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *