भर्खरै :

नागरिकता विधेयकविरुद्ध लम्कीमा विरोधसभा

नागरिकता विधेयकविरुद्ध लम्कीमा विरोधसभा

नागरिकता विधेयकले देशको अस्तित्वमा असर पार्ने
कैलाली, २० जेठ । नेपाल मजदुर किसान पार्टी, कैलालीको आयोजनामा राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर बनाइएको भारतीय नक्साविरुद्ध मोतिपुरबाट सुरु भएको विरोध जुलुस लम्कीबजारमा पुगी शनिबार सभा भयो ।
विरोधसभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाले सधँै जनतालाई सजग र सचेत बनाउँदै आइरहेको बताउँदै राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गरेर नेपाललाई अल्पमतमा पारी देश नै गुमाउनुपर्ने अवस्था सृजना गरेको बताउनुभयो ।
उहाँले सरकारले काम गरिखाने बहुसङ्ख्यक जनताको हितमा होइन पुँजीपतिवर्गको हितमा, देशको हितमा होइन विदेशीको हितमा काम गरिरहेको छ भन्नुभयो । सरकारले भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको हितको निम्ति काम गरिरहेको उल्लेख गर्दै उहाँले अब जनताले राष्ट्रको हित गर्ने र राष्ट्र हितविपरीत काम गर्ने पार्टी कुन हो भन्ने बुझ्न आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी र नागरिकता विधेयक देशघाती छ एमसीसीले देश रणभूमि बन्ने छ, नागरिकता विधेयकले देशको अस्तित्वमा असर पार्नेछ ।”
नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले भारतले कपिलवस्तु र लुम्बिनी नयाँ नक्सामा समावेश गर्नु निन्दनीय छ भन्नुभयो । उहाँले राष्ट्रपतिद्वारा नागरिकता विधेयक पास गराउनु नेपाललाई फिजीकरण र सिक्किमीकरण गराउनु हो भन्नुभयो । नागरिकता वास्तविक नेपालीले पाउनुपर्छ तर नेपालीले नागरिकता नपाएको भन्दै नागरिकता विधेयक पास गरी नागरिकता सिनेमाको टिकटझैँ बाँड्न नहुने कुरा उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले प्रचण्ड भारतीय ट्रोजन हर्स साबित भएको कुरा बताउँदै प्रचण्ड मोदीप्रति लम्पसार भएको बताउनुभयो ।
विरोध सभामा नेपाल मजदुर किसान पार्टीका सदस्य ज्योति बडुवालले अहिलेसम्मका शासक दलहरूले देशका नदीनाला र भूभागहरू बेचिरहेको बताउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी बनाउनेहरूलाई कडा कारबाही नहुनु मोदीलाई खुसी पार्न प्रचण्ड भारत गएको त होइन भन्ने प्रश्न देशभक्त जनताले उठाउन थालेका छन् भन्नुभयो ।
नेमकिपा, कैलालीका धनबहादुर थापा मगरले नेपाली काङ्ग्रेस सरकारमा भएको बेला अधिकांश देशघाती सन्धि र सम्झौता भएको बताउनुभयो ।
विरोध सभामा नपाल मजदुर किसान पार्टी कैलाली सचिव गगनबहादुर थापा मगर, नेक्रायुसङ्घ कैलाली सचिव सीताराम पण्डित र नेक्राविसङ्घ कैलाली अध्यक्ष हिक्मत भण्डारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *