भर्खरै :

नागरिकता विधेयकको प्रमाणीकरण अक्षम्य अपराध

नागरिकता विधेयकको प्रमाणीकरण अक्षम्य अपराध

वाग्मती प्रदेशको नयाँ गठबन्धन सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गर्दा वर्तमान राजनीतिको परिस्थिति र देशको बदलिँदो स्थितिको विषयमा पनि छलफल गर्नु सान्दर्भिक होला । हरेक नयाँ सरकारको गठनसँगसँगै दिल्ली दरबारमा हाजिर हुने परिपाटी नयाँ होइन ! सधँै हाम्रो देशका शासकहरू दिल्ली पुग्दा नेपाली जनताले के गुमाउने होलान् ? कुन नदी गुमाउने हो ? अर्को कस्तो सन्धि–सम्झौताबाट बाँधिने हो भन्ने डर, पिरले हामी सधँैसधँै सताइएका हुन्छौँ । यो पटकको प्रधानमन्त्रीको भारत भ्रमणमा पनि त्यही दुर्भाग्य भोग्न हामी बाध्य भयौँ ।
विगत ३३–३४ वर्षमा सायद २८–२९ जना प्रधानमन्त्रीहरू हुनुभयो ! उहाँहरू दिल्ली हाजिर भएर हिजोका दिनहरूमा कोसी, गण्डक, महाकाली, कर्णालीजस्ता नदीहरू बुझाएको हामीले देखेकै हौँ । विभिन्न खालका सन्धि–सम्झौताहरूबाट बाँधिएको इतिहासको घाउ आलै छ ! जसले जतिसुकै जेसुकै भनेर छल्न या लुकाउन खोजे तापनि त्यो यथार्थ हामीसमक्ष छ । यतिखेर फेरि हाम्रा प्रधानमन्त्री एयरपोर्टबाट भारत उड्नअगाडि नागरिकताको एउटा उपहार दिल्ली दरबारसमक्ष भेटी चढाएर उहाँ उड्नुभएको घटना नेपाली जनताका निम्ति राष्ट्रिय लज्जाको विषय बन्यो ।
जसले जुनसुकै आवरण दिए तापनि नागरिकता विधेयक देशको हितमा भन्दा पनि भारतको पक्षमा छ । दुई पुस्ता या तीन पुस्तापछि हाम्रो देशले यो देश पाउने हो कि होइन ? हामी नेपालीले नेपाल पाउने हो कि होइन ? त्यो एउटा बडो सोचनीय विषय बनेको छ ।
प्रदेशमा छौँ, नागरिकताको विषय नबोलौँ कसैले भन्छ भने भोलिको सन्तानले तपाईँलाई पनि सराप्नेछ । त्यसकारण, यस विषयमा मौन बस्न मिल्दैन । कुनै पनि देशको सम्प्रभुता नागरिकतामा अडेको हुन्छ । देश केबल भू–भाग होइन, देश सिमाना मात्र पनि होइन । सिमाना कोर्ने भनेको रगतले हो, सिमाना कोर्ने भनेको जनताको इतिहास र जनताको बहादुरी तथा वीरताले हो । जनता नागरिक हुन् । देश नागरिकहरूको हो ।
भारतीय एकाधिकार पुँजी तथा भारतीय विस्तारवादको प्रभावमा परेर नागरिकता विधेयकजस्तो अत्यन्त संवेदनशील कुरामा हाम्रो देशको राष्ट्रपतिबाट हचुवाको भरमा प्रमाणीकरण भयो । यो सदनसमक्ष हामीले जानकारी गराउनै पर्छ कि विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुँदा नेपाल मजदुर किसान पार्टीका हाम्रा नेता प्रेम सुवालसँगै हामी राष्ट्रपति निवास पुगेका थियौँ । नागरिकता विधेयक देशको निम्ति घातक छ, देशको भविष्यसँग खेलबाड नगरौँ भनेर हामीले अनुरोध गरेका थियौँ । देश केही समयको निम्ति भए पनि जोगियो ।
अहिलेको नयाँ राष्ट्रपति ल्याइनुको कारण हामीलाई थाहा थियो, हामीलाई जानकारी थियो । किन यति कमजोर मानिस राष्ट्रपति बनाइन्छ भन्नेबारेमा हामीले चर्चा र बहस सुनेका थियौँ । आज हेर्नुहोस्, स्वास्थ्यको हिसाबले अत्यन्त खराब अवस्थाको राष्ट्रपतिले हात कमाउँदै नागरिकता विधेयकमा प्रमाणीकरण गरे । आफ्नै शासकबाट आज हामी हाम्रै देशमा पराजीत भएका छौँ । तर, एकदिन जरुर यसको बदला नेपाली जनताले लिनेछन् ।
हामी नीति तथा कार्यक्रमको छलफलमा छौँ । ती राष्ट्रिय विषयको अगाडि यो गौण विषय हो । यस्ता नीति तथा कार्यक्रम हाम्रो देश हुञ्जेल हामी जति पनि बनाउँछौँ, जति पनि छलफल गर्छौँ तर देश नरहे के गर्ने ? सिक्किम, फिजी र भुटान त्यति टाढाका देश होइनन्, हामीले ‘नेहरू डक्ट्रिन’ बारे सुनेका छौँ, पढेका छौँ । नेहरू हिमालयसम्म आफ्नो देश दाबी गर्थे । भारतीय प्रधानमन्त्री नेहरूले हिमालयसम्म सिमाना हो भन्दै विवाद, भैm–झगडा गरे । त्यही डोब, बाटोमा भारतीय विस्तारवाद आज पनि हिँड्दै छ । आज त झन् भारतमा मोदी फासीवादको उदय भएको छ । त्यसको निरन्तर हामी प्रतिकार गर्छौँ । एक जना नेपाली देशभक्त जनता बाँकी रहेसम्म देशको अस्तित्व जोगाउनको निम्ति यो देशमा सङ्घर्ष चालु रहनेछ । यस खालका विस्तारवादी, एकाधिकारवादीहरू, साम्राज्यवादी शक्तिहरू संसारमा धेरै देखिए र भोगिए । बेलायत आज कुन कुनामा सीमित छ ? हामीले देखेका छौँ । अफगानिस्तानबाट को भाग्नुपर्यो ? युगोस्लाभियाबाट को भाग्नुपर्यो ? अमेरिकी साम्राज्यवाद कसरी हार मानेर भियतनामबाट भाग्नुप¥यो ? कोरियाबाट कसरी हार मानेर भाग्नुप¥यो ? जनताको लडाइँ, जनताको शक्ति, जनताको प्रतिकारसामु साम्राज्यवादले हार बेहोरेको थियो । आज हामीले जसरी विस्तारवादी शक्तिको हेपाहा, मिचाहा प्रवृत्ति देखिरहेका छौँ । हाम्रो निम्ति त्यो असह्य छ । नेपाली जनताका लागि त्यो स्वीकार्य छैन । जुनसुकै प्रधानमन्त्री, जुनसुकै राष्ट्रपतिले गरेको भए तापनि नागरिकता विधेयकको प्रमाणीकरण देशघात हो । त्यो अक्षम्य अपराध हो । त्यस देशघातको विरोधमा जनताको सङ्घर्ष जारी रहनेछ । नागरिकता विधेयकको विरूद्धमा हाम्रो आन्दोलन, हाम्रो सङ्घर्ष जारी रहनेछ ।
हिजो हामीले सुस्तामाथि हस्तक्षेप बेहो¥यौँ । सुस्ता, नवलपरासीको त्यो ठूलो भू–भाग सुस्ता मिच्दा विरोध गरेर अगाडि बढ्ने पुस्ता सायद यहाँ उपस्थित हुनुपर्छ । कालापानीको सवालमा बोलेर विद्यार्थी राजनीति गर्दै यहाँसम्म पुग्नुभएका धेरैजना मैले देखेको छु । आज कालापानीलाई किन बिर्सने ? सुस्ता बिर्सेर सत्तामा पुग्ने ? सत्तामा पुग्दैमा सुस्ता बिर्सनै पर्ने ? सत्तामा पुगेपछि कालापानी बिर्सनै पर्ने ? महाकालीको घाउ बिर्सनै पर्ने ? त्यो एक हिसाबले राजनीतिक बेइमानी हुनेछ । यी विषय फेरि पनि चह¥याइरहेको अवस्था छ । यी विषयमा पनि यो सदनले बोल्न आवश्यक छ । यसरी हाम्रो सिमाना मिच्दामिच्दा हामीले देख्यौँ भारतीय मोदी सरकारले आफ्नो सदनको संसद् भवनको केही दिनअघि मात्र उद्घाटन गरेको खबर सुन्यौँ । भारतले ‘अखण्ड भारत’ को नक्सा त्यो भवनमा अङ्कित ग¥यो । ‘अखण्ड भारत’ को इतिहासमा अस्तित्व नै थिएन । त्यसबारे इतिहासका विद्यार्थीहरूलाई थाहा छ । आज नेपालको कपिलवस्तु, नेपालको लुम्बिनी क्षेत्रलाई समेत गाभेर भारतले जुन किसिमको मानचित्र सार्वजनिक ग¥यो त्यो नेपालको सम्प्रभुत्तामाथि हस्तक्षेप हो । आफ्नो सम्प्रभुसत्ताको अभ्यास गर्ने थलोमा जुन किसिमको नक्सा अङ्कित ग¥यो, त्यो एकखालको नेपालमाथिको मिचाहा प्रवृत्ति हो अथवा विस्तारवादी नीतिको सिलसिला हो । त्यसको पनि नेपाल मजदुर किसान पार्टी भत्र्सना गर्दछ । त्यसको विरूद्धमा हाम्रो आन्दोलन र सङ्घर्ष जारी रहनेछ ।
आज हामी यसरी नीति तथा कार्यक्रमको विषयमा छलफल गरिरहँदा देशको अवस्थाबारे हामी बढी चिन्तित छौँ र शासकहरूको देशघातबारे हाम्रो बढी सरोकार छ । यस नीति तथा कार्यक्रममा पनि भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको कुरा आएको छ । ३३ वर्षमा हामीले देख्यौँ । यी ३३ वर्षमा कुन–कुन पार्टीका कुन–कुन नेता, कुन–कुन पार्टीका कुन–कुन मन्त्रीहरू जेलमा कोचिए अथवा जेलमा परे र देशमा कसरी भ्रष्टाचार मौलायो भन्नेबारे ३३–३४ वर्षमा हामीले प्रत्यक्ष भोग्यौँ, देख्यौँ । भ्रष्टाचारबाट प्रदेश पनि अछुतो छैन । प्रदेशका कुनै पनि मन्त्रालय भ्रष्टाचारबाट अछुतो छैन । त्यो हामीले स्वीकार्नै पर्छ । त्यसको विरूद्धमा इमानदारीपूर्वक मन्त्री बन्नेहरूले, मन्त्रीहरूले, मुख्यमन्त्रीले जबसम्म एउटा दृढतापूर्वक अडान लिनु हुन्न एउटा नीति सार्वजनिक गरेर पाइला चाल्नुहुन्न तबसम्म भ्रष्टाचार कम हुनेछैन । खालि गलत आश्वासनमा सीमित हुनेछ । जनतालाई कतिन्जेल ढाँट्ने । भ्रष्टाचार, अनियमितता, कमिसनतन्त्रकै कारण यो देश पछाडि परेको होइन ? ३३ वर्षमा हामीले भोग्यौँ । सबैको मन–मनमा छ, भ्रष्टाचारकै कारण यो देश डुब्यो । राजनीतिक बेइमानीकै कारण यो देश डुब्यो र राजनीति अनैतिकताकै कारण देश डुब्यो । शासकहरूकै कारण, देशको बागडोर सम्हाल्नेहरूकै कारण यो देश पछाडि परेको हो । भ्रष्टाचार देशको डरलाग्दोे क्यान्सर रोगको रूपमा देखाप¥यो । त्यसविरूद्धमा सबै मिलेर अगाडि बढ्नु, सङ्घर्षलाई जारी राख्नु आजको आवश्यकता हो । त्यतिमात्र गर्न सकेको खण्डमा यो नीति तथा कार्यक्रमको सार्थकता रहनेछ । अन्यथा, अरू सबै सयवटा तपाईँ योजना बनाउनुस्् तर भ्रष्टाचार कायमै रहेको खण्डमा कुनै पनि नीति, कुनै पनि कार्यक्रम सफल हुनेछैन ।
त्यसकारण, यो पनि अर्को असफल कार्यक्रम साबित नहोस् ! यो पनि असफल नीति साबित नहोस् ! हाम्रो शुभेच्छा छ ।
(वाग्मती प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम २०८०/८१ को छलफल, जेठ १८ मा प्रदेशसभा सदस्य तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *