भर्खरै :

भारत ‘बेलायती उपनिवेशवादी रोग’ बाट ग्रस्त

भारत ‘बेलायती उपनिवेशवादी रोग’ बाट ग्रस्त

खेलाडी साथीहरू तथा भाइबहिनीहरूलाई खेल जीवनमा अझ बढी उत्कृष्टता हासिल गर्दै अगाडि बढ्न सफलता मिलोस् भन्ने शुभेच्छासहित आज भक्तपुर नगरपालिकाले यो खेलाडी सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको हामी अनुभव गर्दै छौँ । यो बेग्लै प्रकृतिको कायक्रमको लागि भक्तपुर नगरपालिका धन्यवादको पात्र जरुर हो । खेलाडी साथीहरूलाई खेलकुदमार्फत आफ्नो जिम्मेवारी, आफ्नो कर्तव्य र आफ्नो प्रतिभा प्रस्फुटन गर्न सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । खेलकुद क्षेत्रमा हाम्रा नयाँ पुस्तालाई अगाडि बढाउनका निम्ति विभिन्न क्षेत्रको जति भूमिका आवश्यक हुन्छ, त्यति नै अभिभावकहरूको भूमिका पनि आवश्यक हुन्छ ।
केही दिनअगाडि चेस प्रतियोगिताको समापन कार्यक्रममा जाने अवसर मिल्यो । त्यहाँ एउटा दृश्य मैले देखेँ । एकजना भर्खर सात वर्षको बालक चेस प्रतियोगितामा भाग लिएको थियो । चेस प्रतियोगी बालकको आमा–बुबा दुबैको उपस्थिति थियो । त्यति मात्र होइन, भान्जाले चेस प्रतियोगितामा भाग लिएकोमा खुसी व्यक्त गर्दै मामा–माइजूसमेत उपस्थित थिए । त्यसरी विभिन्न निकायबाट प्रोत्साहन दिनुका साथै हाम्रै घरपरिवार, हाम्रै अभिभावक, समुदाय, टोल, छरछिमेकबाट नयाँ पुस्तालाई खेलकुदको क्षेत्रबाट आफ्नो कर्तव्य, भूमिका निर्वाह गर्नलाई एकखालको वातावरण हौसला हामीले दिन सक्यौँ भने खेलकुदमा जरुर योभन्दा पनि अगाडि बढ्न सक्नेछौँ ।
देशमा परिवर्तन आयो भनियो, गणतन्त्र आयो भनियो, सङ्घीयता आयो भनियो, तर यहाँ बन्दोबस्तमा परिवर्तन अभैm आएन । खेलकुद क्षेत्र जति अगाडि बढ्नुपर्ने हो बढ्न सकेन । प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्षमा अरू क्षेत्रमा झैँ खेलकुद क्षेत्रमा पनि राज्यको ध्यान गएन । खेलकुद क्षेत्रलाई डाँवाडोल बनाउने, खेलकुद क्षेत्रलाई भजाइखाने, अराजक ढङ्गमा अगाडि लाने वा बदनाम बनाउने काम भएको हामी सबैलाई थाहा छ । अझ तपाईँहरू भुक्तभोगी हुनुहुन्छ । राज्य जिम्मेवार नबन्दा कमसेकम समुदाय, स्थानीय सरकार, विद्यालय, कलेज, टीम क्लवहरू र विभिन्न सामुदायिक संस्थाहरू र घरपरिवार जिम्मेवार ढङ्गमा वातावरण दिने हिसाबमा हौसला प्रदान गर्दै जान सकेको खण्डमा नयाँ पुस्तामा भएको प्रतिभा जरुर प्रस्फुटित हुनेछ । हामी हरेक खालको प्रतिस्पर्धामा अगाडि बढ्न सक्नेछौँ ।
आज गणतन्त्र दिवस । गणतन्त्र घोषणा सँगसँगै हाम्रो देश सङ्घीयतामा पनि गयो । सङ्घीयता भनेको अधिकारको विकेन्द्रीकरण हो । अधिकारको केन्द्रीकरणको विरोध हो अर्थात् सम्पूर्ण अधिकार बालुवाटार र सिंहदरबारमा मात्र सीमित बनाउनु हुँदैन भन्ने मान्यता हो । अब अधिकारलाई गाउँठाउँ, टोल–बस्ती पु¥याउनुप¥यो । जनतालाई शक्तिशाली बनाउनुप¥यो । कुनै नेता विशेष, मन्त्री, प्रधानमन्त्री मात्र शक्तिशाली होइन, तिनले मात्र सबथोकको निर्णय गर्ने होइन । अब निर्णय गर्ने अधिकार जनताले पाउनुपर्छ भन्ने मान्यता हो । यहाँ मालिक भन्ने हुनुहुँदैन । हिजो सामन्तवादी व्यवस्था, पुँजीवादी व्यवस्थामा जनता मालिक हुन सकेनन्, पाएनन् । त्यहाँ धनीधनाढ्य वा ठालूहरूले शासन गरे । तिनले नै सबै कुराको निर्णय गर्ने परिपाटी थियो । त्यो स्वीकार्य छैन र जनताले आफ्नो भाग्यको निर्णय आफैँले गर्न पाउनुपर्छ भनेर नै गणतन्त्रको स्थापना भएको हो । वास्तवमा गणतन्त्रको अन्तर्य भनेको यही नै हो । तर, अझै पनि घुमाइफिराइ सिंहदरबार, अझै पनि बालुवाटार दरबार र अनेक किसिमका दरबारहरूमा नै अधिकारलाई केन्द्रिकृत गर्ने, विशेषाधिकार दिने काम भइरहेको छ । यो प्रजातान्त्रिक परिपाटी होइन । यो गणतन्त्र पनि होइन । देशमा वास्तविक प्रजातन्त्र र गणतन्त्र अभैm पनि आएको छैन । खेलकुद, स्वास्थ्य, शिक्षाको आँखाबाट हेर्दा अभैm पनि देशमा परिवर्तन नआएको स्पष्ट हुन्छ । बहुसङ्ख्यक मजदुर–किसानको नेतृत्वमा राष्ट्रिय पुँजीपतिवर्गसहितको जनताको प्रजातन्त्र आजको आवश्यकता हो । समाजवादी गणतन्त्रको स्थापनाले मात्र हाम्रा कैयौँ समस्या समाधान हुनेछन् ।
अहिले पनि प्रदेशका दृश्यहरू हेर्दा प्रदेश सरकारले जसरी काम गर्नुपर्ने हो त्यसरी नगरेको प्रस्ट देखिन्छ । जनताको गरिबी, जनताको अभाव, जनताको अस्तव्यस्ततालाई ध्यानमा राखेर जसरी प्रदेश सरकारहरू काममा लाग्नुपर्ने हो, त्यो ढङ्गमा लागिराखेका छैनन् । पदकै झगडामा फसिरहेका छन् । केन्द्रमा भ्रष्टाचार, सिंहदरबारमा भ्रष्टाचार, बालुवाटारमा भ्रष्टाचार, हुँदा–हुँदा प्रदेशहरूमा पनि भ्रष्टाचारै भ्रष्टाचार, अनियमितता, अनुशासनहीनता, अराजकता मौलाउँदो छ । यो बेथितिको अन्त्य आवश्यक छ । आजको गणतन्त्र दिवसमा हामी सबैले यो बेथितिको विरुद्धमा बोल्ने, यो बेथितिको विरुद्धमा सक्रिय हुने अठोट गर्न आवश्यक छ । तब मात्र जनता शक्तिशाली हुनेछन् र देश प्रगतिको बाटोमा हिँड्नेछ । शासकहरूको अत्याचार तथा दमनविरुद्ध जनता नउठी यहाँ परिवर्तन सम्भव हुनेछैन ।
आज दुःखद खबर सुन्यौँ । भारतीय प्रधानमन्त्री मोदीले हिजो नयाँ संसद् भवनको उद्घाटन गरेको खबर सार्वजनिक भयो । त्यो संसद् भवनभित्र एउटा नक्सा रहेछ । त्यो नक्सामा हाम्रो लुम्बिनी, कपिलवस्तु उसैको नक्सामा अङ्कित गरिएको छ । भारत फेरि शक्तिको घमण्ड देखाउँदै छ । हिमालसम्मकै भूभाग दाबी गर्दै छ । सिङ्गो दक्षिण एसियामाथि प्रभुत्व जमाउने तानाबाना बुन्दै छ । अफगानिस्तान, बर्मा, पाकिस्तानलगायत आफ्नो भू–भाग भएको दाबी गरेर फेरि अशान्ति मच्चाउन खोज्दै छ । हिजो बेलायती शासकहरू अर्थात् बेलायती उपनिवेशवादले जुन किसिमको दम्भ, घमण्ड देखाएको थियो र मिचाहा प्रवृत्ति देखाएको थियो त्यही व्यवहार, शैली तथा सोच आज भारत देखाउँदै छ । त्यसकारण, त्यस्तो अन्याय, विदेशी थिचोमिचो, विदेशी हेपाहा प्रवृत्ति, मिचाहा प्रवृत्तिको विरुद्धमा सम्पूर्ण विद्यार्थी, खेलाडी, युवा एकजुट भएर देशभक्तिपूर्ण भावनाका साथ उठ्ने बेला भएको छ । सबै मिलेर विदेशी थिचोमिचोविरुद्ध सङ्घर्ष थाल्न आवश्यक छ । वर्तमान परिस्थितिले नेपाली देशभक्त जनताको एकता र सङ्घर्ष झनै माग गर्दै छ । त्यसकारण, खेलाडी साथीहरूलाई त्यो किसिमको भावना राखेर खेल खेल्न अनुरोध गर्दछु । तब, हामी ठीक ठाउँमा पुग्नेछौँ । खेल क्षेत्रबाट पनि यो देशलाई जोगाउन सक्छौँ । अन्यथा, हाम्रो देश झन्झन् हाम्रै शासकहरूकै कारण कमजोर हुँदै जानेछ । विस्तारवादी छिमेकी देश भारतको मिचाहा प्रवृत्तिको झन्झन् शिकार बन्दै जानुपर्ने हुनेछ । त्यो हाम्रो निम्ति स्वीकार्य छैन । पुनः एकपटक आज सम्मानित हुनुहुने सम्पूर्ण खेल प्रशिक्षकहरू, खेलाडी साथीहरूलाई हार्दिक शुभकामना, बधाई तथा उतरोत्तर प्रगतिको कामना गर्दछु ।
(नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाद्वारा जेठ १५ गते आयोजित खेलाडी सम्मान कार्यक्रममा व्यक्त मन्तव्यको सारसङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *