भर्खरै :

अनुभवका केही सारहरू

अनुभवका केही सारहरू

परिस्थिति र समाजलाई राम्रो गर्ने उद्देश्यले गरेका सबै कामका परिणामहरू सोचेजस्तो आउने गर्र्दैनन् । बुद्धिचाल खेल्दा जसरी एक खेलाडीले चालेको गोटी प्रतिपक्षको गोटी चालले असफल पारेजस्तै समाजको भलाइकै निम्ति गरिएको कामको परिणाम आफूले रोजेका पक्षहरूको परिपक्वताको अभाव तथा तिनीहरूमा समाजका नकारात्मक तत्वहरूले ती पात्रहरूलाई स्वार्थी र महत्वाकाङ्क्षी बनाउँदा उद्देश्यअनुसार परिणाम आउने गर्दैनन् भन्नेबारे केही उदाहरणबाट प्रस्ट हुन्छ, ती निम्न छन् ।
१) कम उमेरका र सांस्कृतिक स्तर उठिनसकेका सोझा र सरल पात्रहरूलाई कुनै संस्थाको प्रधानाध्यापक, सङ्गठनको अध्यक्ष वा नगर वा गाउँपालिकाको मेयर माथिल्लो तहको जनप्रतिनिधि बनाउँदा परिणाम सोचेजस्तो नआउने हुन्छन् ।
सोझो र सरल हुँदा अरूको छलछाम वा सल्लाहमा सजिलै फस्ने सम्भावना हुन्छ, कम उमेर भन्नुको अर्थ समाजका राम्रा र नराम्रा पक्षहरूबारे बढी जानकारी नहुँदा, परिपक्वताको कमी हुँदा अरूबाट राम्रो पात्रलाई समेत असफल र बदनाम गराउन शत्रु पक्ष सफल हुन्छ । सैद्धान्तिक स्तरको कमी र भाषाको राम्रो ज्ञान र शुद्ध बोल्न नजान्ने हुँदा पदअनुसार आगन्तुकहरू, सेवाग्राही र जनतालाई चित्त बुझाउन सक्ने शैलीको कमी र प्रभाव पार्न सक्ने क्षमता बृद्धिमा समय लाग्नेमा दुई मत नहोला ।
चिया, चुरोट, भोज, रक्सीबाट सुरु गरी खराब परिवार र चरित्रहरूसँगको बस–उठमा पु¥याउँछन् । उपहारहरूको सुरुबाट छोराछोरी र परिवारलाई सामान र पैसाको उपहारबाट बदनामको स्थितिमा पु¥याउँछन् ।
द्वन्द्वले आफ्नो सत्ताको निम्ति नारद ऋषि, ठग, नर्टकी वा गुप्तीहरूमार्फत फकाउँदै र तारिफ गर्दै, व्यक्तिगत प्रशंसाको प्रचार गर्दै संस्था एवम् साथीहरूको माझमा अविश्वास र झगडाको बीउ छर्दै सेतो लुगामा सजिलै पनि दाग बनाई राम्रो जनप्रतिनिधिहरूलाई पनि पत्रु बनाइदिने कोशिश गरिरहन्छन् ।
२) सांस्कृतिक स्तर कम भएका दाजु–भाइ तथा छरछिमेकी तुलनात्मक तथा आर्थिकरूपले पनि कमजोर पात्रलाई पदमा राख्दा हीनताबोधको सिकार हुने व्यवहारले देखाइरहेकै छ । उनी सोझा र सिधा, राम्रा भए तापनि उनको सांस्कृतिक स्तरलाई माथि उठाउन सङ्गठनले प्राथमिकता दिएन भने उनले आफ्नो पदअनुसारको दायित्व पूरा गर्न सक्ने छैन । यसकारण, एक जना होइन धेरै कार्यकर्ताहरूलाई निरन्तर सांस्कृतिक स्तर उठाउन, जनताको सेवा कार्यको साथसाथै वर्गसङ्घर्ष र राजनैतिक गतिविधिमा निरन्तर लगाई रहनुपर्ने हुन्छ । समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय, आर्थिक, कूटनैतिक र वैज्ञानिक एवम् प्राविधिक उन्नतिबारे पनि सुसूचित गराई रहनु अत्यन्त जरुरी हुन्छ ।
बदलिँदो समय र संसारको जानकारी राख्नु, शत्रु र मित्रबारे चिन्नु र अरूलाई व्यवहार गर्न जान्नु पनि राजनैतिक शिक्षा र गतिविधि हो । जन सभा, कोण सभा, विरोध प्रदर्शन र जुलुस गर्नु वा बैठकहरू राख्नु मात्र राजनैतिक गतिविधि होइन, नाटक प्रदर्शन, साहित्यिक गतिविधि, खेलकुद र वनभोजमार्फत जनताको चेतनास्तर उठाउनु पनि राजनीति गर्नु हो । मौसम, उत्सव र शोकको बेलाको पोशाक, बोलीवचन, शुभकामना, बधाई दिनु, श्रद्धाञ्जली दिनु, समवेदना प्रकट गर्नुजस्ता सदाचार एवम् औँठी लगाउने, सिक्री लगाउने एवम् श्रृङ्गार समेत राजनैतिक संस्कृतिका अङ्गहरू हुन् । राजनैतिक नेता र कार्यकर्ताले खानपान र काँटा–चमचा चलाउने एवम् खानपानको बारेमा समेत जानी राख्नु अत्यावश्यक हुन्छ । आफ्नो तर्फबाट सामान्य व्यवहारमा समेत अरूलाई अप्ठ्यारो नहोऊन् र अनजानले समेत अरूको मन र मस्तिष्कमा, इज्जत र प्रतिष्ठामा चोट नपुगून् भन्नेबारे सचेत हुनैपर्छ । अरूले पक्कै भनून्, “म त यस्तै गर्छु र यस्तै भन्छु” भन्नेजस्ता जिद्धीले साथीहरू, इष्टमित्रहरूको मनमा चोट पुग्ने छ । विनाकारण अरूलाई आफ्नो गलत व्यवहारले चोट पु¥याउनु कालान्तरमा राजनैतिक अशोभनीयता सावित हुनेछ । त्यस व्यवहारले पछि राजनैतिक सेवामा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
साधारण जीवनमा आ–आफ्ना वडासदस्य र अध्यक्षहरूले भारत र दक्षिणी एसियाली हाटबजार वा गाउँको बजारमा जस्तै घुम्ती पसलहरूले टोल–टोलमा माइक बजाएर सामान बेच्न ल्याउँदा वा टोल–छिमेकमा आफ्नो चिनेजानेका पसल वा घुम्ती पसलले धेरै बेरसम्म ठूलठूलो स्वरले गीत वा सामान्य भाषामा उपभोग्य सामानको प्रचार गर्दा टोल र बस्तीका छात्रछात्राहरूको गृहकार्य र पढाइमा ठूलो बाधा पुग्नेछ, बिरामीहरूले आराम गर्न पाउने छैनन्, घरका पाहुना वा परिवारको सरसल्लाहमा बाधा पुग्नेछ । यस्तो विषयमा समेत समयमा ध्यान पु¥याउन नजान्ने टोल र वडाका सदस्य वा वडाध्यक्षले आफ्नो कर्तव्य पूरा नगरेको वा जनतालाई बाधा हुँदा पनि ध्यान नदिएको सावित हुनेछ ।
वडाका जनप्रतिनिधिहरूले पालिकाका इन्सपेक्टर र जाँचकीहरूमार्फत सम्झाउने बुझाउने काम समय–समयमा गरी रहनुपर्ने हुन्छ । कहिलेकाहीँ घुम्ती पसलेहरूले कर तिरेको हुँदैन र कसैले पैसा उठाएर खाएको हुन्छ र अन्य पसलेहरूले भन्न पाउने अवसर पाउने छन्, “हामीले पालिकालाई कर तिर्नुपर्ने तर ती फेरीवाला (घुम्ती पसल) ले हाम्रा ग्राहकहरूसँग बाटामा छेकी छेकी सामान बेच्न पाउने कार्यमा नियन्त्रण आवश्यक छ ।”
देशमा आजभोलि सबभन्दा बदनाम र गुनासाहरू राजनैतिक नेता, कार्यकर्ता, सांसद, प्रदेश र स्थानीय निकायमा जनप्रतिनिधि र कर्मचारीहरू हुन् । सचिव, सह–सचिव र अन्य कर्मचारीहरूको व्यवहारले कडा कानुन र ‘ज्यान सजाय’ पुनः बहाली गर्नुपर्ने सदन र सडकमा बरोबर सुनिन्छ । समयमा यस समस्यालाई उपचार गरिएन भने अमेरिकामा जस्तै हरेक दिन बन्दुक, पेस्तोल वा छुरा र खुकुरीजस्ता हतियारले कर्मचारीहरू र अन्य व्यक्तिहरूलाई आफ्नै कार्यालय र बाटोघाटोमा हत्या हुने सम्भावना धेरै हुने छन् । झ्याल ढोका थुनेर बिरालो लखेट्नु स्वयम् दुघर्टना निम्त्याउनु हुनेछ । नेता, कर्मचारी, अख्तियारदेखि अदालतसम्मका कर्मचारीहरूले समेत जनतामा उम्लिरहेको असन्तोषबारे मनन गर्नु सम्भावित बिष्फोटलाई निस्क्रिय बनाई समाजमा शान्ति सुरक्षा कायम हुने काममा सहयोग पुग्नेबारे धुक्क हुन सकिनेछ ।
३) सम्पन्न परिवार र विदेशका नाउ चलेका विश्वविद्यालयका प्रमाणपत्रहरू बोकेका र भ्रमणहरू भएका, अनेक प्रकारका तालिम पाएका, अनेक देशमा कामको अनुभव भएका र दुई चार भाषामा समेत ज्ञान भएका युवकलाई कामदार वर्गको सङ्गठन र राजनैतिक दलको माथिल्लो पदमा एक्कै बाजी पु¥याउँदा उनमा एक प्रकारको अहङ्कार बढ्ने र ‘मेरो जोडा कोही छैन’ भन्ने घमण्डले देश र जनताको सेवा हुने कुरामा विश्वास दिलाउन गा¥हो हुनेछ ।
यसको कारण त्यस व्यक्तिको दोष भन्दा पनि परिवारको पृष्ठभूमि र सम्बन्धित सङ्गठनको ‘निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावनाबाट’ उनी शिक्षित नभएको र उनको उमेरले उनको एक प्रकारको आफ्नै ढङ्गको जीवनको जीउने स्वभावको विकास भइसकेको हुँदा र नयाँ परिस्थितिमा आफूलाई अभ्यस्त बनाउन नसक्नु अन्यथा होइन ।
तर त्यस्तै परिवार र सांस्कृतिक स्तरका व्यक्ति र समान उमेरको भए पनि कम उमेरमै उनको अध्ययन सानोमा विभिन्न देशका प्रतिस्थित देशभक्त, लेखक, कवि, कलाकार, अर्थशास्त्री, समाजसेवी, दार्शनिक र परोपकारीहरूको जीवन परिचय अध्ययन गरेका र ‘सरल जीवन र उच्च विचार’ का व्यक्तिहरूका जीवनीहरूको प्रभाव उनीमा परेको छ भने कामदार वर्गका जनतासँग काम गर्न तथा जीवनको गा¥हो–फाहारो पनि मिलेर सङ्घर्ष गर्न सदा तत्पर रहनेछन् । विभिन्न देशका क्रान्तिका इतिहास र ती क्रान्तिहरूका वीरहरूको जीवनले पनि हाम्रा युवाहरूलाई देश र जनताको सेवा गर्ने भावनातिर प्रेरित गरी रहनेछन् । राजनैतिक उद्देश्य प्रस्ट नभएमा नेपाली गोर्खालीहरूले गरेका समर्पण र बलिदान साम्राज्यवादी र उपनिवेशवादी बेलायत र अमेरिकाको सेवा हुन जानेछ । त्यस्तै दक्षिण अफ्रिकी जनतालाई बेलायती साम्राज्यवादले आक्रमण गर्दा घाइते लडाकूहरूको सेवा गर्ने फ्लोरेन्स नाइटिङ्गेलले जनताको होइन साम्राज्यवाद र उपनिवेशवादीहरूको सेवा गरेको परिणामले बताउँछ । यसकारण, दुःख पाउन र सेवा गर्दा कुन वर्ग र कुन उद्देश्यको निम्ति समर्पित हुँदैछौँ भन्नेबारे पहिले स्पस्ट हुनु आवश्यक छ, जसरी चे ग्वेभाराले ‘समाजवादको निम्ति’ डाक्टर भई सेवा गर्न क्याष्ट्रोको नेतृत्वमा आफूलाई क्युवाको क्रान्तिमा समर्पित हुन तयार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *