भर्खरै :

सभामुखको ‘देशभक्ति’

सभामुखको ‘देशभक्ति’

वर्तमान सभामुख देवराज घिमिरेबारे धेरै जानकारी थिएन । गत शनिबारको ‘नयाँ पत्रिका’ ले उनको गज्जब चिनारी दियो । देवराज घिमिरेलाई ‘राष्ट्रघात’ गरेको आरोप रहेछ । एक पेज बकपत्र पढ्दा ‘माननीय’ घिमिरेले आफूलाई ‘देशभक्त’ देखाउन राम्रै कसरत गरेको महसुस भयो ।
कुनै लोग्नेमान्छेले ‘मैले श्रीमती कुट्दिन’ भनी बर्बराइरहन्छ भने दालमा कालो छ भन्ने चाल पाइहालिन्छ । यही तर्कका आधारमा ‘माननीय’ घिमिरेको ‘देशभक्ति’ मा पनि दाग भेटिन्छ । पत्रिकाको ‘हाइलाइट’ पढ्दा यस्तै अनुभूति हुन्छ । घिमिरे स्वयम् आफ्नो परिचय यसरी दिन्छन्, “जब मेरो नाम आउँछ, महाकाली सन्धिसँग चर्चा गर्छन् । कतिपयले सन्धिको पक्षमा मत दिएर मैले ‘राष्ट्रघात’ गरेको आरोप लगाउँछन् । तर, त्यो मान्न म कहिल्यै तयार छैन ।” कुनै पनि दोषीले झट्टै आफ्नो कसुर कबुल गरेको त्यति पाइँदैन । घिमिरेले पनि कबुल नगर्नु नौलो भएन ।
नौलो कुरा लेखको अर्को कुनामा भेटिन्छ । उनी भन्छन्, “खासमा ०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले गरेको टनकपुरसम्बन्धी सम्झौता नै महाकाली सन्धि थियो । त्यो नै नियमकानुनविपरीत थियो । त्यतिबेला हाम्रो संसद्मा यो बेठीक भन्ने कुराहरू उठेका हुन् । त्यतिबेला सन्धिलाई समझदारी भनेर हस्ताक्षर गर्ने कुरा संविधानसम्मत नहुने भन्नेमा हामी प्रस्ट थियौँ । त्यसपछि माधव नेपालको अध्यक्षतामा अध्ययन दल बन्यो । प्रतिवेदन आएपछि सर्तसहित नयाँ सन्धि गर्न सकिने भन्ने थियो । यस (सन्धि) ले पानीमाथिको एकलौटी अधिकारलाई बराबरी गर्ने भन्थ्यो । महाकाली नदी साझा नदी हो, हक बराबरी हुनुपर्छ भन्ने भाष्य स्थापित हुँदै थियो । यो स्थापित गर्नु नै हाम्रो लागि ठूलो जीत थियो र अहिले पनि जीत नै हो । जसले महाकाली सन्धिलाई राष्ट्रघाती भन्छ, त्यो गलत हो ।”
‘माननीय’ घिमिरेले आफूलाई राष्ट्रघाती होइन भनी साबित गर्न राष्ट्रघातलाई नै ‘ठूलो उपलब्धि हासिल हुने’ सन्धि भनेका छन् । यति ठूलो ‘नौटङ्की’ गर्दा पनि लाज र शरम नलाग्ने देश सायद नेपाल नै होला । अर्को कुरा उनले आफ्नै पार्टीका नेता मदन भण्डारीको बलिदानलाई अवमूल्यन गरेका छन् । भनिन्छ, टनकपुर सन्धिमा हस्ताक्षर गर्न नमानेकैले उनको रहस्यमय हत्या भएको हो । तर, आफूले ब्याज खाँदै आएका ती नै ‘जननेता’ भण्डारीको प्रतिष्ठालाई च्याखेमा राखेर घिमिरे आफूलाई चोख्याउँछन् । मानौँ, टनकपुर ‘समझदारी’ लाई ‘सन्धि’ भनिन्थ्यो भने भण्डारीले पहिले नै त्यसमा हस्ताक्षर गर्ने थिए । घिमिरे आफ्नो ‘राष्ट्रघात’ लुकाउन आफूलाई ‘समझदारी’ र ‘सन्धि’ शब्दको पछाडि लग्छन् ।
घिमिरे केपी ओलीका विश्वासपात्र रहेछन् । झन्डै एक वर्षअघि पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुंगेलले लेख्नुभएको ‘चक्रव्युहमा नेपालको जलस्रोत’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा घिमिरेका ‘कामरेड’ केपी शर्मा ओलीले ‘सन्धिमा केही कमजोरी रहेको’ बताएर आफ्नो २७ वर्ष लामो मौनता भङ्ग गरे । देश–देशबीचको मामिलामा “केही कमजोरी” ले पनि भुइँचालो जान सक्छ । २०५३ असोज ४ गते महाकाली सन्धिमा त्यस्तै भुइँचालो गयो । ‘देशभक्त’ मदन भण्डारीको पार्टीले महाकाली ‘सन्धि’ लाई संसदबाट अनुमोदन ग¥यो । अहिले भारतीय सीमा सुरक्षा बलले महाकाली नदीभन्दा धेरै यता नेपालभित्र आएर चौकी बनाइसकेको छ । महाकालीबाट भारतको पञ्जाब सिँचाइ गर्ने पानी गइरहँदा नेपालका खेतहरू उजाड छन् । महाकालीको पानी ‘आधा’ भन्नु पनि जग हँसाउनुमात्र हो । ‘सुगौली सन्धि’ पढ्ने जोसुकैले महाकाली लाई पूर्णतः नेपालको मान्छ ।
महाकालीको ‘आधा पानी नेपालको लागि ल्यायौँ’ भन्ने हो भने ‘माननीय घिमिरे’ ले नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री खाएर भारत भ्रमण जाने र नेपालका सबै नदीलाई ‘साझा नदी हुन्’ भनी लिखत गर्ने कृष्णप्रसाद भट्टराईलाई ढोगिरहनुपर्ला ।
‘माननीय’ घिमिरेले ‘जननेता’ मदन भण्डारी मात्र होइन, आफ्ना अर्का ‘ब्रान्ड’ नेता मनमोहन अधिकारीको पनि हुर्मत लिएका छन् । मनमोहन अधिकारी बिरामी हुनाले पार्टी बैठकमा उपस्थित हुन नसक्दा उनले नै अधिकारीको सट्टा महाकाली सन्धिको पक्षमा मतदान गरेका थिए । उनी मनमोहन अधिकारीले कहिल्यै महाकाली सन्धिको विरोध नगरेको ठोकुवा गर्छन् र आफ्नो नाममाथि लागेको ‘राष्ट्रघाती’ को दाग पखाल्ने कुचेष्टा गर्छन् । मनमोहन अधिकारीलाई नजिकबाट चिन्ने धेरैले उनी ‘सन्धिको विपक्षमा थिए’ भन्ने गर्छन् । अडानहीन नेता हुनाले मात्र माधवकुमार नेपाललगायत नेताहरूले भारतको सेवामा मनमोहन अधिकारीको शिर टक्र्याएको दिवङ्गत माणिकलाल श्रेष्ठले बोल्नुभएको छ । ‘माननीय’ घिमिरेको अर्को बचाउ झन् चाखलाग्दो छ । उनी ‘राष्ट्रघात’ नै भए पनि त्यो पार्टीको बैठकमा भएको, संसदमा नगरेको बताउँछन् । मानौँ पार्टी बैठकमा गरिने ‘राष्ट्रघात’ सानो हुन्छ र संसद्मा गरिने ‘राष्ट्रघात’ ठूलो हुन्छ ।
‘माननीय’ घिमिरे आफ्नो एउटा दाग लुकाउन दागमाथि दाग दल्दै जान्छन् । पहिले उहाँले मदन भण्डारीमाथि दाग लगाउँछन् । त्यसपछि उहाँ मनमोहन अधिकारीमाथि हिलो छ्याप्छन्, जसको नामको ब्याज खाएर एमाले देशको हात्ती पार्टी बनेको छ । यतिले नपुगेर उनी महाकाली सन्धिजस्तो एक असमान र कालो सन्धिलाई सेता देखाउने कसरतमा आफ्नो सुरुवाल र कट्टु खोल्दै जान्छन् ।
लेखको आरम्भमा ‘माननीय’ घिमिरेले आफूलाई कम्युनिस्ट देखाउन क्रान्तिका दुईचार लाइन फलाक्ने दुस्साहससमेत गरेका छन् । उनी आफूलाई ‘साम्राज्यवादको विरोधी’ देखाउन कम्मर कस्छन् । जाबो विस्तारवादको विरोध गर्ने हुती नभएका ‘माननीय’ ले आफूलाई ‘साम्राज्यवादविरोधी’ देखाउन खोजेको प्रहसन देख्दा पाठकहरू निकै हाँसेको हुनुपर्छ । आखिर यो दलाल पुँजीपतिहरूको औँलामा नाचिरहेको देश न ठह¥यो । विदेशी शासकहरूसामु निहुरिमुन्टी परेर तिनको खातिरदारीमा ‘देशघात भएको छैन सरकार’ भनिरहने चन्द्रशेखर उपाध्याय र गजराज मिश्रको लर्कोमा अर्को एउटा नाम थपिएको छ । त्यो नामको व्यक्ति अहिले सभामुखको आसनमा बिराजमान भएर माननीयहरूलाई कति बोल्ने, कति नबोल्ने आदेश दिइरहेको छ । मान्नैपर्छ नेपाली सहनशीलतालाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *