भर्खरै :

देशमा मल अभाव भएकै हो

देशमा मल अभाव भएकै हो

काठमाडौँ, ९ असार । केही हप्तादेखि रोपाइँ सुरू भइसकेको छ । जनताले पर्याप्त रासायनिक मल पाएका छैनन् । कति प्राप्त मल महँगोमा बिक्री भइरहेको छ । लुकिछिपी ल्याइएको सो मलमा सरकारी अनुदान छैन । त्यो मल पनि पर्याप्त छैन । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुन्न’ भनी जवाफ दिँदै छन् । के प्रम दाहाललाई रोपाइँ सुरू भइसकेको थाहा छैन ? पर्याप्त मल पाइएन भने या समयमै राख्न सकिएन भने उत्पादन घट्छ । के सरकारले जानाजानै उत्पादन घटाएर भारतबाट अन्न आयात गरिरहने चाल चालेको हो ?
रासायनिक मलको लागि आवश्यक रकम विनियोजन गर्नुपर्छ । आवश्यकताअनुसारको मल देशभरि पु¥याउनुपर्छ । मल कहीँ पु¥याउने र कहीँ नपु¥याउने, कहीँ थोरै त कहीँ बढी पु¥याएर सरकारले मल वितरणमा पनि पक्षपात गरिरहेको छ । मलको समस्या प्रत्येक वर्ष भइरहेको छ । कुनै पनि सरकारले समयमा पर्याप्त मल आपूर्ति गर्न सकेको छैन । सत्तासीन दलका नेताहरू किन किसानहरूलाई समस्यामा पार्छन् ? मल ल्याउन र वितरण गर्न सरकार किन मतलब राख्दैन ? किसानहरूप्रति सरकारको यति अपमान ! मल ल्याउन सरकार किन असफल ! अहिले ल्याइने भनिएको मल धेरै ढिलो ल्याएर के गर्ने ? अब मल ल्याउन अविलम्ब गर्नु हुँदैन । किसानलाई मल अभाव हुँदैन भनेर प्रम दाहालले जवाफमात्र दिने होइन । मल शीघ्रातिशीघ्र ल्याइनुपर्छ । यसमा सरकार चुक्नु हुँदैन ।
मल ल्याउन भारतले ढिला गर्छ, आनाकानी गर्छ भने अरू देशबाट भए पनि ल्याइनुपर्छ । सबै मल भारतबाटै ल्याइनुपर्छ भन्ने होइन, भारतले मात्र मल दिन्छ भनेर पर्खेर बस्नु हुँदैन । यसतर्फ कृषि मन्त्री, रासायनिक मल ल्याउने ठेकेदार या कम्पनी या सरोकारवाला निकाय चनाखो हुनुपर्छ । कृषिप्रधान देशमा मल कारखाना नखोल्नु र मल समयमा नल्याउनु भनेको किसानहरूलाई धोका दिनु नै हो । समयमै मल ल्याउन नेक्राकिसङ्घले हरेक समयमा सरकारको ध्यानाकर्षण गरेकै हो, जुलुस प्रदर्शन र सभा गरी सरकारलाई नेक्राकिसङ्घले सुझाएकै हो । तर, सरकार किसानको समस्या टुलुटुलु हेरेर मौन बस्यो । यो सरकाको गैरजिम्मेवारी हो; सरकार किंकर्तव्यविमूढ हुनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *