महान् नेता किम इल सङ, किम जोङ इल पार्टीको महान् ध्येय सदा विजयी रहन्छ
- असार २५, २०८३
साँघुरो कोठामा विगत ३५ वर्षदेखि डेरामा बस्दै आएकी भक्तपुर नगरपालिका वडा नं. ९ की स्थायी बासिन्दा सत्यलक्ष्मी प्रजापतिको दैनिकी अभावमा बितिरहेको छ । विगत पाँच वर्ष अगाडि अचानक श्रीमान्को देहावसानपश्चात् उनको जीवन झनै दयनीय बनेको थियो । हाल दुई छोरी, एक छोरा र वृद्ध सासूआमाको सहारा बनेकी प्रजापति कामको खोजीमा कैयौँ ठाउँमा भौतारिरहे तर पनि उनले काम पाउन सकेकी थिइनन् ।
विगतमा स्थानीय एक सामुदायिक कलेजमा कार्यालय सहयोगीको रूपमा पाँच वर्ष सेवा गरिसकेकी प्रजापतिले सो कलेजमा सेवामा रहँदै गर्दा शारीरिक अस्वस्थताका कारण कामबाट हात धुनु परेको थियो । सहयोगीको रूपमा काम गरुञ्जेल बाल बच्चा लालनपालन गर्न सहज भएको थियो । तर, हाल उक्त कलेजले आफू निको भएर काममा फर्किन चाहेको कुरा राख्दा काममा नराखेको गुनासो उनले गरिन् ।
सो कलेजमा सेवा गरेको क्षण सम्झँदै उनले भनिन्, “भूकम्पको समयमा आफूले राहत समेत नलिई कलेजको सुरक्षार्थ पहरा बसेकी थिएँ, आज आफूलाई पर्दा कलेजले सहयोग गरेन ।”
“प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त ज्यालाबाट श्रीमान् हुँदा देखिको विभिन्न सहकारी सङ्घ–संस्थाबाट लिइराखेको सानो ऋण आंशिकरूपमा भुक्तानी गर्न सफल भएको छ,” उनले भनिन् ।
बाँकी रकम आफू पनि ग्याष्ट्रिक रोगको सिकार भएकोले नियमित औषधि सेवन, घरखर्च र छोराछोरीको लालनपालनमै खर्च हुने र यस किसिमको सामाजिक तथा आर्थिक पक्ष सबल बनाउने कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्ने उनले ठानिन् ।
सत्यलक्ष्मी प्रजापतिको गहिरो कुरा सुनिरहेका अर्का कामदार कृष्णलक्ष्मी गोसाईले आफ्नो पाखुरामा भएको बल टोलकै विकासमा खर्च गर्न पाउँदा ज्यादै खुसी लागेको कुरा थपिन् । उनले अगाडि थपिन्, “हाम्रै मेहनतले हामी आफैँले पिउने पानी ट्याङ्की क्षेत्रमा सोचेभन्दा राम्रो र सफा भएको छ । हामीले यो नाली खोल्न परिश्रम नगरेको भए वर्षामा पानी जमेर सडक दुर्गन्धित हुने थियो । टोलको विकाससँगै हामीले रोजगार पनि पायौँ ।”
“भक्तपुर नगरपालिका विकासको राम्रो सम्भावना र आफ्नो छुट्टै मोडल रहेको पालिका हो । यहाँका जनप्रतिनिधि, सचेत नागरिक, उत्प्रेरित नगरवासी, जागरुक कामदार दरिलो अनि दिगो विकासको स्रोतको रूपमा रहेका छन् ।” रोजगार कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गरिरहेका स्थानीय वडावासी जयराम कोजू भन्छन् ।
नगरपालिकामा कैयौँ सांस्कृतिक सम्पदाहरू छन् जुन विश्व सम्पदाअन्तर्गत पर्दछ । भक्तपुर जीवित सङ्ग्रहालयको रूपमा परिचित छ । यसलाई अझ जीवन्तता दिन रोजगार कार्यक्रमका श्रमिकहरूका कारण थप मद्दत पुगेको स्थानीय जनप्रतिनिधि रामसुन्दर बासीले सुनाए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिकामा विभिन्न योजना सम्पन्न भएका छन् भने केही योजनाहरू सम्पन्न हुने क्रममा छन् । यो योजनाले नगरकै करिब ५१ जना बेरोजगारहरूलाई यस वर्ष काम दिएको छ । अधिकांश योजनाहरू सरसफाइ तथा सम्पदा संरक्षणमै केन्द्रित छन् । यसबाट जीवित सङ्ग्रहालयलाई थप जीवन्तता दिन सहयोग पुग्नेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएकाहरूले कम्तीमा १०० दिनको रोजगारी पाउने व्यवस्था रहेको छ । नगरमै बेरोजगार रहेकालाई विकास निर्माणको काममा लगाउने भएकोले यो कार्यक्रम भक्तपुरमा बिस्तारै लोकप्रिय बन्दै गएको छ । स्थानीय वडावासी लक्ष्मीसुन्दर लवजूका अनुसार उनले गएको फागुन महिनामा वडा कार्यालयमै उपलब्ध फारम भरेका थिए । बेरोजगार प्राथमिकीकरण तथा कामको लागि छनोट श्रावणमा हुन्छ । विगतमा काम गरिसकेका एक महिला कामदार समिता श्रेष्ठले ज्याला मजदुरी गर्दा समान कामका लागि महिला पुरुषको समान ज्याला व्यवस्थाले आफू थप उत्साहित भएको बताइन् ।
Leave a Reply