भर्खरै :

सरकार उल्टो गतिमा ?

माओवादी अध्यक्ष प्रचण्ड राजनीतिक गहिरो दहबाट सकुशल उत्रन सक्नुभएन । दिनदिनै झनै डुब्दै जानुभएको छ । तर, अभिनय भने नडुबेको गर्दै हुनुहुन्छ । केही महिनादेखि त सबै काममा आफैँ जाने जता पनि आफैँ दौडिने गर्नुभएको छ । गठबन्धन नै कतिवटा छन् उहाँलाई सम्झना होला, नहोला ? एकातिर सबैलाई थाहा छ, सरकार नेपाली काङ्ग्रेस शेरबहादुर पक्षसँग सम्बद्ध छ । अर्कोतिर चार वटा वामपन्थी पार्टीसँग मोर्चा छ । अर्कोतिर नयाँ अनुहारमा उदाएका रास्वपासँग पनि कुरा भइरहेको छ । सरकारमा जान तयार भयो भने त्यो पार्टीलाई पनि सरकारमा बसाल्ने कुरा भइरहेका छन् । जनयुद्धको बेला मारिएका र बेपत्ता पारिएका हजारौँ नेपालीका मुद्दा काँचै छन् । विस्तृत शान्ति सम्झौता भएको डेढ दसकको हाराहारी भइसक्यो । तर, मुद्दा कहिल्यै किनारा लाग्दैन । यसरी हेर्दा प्रचण्ड राजनीतिमा पार लाग्ने छाँटकाँट छैन । यता सरकारले पनि मूल कुन हो ठम्याउन सकेको छैन । यी सबै अवस्थाको दोषी राजनीतिक दिशाहीनता नै हो भन्ने लाग्छ मलाई । अरू पार्टी हे¥यो उस्तै छ । चीनसँगको एउटै चूलो भएको थियो भारतले नाकाबन्दी गरेर नेपालको घाँटी अठ्याउँदा फेरि एउटै चुलो भएन चीनसित अहिले । चीन–नेपाल सम्बन्ध राम्रो पनि छैन, नराम्रो पनि छैन । यस्तो सम्बन्ध उत्पादक हुनसक्दैन । नेपाल आफ्नो उत्पादक शक्ति युवाहरूलाई वैदेशिक रोजगारी धेरैभन्दा धेरै सङ्ख्यामा पठाएर रेमिट्यान्सबाट मुलुक चलाउन खोज्दै छ । यो रणनीति माओवादी केन्द्रले मात्र होइन सबै पार्टीको छ नेपाल मजदुर किसान पार्टीबाहेक । यसरी युवा शक्ति उत्पादन शक्तिलाई विदेश लघारेर कुन देश बनेको छ ?
पत्याउनै नसकिने कसरी पत्याउनु ?
प्रचण्ड मञ्चमा आफू मात्र देखिन चाहनुहुन्छ । यसो गर्दा नेतृत्व एक नेतामात्र एकोहोरिन्छ । यस्तो नेतृत्वले पार्टी बलियो हुँदैन । पार्टी बलियो भएन भने मुलुक हाँक्न कठिन हुन्छ यी अहिले जस्तो । के अहिले देश सुचारूरुपले सञ्चालन भइरहेको छ जस्तो लाग्छ प्रचण्डलाई ? देश सुचारूरुपमा चलेको छैन । असार आधा नाघ्दै छ । केही वर्षात् पनि भएको छ । रोपाइँ ठाउँ ठाउँमा भइरहेको छ तर रसायनिक मल पाइँदैन । मल नभई उत्पादन हुँदैन । तर, सरकार मल छ भन्छ । किसान मल पाउँदैनन् । मल पाइँदा पाइँदै किसानहरूले मल पाइएन भनेका होइनन् । होला कतै कतै मल बढी पनि होला । कतै बढी हुने कतै नपाइने के गाईजात्रा ? वितरण प्रणाली वैज्ञानिक हुनुप¥यो जहाँ जति आवश्यक छ त्यहाँ त्यति पठाउनुप¥यो । यो त सामान्य कुरा भयो । यस्ता कुरामा हाम्रो हात बजार लाग्ने ठाउँका निरक्षर आमा, हजुरआमा पनि सिपालु हुनुहुन्छ । सरकारले जान्दैन भन्न मिल्दै मिल्दैन । असारमा पानी पर्नु स्वाभाविक भयो । तर कतै अहिले खन्याए जस्तो वर्षा भो जनधनको ठूलो खति भयो । कतै पानीको थोपो झरेन । यस्तो खण्ड दृष्टिले राम्रो परिणाम दिँदैन । गएको १ गते परेको अस्वाभाविक वर्षाले धेरै जनजनमा असर पा¥यो । अझै धेरै मान्छेको पत्तो छैन । अब त कुकुर पनि प्रयोग गर्न लागिएको छ । पक्कै केही प्रगति होला । सरकारी काममा विश्वास नगर्ने यस्तो वातावरण बनेको छ । सरकार नै पत्याउन नसकिने काम गरेको भन्छ । अनि कसरी पत्याउनु ?
यो धैर्य कतिसम्म रहला ?
यो मुलुकमा सरकार छ, पल्टन छ, प्रहरी छन्, सबै छन् । तर, सुव्यवस्था चाहिने हो, हो त्यही छैन । तब सुव्यवस्था प्रशासनले प्रवाह गर्नुपर्ने हो, हो त्यही छैन । प्रशासनमा हाकिम खाली छैनन् । सबै हाकिम छन् । तर, सेवा हुनुपर्ने हो, हो त्यही सेवा छैन । यो कसरी भयो सरकारसँग जवाफ पनि छैन । कस्तो विडम्बना ! यो देशमा थोरै मान्छे विज्ञ, विशेषज्ञ छन् । त्यसो त त्यस्ता पद पनि थोरै छन् । स्वर्णिम वाग्लेजस्ता मान्छे थोरै छन् । राष्ट्रिय योजना आयोगमा स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि स्वर्णिम वाग्ले ? फोटोकपि गरेर धेरै स्वर्णिम वाग्ले बनाउने युग आउँछ आउँदैन । विज्ञानले यति धेरै नयाँ कुरा आविष्कार गरिसक्यो जो वैज्ञानिकहरूको परिकल्पनामा पनि थिएन । संसार सानो भयो । अब आठ अर्ब मान्छे पाल्नु छ पृथ्वीले । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यस्ता कुरामा लाग्न भ्याउनुहुँदैन होला । देशको स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान, स्वायत्तताजस्ता वस्तु कसरी जोगाउने ? यी सवाल अहँ सवाल हुन् । तर, हाम्रा यी सम्पदामाथि आँखा लगाउनेहरू पनि हाम्रै वरिपरि छन् । तिनका आँखा फोर्नुपर्छ । बलियो एउटा छिमेकीले हाम्रो सार्वभौम माटोमाथि आँखा गाडेको मात्र छैन सडक बनाएको छ । हाम्रो चोखो माटो आफ्नो गराएको छ । ऊ एउटा विश्वस्त छिमेकी हो तर काम चाहिँ परम शत्रुले पनि नगर्ने गरेको छ । हामी अहिलेसम्म मित्रतामा विश्वास गरेर सहेर बसेका छौँ । यो धैर्य कहिलेसम्म राख्न सकिएला ? यो पनि एउटा गम्भीर प्रश्न पनि रहेछ ।
यसरी देश बरबाद भयो
तपाईं प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूले जति धाक धक्कु लगाए पनि नेपालमा किन अरू त बनेन बनेन । यहाँसम्म कि सियो पनि बनेन । बरू एकजना नागरिक महावीर पुनले कति थोक आविष्कार गरे पैसा मागेर, खोजेर । तर, सरकार के गर्छ खै ? सरकारसँग कतै खाँटी जानकारी छ ? २००७ सालदेखि यो देशमा कतिजना उद्योगमन्त्री भए । एकजना मन्त्रीले एउटामात्र साना ठूला जस्तै भए पनि उद्योग खोलेका भए कति वटा उद्योग हुन्छ ? कम्तीमा पनि ७० वटा उद्योग हुन्थे । बरू खुलेका उद्योग केही बेचे, केही सरकारले नै बन्द गरायो । जनकपुर चुरोट कारखाना बन्द गराए । वीरगञ्जको कृषि औजार कारखाना बन्द गराए । वीरगञ्जको चिनी कारखाना, बाँसघारीको छाला जुत्ता कारखाना, हरिसिद्धिको इँटा–टायल कारखाना, भक्तपुरको इँट कारखानाजस्ता आधारभूत वस्तु उत्पादन गर्ने कारखाना कति वटा बन्द गराए पता छैन । नत्र झन्डैझन्डै कतिपय वस्तुको उत्पादनमा नेपाल आत्मनिर्भर भइसक्थ्यो । रबर उद्योग पनि बन्द गराइयो । यसरी सरकार उद्योग खोल्नेतिर लागेन बरू भएका उद्योग कतिवटा बेच्यो कति वटा बन्द गरायो स्वयं सरकारले नै र सरकार पछाडि फर्केर हिँड्न लाग्यो । उल्टो हिँड्न लाग्यो । देशका उद्योगधन्दामा देश विकास गर्ने युवा विदेश पलायन गरे । यसरी सरकार उत्पादक काममा लाग्नुपर्ने, उत्पादकत्व बढाउन घोटिनुपर्नेमा उल्टो विदेशबाट तयारी वस्तु आयात गरी विपरीत गति लिन लाग्यो । खास गरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा यस्ता अचाक्ली धेरै भए । अब मुलुकले उत्पादन गर्न छोड्यो । आयातमा भर पर्न लाग्यो, देश बरबाद भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *