हो चि मिन्ह र अफ्रिका – ५
- जेष्ठ ५, २०८३
प्रारम्भिक छलफल : जीवन र मृत्यु
केही विषय यस्ता हुन्छन् जुनबारे लेख्न नपरे या भन्न नपरे हुन्थ्यो भन्ने लाग्छ । केही खबर यस्ता हुन्छन् जुन सुन्न नपरे या सुनाउन नपरे हुन्थ्यो भन्ने लाग्छ । तर त्यसको वैकल्पिक बाटो मान्छे पाउँदैनन् ! यस्तै विवशता र दोसाँधबिच मान्छेको जीवन चल्दै आएको हो र चल्दै जानेछ । सायद, जन्म र मृत्युबिच यहीँनिर भिन्नता छ ! जन्मपछि मृत्यु अवश्यम्भावी छ तर मृत्युपछि जन्म असम्भव छ । जीवनलाई मृत्युले लघारिरहेको हुन्छ भने मानिसको जीजीविषा अन्तिमसम्म अतृप्त नै हुन्छ । त्यसकारण, सामान्य अवस्थामा सबैका निम्ति मृत्यु अशुभ, अप्रिय र अस्वीकार्य हुन्छ भने जीवन सर्वोप्रिय हुन्छ ।
केही घटना यस्ता हुन्छन् जुन आँखा अगाडि घटिसक्दा पनि विश्वास गर्न गाह्रो हुन्छ । त्यो घटना केवल भ्रम होस् भन्ने हजार बार पुकार्दा पनि व्यर्थै हुन्छ । कतिपय घटना घटेको वर्षौं बितिसक्दा पनि अभैm भ्रम हो कि भन्ने मनमा लागिरहन्छ । हो, कसैको मृत्यु त्यस्तैगरी अकल्पनीय एवम् अपत्यारिलो हुने गर्दछ ।
कसैको भौतिक अनुपस्थिति भइसक्दासमेत व्यवहार, वाणी, विचार, सिद्धान्त, जीवनकालका सुकीर्तिको माध्यमबाट समाजमा जीवित भइरहन्छन् । मानिसहरूको मनमनमा बाँचिरहन्छन् । समाजले पनि अभिप्रेरणा पाइरहन्छ । मानिसहरू ऊर्जा प्राप्त गरिरहन्छन् । मृत्युपछि पनि मानव जगतको सेवामा निरन्तरता दिन सक्ने तथा जीवनमा जीवन थप्न सक्ने त्यो प्रकृतिको मृत्यु विरलै मात्र पाइन्छ । सायद सार्थक जीवनको प्रतिफल हो त्यो र हो त्यो एक सार्थक जीवनको अनुपम नमुना !
जीवनको दूरी र परिधि नाप्ने धृष्टता कतिपयले गर्छन् । जीवनलाई तौलने मानिसहरू पनि यहाँ नभएका होइनन् ! जीवनको परिभाषा पत्ता लगाउने चाहनाले धेरैैलाई लपेट्ने गरेको कैयौँ दृष्टान्त भेटिन्छन् । यद्यपि, जीवनको लम्बाइ–चौडाइ नाप्नु या जीवनको परिभाषा खोज्नुभन्दा पनि जीवनलाई अर्थपूर्ण एवम् सार्थकतापूर्ण बनाउनुमा नै कल्याण हुन्छ भन्ने मान्यता राख्नेहरूको सङ्ख्या जरुर कम छैन । जीवन छोटो या लामोभन्दा पनि जीवनमय बनोस् या जीवन जीवनजस्तै बनोस् भन्ने मत समाजमा नपाइने होइन । निश्चय पनि मृत्युभन्दा अगाडि नै धेरै पटक मरेर बाँच्नुभन्दा त जीवन बाँचेर मर्नु कैयौँ गुणा श्रेयष्कर हुन्छ ।
जीवनले कमसेकम वरपर जीवन जगायो या कसैको जीवन खोस्यो ? जीवनले जगत हँसायो कि जीवनले जगत सतायो ? यी सवाल पनि कम महत्वका जरुर होइनन् । कसैको जीवन चिर कालसम्म स्मरणीय रहने या नरहने यही विषयले छिनोफानो गर्दछ ।
यही प्रकाशमा श्रद्धेय शोभा मिसलाई चिन्ने, बुझ्ने र सम्झने यहाँ यत्न गर्नु सान्दर्भिक होला ¤ सुरुमा शोभा मिस, त्यसपछि शोभा भाउजू अनि कामरेड शोभा ! यी सरल तर आत्मीय सम्बोधनले उहाँमाथि जरुर न्याय गर्नेछन् । उहाँको जीवनका आयाम उजागर गर्न यी सम्बोधन अपुग नहोलान् !
धेरैको मन जित्न सफल ‘शोभा मिस’
उहाँलाई धेरैजसोले अथवा सर्वसाधारणले पहिला एक कर्तव्यपरायण तथा मृदुभाषी शिक्षिकाका रूपमा चिने । धेरैले उहाँसँग एक सरल, सहयोगी एवम् आत्मीय शिक्षिकाका रूपमा व्यवहार गरे । सुरुमा गृह जिल्ला रामेछाप र त्यसपछि भक्तपुरका विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी, शैक्षिक क्षेत्रले उहाँलाई एक जिम्मेवार असल शिक्षिकाको रूपमा पाए । धेरैले उहाँको अथक मेहनतलाई नजिकबाट देखे । उहाँ सर्वसाधारण जनताका सन्तानहरूका ‘शोभा मिस’ बन्नुभयो । सामान्य परिवारका छोराछोरीलाई शिक्षादीक्षा दिनुमा नै उहाँले आनन्दको अनुभव गर्नुभयो । गरीबका बच्चाबच्चीहरूको भविष्य निर्माण नै उहाँको पहिलो चासो बन्यो र लामो समयसम्म त्यहीनै उहाँको कार्यक्षेत्र बन्यो । समाजको तल्लो वर्ग पढ्ने शिक्षण संस्थाहरू राम्रा बनून् र त्यहाँका शिक्षकहरू योग्य बनून् भन्ने उद्देश्यका साथ उहाँले काम गर्नुभयो । शिक्षकहरूलाई निरन्तर उत्साहित गर्नुभयो । नयाँनयाँ शिक्षकहरूलाई मार्गनिर्देश गर्ने जिम्मेवारी पनि सम्हाल्नुभयो । यथार्थमा उहाँ शिक्षकहरूका पनि शिक्षक या अभिभावक हुनुहुन्थ्यो । कैयौँ अभावमा हुर्केका विद्यार्थीहरूका उहाँ अभिभावक बन्नुभयो । यी सबै कार्य उहाँले खुसीपूर्वक भित्री मनदेखि गर्नुभयो । त्यसकारण, उहाँलाई धेरैले सम्मानपूर्वक सम्बोधन गरे, ‘शोभा मिस’ । त्यो आदरपूर्वक हृदय–हृदयबाट दिइएको पदवी थियो ।
निःसन्देह उहाँको समर्पण बेजोड थियो । उहाँको व्यवहार सरल एवम् शिष्ट थियो । उहाँले विभिन्न कार्य तथा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । विभिन्न विद्यालयमा पुगेर शैक्षिक उन्नयन तथा व्यवस्थापकीय सुधारको निम्ति सुझाव दिनुभयो । शैक्षिक क्षेत्रका सामान्यदेखि जटिल समस्या समाधानमा चासो देखाउने र त्यस कार्यमा जुट्ने उहाँको स्वभाव नै थियो । शैक्षिक समस्याबारे हुने छलफलमा उहाँ स्पष्ट शब्दमा आफ्नो मत राख्नुहुन्थ्यो । समस्या समाधानका उपाय सुझाउने उहाँसँग बेग्लै खुबी थियो । छलफलमा उहाँ प्रस्ट विचार राख्नुहुन्थ्यो । शैक्षिक छलफलमा उहाँ अलि बढी चासो देखाउनुहुन्थ्यो र खुल्नुहुन्थ्यो । घरको बैठक कोठामा होस् या बाहिर शैक्षिक सवाल उहाँको बढ्ता अभिरुचिको विषय बन्थ्यो । त्यसैले होला छलफलहरूको क्रममा अध्यक्ष रोहितसमेत बरोबर मन्द मुस्कानसहित भन्ने गर्नुहुन्थ्यो, ‘शोभा मिस धायोदिसं, छिं सिइक थकियागु विषयलय्’ (शोभा मिस, यो विषयमा तपाईंलाईं थाहा होला, भन्नुस् त) । यहाँनिर अध्यक्षज्यूको भनाइ स्मरण हुन्छ, ‘शोभा मिससँग बाहिर हिँड्दा धेरै बच्चाबच्चीहरूले शोभा मिसलाई चिन्ने र कुराकानी गर्न आउने । बाटोमा सँगै हिँड्दा नयाँ पुस्ताले बरु हामीलाई नचिन्ने या नबोल्ने ! शिक्षक बन्नुको राम्रो पक्ष भनेकै त्यही हो ।”
साँचो अर्थमा उहाँ धेरैका प्रिय तथा एक आदरणीय शिक्षिका हुनुहुन्थ्यो । चार दशकभन्दा लामो शिक्षण सेवाको दौरानमा उहाँले एक आदर्श शिक्षिकाको व्यक्तित्व निर्माण गर्नुभयो । धेरैका प्रिय शोभा मिसको असामयिक निधनमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरू अत्यन्त दुःखी बने । उहाँ बित्नुभएको वर्ष दिन नाघिसकेको विश्वास गर्नसमेत ती अभैm तयार देखिँदैनन् ।

‘नेता पत्नी’ दम्भको छनक नै नभएका ‘शोभा भाउजू’
नेमकिपाका अध्यक्ष कामरेड रोहितलाई सम्मानपूर्वक ‘रोहित दाइ’ या ‘दाइ’ भनेर सम्बोधन गर्ने गरिन्छ । भूमिगत कालमा होस् या खुला भइसकेपछि पार्टीभित्र अध्यक्षज्यूलाई दाइ भन्नुमा सबै सहज महसुस गर्छन् । पार्टी बाहिर पनि धेरैबाट दाइ भनेरै सम्बोधन गरिन्छ । एउटा बृहत् संयुक्त परिवारकी जेठी बुहारी भएको नाताले शोभा प्रधान स्वाभाविकरूपमा धेरैकी भाउजू हुनुभयो । घरमा आउने पाहुनाहरूले ‘शोभा भाउजू’ भन्नु सामान्य विषय हुने नै भयो ।
कामरेड रोहितको नेतृत्वमा नेमकिपा स्थापना भएकोे ९ वर्षपछि र उहाँ १० वर्षे भारत प्रवास (विसं २०२६–२०३६) पश्चात् नेपाल फर्केको झन्डै ४ वर्षपछि शोभा प्रधानसँग विवाह गर्नुभएको हो । त्यतिखेर भर्खरै आन्दोलनहरू सकेको अवस्था थियो । जनमतसङ्ग्रहपश्चात् ‘सुधारिएको पञ्चायती व्यवस्था’ ले २०३८ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन सम्पन्न गरेको र भक्तपुरबाट ‘प्रतिबन्धित’ नेमकिपाले उठाएको जनपक्षीय उम्मेदवार विजयी भएको थियो । २०३९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेमकिपाका जनपक्षीय उम्मेदवारहरू तत्कालीन भक्तपुर नगर पञ्चायतमा अत्यधिक मतका साथ विजयी भएका थिए । भर्खरै पुनः शक्ति आर्जन गरेको पञ्चायतलाई काठमाडौँ उपत्यकामा हराएको हुनाले पनि नेमकिपाको चर्चा व्यापक चलिरहेको थियो । यी राजनीतिक घटनाक्रमका बिच अध्यक्ष रोहितको विवाह शोभा प्रधानसँग मङ्सिर ९, २०४० मा भएको थियो । तसर्थ त्यो विवाह धेरैको चासो र चर्चाको विषय बन्नु अस्वाभाविक थिएन । तसर्थ, पार्टी अध्यक्षज्यूकी जहानको रूपमा उहाँ छिट्टै नै परिचित हुनुुभयो । पार्टी कार्यकर्ता र अन्य राजनीतिक व्यक्तित्वहरूका शोभा भाउजू बन्नुभयो ।
राजनीतिक भेटघाटको क्रममा घरमा आउने पाहुना होस् या औपचारिक सभा समारोहमा भाग लिँदा ‘भाउजू’ भनेर परिचित हुँदै जानुभयो । घरमा आउने पाहुनाहरू मीठो वचन, न्यानो आतिथ्य तथा सत्कारबाट प्रभावित भएका घेरै दृष्टान्त छन् । त्यतिमात्र होइन नियमित अध्यक्षज्यूसँग सम्पर्कमा रहने व्यक्ति तथा अन्य व्यक्तिहरूसमेत उहाँको सहयोगी भूमिका, हार्दिकता तथा सत्कारबाट प्रभावित नभएका सायद भेटिन्नन् । अध्यक्षज्यूको लगभग दैनिक १८–२० घण्टा चल्ने ‘घरको कार्यालय’ सम्हाल्न या व्यवस्थित बनाउन उहाँको भूमिका महत्वपूर्ण थियो ।
उहाँले निःस्वार्थ सामाजिक सेवा कार्य तथा कामदार महिलाहरूको हकहितमा हुने गतिविधिमा पनि सक्रियता देखाउन थाल्नुभयो । सामाजिक सांस्कृतिक गतिविधिमा उहाँको साथ तथा सहयोग बढ्दै गएसँगै उहाँको समाजसेवी व्यक्तित्वले उचाइ प्राप्त गर्दै गयो । आफ्नै भूमिका तथा सङ्घर्षमार्पmत उहाँ जनताबिच घुलमिल हुनुभयो र परिचित हुनुभयो । धेरैको मनसँग उहाँ जोडिनुभयो र नजिकिनुभयो । विशेषगरी महिला दिदीबहिनीहरूलाई व्यावहारिक पक्षमा सक्दो सहयोग गर्ने, प्रेरित गर्ने र व्याहारिक ज्ञान प्रदान गर्ने कार्यमा अगुवाइ गर्नुभयो । महिलाहरूको सांस्कृतिक स्तर उकास्न उहाँले सक्दो प्रयास गर्नुभयो । महिलाहरूका सामाजिक समस्यामा गाह्रो नमानी साथ दिनुभयो ।
सांस्कृतिक–राजनीतिक गतिविधिमा शिष्टाचार, आतिथ्य या सत्कारको पक्षमा महिला दिदीबहिनीहरूलाई प्रशिक्षित बनाउन उहाँले गर्नुभएको प्रयास धेरैको मनमनमा अभैm ताजा नै छ । उहाँको सरलता, सद्व्यवहार एवम् आत्मीयताको न्यानोपन धेरैले अनुभव गरेकै हुनुपर्छ । सुपरिचित नेताकी जहान भएर पनि समाजमा सधैँ अत्यन्त सामान्य, सरल शैली एवम् व्यावहारिक ढङ्गमा प्रस्तुत हुँदा धेरैले आश्चर्य मान्ने गरेको नपाइएको होइन । सबैभन्दा महत्वपूर्ण पक्ष त, उहाँ दृश्यमा कममात्र देखापर्नुभयो । उहाँ दबुमा भन्दा पनि बढ्ता पर्दा पछाडिनै बसेर आवश्यक सहयोग तथा बन्दोबस्त मिलाउन खट्नुभयो । प्रायःजसो महत्वपूर्ण अवसरमा समेत पाश्र्वभूमिकामा सन्तुष्ट हुनुभयो । त्यसको ज्वलन्त उदाहरण, हरेक वर्ष दुई दिन चल्ने साहित्य तः मुंज्या (बृहत सम्मेलन) जस्तो भव्य दबुमा उहाँ कहिल्यै उभिनुभएन र बस्नुभएन तर प्रतिकूल स्वास्थ्यमा समेत तःमुंज्याको व्यवस्थापन पक्षमा निरन्तर सहयोग पु¥याउनुभयो । तसर्थ, उहाँको देहावसानको ३ महिनापश्चात् भएको तःमुंज्याको दबुमा मृत्युपर्यन्त अभिनन्दन गरियो ।
‘नेता पत्नी’ को दम्भको छनकमात्र पनि नदेखिनु उहाँको व्यक्तित्वको अर्को महत्वपूर्ण पक्ष हो । यही स्वभाव तथा कार्यशैलीकै कारण धेरैको मन जित्न उहाँ सफल हुनुभयो । यी व्यावहारिक पक्षले नै उहाँलाई धेरैको ‘शोभा भाउजू’ बनायो ।
राजनीतिक शक्ति, पद तथा पैसाको दम्भबाट निकै टाढा रहेर सामान्य जीवनशैलीमा समर्थन जनाउँदै सदासर्वदा गरीब, शोषित–पीडित जनतासँग नजिक बस्न सहमत हुनु उहाँको सकारात्मक पक्ष हो । त्यही पक्षले नै उहाँलाई परिवार विशेषको मात्र नभई धेरैको ‘शोभा भाउजू’ बनायो । उहाँलाई धेरैले ‘शोभा भाउजू’ भनी सम्बोधन गर्ने अवसर पाएभैmँ ‘शोभा हजूरआमा’ भन्ने अवसरबाट धरै वञ्चित भए ! गुनासो यति हो, तर सबै मानवीय चाहना पूर्ति हुन सम्भव नहुने पनि त्यतिकै सत्य हो ।
पञ्चायती राज्यस्तरको दमनले जन्माएका ‘कामरेड शोभा’
नेपाली राजनीतिमा मात्र होइन संसारको राजनीतिमा धेरैजसो महिला राजनीतिक कार्यकर्ताहरू विवाह अगाडिसम्म राजनीतिक गतिविधि तथा सङ्गठनमा सक्रिय हुने तर विवाहसँगै ओझेल पर्दै जाने र गुमनामसमेत हुने गरेको पाइन्छ । त्यसको ठीकविपरीत विवाह हुनुभन्दा अगाडिसम्म शोभा प्रधान रामेछापको ठोसेमा एक सामान्य शिक्षिका र ‘प्रधान सरकी छोरी’ सम्म हुनुहुन्थ्यो । अध्यक्ष रोहितसँग वैवाहिक जीवन सुरु भएसँगै राजनीतिकरूपमा उहाँ प्रशिक्षित हुन थाल्नुभयो । राजनीतिक परिस्थितिमा अकस्मात् आएको बदलावले पनि उहाँलाई छोटो समयमा राजनीतिकरूपमा परिपक्व बनायो ।
विवाह भएको भर्खर ५ वर्ष बित्दै थियो । ठूलो छोरो भर्खर ४ वर्ष र गर्भमा अर्को बच्चा थियो । विसं २०४५ भदौ ५ गते ठूलो भूकम्प गयो । प्राकृतिक विपत्तिमा पीडित जनताको उद्धार कार्यमा अहोरात्र जुटिरहेका नेमकिपाका नेता कार्यकर्ताहरूविरुद्ध षड्यन्त्र भयो । निरङ्कुश शासकहरूले विपत्तिमै षड्यन्त्रको जालो बुनेर आफ्ना शत्रुलाई दबाउँछ भन्ने भनाइ यथार्थ साबित भयो । त्यो पञ्चायती राज्यस्तरको षड्यन्त्र नेमकिपाको नेतृत्व समाप्त पारी नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको थियो । अध्यक्ष रोहितलगायत सयौँ नेता तथा कार्यकर्ता पक्राउ पर्नुभयो । सयौँ नेता कार्यकर्ता भूमिगत हुनुभयो । अध्यक्ष रोहित र अन्य केही कार्यकर्ताहरूलाई पञ्चायती व्यवस्थाले फाँसी दिने योजनासहित तत्कालीन प्रधानमन्त्री र पञ्चायतका मुख्य मुख्य मानिसहरू ‘रोहितलाई फाँसी दे !’ भन्दै सडकमा उत्रे । राणाशाहीको दमनलाई पनि बिर्साउने खालको श्वेत आतङ्क मच्चाइयो । हप्तौँ हप्तासम्म भक्तपुरमा अघोषित कफ्र्यु लागु गरियो । पृथ्वीनारायण शाहको भक्तपुर हमलापछिको त्यो अर्को दमन थियो । भक्तपुरका जनता तथा देशभरका नेमकिपाका कार्यकर्ताहरूमाथि युद्धबन्दीतुल्य व्यवहार गरियो । त्यो विषम परिस्थितिले नै ‘कामरेड शोभा’ जन्मायो भन्नु अतियुक्ति नहोला ¤ त्यो अत्यन्त कठिन परिस्थितिमा उहाँले आपूmलाई सम्हाल्दै सङ्घर्षको मैदानमा उत्रनुभयो । कानुनी तथा राजनीतिक सङ्घर्षमा टेवा पु¥याउनुभयो । जेलका नेता र जनतालाई जोड्ने साँघुको जिम्मेवारी सकुशल बहन गर्नुभयो । ‘भक्तपुर काण्ड’ का पीडितहरूलाई एकजुट बनाउन र परिचालित गर्न उहाँले उल्लेख्य भूमिका निर्वाह गर्नुभयो । उहाँको राजनीतिक जीवन सार्वजनिकरूपमा अगाडि बढाउन ‘भक्तपुर काण्ड’ को बज्रपात ‘वरदान’ या अवसर साबित भयो । त्यो राजनीतिक अग्नी परीक्षामा उहाँ सकुशल उत्तीर्ण हुनुभयो र ‘कामरेड शोभा’ बाट विभूषित हुनुभयो । विशेषगरी पत्रकार, वकिल, मानवअधिकारकर्मीहरूसँगको अन्तरक्रिया र ‘भक्तपुर काण्ड’ का पीडितहरूसँगको निरन्तर छलफलबाट उहाँले गहिरो राजनीतिक तथा सामाजिक ज्ञान र अनुभव हासिल गर्नुभयो । त्यसले नै उहाँलाई एक परिपक्व कामरेड बनायो । कति ‘खारिएका’ कार्यकर्ताहरूसमेत विचलित भएको अवस्थामा ‘नेमकिपा र समाज बुझिनसकेको’ उहाँ धैर्यपूर्वक सङ्घर्षमा लाग्नुभयो र धेरैलाई अभिप्रेरित गर्नुभयो । त्यही बेला पञ्चायती दमनविरुद्ध अगाडि बढेको महिला प्रतिरोध तथा सङ्घर्षकी उहाँ एक प्रेरक व्यक्तित्व र अगुवा हुनुहुन्थ्यो भन्नु अझ बढी उचित हुनेछ ।
यसप्रकार राजनीतिक सङ्घर्षमा होमिन ‘भक्तपुर काण्ड’ ले पृष्ठभूमि तयार ग¥यो भने प्रतिक्रियावादीहरूका हेपाइ, तुच्छ वचन, अभद्र व्यवहार तथा दमन आदिले उहाँलाई अझ बढी स्पात बनाउँदै लग्यो । यसरी सङ्कटका बिच एक राजनीतिक कार्यकर्ताको गुण उहाँमा छिटोछिटो विकास हुँदै गयो भन्दा फरक नपर्ला ! पञ्चायती राज्यस्तरको दमनले ‘कामरेड शोभा’ को जन्ममा उत्तोलक या उत्प्रेरकको भूमिका निर्वाह ग¥यो भन्नु अन्यथा हुनेछैन ।
जनआन्दोलनको शक्तिले पञ्चायतलाई फालेर बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेपश्चात् उहाँ नेपाल क्रान्तिकारी शिक्षक सङ्घका विभिन्न समिति र नेपाल क्रान्तिकारी महिला सङ्घका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय रहनुभयो । महिलाहरूको राजनीतिक चेतनास्तर उकास्न महिला सङ्गठनमा बसेर उहाँले अमूल्य योगदान दिनुभयो । आपूm स्तन क्यान्सरबाट पीडित भएपछि महिलाहरूलाई स्वास्थ्य सचेतना दिन सक्रिय रहनुभयो । महिला रोगसम्बन्धी स्वास्थ्य शिविरहरू ठाउँ–ठाउँमा चलाउन नेतृत्व गरेर उहाँले धेरैको जीवनमा गुण लगाउनुभयो । महिला कार्यकर्ता, नयाँ पुस्ताका पार्टी कार्यकर्ताहरूलाई उत्पे्ररणा दिन र व्यावहारिक ज्ञान दिन कहिल्यै पछि पर्नुभएन । महिला सङ्गठन र शिक्षक सङ्गठनले जिल्लाजिल्लामा गरेका गतिविधिमा भाग लिएर आफ्नो राजनीतिक जिम्मेवारी निर्वाह गर्नुभयो । शिक्षक आन्दोलन तथा गतिविधिमा पनि उहाँको सक्रियता रह्यो । विभिन्न राजनीतिक आन्दोलनमा उहाँले अन्य साथीहरूसँगसँगै सक्रियतापूर्वक भाग लिनुभयो । कामरेड शोभाले आफ्ना अन्य गहन जिम्मेवारीबिच बाहिरी राजनीतिक गतिविधिमा गाह्रो नमानी सक्रिय सहभागिता जनाइरहेको देख्दा धेरै महिला दिदीबहिनीहरू उत्साहित हुन्थे र कतिपय अवस्थामा आफ्ना कमीकमजोरी र निष्क्रियताप्रति आत्मालोचित समेत हुन्थे ।

कामरेड शोभाको अगाध आस्था
स्वास्थ्य कमजोर हुँदै गइरहेको स्थितिमा समेत आफ्नो शारीरिक कष्ट, पीडाबारे भन्दा पनि सङ्गठन, समाज र पार्टीबारे गम्भीर चासो तथा चिन्ता लिइरहनुभएको देख्नेहरू उहाँको उच्च मनोबल, दृढ इच्छाशक्ति र गहिरो भावनाप्रति नतमस्तक नभई बस्न सक्दैनन् ।
कोरियाली साहित्यमा कहीँकतै पढ्न पाइन्छ, “देश र जनताको निम्ति अहोरात्र सङ्घर्षरत पार्टी नेतृत्वको सेवा गर्नु पनि क्रान्तिको सेवा गर्नु नै हो ।” हो, कामरेड शोभाले क्रान्तिको सेवा देखाउने दाँतभन्दा जीवनपद्धतिको रूपमा अवलम्बन गर्नुभयो । पार्टी सङ्गठन र पार्टी अध्यक्षज्यूका असङ्ख्य बैठक, भेटघाट, कार्यक्रम सुव्यवस्थित बनाउने जस्तो अत्यन्त संवेदनशील कार्य तथा गहन जिम्मेवारीबिना कुनै कमजोरी सम्हाल्नुभयो । त्यसलाई आफ्नो जीवनको दैनिकी बनाउनुभयो । ती कार्यमा उहाँ डुबेरै लाग्नुहुन्थ्यो । हरेक भेटघाटपछि पाहुनाहरूलाई प्रशन्न मुद्रामा पठाउन उहाँ आफ्नो तर्पmबाट हरसम्भव प्रयत्न गर्नुहुन्थ्यो । अध्यक्षज्यूका कतिपय जिल्ला भ्रमणमा सँगै पुगेर आवश्यक बन्दोबस्त तथा समन्वयमा सहयोग गर्नुभयो । त्यस क्रममा उहाँले कहीँ कतै गुनासो आउने स्थिति कहिल्यै निम्त्याउनु भएन । त्यस कार्यमा उहाँ सिद्धहस्त हुनुहुन्थ्यो । नजिकबाट चिन्नेहरू यस्तै भन्छन् ।
अध्यक्षज्यूलाई उहाँ अत्यन्त आदरपूर्वक एवम् आत्मीयतापूर्वक ‘दाइ’ भनी सम्वोधन गर्नुहुन्थ्यो । कहिले काहीं बाहिर निस्कने क्रममा या कुनै कार्यक्रमतिर जाने क्रममा ढिलाइ गरेको ‘अभियोग’ लाग्दा उहाँ हाँस्दै भन्नुहुन्थ्यो ‘ब्यारेकको सेना भएको भए भन्ना साथ तयार हुन सक्थेँ, के गर्ने घरको सदस्य परेँ ! त्यसमाथि महिला सदस्य, अलि ढिलो हुने त भइहाल्यो !’
अध्यक्षज्यूको राजनीतिक कार्यतालिका, दैनिक औषधि सेवन, रेखदेख तथा खानपिनमा कुनै किसिमले पनि तलमाथि नहोस् भन्ने उहाँको सदावहार चाहना र प्रयत्न रह्यो । ‘दाइया वासः भपियदिएन ला ? लोमनी ।’ (दाइले औषधि खानुभयो ? बिर्सनु होला !), ‘दाइया इलय् भपिय द्युला ?’ (दाइले समयमा त खानुभयो ?) अस्पतालको उपचारकक्षमा छँदा समेत यस्तै जिज्ञासा, चासो आफ्ना नजिककाहरूलाई व्यक्त गर्नुभयो । अन्तिम दिनहरूमा समेत त्यस्तै भावना पोखिरहनुभयो । उहाँको आँसुमा कुनै अर्थ लुकेको हुन्थ्यो भने त्यही नै मात्र थियो । परिवार, पार्टी र पार्टी नेतृत्वप्रति उहाँ कति अगाध आस्था राख्नुहुन्थ्यो र प्रतिबद्ध तथा इमानदार हुनुहुन्थ्यो भन्ने यी र यस्ता थुप्रै प्रसङ्ग या उदाहरण पाइन्छन् ।
अन्त्यमा, कामरेड शोभाको भौतिक शरीरले बिदा लिएको एक वर्षमा उहाँप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली । कामरेड शोभाको देहान्तपश्चात् श्रद्धाञ्जलीस्वरूप कोरिएको एउटा कविताः
बिदा भन्न त कहाँ मन थियो र !
सेवा, त्याग र तपस्या जारी छ
साथ छोडेर जान कहाँ मन थियो र !
सिद्धान्त र सङ्कल्प अभैm बलियो छ
सङ्घर्षको मैदान छोड्न कहाँ मन थियो र !
गन्तव्य पुग्न, यो धर्ती सिँगार्न अभैm बाँकी नै छ
गगनमाथि उडी जान कहाँ मन थियो र !
सहयात्रा चालु राखी क्षितिज उघार्न बाँकी नै छ
साँझ नपर्दै विश्राम लिन कहाँ मन थियो र !
हेरफेरको तीव्र हावा चल्न बाँकी नै छ
हात हल्लाई बिदा माग्न कहाँ मन थियो र !
विचारको विजय उत्सव मनाउन बाँकी नै छ
बिदा सदाका लागि भन्न कहाँ मन थियो र !
बिदा, लौ बिदा तर कदापि होइन हार मानेर
बिदा, लौ बिदा तर सदा विचार कायम राखेर । (असार १५, २०७९)
१६ असार, २०८०
Leave a Reply