भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – १८

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – १८

के.एम.सी. अस्पताल सिनामङ्गलका डा. विनिता प्रधान
भदौ २३ गते दिनको करिब १३ः४५ बजेतिर हाम्रो अस्पतालमा घाइतेहरू ल्याउने क्रम सुरु हुन थाल्यो । आन्दोलनका घाइतेहरू हात खुट्टामा चोट लागी आउनेमा उक्त दिनका घाइतेहरूको छाति र टाउकोमा गोली लागेको थियो । रातको करिब २२ बजेसम्म डे सिफ्टका डाक्टरहरू र नर्सहरू उपचारमा संलग्न भइयो । भोलिपल्ट भदौ २४ गते छाति र टाउकोमा चोट लागेका घाइते देखिएन, पेट तिर छर्रा लागेका, Burn केसहरू आएका थिए । सबै घाइतेहरूको निःशुल्क उपचार गरियो । अस्पतालमा पूर्वमन्त्री मो. आफताव आलमको उपचार गरिएकोले प्रदर्शनकारीहरूबाट अस्पताललाई समेत Target गरिएको सूचना आइरहेको र निजलाई बाहिर निकाल्नुहोस् नत्र ठीक हुँदैन भनी धम्की आएकोले अर्को मानसिक तनाव खेप्न परेको थियो ।
सिभिल अस्पताल नयाँ बानेश्वरका डा. रमेश पन्त
काठमाडौँ उपत्यकाभित्र टिचिङ, आर्मी, वीर, पाटन र सिभिल अस्पताललाई हव अस्पताल तोकिएको छ । सिभिल अस्पतालको सेटलाइट अस्पतालहरू भक्तपुरका सबै, काठमाडौँका के.एम.सी., भेनस, तिलगंगा, एभरेस्ट अस्पताल हुन् । केएमसी अस्पतालका डा. विनिता जोशी र भक्तपुर अस्पतालसमेतमा सम्पर्क गरेर अवस्थाको बारेमा बुझे । अस्पतालमा Neuro Surgery को उपचार नहुने भएको कारणले त्यस्ता बिरामीहरूलाई राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल रेफर पठाइँदा अवरोधहरू भयो, बल्ल बल्ल लगियो, एम्बुलेन्स तोडफोड भयो । अस्पतालभित्रै पनि असुग्याँसले आँखा पोलिरहेकोले मानसिक समस्यासमेत खेप्नुप¥यो । भदौ २३ गते २५२ जना घाइतेहरू उपचारको लागि आएकामा तीन जनाको मृत्यु भयो ।
भदौ २४ गते बिहानै हालका प्रम सुशीला कार्की, माननीय डा. तोसिमा कार्कीसमेत अस्पताल आउनुभएको थियो । १२ः३० देखि गोली लागेका प्रदर्शनकारीहरू र बर्दीमा रहेका घाइते प्रहरीहरू ल्याइयो । भदौ २४ गते २१० जना घाइतेहरूको उपचारको लागि आएकोमा तीन जनाको मृत्यु भयो । बेड भर्ना गराई ५० जनाको अपरेसन गरियो ।
प्रत्यक्षदर्शी सुवास खत्री
मैले काठमाडौँ चाबहिल चोकमा सुवर्ण स्नोकर हाउस सञ्चालन गरी आएको छु । भदौ २३ गतेका दिन के कति कारणले प्रदर्शन भड्किन पुगी सुरक्षाकर्मीहरूबाट गोली चलाउने अवस्था आयो मलाई थाहा छैन । भदौ २३ गते भएको क्षतिको कारण राज्यसँग आक्रोसित जनताले भदौ २४ गते बिहानदेखि चौतर्फी आन्दोलन गरिरहेका थिए । आन्दोलनको क्रममा प्रहरी कार्यालयहरू र अन्य सरकारी कार्यालयहरू, सङ्घीय संसद् भवन, उच्च तहका व्यक्तिहरूको निजी निवासहरू समेतमा तोडफोड आगजनी भइरहेको थियो । गौशाला प्रहरी कार्यालयमा तोडफोड भइरहेको भनी हेर्नको लागी म र उमेश महत गयौं । दिनको १—२ बजे उमेश महतको दाहिनेतर्फ छात्तिमा गोली लागि ढले । उपचारको क्रममा लगभग ४—५ बजेतिर चिकित्सकद्वारा मृत्यु घोषणा गरिदिए । भदौ २४ गतेको विरोध कार्यक्रममा तोडफोड आगजनीजस्ता विध्वंसात्मक कार्य हुनुमा अन्य कुनै समूहको घुसपैठमा भएको शङ्का लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *