भर्खरै :

पैसाले जनताको मत किन्ने पुँजीवादी दृष्टिकोण

पैसाले जनताको मत किन्ने पुँजीवादी दृष्टिकोण

भक्तपुर । ‘भ्रष्टाचारविरुद्धको आन्दोलनको स्मरण’ को सन्दर्भमा नेपाल मजदुर किसान पार्टी, चाँगुनारायण नगरपालिका वडा नं ९ एकाइ समितिले सोमबार एक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले उत्पादनका साधन कब्जा गर्नेहरूले नै राज्य सत्ता कब्जा गर्ने र भ्रष्टाचार गर्ने उल्लेख गर्नुभयो । उहाँले सिंहदरबारको नेतृत्व गर्नेहरूले निर्वाचनमा कानुनभन्दा धेरै गुणा बढी पैसा खर्च गरेर देश बिगारेको भन्दै शासक पार्टीहरू सांसद खरिद बिक्रीसमेत गरेर भ्रष्टाचारमा संलग्न भएको बताउनुभयो ।
सचिव सुवालले कतिपय मतदाताले शासक पार्टीहरूको भ्रष्टाचारलाई मलजल गर्न पुगेको उल्लेख गर्दै जनताको मत किन्ने पुँजीवादी पार्टीहरू नै हुने स्पष्ट गर्नुभयो । कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजाने भन्दै उहाँले बरु जनतालाई राजनीतिकरूपले शिक्षित गरेर वैज्ञानिक समाजवादी क्रान्तिको लागि तयार गर्ने उल्लेख गर्दै कृषिको उत्पादकत्व बढाउनको निम्ति मल, बीउ तथा औजारको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार छाया बराबर हुने भएकोले पुँजीवादी व्यवस्था रहेसम्म भ्रष्टाचार रहिरहने भनाइ राख्नुभयो । उहाँले समाजवादी व्यवस्थामा भ्रष्टाचार नियन्त्रण हुने भन्दै भ्रष्टाचार कम गर्न शिक्षा र स्वास्थ्य उपचारको बन्दोबस्तको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भारतका प्रम मोदीले भर्खरै सम्पन्न गरेको अमेरिका भ्रमणको क्रममा अमेरिकी नागरिकबाट विरोधको सामना गर्नुपरेको भन्दै फासीवादी मोदी सरकारलाई हातमा लिएर चीनमाथि आक्रमण गर्ने अमेरिकी योजना प्रस्ट भएको बताउनुभयो ।
नेमकिपा, चाँगु नगर समितिका उपाध्यक्ष केशव तिमिल्सिनाले सहकारी संस्थाहरूमा भएका भ्रष्टाचारको कारण हजारौँ मानिसको घरवार डुबेको भनाइ राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रभा प्रजापतिले स्वस्थ शरीरको निम्ति आहारविहार र खानपान महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका सदस्य रवीन्द्र बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *