भर्खरै :

किसान समस्या र रोपाइँबारे कलेजका विद्यार्थीहरूको विचार

किसान समस्या र रोपाइँबारे कलेजका विद्यार्थीहरूको विचार

किसानको समस्या र दुःख
– सेमसल तामाङ
जब जब वर्षा सुरु हुन्छ तब किसानहरूमा अब यसपालिको मौसम कस्तो हुने हो भन्ने डरत्रास हुन्छ । कृषिप्रधान देश भनिएता पनि बर्सेनि कृषिमा सृजना भइरहेको नयाँ नयाँ समस्याले किसानलाई झन् बढी निराशा बनाइरहेको छ । बढ्दो जलवायु परिवर्तनको कारण कहिले पानी धेरै पर्ने त कहिले पानी नै नपर्नेजस्ता समस्या सिर्जना भइरहेको छ । कुनै बेला पानी धेरै परेर बाढी पहिरोले खेत, बारी र घरलाई बगाइदिएर समस्या निम्त्याउँछ भने कहिले पानी नपरेर सुख्खा खडेरी पर्छ । समयमा पानी नपरेका कारण दिनप्रतिदिन कमाइ गर्ने मुस्किल बढाइरहेको छ । आकासे पानीको भरमा खेती गर्ने किसान आकाश हेर्दे पानी पर्ने दिन कुुरिरहनुपर्ने बाध्यता छ । समयमा पानी नपरेकोले बीउ राम्रो नभएको गुनासो छ ।
बल्ल तल्ल पानी पर्न त सुरु भयो । तर, मलको हाहाकार छ । समयमा मल नपाएका कारण उत्पादनमा कमी आइरहेको हामीले बर्सेनि सुनिआएका छौँ र अहिले पनि छ । बढ्दो राजनीतिक खेलका कारण मल पाउनको लागि घण्टौँसम्म कुरेर बस्नुपर्ने बाध्यता छ । आफ्नो घर ठाउँमा पढ्ने वातावरण नभएर अथवा कृषिबाट हुने नाफा कृषकलाई भन्दा व्यापारीलाई हुने भएकोले मानिसहरु विदेसिन र सहर पस्न बाध्य छन् । यसले गर्दा हिजोआज खेताला पाउन पनि मुस्किल भइरहेको छ । पहिला पहिला हरियो डाँडामाथि हलो जोत्ने साथी, हो हो माले हो हो, हो हो काले हो हो भन्दै गीत गाउँदै गोरु जोतेर रमाइलो गरेर खेतबारी जोतिन्थ्यो, अहिले एक गाउँमा एक हल गोरु पाउन मुस्किल छ । बाध्यताले बढी खर्च गरेर भए पनि ट्याक्टर लगाउनुपर्ने बाध्यता छ । धेरै ठाउँमा सिँचाइ र नहरको अभाव छ । समयमा पानी लगाउन पाउँदैन । पानी नपाएर बोरिङ गर्नुपर्ने अवस्था छ । बोरिङ गर्न खोज्दा बत्ती जाने समस्या छ । बत्तीको भार बढी भएर वा बत्ती वितरण गर्न नसकेर यस्तो समस्या आइरहेको छ । आखिर किसानले यस्तो दुःख कहिलेसम्म भोग्नुपर्ने ?
xxx

देशको एक आयस्रोत कृषि
– रीतिका दुवाल
नेपाल कृषिप्रधान देश हो । ६० प्रतिशतभन्दा बढी मानिस कृषिमा संलग्न छन् । नेपालको प्रमुख आयस्रोत नै कृषि हो । देशका बहुमत जनता कृषिबाट आफ्नो पेट पाल्ने गर्छन् । उनीहरू धान, गहुँ, मकै, आलु, चिया, कोदो, कपासजस्ता बाली उत्पादन गर्छन् । नेपालका अधिकांश जनता गरिब छन् । तिनीहरू आफ्नो जीवनस्तरको लागि कृषिमा आबद्व छन् ।
किसानहरूले धेरै समस्याहरू भोग्नु परेका छन् । यस वर्ष असार महिनामा पनि खडेरी परेको छ । खेतीयोग्य जमिन सुख्खा छ । किसानहरूलाई सिँचाइको अभाव छ, मलको अभावले गर्दा धान रोप्न निकै गाह्रो परेको छ । खडेरीको कारण बीउ पनि राम्ररी उम्रन सकेको छैन । बोरिङबाट पानी ल्याउने गरिन्छ । तर, लोडसेडिङको कारण त्यसमा पनि कठिनाइ छ । अहिले खेतमा काम गर्ने खेतालाको सङ्ख्या घटेको छ । पहिले अन्य पशुपालन गर्ने धेरै मानिसहरू थिए । तर, अहिले पशुपालन गर्ने मानिसहरू पनि घटेका छन् । खेत जोत्ने गोरुको सङ्ख्या पनि घटेको छ । आर्थिक अवस्था कमजोर भएको कारण ट्याक्टरबाट खेत जोत्न धौ धौ परेको छ । केही गरी नहरमा पानी आयो भने पनि आफ्नो पालो कुर्नुपर्छ, आफ्नो खेतमा पानी ल्याउन १० देखि १५ दिन लाग्छ । किसानहरूको आर्थिक अवस्था कमजोर भएको कारण आधुनिक प्रविधि प्रयोग गर्न सकेको छैन । नेपाल कृषिमा निर्भर छ । नहरको राम्रो व्यवस्था हुन जरुरी छ । किसानहरूले मल सजिलैसँग पाउनुपर्छ । आधुनिक प्रविधिलाई पनि प्राथमिकता दिनुपर्छ । यी समस्या समाधान गर्न नेपाल सरकारले पनि किसानहरूको निम्ति उपयुक्त कानुन बनाउनुपर्छ ।
xxx

मल कारखाना स्थापना कहिले ?
–सरु सितिखु
नेपाल कृषिप्रधान देश भएता पनि कृषिमा आधुनिक प्रविधिको प्रयोग भएको देखिँदैन । सरकारले यान्त्रीकरणमा जोड नदिनाले किसानले विभिन्न समस्या भोग्नुपरेको छ । आकाशको भरमा रोपाइँ गर्नुपर्ने भएकाले अधिकांश किसानहरूले धान रोप्न पाएका छैनन् । केही किसानहरूले नहरबाट पानी ल्याई रोपाइँ गरेका छन् । कसैले बोरिङ गरेर रोपाइँ गरेको छ । किसानहरूको अर्को समस्या खेडेरी हो । यसले गर्दा बीउ सुकेर गएको छ । खेतीको लागि प्रयोग हुने मल समयमै नपाउनु पनि किसानको समस्या हो । नेपालमा रासायनिक मलको कारखाना नहुनाले बर्सेनि रोपाइँ र अन्य बालीको बेला मलको अभाव हुन्छ । मलको लागि भारतसँग निर्भर हुनुपरेकोले नेपालमै रासायनिक मलको कारखाना खोल्नुपर्ने हो । प्राङ्गारिक मलको प्रयोग गरेर पनि मलको समस्या समाधान गर्न सकिन्छ ।
xxx
पानी नपर्दा समस्या
– सूर्यलक्ष्मी कर्माचार्य
नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश मानिसहरू कृषिमा निर्भर छन् । आज भोलि कृषकका लागि माना रोपेर मुरी फलाउने समय हो । एक पटक रोपेर वर्षभरि खानुपर्छ । पानी भएको ठाउँमा धान रोपिसक्यो । आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने ठाउँमा रोपाइँ भएको छैन । लगातार घाम लाग्दा कति धान रोपेको ठाउँमा पानी नभएर धानको बोट सुक्न लागेको छ । कृषिप्रधान देश भनेर के गर्नु ? कृषकवर्गलाई समस्यै समस्या छ । कहिले मल नपाउने त कहिले पानी नपर्ने । कहिले उत्पादित सामान बजारमा बिक्री वितरण हुँदैन त कहिले उत्पादित सामानको मूल्य पर्याप्त हुँदैन ।
xxx

खेतालाको समस्या
– रविन ठिमी
असार आएसँगै रोपाइँ र किसानको समस्याबारे प्रचारप्रसार हुन थालेको छ । हरेक वर्ष जस्तै संवाददाताहरू खेत खेतमा पुगी किसानहरूसँग अन्तर्वार्ता लिन्छन् । सरकारले समस्याको समाधानको आश्वासन दिएर नाटक प्रस्तुत गर्छ ।
किसानहरूले सधैँ आफ्नो समस्या पोखेकै छन् । खेतमा पानी नभएर धान रोप्नलाई किसानहरूलाई मर्का परिरहेको छ । लामो समयदेखि आकासे पानी पनि परेको छैन । अहिले अलि परे पनि आकासे पानीमा भर परेर धान रोप्दा खेताला नपाउला कि भन्ने डर किसानहरूलाई छ । नहर भएका ठाउँमा पनि पालोपालो गरी रातिराति वास बसी पानी ल्याउनुपरिरहेको छ; फेरि कुलो बाढीले भत्काउने पिर त छँदै छ । यो तरिकाले पानी ल्याए पनि नहरको माथिल्लो खेतले त समयमै रोप्न पाउला तर तल्लो खेतका किसानहरू भने लामो समयसम्म कुर्नुपर्छ । किसानहरूले पम्प र बोरिङबाट पानी निकाली रोपौँ भने पनि महँगो डिजेल र घरीघरी जाने बत्तीले समस्यामा पारेको छ ।
पानीको समस्या त छँदै छ तर मलको अभावले अर्काे चिन्ता किसानहरूमा थपेको छ । सरकारले सधैँझैँ रोपाइँको चार महिनाअघि नै असारमा धान रोप्न मल ल्याउँछौँ भने तापनि किसानहरूले अहिलेसम्म मल पाएका छैनन् । मल खोज्न किसानहरू अर्काे जिल्लासम्म धाउने गरेका छन् । तर, गएर पनि मल पाउने पक्का छैन ।
हरेक वर्ष यही समस्या दोहोरिरहेको छ । किसानहरूको समस्या समाधान गर्न न त सञ्चारमाध्यमबाटै गतिलो पहल भएको छ । किसानहरू भने झन् बढी मर्कामा परिरहेका छन् । यसरी नै किसानहरू पेलिरहने हो भने हाम्रो देश खाद्य सङ्कटमा पर्न धेरै समय लाग्ने छैन ।
xxx
अरबौँ रकमको चामल आयात
– मनिता लाखा
असार १५ गते देशका विभिन्न ठाउँमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइयो । तर, धान दिवस मनाइरहँदासम्ममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १२ प्रतिशत मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नहुँदा रोपाइँको क्षेत्रफल बढ्न सकेको छैन । तर, सिँचाइको सुविधा भएको केही ठाउँमा भने उत्साहका साथ रोपाइँ भइरहेको छ ।
नेपालमा साढे १४ लाख हेक्टरमा धान खेती हुने हुन्छ । धानको उत्पादन ५५ लाख टन छ । अहिले पनि वार्षिक १० लाख टन धान अपुग छ । ४५ अर्बभन्दा बढी रकम बराबरको चामल आयात हुन्छ । कोदो, मकै, गहुँजस्ता खाद्यान्नको उपभोगले गर्दा बढेको चामलको खपतले धान उत्पादन बढे पनि यसले थाम्न सकेको छैन । नेपाल समुद्री सतहबाट ६० देखि ३००० मिटर उचाइमा रहेको जुम्लाको हुम चोरसम्म धान खेती गरिन्छ । कृषिलाई आधुनिक व्यवसायको रूपमा चिनाउनुपर्छ । उत्पादन बढ्यो भने कुनै आर्थिक मन्दीले प्रभाव पार्न सकिँदैन । सरकारले कृषिको आधुनिकीकरणमा जोड दिएको पाइँदैन ।
नेपालमा यसपालिको रोपाइँमा खडेरी भएर पनि रोपाइँ त्यति नभएको देखिन्छ । अहिले बेलाबखत पानी परिरहेको हुँदा फेरि रोपाइँ सुरु भएको छ । तर, मल भने अझै कमी छ ।
xxx
सिँचाइको समस्या
– प्रशन्ना सुवाल
किसानले लामो समयसम्म खडेरी परेकोले सातै प्रदेशमा रोपाइँ राम्रो नभएको बताएका छन् । किसानले देशैभरिका किसानले विभिन्न समस्याहरूसँग जुध्न परेको कुरा अगाडि ल्याए । लामो समय खडेरी परेको कारण पानीको अभाव यो वर्षको प्रमुख समस्या रह्यो । पानीको अभावका कारण छरेको बीउ पनि राम्ररी उब्जिएन; गाउँतिर मलको अभाव छ । ठाउँ ठाउँमा बाटो निर्माण कार्यले नहरमा पानी सुकेको छ । पानी बोरिङबाट ल्याउन पर्दा महँगो पर्न गएको छ । पम्पको लागि डिजेलको अभावको कारण पानी तान्न नसकिएको अवस्था छ । गाउँघरमा पालैपालो पानी तान्ने हुँदा आफ्नो पालो धेरै ढिलो हुन्छ । गोरु नभएकोले ट्रयाक्टर चलाउनपर्ने बाध्यता छ । महँगीको कारण समस्या छ । खेताला नभएकोले यस वर्ष रोपाइँमा किसानलाई समस्या परेको छ ।
कृषिप्रधान र जलस्रोतको धनी देश भनिने हाम्रो देशमा पानीको अभाव छ, सिँचाइको व्यवस्था छैन । यस समस्याबारे सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । स्थानीय तथा प्रदेश केन्द्रको यस्ता समस्यामा ध्यान जानु आवश्यक छ । किसानले उत्पादन नगरे कसैले खान पाउने छैनन् । त्यसैले, यसबारे समाधान खोज्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *