भर्खरै :

नेपाली जनता केवल उपभोक्ता भएर बस्न चाहँदैनन्

नेपाली जनता केवल उपभोक्ता भएर बस्न चाहँदैनन्

वाग्मती प्रदेशको बजेटमाथि छलफल
यहाँ छलफलमा धेरै कुरा आइसकेका छन् । ‘बजेट परेन, बजेट परेन, बजेट परेन ।’ यदि त्यो सत्य हो भने बजेट प¥यो चाहिँ कसलाई ? यो बजेट सँगसँगै धेरैजना पीडित भएको गुनासो पनि सुनियो । त्यस्तो पीडा दिने खालको बजेट ल्यायो कसले ? बजेट ल्याउने सरकार यसको लागि जिम्मेवार हो कि होइन ? यो प्रश्नको उत्तरबाट नै हामी आफूले आफैँलाई समीक्षा गरौँ ! सरकार वा सरकारमा संलग्न हुनेहरूले भनेको परिणामबाट बोल्ने हो । परिणाम देखाउनको निम्ति फेरि पनि प्रदेश सरकारलाई म आग्रह गर्छु ।
हामीले विगतमा पनि यसरी नै बजेटमाथि छलफल ग¥यौँ । त्यतिबेला पनि सत्ताका साथीहरूले बजेटको ‘डिफेन्स’ गर्नुभएको थियो । हामीले विरोध गरेका थियौँ । परिणाम के देखियो भने बजेट ३० प्रतिशतभन्दा बढी सफल हुन सकेन । बजेट ७० प्रतिशत विफल भयो । त्यसकारण, आगामी दिनमा यस्ता खालका कमीकमजोरी नहोस् भन्ने हाम्रो सुझाव हो । कमसेकम यो बजेटले सन्तुलन कसरी कायम गर्ने ? सन्तुलित विकासको चाहनालाई कसरी सम्बोधन गर्नेे ? अब हामीले त्यो बाटो लिएनौँ भने हामी असफल साबित हुन्छौँ । हामी निकम्मा या नालायक हुन्छौँ । नालायक हुने बाटोमा जाने कि सफलताको बाटोमा जाने, प्रदेश सरकारसँग मात्र दुईवटा मार्ग छन् ।
एउटा अचम्मको विषय के हो भने ‘वडा समाजवादी कार्यक्रम’ भनेर ल्याइयो ! बजेट छुट्याइयो १५ करोड । एउटा वडामा १ करोड बजेट छुट्याएर यो के गाईजात्रा देखाएको ? प्रदेश सरकारले यसको जवाफ दिनुपर्छ । त्यसैगरी, प्राङ्गारिक मल कारखाना पालिकाहरूमा लाने भन्यो । प्राङ्गारिक मल कारखानाको लागि १।२ करोड बजेट छुट्याएर पुग्छ ? विवेकसम्मत ढङ्गमा हामी किन अगाडि बढ्न सकिरहेका छैनौँ ? कहाँनिर हामी चुक्यौँ ? मन्त्रीहरू मात्रै चुक्नुभएको हो कि ? नेतृत्वकर्ताहरू चुक्नुभएको हो ? कि दलहरू नै चुकेका हुन् ? त्यो छिनोफानो अहिले हामीले गर्न आवश्यक छ ।
यो बजेट निर्माण गर्नुभन्दा अगाडि हामीले किन अभ्यास गरेनौँ ? दलहरू, विज्ञहरू र विभिन्न सरोकारवालाहरूबिच गम्भीर ढङ्गमा छलफल चलाउने प्रजातान्त्रिक चरित्र हामीले किन देखाएनौँ ? यस खालका प्रश्न उठिरहेका छन् ।
हिजोका दिनमा हामी बजेट कार्यान्वयनमा नराम्ररी चुक्यौँ । अब ती खोट, खराबी र त्यस्ता खालका समस्याहरूलाई हामीले कसरी नदोहो¥याउने ? बजेटको महत्वपूर्ण पक्ष कार्यान्वयन हो । कार्यान्वयनमा हामी सधैँ असफल भइरहेका छौँ । तसर्थ, सोचौँ र गम्भीर होऔँ भन्ने हाम्रो आग्रह हो । बजेटको समीक्षा हामी किन गर्दैनौँ ? बजेटको समीक्षा गरेर कसको भागमा कति दोष छ भनेर केलाउन हामी किन आनाकानी गर्छौँ ? जबसम्म प्रजातान्त्रिक चरित्र देखाउन सक्दैनौँ र जनतासँग जोडिएका यी सवालहरूमा हामी ध्यान पु¥याउँदैनौँ तबसम्म बजेट परिणामशून्य नै हुनेछ । पटकपटक हाम्रो बजेट असफल हुनेछ । फेरि पनि हाम्रो बजेट जनताका निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ झैँ भइरहनेछ । त्यसो नहोस्, फेरि पनि हाम्रो कामना छ ।
अझै नेपाली जनता र प्रदेशवासी भन्दै छन्, उत्पादन चाहियो, उत्पादन चाहियो, उत्पादन चाहियो ! हामी उपभोक्ता मात्र भएर बस्न चाहँदैनौँ भन्ने जनताको आवाज छ, जनताको अनुरोध छ । त्यसकारण, बजेटलाई उत्पादनसँग कसरी जोड्ने ? उत्पादन कसरी बढाउने ? आयातलाई कसरी विस्थापन गर्ने ? निर्यात गर्ने क्षमताको विकास कसरी गर्ने ? त्यसमा व्यावहारिकरूपमा जनतालाई कसरी तयार गर्ने ? त्यसको नेतृत्व सरकारले कसरी गर्ने ? अहिलेको आवश्यकता त्यही नै हो ।
जनता पर्यटनमा जोड दिनुपर्ने भन्दै छन् । जनता खानेपानी चाहियो भन्दै छन् । असम्भव कुरा जनताले मागिरहेका छैनन् । दिन नसकेको भनेको सरकारले गर्दा नै हो । सरकार नै त्यसको निम्ति दोषी हो ।
अहिले हामीले स्थानीय उत्पादनमा किन जोड दिन सकिरहेका छैनौँ ? उदाहरणको लागि भक्तपुरमा ताइचिन चिउरादेखि लिएर भादगाउँले टोपी, दही र विभिन्न खालका काष्ठकलाका उत्पादनहरू छन् । ती विभिन्न क्षेत्रमा भएका उत्पादनहरूतिर हाम्रो ध्यान किन जाँदैन ? यी स्थानीय उत्पादनहरूमा जबसम्म हाम्रो ध्यान जाँदैन, प्रवद्र्धन हुँदैन हाम्रो आर्थिक क्षमता बढ्ने छैन । अहिले आर्थिक सङ्कट जताततै छ, देशले बेहोरिरहेको छ । आर्थिक सङ्कटलाई समाधान गर्नेतर्फ के हामीले विचार पु¥याइरहेका छौँ ? त्यो विवेक र तयारीसहित गहन ढङ्गमा के हामी अगाडि बढिरहेका छौँ ? छात्तीमा हात राखेर मुख्यमन्त्री, अर्थमन्त्री र दलका नेतृत्व पङ्क्तिहरूले सोचौँ । जबसम्म त्यो विवेक र त्यो दूरदर्शी सोच दिगो विकासको लागि हामी सोच्न सक्दैनौँ तबसम्म हाम्रो प्रदेशले इज्जत कमाउने छैन । हाम्रो प्रदेश सरकारप्रति जनताले सकारात्मक दृष्टिले हेर्ने छैनन्, विरोध जनाइरहनेछन् । देशको अहिलेको आर्थिक सङ्कट, आर्थिक असफलता, आर्थिक टाटपल्टाइतर्फ अगाडि बढ्दै छ । श्रीलङ्का तथा पाकिस्तान बन्ला भन्ने चिन्ता छ । त्यसकारण, अझै पनि बेवास्ता किन गरिरहने ? त्यसकारण, गम्भीर बनौँ । यो देशमा कमसेकम वाग्मती प्रदेशले गम्भीरतापूर्वक ध्यान देओस् !
(नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले वाग्मती प्रदेश सभाको असार १९ गते बसेको बैठकमा ‘विनियोजन विधेयक’ माथि भएको छलफलका क्रममा व्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *