भर्खरै :

भारतका प्यारा – नेता हमारा !

भारतका प्यारा – नेता हमारा !

एउटा गठबन्धनबाट प्रधानमन्त्री र अर्को गठबन्धनबाट सत्ता टिकाउन खप्पिस पुष्पकमल दाहाललाई भारतले पनि माया गरेको रहेछ । नेपालका नदीनाला मुट्ठीमा पार्दै, सूक्ष्म हस्तक्षेप गर्दै नेपाललाई भारत निर्भर बनाउन गोटी चालिरहेको त सबैले अनुभव गरेकै धरातलीय यथार्थ हो । अहिले दाहाल स्वयंले रहस्योद्घाटन गरेका छन् – नेपालको प्रधानमन्त्री भारतको ‘सुझाव, सल्लाह, निर्देशन र तजबीज’ मा छनोट हुन्छ । त्यसो त पञ्चायतकालमै पनि प्रधानमन्त्री बन्नेहरू दरबारमात्र होइन नयाँ दिल्ली पनि धाउँथे । त्यो सिलसिला बहुदल हुँदै गणतन्त्रसम्म जारी रहेको प्रम दाहालको ‘सत्य वचन’ ले पुष्टि गरेको छ ।
यसअघि, नेकाका वर्तमान सभापति शेरबहादुर देउवालाई गिरिजा र कृष्णप्रसादको विकल्पमा प्रधानमन्त्री बनाउन संरा अमेरिकाका तत्कालीन राजदूत जुलिया चाङले ‘सिफारिस’ गरेकी थिइन् । त्यसपछि, बाबुराम भट्टराई नेपालको प्रम पदको लागि योग्य र सक्षम भएको सार्वजनिक सिफारिस भारतबाटै आएको सम्झना धेरैलाई ताजै छ ।
देउवालाई अमेरिकाले सिफारिस गर्नु तिनीहरूको आपसी सम्बन्धको परिणाम हो । तर, एउटा विस्तारवादी देश, पुँजीवादी व्यवस्थाको कट्टर जातिवादी अर्थात् फासीवादी सरकारले माओवादीका नेताहरूप्रतिको यो प्रेम, भाइचारा, सद्भाव भने उदेकलाग्दो छ । भाजपा माओवादी बन्न थालेको हो कि माओवादी भाजपाको मानसपुत्र हो ? के भाजपाले भारतका कम्युनिस्टहरूलाई माओवादीलाई जस्तै माया–प्रेम गर्ला ? असम्भव !!
तर, विडम्बना ! भारतका प्यारा – नेता हमारा भएको छ । यो सतिको सराप होइन, देशका प्रम नेपाली जनताका होइनन् भन्ने प्रमाण हो । यद्यपि, प्रम दाहालको ‘टङ्ग स्लिप’ भए पनि सत्य कुरालाई सार्वजनिक गर्ने आँटलाई मान्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *