भर्खरै :

मानविकी सङ्कायप्रतिको सोच

मानविकी सङ्कायप्रतिको सोच

मानविकी सङ्काय अध्ययनले हामीलाई समाज बुझ्न सजिलो बनाउँछ । यदि मानिस समाजलाई नजिकबाट बुझ्न चाहन्छ भने उसले मानविकी सङ्काय अध्ययन गर्नु आवश्यक देखिन्छ । तर, अहिले मानविकी अध्ययन गर्नेहरूको सङ्ख्या न्यून रहेको पाइन्छ । मानविकी सङ्कायको क्षेत्र व्यापक छ । यस सङ्कायभित्र हामीले कानुन, पत्रकारिता, राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्र विभिन्न विषयहरूबारे अध्ययन गर्न सकिन्छ ।
अहिले भर्खरै एसईईको नतिजा प्रकाशित भइसकेको छ र +२ पढाइ हुने विद्यालयहरूले विज्ञापन गर्न थालिसकेका छन् । मानविकी सङ्काय C+ ल्याउनेले अध्ययन गर्न पाउने अर्थमा +२ मा मानविकी सङ्काय अध्ययनका लागि परीक्षामा १.६ जीपीए ल्याउनु पर्दछ । यो विज्ञापनले गर्दा सायद थोरै जीपीए ल्याउनेले मानविकी पढ्ने वा पढ्न पाउने भ्रम पो भएको हो कि ? यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । हाम्रो समाजमा A+ ल्याए विज्ञान, B+ व्यवस्थापन र थोरै जीपीए ल्याए मानविकी अध्ययन गर्ने भन्ने भ्रमलाई यस्तो विज्ञापनले झन् टेवा पु¥याएको पो हो कि भन्ने मेरो जिज्ञासा छ ।
विद्यार्थीहरू यो बेला कुन विषय अध्ययन गर्ने भन्नेतर्फ अन्योलमा रहेका छन् । विद्यार्थीहरूले विषय छनोट गर्दा जीपीए र परिवारको दबाबलाई भन्दा पनि आफ्नो इच्छालाई हेर्नुपर्छ जस्तो लाग्छ । A+ र B+ ल्याउनेले मानविकी सङ्काय अध्ययन गर्न नहुने भन्ने होइन । हामीले जुन विषय अध्ययन गरे तापनि त्यस विषयमा विज्ञ हुन जरुरी छ । कुनै पनि विषय आफैँमा ठूलो वा सानो हुँदैन । दक्षता हासिल गर्न सकेको खण्डमा मानविकी सङ्कायको विषय पनि ठूलो विषय हो ।
यसरी मानविकी सङ्कायलाई कम महत्व दिनुको कारण विभिन्न क्षेत्रमा विज्ञहरूको कमी देखिन थालिसकेको छ । यस्ता विषयहरूलाई महत्व दिन भक्तपुर नगरपालिकाले भूगोल, इतिहास, राजनीतिशास्त्र अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था पनि गरिदिएको छ ।
मानविकी सङ्कायको अध्ययनबाट हामीले विभिन्न विषय वा त्यस क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्दछौँ । यस विषयको अध्ययनबाट हामीले समाजलाई नजिकबाट बुझ्न वा अध्ययन गर्न सक्दछौँ । सबै सङ्काय विषयको आ–आफ्नै महत्व छ । तर, यस सङ्कायको क्षेत्र व्यापक रहेकोले यसको महत्व झनै धेरै छ । विज्ञान विषय, व्यवस्थापन विषय जुनसुकै विषय अध्ययन गरे तापनि हामीले समाजलाई बुझ्नु आवश्यक हुन्छ । किनकि हामीले काम गर्ने समाजकै लागि हो, देशकै लागि हो । देश बनाउन, विकास गर्न, कानुन बनाउन एउटा समृद्ध देशको निर्माण गर्न यो विषयको अध्ययन एकदमै जरुरी छ । त्यसैले धेरै जीपीए ल्याउँदैमा मानविकी अध्ययन गर्नुहुँदैन । थोरै जीपीए ल्याउनेले मात्र यो विषय अध्ययन गर्नुपर्छ भन्ने परम्परागत सोचलाई त्यागी समाज बुझ्न र त्यस विषयमा विशेषज्ञता प्राप्त गर्नुपर्छ । विषय छनोट कसैको भनाइ वा दबाबमा नपरी आफ्नै स्वविवेकले वा इच्छाको आधारमा विषय छनोट गर्न एसईई उत्तीर्ण गर्नुभएका भाइबहिनीहरूलाई म विशेष आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *