भर्खरै :

त्रिवि बेरोजगार उत्पादन गर्ने थलो हुन नहुने

त्रिवि बेरोजगार उत्पादन गर्ने थलो हुन नहुने

त्रिभुवन विश्वविद्यालय देशकै ज्येष्ठ विश्वविद्यालय भन्ने कुरामा कुनै दुविधा नहोला । ज्येष्ठता भनेको अनुभव र व्यस्थापनको ज्ञानको भण्डार हुने कुरामा पनि दुविधा नहोला । तर, यी सबै कुरालाई मध्यनजर गरी त्रिभुवन विश्वविद्यालयले फेरि आफ्नो कमजोरी देखाएको छ । बी.बी.एस. तेस्रो वर्षको वार्षिक परीक्षामा भएको लापरबाहीले देशको ज्येष्ठ विश्वविद्यालय कति अव्यवस्थित छ भन्ने कुरा देखाउँछ ।
विगतमा पनि परीक्षा नै नदिएको विद्यार्थीलाई विश्वविद्यालयको स्वर्णपदकको मेडल भिडाएको समाचार प्रकाशमा आएको थियो । असार २५ गते भएको परीक्षामा त्रिविले परीक्षा प्रणालीको धज्जी उदाएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले त्रिपिल्केट (परीक्षार्थी सूची) पठाउन ढिलाइ गर्दा विद्यार्थीहरू परीक्षा सुरु भएको १० मिनेटसम्म आफ्नो कक्षा कोठा खोज्दै थिए । त्रिविको बेवास्ताले गर्दा आज ५५४ जना बी.बी.एस. तेस्रो वर्षका विद्यार्थी भक्तपुर बहुमुखी क्याम्पसमा अलमलमा परे । त्रिपिल्केट असार २४ गते पठाए पनि विद्यार्थीको सिम्बोल नम्बर उल्लेख नगरेका कारण सीट मिलाउन क्याम्पस प्रशासनलाई अलमल परेको थियो । २२ वटा कलेजको परीक्षा केन्द्र परेको भक्तपुर बहुमुखी क्याम्पसमा परीक्षा सुरु भएको ३० मिनेट बितिसक्दा पनि सुरक्षा दिने प्रहरीको उपस्थिति थिएन । भक्तपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सरोजकुमार तिमिल्सिनाले भनेअनुसार यसो हुनुमा त्रिविको मात्र दोष नभइकन स्वतन्त्र विद्यार्थी युनियन र अन्य विद्यार्थी सङ्गठनले अन्तिम समयसम्म परीक्षा नियन्त्रण कार्यालयलाई फर्म लिन दबाब दिनु पनि एक प्रमुख कारण हो । यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने हो भने त्रिवि बेरोजगार उत्पादन थलो हुनेमा कुनै दुविधा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *