भर्खरै :

देश देश जस्तो रहेन, जनता जनता जस्तो देखिएनन्

देश देश जस्तो रहेन, जनता जनता जस्तो देखिएनन्

दुई–तीन वर्षअगाडि संरा अमेरिकामा भएको जर्ज फ्लोयडको निर्मम हत्यापछि विश्वव्यापी देखिएको विरोध र आक्रोश तथा हालै फ्रान्समा देखिएको नाहिलको हत्यामा देखिएको उपद्रव फरक–फरक जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको भिन्नता भएका देशहरूले पुरानै शैलीको दमनकारी वा फासीवादी नीतिबाट समस्याको समाधान गर्न खोजेमा समाजले नभोगेको परिणाम र खतरा मोल्नुपर्ने हुन्छ । यो आजको विज्ञान र प्रविधिको प्रगतिको कारणले पनि भएको हो । ज्ञान र विज्ञानको प्रगतिले बल प्रयोगको ठाउँमा संवेदनशीलता र सद्भावनालाई नै समाधानको उपायको रूपमा अँगाल्नु मानव समाजको श्रेष्ठकर सफलताको माध्यम हो भनी स्वीकार्नु उपयुक्त हुन्छ ।
पश्चिमी सभ्यतामा होस् वा दक्षिण एसिया वा दक्षिणी संसारमा समेत ठाउँ र समाज हेरीहेरी समाधान फेला पार्नु उपयुक्त छ । समानता मुखले होइन व्यवहारले, विकासको फल पनि मुखले होइन व्यवहारले समान परिश्रमको समान फललाई मूलमन्त्र बनाउँदा मानव जाति समाधानको उपायको नजिक पुग्नेछ ।
हिजो भएका प्राकृतिक स्रोत र मानवीय संसाधनसमेत पोको पारेर ‘यो हाम्रो मात्रै समृद्धि हो’ भन्ने दाबा गरेकै कारण पश्चिमी देशहरूको आजको समस्याको कारण देखा पर्दै छ । दक्षिण एसियामा बरोबर धार्मिक, जातीय र सांस्कृतिक भेदभावविरोधी भावना देखिँदै आएको सबैलाई अनुभव छ ।
नेपाल सानो भए पनि विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृतिमा विविधता भएको देश हो भने निश्चित राष्ट्रिय अहङ्कारवादबाट पीडित भई आएको समाज पनि हो । झन्डै दिनको ५ हजार युवाहरू श्रमिक भएर वा विद्यार्थी भई विदेश पलायन हुँदै जानुको कारण आफ्नै देशमा आफँै ‘दोस्रो दर्जाको नागरिक’ सम्झेर पलायन भएको र पलायन गराएको हो कि भन्ने शङ्का गरिँदै छ । गरिबी आफैँ एक सामाजिक विभेद हो । ठूलठूला अपराधहरूमा समेत प्रधानमन्त्री, मन्त्री, नेता माथिल्लादेखि तल्ला कर्मचारीहरूसमेत तानिएका छन् । तर, दुर्भाग्य के हो भने अपराधी शासक जातिका हुन्छन् भने न्यायाधीशहरू पनि त्यही भाषा, जात र संस्कृतिका देखिए । परिणामतः एउटै अपराधमा ठूलाबडाहरू कहिले जेल जाँदैनन् भने शासित जातिका मानिसहरू सजातगी हुँदै छन् । जनतामा यो भावना व्यापक हुँदै गएको देखिन्छ ।
यसकारण, भोग्ने मानिसहरू भन्ने गर्छन्, सांसद सांसद जस्ता छैनन्, सरकार सरकार जस्तो छैन र कर्मचारी कर्मचारी जस्तो नभई न्यायकर्ताहरूसमेत सांसद, मन्त्री र शासकजस्ता छन् । नेताहरू व्यापारी, कालाबजारिया र ठेकेदार जस्ता छन् । कति व्यापारी, कालाबजारी, ठेकेदार, भ्रष्टाचारी र वनमाराहरू सांसद र मन्त्री देखिए । किनभने, शासकहरूले जे गरे पनि छुट्ने अवसरहरू धेरै पाएको देखिए । दोषी को ? कानुन बनाउने वा कानुन लागु गर्ने सरकार वा कानुनको व्याख्या गर्नेहरू ?
यसको परिणाम के होला ?
कसैले कसैलाई विश्वास नगर्ने परिस्थिति, निरासा, आत्मविश्वासको कमी, पलायन, अराजकता र आत्महत्या !
उपचार ?
हातमा डाडु–पन्युँ हुनेहरूकै जातीय अहङ्कार एक गुप्त एवम् अलिखित अपराध हो र युगौँ पुरानो सामन्ती संस्कारको कारण साधारण नेपालीप्रति एकतर्फी द्वेषको पराकाष्ठा चुलिँदो छ । त्यसलाई बुझेर वा मनन गरेर नयाँ न्यायोचित समाजको निर्माणमा सहयोग पुग्ने बलियो सदाचार निर्माणको खाँचो छ । दोषी को हो ? कमजोर दण्ड विधान । मृत्युदण्डको अभावले अपराध र अपराधीको चक्र चल्दै छ ।
आफूलाई केन्द्रबिन्दुमा राख्ने चिन्तन, अरूको बारेमा संवेदनशीलताको अभाव र सद्भावको आवश्यकताको चर्को खोजी छ । समय हुँदै एकले अर्काको दुःख र पीडा मेट्ने कार्यमा सघाउँदा पछि कसैले पछुताउनुपर्ने छैन ।
प्रदेशको बन्दोबस्तले पनि भेदभावलाई मत्थर पार्न र फरक सांस्कृतिक पक्षहरूलाई प्रोत्साहनको सम्भावना नदेख्दा ‘प्रजातन्त्र’ शब्दप्रति नै वितृष्णा देखियो र स्वायत्तता एवम् विकेन्द्रीकरण व्यवहारमा अपुग हुँदा स्थानीय तहहरू व्यवस्थितरूपले फुक्न नपाएको अनुभव गरिँदै छ । त्यसको अर्थ हो– धर्म, जाति र भाषाको नाममा ‘गणतन्त्र’ मा पनि फासीवादको अनुभव गरिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *