जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ तथा ख्वप कलेज अफ इन्जिनियरिङको भूकम्प इन्जिनियरिङ तथा अर्बान डिजाइन र कन्जर्भेसनका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सोमबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरलाई शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र सरसफाइको क्षेत्रमा प्रयोगशालाको रूपमा अगाडि बढाउनुपर्ने बताउँदै भक्तपुर अहिले विदेशी पर्यटकहरूको लागि एक आकर्षक सहरको रूपमा परिचित भइरहेको बताउनुभयो ।
उहाँले नेतृत्व पक्षले इमानदारीपूर्वक काम गरे जुनसुकै क्षेत्रमा सफलता हासिल हुने बताउँदै सरकारको सङ्कुचित सोच र विभेदकारी नीतिकै कारण ख्वप विश्वविद्यालयले सञ्चालनको स्वीकृति नपाएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका कारण इन्जिनियरहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउँदै सरकारले इमानदारिता देखाएको खण्डमा देश योभन्दा अझ अगाडि बढ्ने उहाँले बताउनुभयो ।
राजनीतिक पार्टीहरू चिन्तनको चौतारीको रूपमा विकास हुनु जरुरी रहेको बताउँदै अध्यक्ष बिजुक्छेँले विदेशी विश्वविद्यालय स्वदेशमा जथाभावी सञ्चालन गर्न दिन नहुनेप्रति सचेत पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने दीर्घकालीन उद्देश्यअनुरूप भक्तपुर नगरपालिकाले ८ वटा शैक्षिक संस्थाहरू व्यवस्थितरूपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसद्बाट विधेयक पारित गराउन भक्तपुर नगरपालिकाले निरन्तर जोड दिने बताउँदै विश्वविद्यालय स्थापनाको लागि आवश्यक पूर्वाधार तयारीको क्रममा रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, पर्यटन, खानेपानी, पर्ती र सार्वजनिक जग्गा संरक्षण तथा विकास निर्माण भक्तपुर नगरपालिकाका प्राथमिकताका विषयहरू भएको बताउँदै प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई आफ्नै देशमा अध्ययन गर्ने वातावरण तयार गर्दै आइरहेको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् उपप्रमुख रजनी जोशीले ख्वप इन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षा जनताले पढ्न सक्ने मूल्यमा अध्ययन अध्यापन भइरहेको बताउँदै समुदायमा आधारित ख्वप सर्कलले देशभरिका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । भक्तपुर नपाले शिक्षा क्षेत्रमा सबैको लागि रोल मोडलको रूपमा काम गर्दै आएको बताउँदै उहाँले इन्जिनियरिङ शिक्षामा अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूको उद्देश्यमाथि प्रकाश पार्दै कलेजको शैक्षिक गुणस्तरमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भूकम्प इन्जिनियरिङको लागि एउटा स्तरीय ल्याब स्थापना गर्ने तयारी रहेको बताउँदै कलेजको उद्देश्य पूरा गर्न शिक्षक कर्मचारीहरू एकताबद्ध भई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको शैक्षिक गुणस्तर कायम गर्न अनुसन्धानलाई जोड दिँदै आएको बताउँदै स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले शोधपत्रको कार्यलाई पनि महत्वका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।
भूकम्प इन्जिनियरिङका विभागीय प्रमुख डा. मन्जिप शाक्य, अर्बान डिजाइन र कन्जर्भेसनका विभागीय प्रमुख लिवास फैजु, ख्वप इन्जिनियरिङ कलेजका वरिष्ठ उपप्राध्यापक सुबिककुमार श्रेष्ठले पनि कलेजको सेवा सुविधा र शैक्षिक गुणस्तरबारे आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले ‘स्व. डिल्लीबहादुर अधिकारी स्वर्ण पदक’ र ‘नारायणप्रसाद कोइराला स्वर्ण पदक’ हासिल गर्न सफल विद्यार्थी दिनेश साखकर्मीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य इ. रवीन्द्र फोँजु र ख्वप इन्जिनियरिङ कलेज अनुसन्धान तथा विकास युनिटका संयोजक डा. सुवेगमान बिजुक्छेँले पनि बोल्नुभएको थियो ।
Leave a Reply