भर्खरै :

भारतीय चलचित्रमा सेन्सर : स्थानीय मौलिक चलचित्रलाई अन्तर्राष्ट्रियकरणसहित पर्यटन प्रवद्र्धन

भारतीय चलचित्रमा सेन्सर : स्थानीय मौलिक चलचित्रलाई अन्तर्राष्ट्रियकरणसहित पर्यटन प्रवद्र्धन

अन्य साहित्यिक विधाहरू भन्दा फरक ढङ्गले मनोरञ्जनसँगै पर्यटन प्रवद्र्धन, धर्म संस्कृति, चालचलन, परम्परा इतिहास तथा पौराणिक विषयवस्तुको जानकारी र सकारात्मक सन्देश दिने उद्देश्यले चलचित्रको निर्माण गर्ने गरिन्छ । चलचित्रमा मानव जनजीवनको यथार्थ प्रतिविम्बन गरी समाजका सकारात्मक पक्षप्रति प्रोत्साहन र नकारात्मक पक्षप्रति निरुत्साहनको व्यवस्थापन गरिन्छ । चलचित्रमा शिक्षा, सामाजिक परम्परामा भएका विकृति विसङ्गतिको सुधारको सन्देश प्रवाह गरेर मनोरञ्जन हुनु अनियार्य मानिन्छ ।
चीनले चलचित्रलाई संस्कृति मन्त्रालयअन्तर्गत राखेर अमेरिकालगायत अन्य देशसँग मनोवैज्ञानिक युद्धको लागि सफ्टपावरको रूपमा तयार गर्दछ । चीनले विदेशी चलचित्रलाई कोटा लागु गरेर प्रतिस्पर्धाको लागि स्थानीय चलचित्रलाई प्रोत्साहन गरिरहेको छ ।
चलचित्रले मनोरञ्जन, शिक्षा र सुधारको सन्देश दिएर नकारात्मकतालाई जीवनको यथार्थ प्रतिविम्बन गर्दछ । नेपालले गोर्खाली इतिहास, विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाली जनजीवन तथा शान्तिका अग्रदुत बुद्धको नाममा चिनाई विश्वको मानव सभ्यता र जनजीवन तथा संस्कृतिको माध्यम प्रयोग गरी विश्व चलचित्र क्षेत्रमा फैलिएको अस्वाभाविक र कल्पनाशीलतालाई जीवनवादी यथार्थपरक हार्डपावरको रूपमा गतिला चलचित्र दिन सकिन्छ ।
विश्व चलचित्र बजारमा भारतीय चलचित्र क्षेत्र अर्थात् बलिउड क्षेत्र फराकिलो छ । भारतमा बनेका आतङ्कवादसम्बन्धी अधिकांश फिल्ममा नेपाललाई भारतविरोधी आतङ्कवादी समूहको आश्रयस्थलकै रूपमा चित्रण गरिएको हुन्छ । जस्तै ‘बेबी’, ‘इन्डिया मोस्ट वान्टेड’ र ‘सूर्यवंशी’ नामक भारतीय चलचित्रमा नेपाल जोडर नेपालको चित्रण आतङ्कवादीको आश्रयस्थल र अपराधीको संरक्षणमा सक्रियरूपमा रहेको देखाइँदै आएको छ ।
जनयुद्ध भन्न मन पराउने माओवादी सशस्त्र द्वन्द्वमा भूमिगत हुँदा भारतीय चलचित्र नेपालमा प्रदर्शनमा रोक र सुगौली सन्धि खारेजीको माग गरेको माओवादी पटकपटक सरकारको नेतृत्व गरेर आज काङ्ग्रेसलगायत गठबन्धन सरकारको समेत नेतृत्व गरेका माओवादी भारतीय सरकारको सांस्कृतिक नक्सा अखण्ड भारत र आदिपुरुषलगायत नेपालको स्वाधीनता जोडेर निर्माण भएका भारतीय चलचित्रको बारेमा एक शब्द पनि बोल्ने हिम्मत गर्न सकेनन् ।
नेपालमा जन्मेका बुद्ध र त्यसको जन्मस्थानलाई समेत भारतको भनी बलिउड क्षेत्रमा स्थान दिएर चलचित्रहरू पनि निर्माण नभएका होइनन् । यही क्रममा भर्खरै प्रदर्शनमा आएको हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र रामायणमा आधारित आदिपुरुष चलचित्रले कलाकारहरूको हाउभाउ, सम्वाद र प्रस्तुतिले भारतमा नै निकै विवादित र आलोचित बनेको उक्त चलचित्र नेपालमा देशकै राष्ट्रिय विभूति सीता अर्थात् जानकीलाई भारतीय चेलीको रूपमा प्रस्तुत गरेको छ भारतीय चलचित्र आदिपुरुषमा ।
उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार गरेको जनताले बुझेका छन् । यही कुरालाई मध्यनजर गरेर देशकै राजधानी काठमाडौँका मेयर बालेन शाहले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोके अनुसार काठमाडौँमा आदिपुरुष चल्न नदिने घोषणा गर्दै उक्त चलचित्रको मुख्य कपीमै हटाउन र संशोधन गर्न दिएको ३ दिने अल्टिमेटमलाई बेवास्ता गर्दा अन्य भारतीय चलचित्र प्रदर्शनमा समेत रोक लगाएका थिए ।
बेला बेलामा भारतीय नाम चलेका बलिउड कलाकार र पत्रकारहरूले समेत विश्वको इतिहासमा कहिल्यै नझुकेको स्वाधीन राष्ट्र नेपाललाई भारतकै एक हिस्सा वा प्रान्त भनी आफ्नो अभिव्यक्ति सञ्चार माध्यममा सम्प्रेषण गर्दा त्यसको विरुद्ध प्रशासनसँग लडेर जनताले आफ्नो ज्यानको बाजी थापेको नेपाली चलचित्र क्षेत्रमा रहेको छ ।
भारतीय सरकार, बलिउड कलाकार तथा पत्रकारहरूको हेपाहा प्रवृतिको कारण नेपालको स्वाधीनता र सार्वभौमिकता माथि धावा बोल्ने छुट दिँदा नेपालीहरूको भावनामाथि खेलबाड गरेको छ । तैपनि, सिनेमाहल सञ्चालकहरू देशभक्तिलाई बन्धकी राखेर आफ्नो सीमित स्वार्थ अर्थात् केही रकम आम्दानीको लागि यस्ता विवादित अभिव्यक्ति र संवाद बोल्ने कलाकार अभिनित चलचित्र चलाउन मरिहत्ते गरेर काठमाडौँका मेयर बालेन शाहविरुद्ध मुद्दा हालेर राष्ट्रियता बेच्न लालायित देखिएका छन् ।
यसर्थ, अनेकौँ देखावटी र विदेशी संस्कृतिको नक्कल गर्ने गराउने चलचित्रको प्रदर्शनलाई रोक लगाई छनोट तथा सेन्सरको आधारमा सीमित भारतीय चलचित्र प्रदर्शनको लागि कोटा लागु गर्नुपर्छ । नेपाली जनताको मौलिक कला र सस्कृति परम्पराले भरिएको स्थानीय चलचित्रको स्तर वृद्धि गरेर अन्तराष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रको स्तर उन्नतिसहित पर्यटन प्रवद्र्धन गर्दै स्वाधीनताको परिचय दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *