भर्खरै :

क्युवाद्वारा आफ्नो अर्थतन्त्रमा भएको क्षतिको निम्ति अमेरिकी नाकाबन्दीको निन्दा

क्युवाद्वारा आफ्नो अर्थतन्त्रमा भएको क्षतिको निम्ति अमेरिकी नाकाबन्दीको निन्दा

हवाना (टेलेसुर) । क्युवाली राष्ट्रपति एवं क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव मिगुएल डियाज–क्यानेलले देशको अर्थतन्त्रमा भएको क्षतिको निम्ति अमेरिकी आर्थिक नाकाबन्दीको कडा निन्दा गर्नुभएको छ ।
हवानामा शनिबार क्युवाली जनसत्ताको राष्ट्रियसभामा विधायकहरूलाई सम्बोधन गर्दै उहाँले आफ्नो देशको विकास पछाडि पर्नुमा ६ दशकभन्दा लामो अमेरिकी आर्थिक नाकाबन्दी एक बाह्य कारक भएको बताउँदै त्यसको कडा शब्दमा निन्दा गर्नुभयो ।
‘‘यो ठूलो बाह्य तत्वले क्युवाको विकासमा बाधा पु¥याएको छ, साम्राज्यवाद र पुँजीवादले विश्वभर असमानता र बहिष्कार बढाएको छ, विकासमा अवरोध गरेको छ ।’’ उहाँले भन्नुभयो ।
नेता डियाज–क्यानेलले क्युवामा अमेरिकी आर्थिक युद्ध, विश्वव्यापी आर्थिक सङ्कट, कोभिड १९ महामारीपछिको पुनःस्थापनाको सुस्त गति र क्रान्तिविरोधीहरूको निरन्तर हमलाले टापुको आर्थिक पुनःप्राप्ति रणनीतिलाई नकारात्मक असर पारेको बताउनुभयो ।
“अपेक्षित नतिजाहरू पूरा नगरी अपनाइएका उपायहरूले थोरै पुनःस्थापनाको प्रवृत्ति प्रकट गरेको छ,“ उहाँले भन्नुभयो ।
क्युवाली नेताले आफ्नो देशको अर्थतन्त्रले आगामी तीन वर्षभित्र संरचनात्मक रूपान्तरण र बृहत् आर्थिक स्थिरीकरण कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रक्षेपण गरेको र यसले मध्यावधिमा विकास कोषलाई फाइदा पुग्ने आशा व्यक्त गर्नुभयो ।
राष्ट्रपति डियाज–क्यानेलले ऊर्जा, कृषि र चिनी उद्योगमा विदेशी लगानीका कार्यक्रम चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
क्युवाली क्रान्तिका नेता आर्मी जनरल राउल क्यास्ट्रो रुज र क्युवाको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव तथा गणतन्त्रका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजको उपस्थितिमा अन्तिम दिनको कार्यतालिकाअनुसार क्युवाली जनसत्ताको राष्ट्रिय सभाको दसौँ अधिवेशनको नियमित सत्र स्थानीय समयअनुसार शुक्रबार नै सुरु भएको थियो ।
अधिवेशनमा सांसदहरूले वर्तमान अवस्था र राष्ट्रिय ऊर्जा प्रणालीको सम्भावना, साथै २०२३ को पहिलो अर्धवार्षिकमा अर्थतन्त्रको व्यवहार र २०२२ को बजेटको परिणामको विश्लेषण गर्ने बताइएको छ ।
उहाँहरूले राष्ट्रियसभा अगाडि डिसेम्बरमा प्रतिवेदन प्रस्तुत गरेका प्रान्तीय निकायहरू र केन्द्रीय सरकारको प्रतिवेदन पनि अनुमोदन गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *