अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २८ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिको आयोजनामा विश्व सर्वहारावर्गका नेता एवं क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको जन्म दिवसको अवसरमा भएको एकहप्ते समाचार लेखन तथा वक्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रेम सुवालले देश–विदेशमा भइरहेको राजनीतिक परिस्थितिबारे सुझबुझ हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा लागेका कम्युनिस्ट नेताहरूको योगदान र पुस्तकबारे अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्गठनमा लागेका सिद्धान्तनिष्ठ कार्यकर्ताहरू लोभलालचमा नफस्ने चर्चा गर्दै उहाँले आज देशमा ठूलठूलो भ्रष्टाचार हुनु, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनु, ललिता निवासको जग्गा व्यक्तिले लिनु र सुन काण्डका घटना घट्नुको कारण शासकहरू लोभमा फस्नु हो भन्नुभयो ।
शासकहरूको अदूरदर्शिता, दलगत स्वार्थ र देश र जनताप्रति जिम्मेवार नभएकै कारण जनताले दुःख पाइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महिलालाई पनि राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नुपर्छ । देश र जनतामा समर्पित विचारप्रधार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको नियमित अध्ययन गर्नुपर्छ ।”
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले क्युवाली क्रान्तिबारे जानकारी दिँदै संरा अमेरिकाको नाकाबन्दीसामु नझुकी क्युवाली जनताले समाजवाद या मृत्युको नाराका साथ सङ्घर्ष गरिरहेका छन् भन्नुभयो ।
कामदार जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरी समाजवादी क्रान्ति गर्ने उद्देश्यका साथ नेमकिपा सङ्घर्षरत रहेको उहाँले बताउनुभयो ।
पार्टी प्रकाशनका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनबारे अध्ययन गरी नियमित छलफल र अन्तरक्रिया चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोराले समाचार लेखन र वक्ता प्रशिक्षणको महत्वबारे चर्चा गर्दै तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष अनिता जधारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा मीरा दुगुजु, सुनिता अवाल र रामेश्वरी कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply