भर्खरै :

नयाँ पुस्ताले देशभक्ति विचार अँगाल्नुपर्ने

नयाँ पुस्ताले देशभक्ति विचार अँगाल्नुपर्ने

भक्तपुर, २८ साउन । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति, भक्तपुरको वार्षिक कार्यतालिकाअनुसार गणेश माध्यमिक विद्यालय, भार्वाचोको आयोजनामा सम्पन्न माविस्तरीय चित्रकला प्रतियोगिताको पुरस्कार वितरण तथा संयुक्त परीक्षा समितिका विद्यालयहरूबाट एसईई परीक्षा २०७९ मा ३.६ भन्दा बढी जीपीए प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ता शैक्षिक, सामाजिक तथा राजनैतिकरूपले सचेत हुनुपर्ने चर्चा गर्दै अति राष्ट्रवाद, अहङ्कारवाद तथा राष्ट्रवादी विचार नअँगाली देशभक्ति विचार अँगाल्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्र र राज्य, देशभक्त र राष्ट्रवाद फरकफरक विषयवस्तु भएकोले यसबारेमा नयाँ पुस्ताका विद्यार्थीहरू सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले देशभित्र रहेका जातजातिहरूको रीतिरिवाज, चालचलन सहज बन्न धेरै लामो समय लाग्ने चर्चा गर्दै सबै जातजाति, भाषाधर्म समान रहेको विचार राख्नुभयो ।
परीक्षा समितिका पूर्वअध्यक्ष श्रीकृष्ण किसीले नयाँ पुस्ताका विद्यार्थीहरूमा विदेश पलायनको समस्या देखिरहेको औँल्याउँदै विदेशमा गएर पढेर स्वदेशमै फर्किएर सेवा गर्ने भावना राख्नुपर्ने बताउनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरूमा किताबी ज्ञानबाहेक अन्य किताबहरूको अध्ययन, अनुसन्धान, विश्लेषण तथा समाजबारे बुझ्नुपर्ने बताउनुभयो ।
जोरपाटी माविका प्रधानाध्यापक हरिप्रसाद ढकालले सक्षम, स्वच्छ र इमानदार आचरण भएका नयाँ पुस्ताको नेतृत्व नेपालको आवश्यकता रहेको बताउनुभयो ।
परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईको सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेश माविका प्रअ गणेशराम थुसाले परीक्षा समितिले गर्दै आएको अतिरिक्त क्रियाकलापहरूबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा सुशीला न्याइच्याईले पनि बोल्नुभयो ।
कार्यक्रममा २०७९ सालको एसईई परीक्षामा ३.६ जीपीएभन्दा बढी जीपीए ल्याएका ४४ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
आयोजक समितिले शुक्रबार सम्पन्न गरेको चित्रकला प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *