भर्खरै :

भजनमा प्रगतिशील गीत आवश्यक

भजनमा प्रगतिशील गीत आवश्यक

हाम्रा अग्रजहरूले थुप्रै सांस्कृतिक सम्पदाहरू देशलाई सुम्पेर गएका छन् । यो हाम्रो देशको धरोहर, पहिचान र गौरव हो । यसले विश्वमा नेपाललाई चिनाउने काम गरिरहेको छ । पुर्खाले सिर्जेको सम्पदा हेर्न विश्वभरका पर्यटकहरू नेपाल आइरहेका छन् । उनीहरू कङ्क्रिटका अग्लाअग्ला टावर तथा भवन हेर्नलाई नेपाल आएका होइनन् ।
हाम्रो पुर्खाले देशलाई मूर्त तथा अमूर्त गरी दुई प्रकारका सांस्कृतिक सम्पदाहरू नासोका रूपमा सुम्पेर गएका छन् । मठ, मन्दिर, पौवा, पाटी, पोखरी, धारा, मूर्ति, गरगहना आदि मूर्त सम्पदा हुन् भने बाजागाजा, गीत, सङ्गीत, नृत्य, पूजापाठ, आनीबानी, बोलीचाली, लवाइखवाइका संस्कार आदि अमूर्त सम्पदा हुन् । यी सम्पदाहरूले मानिसलाई अनुशासित, सुसंस्कृत र सभ्य नागरिक बनाउन मद्दत गरिरहेका हुन्छन् । यसलाई जोगाउनु र संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।
मानिसको जीवन अनुशासित, सभ्य, मूल्यवान र गौरव गर्न लायकको हुनु आवश्यक छ । यस्तो ऊर्जा थप्ने काममा मूर्त सम्पदाले जस्तो अमूर्त सम्पदाले पनि उत्तिकै योगदान दिइरहेको हुन्छ । सुख, दुःख, कथा व्यथा, मान, सम्मान, गौरव, संस्कार, लडाइँ, दण्ड, सजाय, पुरस्कार आदिको भाव, मर्म र सन्देशलाई हृदयङ्गम गरेर हाम्रा पुर्खाहरूले नवदुर्गा, कुमारी, नागाचा, हनुमान, खिचा, फाकंदली, लुसी, गाइँचा आदि नाचगानहरू जोगाइरहेका छन् । नटुवा, गरुड, माछा, घोडाजस्ता नाचगानहरू बिस्तारै हराउँदै छन् । यी र त्यस्ता अरू नाचगानलाई जीवन दिनु आवश्यक छ । यी सम्पदाहरू हाम्रा अग्रजहरूको हजारौँ हजार वर्षको अनुभव, मेहनत र रगत पसिनाका फल हुन् । यी नै मूर्त अमूर्त सम्पदाहरू हेरेर आज हामी गौरवान्वित भइरहेका छौँ । नेपालीहरू यी कुरा संसारको जुनसुकै देश वा ठाउँमा जाँदा गौरवका साथ सुनाउँछन् । देशभक्त नेपालीले त्यस्तो गाथा गाउनु र सजाउनु जरुरी छ । यी उनीहरूका लागि उत्सुक र अचम्मका विषय हुनेछन् । यी नासोका रूपमा सुम्पेर गएका हाम्रा अग्रजहरूलाई सबै मूर्त, अमूर्त सांस्कृतिक सम्पदाहरूलाई हामीले शिर निहुराएर सम्मान गर्नुका साथै त्यसलाई जोगाउनु आवश्यक छ ।
भजन पनि एउटा महत्वपूर्ण सम्पदा हो । जुन बिहान–बेलुका भक्तपुरलगायत देशका अन्य तीर्थस्थल, मठ मन्दिर, पाटीहरूमा गाउँदै आएको हामी देख्न सक्छौँ । ती भजन र गायनहरूमा सामान्यतया देवी देवताकै आराधना र उपासना गाइन्छन् । भजन गायनहरूमा देवताको नाम पुकारेर, जपेर दीन दुःखी, समाज, देश र जनताकै सेवा गर्नुपर्ने भाव या मर्मका गीत हुन्छन् । तर, कहीँ कहीँ भजनमा राजा, महाराजाको स्तुतीगान गाइरहेको सुनिन्छ । राजा महाराजा बहुसङ्ख्यक गरिब, अशिक्षित, दुःखी जनतालाई दासजस्तो व्यवहार, दुःख पीडा दिने शोषक, सामन्तका प्रतिनिधि हुन् । राजाको नाममा उनीहरूका आसेपासेले जनतालाई शोषण र दमन गरिरहेका हुन्छन् । उनीहरूले धर्मको आवरणमा, देवी देवताको नाममा जनतालाई शोषण र दुःख दिइरहेका हुन्छन् । यी भजनका गीत उनीहरूकै आफ्ना आसेपासेहरूले लेख्ने र गाउने गर्छन् । जनता सधैँ शोक, करुणा, जयजयकारमा डुबिरहून्† उनीहरूका विरुद्धमा जनताले औँला उठाउनु हुँदैन† त्यसो गर्नु पाप हो भन्ने भावका गीत भजनमा गाइरहेको हुन्छ । जनताले उनीहरूको शोषण, अन्याय, अत्याचारबारे थाहा नपाऊन्, थाहा पाए पनि चुपचाप सहेर बसून्, त्यसको विरुद्धमा जनता कहिले पनि उठेर आउन नसकून् भन्ने भावनाविरुद्ध अब इमान, नैतिकता, त्याग, संस्कार, समाज र देशप्रतिको योगदान र कर्तव्यको बारेमा शोषक, सामन्त, लुटेराहरूको विरुद्धमा श्रमजीवी मजदुर र किसानको समर्थन या हितमा गीत लेखेर भजन गाउनु जरुरी छ ।


धर्मात्माको आवरणमा जनतालाई दुःख दिइरहेका, पाटी, सत्तल, धारा, पोखरी, पर्ती जग्गा, जङ्गल, नदी, बगर आदि लुटिरहेका लुटेराहरू धनसम्पत्तिको धाक देखाएर, सत्ताको रवाफ देखाएर हनुमान भएका दानवहरूको विरुद्धमा देश र जनतालाई दुःख दिइरहेका विदेशीहरूको विरुद्धमा जनतालाई चेतना दिने खालका गीत रचेर भजनमा गाउनु जरुरी छ । त्यो नयाँ पुस्ताका छोराछोरी, विद्यार्थी तथा युवालाई सुनाउनु आवश्यक छ । नयाँ पुस्ताले उनीहरूबाट देश र जनताको रक्षा गर्न सकोस्† त्यो तागत राख्न सकोस् । कहीँकहीँ भजनमा प्रगतिशील गीतहरू पनि गाइरहेको सुनिन्छ । यसलाई अरू भजन टोलीले अनुकरण गर्नु जरुरी छ ।
कतिपय भजनमा देवीदेवताको स्तुती गान गाउने भक्तजनहरूले, धर्मको भजन गाउने धर्मावलम्बीहरूले घर, परिवार, समाजमा पापको काम जानेर नजानेर गरिरहेको सुनिन्छ । देवतालाई पूजा गरेर, भजनकीर्तन सकाएर घर पुगेको हुँदैन, बाटोमा भेटेजतिलाई जत्थानाम गाली गरेर, कुरा काटेर वा सरापेर गइरहेका हुन्छन् । अरूले पनि बाटोमा यस्तै पापको भजनकीर्तन गर्दै गइरहेका हुन्छन् । उनीहरूमा धर्मको सकारात्मक, सहयोगी सोच, विचार तथा व्यवहारको कुरा कहिल्यै पनि आउँदैन । त्यसैले उनीहरूको मनमा जहाँ भए पनि चयन हुँदैन । धर्मले अरूलाई दुःख देउ भनेर, अरूको सम्पत्ति लुट भनेर कहिले पनि भन्दैन । धर्मले सकारात्मक सोच र विचार बनाउने, त्यसअनुसारको सद्भाव र सहयोगी व्यवहार गरी परिवार तथा समाजमा सम्मानित जीवन जिउन र नमुना बन्न सिकाउँछ ।
धर्मले सधैँ सधैँ गरिब तथा असहायको सेवा गर, दीन दुःखीको सेवा गर भन्ने पाठ सिकाएको हुन्छ । समाजका शोषक, पीडक, लुटेराहरूको विरोध गर्न, देशलाई थिचोमिचो हुन नदिन, विकास र पैसा, सुविधा सहुलियतको लोभ देखाएर बिगार्न आउने विदेशीको विरोधमा देशभक्त जनता र शोषित पीडित जनता एक भएर अघि बढ्नुपर्छ । समाज र देशमा सबैले गाँसबास, कपास, रोजगारी, रोजीरोटी, शिक्षा, स्वास्थ्य निःशुल्क नपाएसम्म शान्ति हुँदैन ।
गत वर्ष भक्तपुर नगरपालिकाले २०७९ चैत १९ गते प्रगतिशील भजन गायन प्रतियोगिता गरेको थियो । जनतालाई प्रगतिशील विचार र चेतना भजन गायनमार्फत दिन प्रगतिशील भजन गायन प्रतियोगिता गर्ने सम्भवतः नेपालको पहिलो नगरपालिका भनपा भनपा हुनुपर्छ । यसलाई अन्य कम्युनिस्ट र प्रजातन्त्रवादी भनिएका दलका नेता, कार्यकताहरू जितेका स्थानीय तहहरूले पनि अनुकरण गर्नु आवश्यक छ ।
भक्तपुर नगरपालिकाले हरेक वर्ष गाईजात्राको अवसरमा प्रतियोगितामा प्रदर्शित प्रथम, द्वितीय, तृतीय हुन सफल नाचगानका टोली र त्यस्ता नाचगान, बाजागाजा सिकाउँदै आएका अग्रज गुरुहरूलाई सम्मान गर्दै आएको जगजाहेर छ । यसले स्थानीय जनताको साथ र सहयोगमा सयौँ पाटीहरू पुनः निर्माण गरेर संरक्षण गरेको र स्थानीय विद्यार्थी भाइबहिनी, युवा, ज्येष्ठ नागरिकहरूलाई देश विदेशको घटना, समाचार सम्प्रेषण गर्न, दीक्षित गर्न, पठन संस्कृतिको विकास गर्न सांस्कृतिक आदर निकेतनको रूपमा रहेका ती पाटीहरूमा स्थानीय अग्रजहरू मिलेर वाचनालय, पुस्तकालय सञ्चालन गर्न थालेको देखिन्छ । जुन समाजको लागि सकारात्मक र सराहानीय कार्य हो । यसले एकातिर पाटी सफा सुग्घर हुनेछ र संरक्षण हुने अर्कोतिर पठन संस्कृतिको विकास गर्न मद्दत पुग्नेछ । यस्तो काम विस्तार गर्नु आवश्यक छ । अतः अग्रज पुर्खाहरूले समाजलाई सभ्य र सुसंस्कृत बनाउन मूर्त तथा अमूर्त सम्पदालाई जोगाउनु हामी सबैको कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *