भर्खरै :

लिएको ऋण अन्तत : फिर्ता

लिएको ऋण अन्तत : फिर्ता

वडाध्यक्षको डायरीबाट
एकदिन समयमै बिहानको खाना खाई वडा कार्यालयमा जान तयारी गर्दै थिएँ । घरमै दुई जना मानिस आइपुगे । उनीहरू श्रीमान् श्रीमती थिए । पारिवारिकरूपमा नाता पनि पर्दथ्यो । अरू समयमा पनि धेरै पटक घरमा आइसकेको हुँदा उनीहरू मेरो अध्ययन कक्षमा नै बसे । मैले दुवैलाई बस्न अनुरोध गरँे । पारिवारिक नाता भएकोले समय–समयमा घरमा आउनु स्वाभाविक थियो । म आफ्नै काममा व्यस्त थिएँ किनकि मलाई समयमै वडा कार्यालय पुग्नु थियो । मेरी श्रीमती उनीहरूसँग पारिवारिक कुराकानी गर्न थालिन् । त्यही भएर मेरो ध्यान उनीहरूतर्फ गएन । केही बेरपछि म वडा कार्यालयमा जान तल जानै लाग्दा साली बहिनीले भिनाजुलाई नै विशेष काम भएर भेट्न आएको बताइन् । श्रीमतीले पनि बहिनीको समस्या ठुलै भएकोले एकछिन बसेर सुनिदिन आग्रह गरिन् । त्यसपछि म उनीहरूसँगै बसी जिस्किने पाराले भने, “के समस्या भयो साली नानीलाई ? ज्वाईँसाहेब पनि आउनुभयो ? मैले के गर्नुप¥यो भन्नुुस् । श्रीमतीले अघि पनि बहिनी भेट्न आउँदै छिन् त भनेकी थिइन् । मैले भुसुक्कै बिर्सेँ । भन्नुस् न के भयो ?” दुवैको अनुहार अँध्यारो देख्छु ।
बहिनी ज्वाईँँले भन्न थाले, “भिनाजु तपाईँको वडामा एक जना साथीसँग मेरो मित्रता थियो । त्यस साथीको नाम कृष्णराम दुवाल (नाम परिवर्तित) हो । त्यसपछि व्यापारिक कारोबार पनि भयो । दुवै जना मिलेर व्यापारिक कारोबार गरेका थियौँ । तर, उसले मेरो दसौँ लाख रुपैयाँ नदिइकन बसेको छ । मैले करिब साढे एक वर्षसम्म ताकेता गरेँ । तर, दिन्छु दिन्छु भनी पैसा दिने कुरा गर्दै गर्दैन । बिचमा अलि अलि त लिएँ तर पूरै पैसा लिन सकिएन । घर यहीँ तपाईँँको टोलमा पर्दछ । मैले धेरै प्रयास गर्दा नि भएन । तपार्इँ वडाको वडाध्यक्ष भएकोले तपाईँँले भनेर लिन सकिन्छ कि भनेर आएका हौँ । मेरो निजी काममा तपार्इँलाई दुःख दिने मन थिएन । तर पनि साह्रै गाह्रो भएकोले गर्दा भनेको हुँ । तपार्इँले एकचोटि केही गरिदिनुप¥यो ।”
त्यसपछि साली नानीले भन्न थालिन्, “कम्पनीबाट सामान ल्याएर उसको पसलमा दिएको हुँदा कम्पनीले श्रीमान्लाई तिरायो । हामीले गहना र तलब जम्मा गरेको रकमबाट कम्पनीलाई सबै चुक्ता गर्यौँ । तर, यो मान्छेले हामीलाई पैसा दिने कुरा नै गर्दैन । घरमा ससुराले गहना फिर्ता माग्दै छ । अब कसरी गहना दिने होला ? गहना बेचेको थाहा नै दिएको छैन । त्यही भएर भिनाजुले एक पटक प्रयास गरिदिनुस् । भिनाजु वडाध्यक्ष भएकोले कुरा मान्ला कि ? अनि फेरि तपार्इँकै वडाको मान्छे रहेछ ।”
मैले तुरुन्तै त्यो मान्छेको नाम र नम्बर नोट गरेँ र फोन लगाइहालेँ । मैले आफू वडाध्यक्ष भएको र भेट्न चाहेको बताएँ । उनले भेट्न खोजेको कारण सोधे । मैले तपार्इँको नाममा लेनदेनको एक मौखिक उजुरी आएको र त्यही भएर भेट्न खोजेको बताएँ । त्यसपछि त्यस मान्छेले तत्काल घरमै भेट्न आउँछु भनी फोन राखिदिए ।
केही बेरमै कृष्णराम घरमै आए । त्यसबेलासम्ममा घरमा श्रीमती र साली नानी अफिस गइसकेकी थिइन् । घरमा कृष्णराम, म र ज्वाईँ मात्र बाँकी भयो । मैले घरमा कृष्णरामलाई सोफामा बस्न अनुरोध गरँे । त्यसपछि मैले ज्वाईँको पैसा फिर्ता नदिनुको कारण सोधेँ । भाइले जवाफमा भने, “मैले पैसा दिन नसकेको हो सर । मेरो व्यापार कोराना महामारीका कारण चल्न सकेन । यो कुरा उसलाई थाहा छ । कोरोनाको कारणले गर्दा मेरो पचासाँै लाख डुब्यो । त्यही भएर मैले पैसा दिन नसकेको हुँ । अरू धेरै जनालाई पनि पैसा दिनु छ । परिस्थिति र बाध्यताले गर्दा यस्तो अवस्था आयो । तर म उनको पैसा जरूर फिर्ता गर्छु । घरको सगोलको जग्गा बेच्न लागिरहेको छु । तर, देशमा मन्दीको अवस्थाले गर्दा जग्गा किन्ने मान्छे पनि नभेटिएको अवस्था छ । त्यही भएर केही समय कुर्नुपर्ला । जग्गा बेच्नेबित्तिकै म पैसा फिर्ता गर्छु ।”
मैले भनँे, “तपाईँको आफ्नै समस्या होला । कोरोनाले गर्दा समस्या भयो होला । तर, उहाँको पनि त समस्या होला । तपाईँले मेरो मान र वचन राखेर भए पनि यो हप्तामा दुई लाख फिर्ता गर्नुहोला । बाँकी त्यसपछि किस्ताबन्दीमा फिर्ता गर्नुहोला ।” त्यसपछि यो हप्ता दुई लाख फिर्ता दिने उनले सहमति जनाए । मैले पैसा फिर्ता नगरे कानुनी उपायमा जानुपर्ने हुन्छ भनेँ । त्यसपछि हामी तिनैजना घरबाट निस्क्यौँ ।
त्यसपछि म अर्कै कार्यमा व्यस्त भएँ, महिनौँसम्म ज्वाईँ साली बहिनी र कृष्णरामसँग मेरो सम्पर्क भएन । कृष्णरामले सबै पैसा फिर्ता ग¥यो होला भने सोचमा थिएँ । मैले दुवै जनालाई कुनै सोधखोज गर्न सकिनँ । मेरो आफ्नै कार्य व्यस्तताले गर्दा मैले यस विषयमा ध्यान दिन सकिनँ । तर, एकदिन साली नानी र ज्वाईँ बेलुका घरमा आए । उनीहरूको अनुहार अँध्यारो थियो । अनुहारबाटै पैसा फिर्ता नपाएको थाहा पाएँ । तापनि, मैले ज्वाईँलाई सोधेँ, “किन ? कृष्णरामले पैसा दिएको छैन ?” प्रतिउत्तरमा उनले भने, “अस्ति तपाईँसँग भेट भएपछि एक पटक पैसठ्ठी हजार र पछि पचास हजारजति तपाईँको मान राखेर दियो । त्यसपछि फोन नै स्वीच अफ गरेर बसेको छ । आज एकचोटि घरमै तपाईँसँग जानुपर्ला भनी हामी आएका हाँै । राति घरमा पक्कै सुत्न त आउनुपर्ने हो ।” त्यसपछि हामी चार जना कृष्णरामको घरमा गयौँ । उनीसँग घरमै भेट भयो । हामीले घर परिवारका मानिस र कृष्णरामलाई पैसा दिन पटक–पटक अनुरोध ग¥यौँ । तर, उनले खेत बेच्न नसकिएकोले पैसा दिन नसकेको बताए । उनको घरमा बिरामी बाजे र बज्यै भएकाले त्यहाँ बसेर लामो कुराकानी गर्न उचित नठानी हामी त्यहाँबाट फक्र्यौँ ।
त्यसपछिका दिन कृष्णरामले मोबाइल नै स्वीच अफ गरी बस्न थाले । घरमा पनि फेरि हामी कुर्न गयौँ । खेतको घरमा होला भनी राति त्यहाँ पनि गयौँ । त्यहाँ पनि उनी थिएनन् । एक दिन एक जना परिचित साथीले कृष्णराम पुलिस चौकीमा समातेर राखेको खबर दिए । त्यसपछि हामी पुलिस चौकीमा गयौँ । उनलाई चेक बाउन्सको केसमा थुनिएको रहेछ । त्यसपछि हामीले पनि चेक बाउन्सको केस हाल्न तयारी थाल्यौँ । त्यसको लागि तयारी गर्दागदै वकिलले समयमै जाहेरी तयारी नगरेकोले उनी पैसा तिरेर छुटेको खबर पाएँ । हामीले कृष्णरामलाई पक्राउ गर्न जाहेरी दर्ता ग¥यौँ । त्यसै दिन कृष्णरामले आफ्नै वडाको सहकारीमा धितो राखेको जग्गा फुकुवा गर्न खोजेको खबर पाएँ । त्यो खबर पाउनेबित्तिकै रोक्का फुकुवा नगर्नको लागि मैले वडाबाट पत्र पठाएँ । त्यसपछि कृष्णरामले हामीलाई मोबाइलमा सम्पर्क गरी भेट्न चाहेको खबर गरे । मैले ज्वाईँलाइ भेट्न जान अनुरोध गरँे । त्यसपछि बल्ल कृष्णरामले पैसा पूरै फिर्ता गर्ने कुरा गरे । मैले ज्वाईँलाई उसको कुरा विश्वास नगर्न र जाहेरी र धितो फुकुवा कुनै हालतमा फिर्ता नहुने जानकारी दिएँ । जबसम्म पैसा हामीलाई हातमा ल्याएर फिर्ता दिँदैन तबसम्म फुकुवा र जाहेरी फिर्ता नहुने बताएँ । त्यसपछि कृष्णरामले वडा कार्यालयमा आएर पूरै पैसा फिर्ता गरे । हामीले पनि धन्यवाद दिई बिदावारी ग¥यौँ । जिल्ला प्रशासन कार्यालयमा पेस गरेको उजुरी फिर्ता गर्न भोलिपल्ट कार्यालयमा मिलापत्रको कागजसहित उपस्थित भयौँ र उजुरी फिर्ता लियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *