भर्खरै :

सबै जातजातिले आफ्नो भाषालाई संरक्षण गर्नु जरुरी

सबै जातजातिले आफ्नो भाषालाई संरक्षण गर्नु जरुरी

भक्तपुर, २ भदौ । नेपाल संवत् ११४३ कौलाथ्व द्वादशी र त्रयोदशी (कार्तिक ९ र १०) को दिन योसिंख्यः, वडा नं. ५ मा हुने ४३ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको ग्वसाखलः (आयोजक समितिको कार्यालय) नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शनिबार उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै सचिव सुवालले एउटा भाषा विकास गर्न हजारौँ वर्ष लाग्ने गरेको इतिहास रहेको हुँदा सबै जातजातिले आ–आफ्नो भाषालाई व्यवहारमा ल्याई संरक्षण गर्नु जरूरी रहेको बताउनुभयो ।
सरकारमा गएकाहरूले पनि सबै भाषालाई समान गर्नुपर्ने हो, तर सरकारले त्यस्तो गर्न नसकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको सम्पन्नता यहाँका रैथाने बासिन्दा नेवारहरूको योगदान महत्वपूर्ण छ । नेपालभाषा साहित्य तःमुंज्या भाषा–संस्कृतिको संरक्षण सँगसँगै नेपाली जनतालाई देश र विदेशको राजनीतिक, अािर्थक, सांस्कृतिक स्थितिबारे सचेत र शिक्षित पार्ने दब्बु पनि हो ।”
सिंहदरबार नेतृत्व गर्न गएकाहरू गलत भएको हुँदा नेपाली जनतालाई दुःख भोग्न बाध्य भएको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “सरकारमा गएका पार्टीहरूले २०६३ सालयता विदेशीहरूलाई जन्मको आधारमा नेपाली नागरिकता दिए भने अहिले ती विदेशीका छोराछोरीहरूलाई वंशजको आधारमा नेपाली नागरिकता दिने देशघाती विधेयकमा नयाँ संसद्को स्वीकृतिविना राष्ट्रपति पौडेललाई प्रमाणीकरण गराए, जुन गलत छ ।”
उहाँले भन्नुभयो, “जनताको साहित्यमा हातमा ठेला र गोदामा हिलो भएकाहरू नायक र नायिका हुनेछन् । नेपालभाषा साहित्य तःमुंज्याको दब्बुमा यस्तै साहित्य र वक्ताको मन्तव्य प्रस्तुत हुँदै आएको छ । आगामी दिनहरूमा पनि यसरी नै यो दब्बु अगाडि बढ्नेछ ।”
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले तःमुंज्या सांस्कृतिक पर्वको पर्याय रहेको बताउनुभयो । उहाँले तःमुंज्या समसामयिक विश्वको मानचित्र चिनाउने राजनैतिक थलो भएको आँैल्याउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नयाँ पुस्तालाई नेपालभाषा तथा नेवारी संस्कारहरू सिकाउँदै जान जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले शब्द भण्डारमा ज्यादै उन्नत रहेको नेपालभाषाबाट लेखन अभ्यासको कमीले साहित्यमा धेरैभन्दा धेरै आगन्तुक शब्दहरू मिसिन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
४३ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष बलराम सिबन्जार र केपी छुस्याकीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *