भर्खरै :

फिडेल क्यास्ट्रो साम्राज्यवादविरुद्ध लड्ने अन्तर्राष्ट्रवादी योद्धा

फिडेल क्यास्ट्रो साम्राज्यवादविरुद्ध लड्ने अन्तर्राष्ट्रवादी योद्धा

भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिका वडा नं. १० वडा कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस तथा फिडेल क्यास्ट्रोको ९८ औँ जन्म दिवसको अवसरमा ‘युवा र देशभक्ति’ विषयक वक्तृत्वकला प्रतियोगिता नगर प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले समाजमा आमुल परिवर्तनको निम्ति भूमिका खेल्ने जुनसुकै समूहका मानिस पनि युवा हुने धारणा राख्दै युवा उमेरले होइन विचारले हुन्छ भन्नुभयो ।
राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको स्पष्ट पार्दै उहाँले गणतान्त्रिक व्यस्थामा राजतन्त्र पुनःस्थापना गर्ने भनेर लागेका राजावादीहरू कानुनअनुसार उमेरले युवा भए पनि तिनीहरू युवा हुन नसक्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “फिडेल क्यास्ट्रो असाधारण प्रतिभा, तीखो स्मरण शक्ति, कहिले नडग्ने साहसी, इतिहास र भूगोलको गहिरो अध्ययन भएको व्यक्तित्व हुनुहुन्थ्यो । नयाँ पुस्ताले क्यास्ट्रोबाट शिक्षा लिनुपर्छ ।”
“अमेरिकी साम्राज्यवादविरूद्ध कहिल्यै नझुकी निरन्तर सङ्घर्ष गर्ने एक अन्तर्राष्ट्रवादी योद्धा र कामदार वर्गको प्रेरणादायी व्यक्तित्वको रूपमा फिडेल क्यास्ट्रोलाई लिनुपर्छ”, उहाँले भन्नुभयो ।
“माक्र्स, एङ्गेल्सले समाजवादको बाटो देखाउने कम्युनिस्ट घोषणापत्र लेख्दा र फिडेल क्यास्ट्रो र चे ग्वेभाराको नेतृत्वमा क्युवामा क्रान्ति हुँदा उहाँहरू उमेरले पनि युवा हुनुहुन्थ्यो । नेपाली युवाहरूले पनि उहाँहरूको जीवनबाट धेरै कुरा सिक्न सकिन्छ,” प्रमुख प्रजापतिले जोड दिँदै भन्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य एवम् निर्णायक सुनिल दुवालले देशभक्ति र राष्ट्रवादमा फरक रहेको धारणा राख्दै भारत हिन्दूबाहेक अरूको नभएको मोदीको विचार अति राष्ट्रवाद भएको बताउनुभयो ।
देशको सार्वभौमिकता, भूअखण्डता रक्षाको सङ्घर्ष गर्ने, न्याय, स्वतन्त्रताको लागि लड्ने देशभक्ति हो भन्दै उहाँले भन्नुभयो, “कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । चेग्वेभारा अर्जेन्टिनामा जन्मेर क्युवाका क्रान्ति गरेर बोलिभियामा क्रान्तिमा सहादत प्राप्त गर्नुभएको थियो ।”
वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनकवि चन्द्रबहादुर उलकले पनि बोल्नुभएको थियो ।
वडामा रहेका ८ वटा विद्यालयका २९ जना विद्यार्थी सहभागी भएको कार्यक्रममा पारागनका एन्जेल खड्का प्रथम, जेन्युइनका आभा याकामी द्वितीय, स्कलर होमका रंजिता चित्रकार तृतीय र माउन्ट भ्यालीका अंकिता श्रेष्ठ सान्त्वना हुन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *