भर्खरै :

युवा र देशभक्ति

युवा र देशभक्ति

१६ वर्ष नाघेको तर ४० वर्ष नपुगेको, बालपनको चञ्चलताले छाडिएको तर बुढ्यौलीले स्पर्श नगरेको मानिसको जमातलाई नै युवावर्ग भनिन्छ । राष्ट्रमा सङ्कटको कालो बादल मडारिएको बेला हरेक देशवासीको हृदयबाट उर्लिने स्नेहको भाव नै हो देशप्रेम, देशप्रति माया मोह र अनुराग नै हो देशप्रेम । समृद्धि र विकासमा युवाले महत्वपूर्ण भूमिका खेल्दछ । युवा कुनै पनि देशको आर्थिक वा सामाजिक विकासमा अनुकूल वातावरण प्रदान गर्ने हामी सबैको एक मात्र आशा स्तम्भ हो । देशको भौतिक अवस्थालाई विपन्नताबाट सम्पन्नतातर्फ, नराम्रो अवस्थाबाट राम्रो अवस्थातर्फ लैजाने काम पनि युवाहरूकै हातमा हुन्छ । राष्ट्रिय विकासको रथ तान्ने आधारभूत शक्ति पनि युवा शक्ति नै हो । वास्तवमा यो शक्ति नै देशको समृद्धिको लागि ऊर्जा हो । युवा–युवतीहरूको जोस र जाँगरको अगाडि कठिनभन्दा कठिन चुनौतीले पनि शिर निहुराउनै पर्छ । युवाहरूको अदम्य आँट र हिम्मत देश विकासमा राम्ररी प्रयोग हुनसकेमा जुनसुकै राष्ट्रले विकासको गतिमा तिव्रता प्राप्त गर्दछ । त्यसैले, कुनै पनि मुलुकको विकासमा युवावर्गले गहनतम भूमिका निर्वाह गर्दछ । युवावर्गलाई समृद्धको सार र देश विकासको आधार मानिन्छ । इतिहासको पाना पल्टाउदै हेर्ने हो भने प्रत्येक देशको सिमाना त्यहाँका युवाको रगतले नै कोरिएको हुन्छ । युवाले देश विकासको जिम्मेवारी बोक्न सक्दछ र देशभक्तिको उचित उदाहरण विश्वसामु प्रस्तुत गर्न सक्छ । अब आवश्यकता छ केबल एक मस्तिष्कको जहाँ नयाँ नेपालको कल्पना गर्न सकिन्छ । जहाँ सार्वभौमसत्ता सम्पन्न नेपालीहरू खुसीले गद्गद् गरिरहेका हुन्छन् । एक पवित्र मनको छ जहाँ देशभक्ति वास गर्छ र दुई शुद्ध पाइलाको छ जसले समृद्धितर्फ आफ्नो कदम चाल्दछ । हामीहरूले सुन्दै आएको कुरा हो ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ अर्थात् जननी र जन्मभूमि स्वर्गभन्दा महान् हुन्छ । तर, यस कुराको मोल म आज मात्र बुझ्दै छु । युवा नभए देशभक्तिको रास चल्दैन र देशभक्ति नै नभए त्यस देशमा युवा भएर जन्मनुको के अर्थ ? त्यसैले, यस कुराको मनन हामीले समयमै गरेको भए सायद आज नेपाल परिवर्तित हुन्थ्यो होला ।
तर, अहिलेको परिस्थिति देशको विकासमा खट्नुपर्ने युवा जनशक्ति वैदेशिक रोजगारको नाममा प्रत्येक दिन २ हजारभन्दा बढी युवाहरू विदेशमा पलायन भइरहेका छन् । नेपालका युवा र युवतीहरू आफ्नो काम, माम रोजगारीका लागि छिमेकी वा टाढाको देशमा भौतारिनुपर्ने दुर्नियति भोग्नुपरेको छ भने कतिपय युवाहरू देशको उन्नति गर्नुको साटो कुलतमा परेर देशको अवनतितर्फ आकर्षित भइरहेका छन् । यसरी नै युवाहरूको श्रम, सिप विदेशमा पलायन हुँदै गयो भने देशलाई सिङ्गार्न सकिँदैन । कति विडम्वनापूर्ण स्थिति छ नेपालको । नेपालको अहिले आर्यघाटमा भन्दा अन्तर्राष्ट्रिय विमानस्थलमा रुने आफन्तहरूको भिड छ । एउटा बाबुलाई विमानमा उडेर गएको छोरा बाकसमा फर्केला भन्ने पिर छ । ठूलाठूला अमेरिका र चीनजस्ता राष्ट्रले संसारकै जागरूक युवाहरूलाई रोजगार दिएर आफ्नो देश विकास गर्दै छन् । तर, हामी नेपालीहरू हाम्रो युवा जनशक्तिलाई अरू देशको विकासमा खटाउँदै छौँ । तसर्थ, मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने भावनालाई उजागर गर्नु अब आवश्यक छ । देशभक्ति बोलेर मात्र होइन व्यवहारमा पनि झल्किनुपर्छ । यसलाई यथार्थमा परिणत गर्न सक्नुपर्छ । अहिलेको राजनीतिक अस्थिरता, आर्थिक अवस्था कमजोर र रोजगारीको कमी जस्ता कारणले कतिपय युवाहरूले नेपालमा आफ्नो उज्ज्वल भविष्यको सपना नै देख्न छोडे । त्यसैले, अब युवाहरूले आफ्नो देशको लागि, सही प्रतिनिधि चुनेर देशमै केही गर्न र देशमै सुन फलाउँछु भन्ने विचार राख्नुपर्छ ।
तसर्थ, समृद्ध नेपाल र सुखी नेपालीको लागि युवाहरूको योगदान र देशप्रति भक्ति आवश्यक छ । देशले मलाई के दिए भन्दा पनि देशलाई म के दिन सक्छु भन्ने भावनाले युवाहरू समपर्ति हुन थाले भने अवश्य एकदिन देशको मुहार फेर्न सकिन्छ ।
कुर्सीको मोह त्यागिदेऊ हजुरबुबा
बन्दैन देश अब नउठी युवा ।
(यो रचना भ.न.पा. वडा न. १० को आयोजनामा फिडेल क्यास्ट्रोको जन्म जयन्तीको अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामा द्वितीय भएको रचना हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *