भर्खरै :

खेलाडीहरू राजनीतिबाट अलग हुन नसक्ने

खेलाडीहरू राजनीतिबाट अलग हुन नसक्ने

भक्तपुर, ४ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरू देशको राजनीतिबाट अलग हुन नसक्ने बताउँदै देशको राजनीतिले खेलाडीहरूलाई प्रभाव पारिरहेको हुन्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा आइतबार आयोजित बधाई कार्यक्रममा प्रमुख प्रजापतिले युवा खेलाडीहरू अनुशासित हुनुपर्ने र समाज परिवर्तनमा योगदान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि नमुनाकै रूपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्दै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “भनपाले दुईवटा कभर्ड हल निर्माण सम्पन्न गरिसकेको छ । अरू निर्माणको प्रक्रियामा छ । भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउन योगदान गर्नुपर्छ ।”
सरकारको गलत नीतिको कारण युवाहरू विदेसिन बाध्य भएको चर्चा गर्दै प्रमुख प्रजापतिले श्रम रोजगारी स्वीकृति लिएर वर्षको आठ लाख र उच्च शिक्षा हासिल गर्न एक लाख दस हजार गरी नौ लाख युवाहरू विदेसिएको बताउनुभयो ।
“युवा विदेश पठाएर पुँजीवादी शासकहरू देशमा आन्दोलन र सङ्घर्ष रोक्ने कोसिस गर्दै छन् तर तिनीहरूको सपना पूरा हुनेछैन । युवाहरू विदेश पठाउँदैमा देशमा क्रान्ति रोकिने छैन,” उहाँले भन्नुभयो ।
नगर खेलकुद समितिका पूर्व संयोजक एवं ७ नं. वडाध्यक्ष उकेश कवांले खेलाडीहरूले आ–आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउँदै खेल राजनीतिक परिवर्तनको लागि, देश र कामदार जनताको निम्ति हुनुपर्ने बताउनुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक एवं १ नं वडाध्यक्ष श्यामकृष्ण खत्रीले खेलकुद समाज परिवर्तनको लागि हो, पैसा कमाउनको निम्ति होइन भन्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बक्सिङ महासङ्घका कोषाध्यक्ष गौतम सुजखु, वाग्मती प्रदेश बक्सिङ सङ्घका सल्लाहकार विश्वराम कवां, भक्तपुर जिल्ला बक्सिङ सङ्घका सल्लाहकार रवीन्द्र खर्बुजा र साजन लघुले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा वाग्मती प्रदेश बक्सिङ सङ्घको दोस्रो पूर्ण बैठकले सल्लाहकार नियुक्ति भएका विश्वराम कवां र भक्तपुर जिल्ला बक्सिङ सङ्घमा उकेश कवां, विनोदचरण राय, रवीन्द्र खर्बुजा र केशव त्वानाबासुलाई सल्लाहकारमा मनोनयन भएकोमा बधाई ज्ञापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *