भर्खरै :

कर्णाली राजमार्ग कहिलेसम्म मृत्यु मार्गको अवस्थामा रहने

कर्णाली राजमार्ग कहिलेसम्म मृत्यु मार्गको अवस्थामा रहने

सुर्खेत, १० भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुर्खेतको ‘लाइका खबर’ का बलबहादुर थापा, ‘भेरी एफ एम’ का केशव ढकाल र ‘रेडियो नेपाल’ मध्यपश्चिम क्षेत्रका भानुभक्त खड्कासँग देश र जनताको विषयमा आइतबार अलगअलग कुराकानी गर्नुभयो ।
सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग सांसद सुवालले शासक दलका नेताहरूले बहुदल र गणतन्त्रको ३४ वर्ष सिंहदरबार कब्जा जस्तै गरी देश र जनतामाथि शासन र शोषण गरेको उल्लेख गर्दै देशको सीमा सुरक्षा र सीमा स्तम्भसमेत संरक्षण नगरेको बारे चर्चा गर्नुभयो ।
“नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने अधिकारीलाई पक्राउ गर्न अमेरिकी सरकारको दबाब आवश्यक हुने र सुन तस्करीमा संलग्न अधिकारीहरूलाई पक्राउ गर्न भारत सरकारको दबाब आवश्यक हुने समाचार प्रकाशित भयो । यसले सिंहदरबार कब्जा जस्तै गरेर बसेका सरकारहरूको औचित्यमाथि प्रश्न उठायो”, सांसद सुवालले स्पष्ट गर्नुभयो ।
“भुटानी शरणार्थी समस्या भारतले खडा गरेको थियो । भुटानी शरणार्थी आफ्नै देश भुटानमा फिर्ता हुन खोज्दा भारतले अवरोध गरेको थियो ।” सासद सुवालले उल्लेख गर्नुभयो ।
देशको सन्तुलित विकास गर्न सांसद, मन्त्री र प्रधानमन्त्री भएकाहरू आ–आफ्नै निर्वाचन क्षेत्रमा बसोबास गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले देशको अर्थतन्त्र ओरालो लाग्नु, २२ खर्ब रूपैयाँ सार्वजनिक ऋण र १५ खर्ब व्यापार घाटा हुनुमा सरकारले उद्योग र व्यापार गर्न हुँदैन भन्ने शासक दलका नेताहरू नै दोषी भएको उल्लेख गर्नुभयो ।
‘शासक दलका नेताहरूले उम्मेदवार बनाउँदा र मन्त्री बनाउँदा करोडौँ रूपैयाँ उठाउने गरेको समाचार प्रकाशित भइरहेको छ । यसकारण, संसद् अवरोध खुल्ने र फेरि अवरोध हुने क्रम चालू रहनेछ । निर्वाचनमा उम्मेदवारी राजनीतिक पृष्ठभूमि र सम्पत्तिको आकार हेरेर रोक्ने व्यवस्था हुनु जरूरी छ ।” सांसद सुवालले स्पष्ट गर्नुभयो ।
सांसद सुवालले अगाडि राख्नुभयो, “पढेलेखेका बुद्धिजीवीहरू, शिक्षक, कर्मचारी, प्राध्यापक, लेखक, पत्रकारहरू सरकारमा गएर देशघात गरेका नेताहरूको पछि लाग्नु भएन । शासक दलका नेताहरूले अमेरिकी धम्कीको डरमा एमसीसी सम्झौता गरेको र रूसको विरूद्ध युक्रेनको पक्षमा मत दिएको असंलग्न परराष्ट्र नीतिविपरीत हो ।”
शासक दलका नेताहरू पूर्वाधार नभएका निजी विश्वविद्यालय र कलेज सञ्चालन गर्न दिने र तर पूर्वाधार भएको भक्तपुर नगरपालिकाको ख्वप विश्वविद्यालयको विधेयक पारित गर्दैनन् । विद्यार्थी भर्नाको बेला शैक्षिक संस्था हडताल गराई खर्बौँ रूपैयाँ बोकाएर भारतलगायत देशमा पढ्न पठाउँछन् ।” सांसद सुवालले स्पष्टसँग राख्नुभयो ।
“भेरी र कर्णालीमा पञ्चायती निरङ्कुशताको दमनको विरोधमा कम्युनिस्ट आन्दोलन सुरू गरेको नेपाल मजदुर किसान पार्टीलाई कमजोर पार्न शासक दलका नेताहरू सबै लागिपरे । परिणामतः नेपालको कम्युनिस्ट आन्दोलन थोरै कमजोर भयो । एमाले, माओवादी, नेकपा (एस) भाई काङ्ग्रेसजस्तै भयो । यसकारण, नेपाल मजदुर किसान पार्टीको आवाजलाई सम्बोधन नगर्ने शासक दलहरूको अवस्था पञ्चायतको जस्तै हुनेछ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“सुर्खेतको नगर विकास सुरू भएको ५० वर्ष भयो । अहिले कर्णाली प्रदेशको राजधानी बनाइयो तर व्यवस्थित नगर विकास गरिएको छैन । कर्णाली राजमार्ग मृत्यु मार्गजस्तै छ । प्राकृतिक सम्पदा बुलबुले तालको रूप बिग्रिँदै छ । बड्डीचौर गुटु बिजौरामा यातायात चलेको ३२ वर्ष भयो; सडक ग्राभेलिङ पनि भएको छैन । नेपालीलाई बिजुली नपुगे पनि भारतलाई बेचिँदै छ । खानेपानीको समस्या छ । बस पार्क साँगुरो र अव्यवस्थित छ ।” सांसद सुवालले स्पष्टसँग राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *