भर्खरै :

‘जात व्यवस्था भत्काउन असम्भव छैन’

‘जात व्यवस्था भत्काउन असम्भव छैन’

(आनन्द तेलतुम्बडे बिआर अम्बेडकरको जीवनी, कामका साथै जातका मुद्दामा व्यापक कामका लागि चिनिएका एक विद्वान् तथा नागरिक अधिकारकर्मी हुन् । उनी सन् २०२० मा ‘एल्गार परिषद्’ मा संलग्नताको आरोपमा पक्राउ परेका थिए । ३१ महिना जेलमा बिताएपछि नोभेम्बर २०२२ मा जमानतमा रिहा भए । यिनै ७२ वर्षीय अधिकारकर्मीसँग स्निगधेन्डु भट्टाचार्यले कुराकानी गरेका थिए । आउटलुक इन्डियामा प्रकाशित उक्त कुराकानी नयाँ पत्रिकाका नारायण शिवाकोटीले अनुवाद गरेका हुन् ।)

तपाईँले जेलमा बस्दा जातप्रथाबारे केही नयाँ कुरा पाउनुभयो ?
जातीय मुद्दाबारे मैले जेलमा सिक्ने त्यस्तो कुनै नयाँ कुरा थिएन, जुन मलाई पहिले थाहा नभएको होस् । विगत चार दशकदेखिको अविराम एक नागरिक अधिकारकर्मीको हैसियतले मलाई जेलमा मुस्लिम, दलित र आदिवासीहरूको बाहुल्य रहेकोबारे थाहा नै थियो । (मुम्बईस्थित) तलोजा पनि फरक थिएन ।
भारतको राष्ट्रिय अपराध अभिलेखालय (एनसिआरबी) को पछिल्लो तथ्याङ्कअनुसार तलोजाको जनसङ्ख्यामा उनीहरूको हिस्सा ३९ प्रतिशत छ । तर, जेलमा उनीहरूको सङ्ख्या लगभग ५१ प्रतिशतमा छ । यसको दोष सम्पूर्णरूपमा वर्तमान सत्तालाई मात्रै जाँदैन, जसले आफ्नो निर्वाचन क्षेत्रलाई मजबुत बनाउन उपरोक्त समुदायलाई तारो बनाएको छ । यो चरित्र पूर्ववर्ती सत्तादेखि नै जारी छ । फ्योदोर दोस्तोभ्स्कीको उक्तिअनुसार यो हाम्रो सभ्यतागत विशेषता नै हो, ‘कुनै पनि समाजको सभ्यताको स्तर उसको जेलमा पसेर आकलन गर्न सकिन्छ ।’ अहिले फैलिरहेको साम्प्रदायिक विष यसै सभ्यतागत विशेषताको दुष्प्रभाव हो ।
यसलाई जात, समुदाय (धर्म) वा वर्गको वर्णपट (दृष्टिकोण) बाट हेर्ने हो भने पनि चित्र लगभग यही देखिनेछ । यस तथ्यले एउटा महत्वपूर्ण सवाल खडा गर्छ– यीमध्ये कुन वर्गले सुन्दर भविष्यका निम्ति दीर्घकालीन आन्दोलन निर्माणको आधार उपलब्ध गराउन सक्छ ?
जेलले मानिसका राम्रा र नराम्रा दुवै नैसर्गिक झुकावहरूलाई बाहिर ल्याइदिन्छ । त्यहाँ एक कैदीसँगको पहिलो साक्षात्कार, म मराठा हुँ कि होइन भन्ने प्रश्नसँगको साक्षात्कार हुन पुग्यो । म अवाक् भएको थिएँ, तर हो म मराठा हुँ भनेर उम्किन उचित ठानेँ । मैले मेरो जातबारे थप सोधीखोजीको अपेक्षा गरेको थिएँ, तर सौभाग्यवश, त्यो क्रम त्यहीँ रोकियो । यसले भारत पहिलेभन्दा आज बढी जातिवादी भएको छ भन्ने मेरो धारणालाई नै पुष्टि गर्छ ।
जातको सन्दर्भमा मैले त्यहाँ सुनेको अर्को कुरा केहीचाहिँ अम्बेडकरवादी युवाहरूले जातीय विभेदविरुद्ध गरेको सङ्घर्ष थियो । यो त्यहाँ पहिचानको दाबी (जसलाई म अस्वीकार गर्छु) का रूपमा प्रकट भयो । तर, प्रशासनले जुन क्रूरतासाथ त्यो सङ्घर्षलाई कुल्चियो, त्यो ब्राह्मणवादी अहङ्कारको प्रतिबिम्ब थियो । संलग्न सबैलाई सुरक्षाकर्मीले निर्घात कुटपिट गरेका थिए । यसको नेतृत्वकर्ता सुरेश गायकवाडलाई कल्याण जेलमा यति निर्दयतापूर्वक पिटियो कि उनलाई स्ट्रेचरमा राखेर लैजानुपरेको थियो । उनले आफ्नो सङ्घर्ष जारी राखे । उनलाई फेरि पिटियो र ठाणे जेलमा स्थानान्तरण गरियो । यो घटना त्यतिबेला भएको थियो, जतिवेला कारागार प्रमुख (महानिर्देशक) स्वयं दलित थिए । यसले अम्बेडकरको परिकल्पना ‘आरक्षण’ ले पूरा गर्दैन भन्ने मेरो धारणालाई पुनः एकपटक प्रमाणित ग¥यो ।

के दलितहरूको आफ्नै पदानुक्रम (तल्लो र माथिल्लो भनिने कथित जात सोपान) छ ? छ भने यसले दलित राजनीतिलाई कसरी प्रभाव पार्छ ?
दलितहरू मूलतः वर्णाश्रम व्यवस्थाका अङ्ग थिएनन् । तर, सवर्णहरूमाथिको चरम निर्भरता र श्रेणीकरणले उनीहरूको बहिष्कृत (विवर्ण) समाजलाई पनि उही जात सोपानजनित संरचनाको अनुकरणका निम्ति प्रेरित ग¥यो । तसर्थ, जात व्यवस्था रहेका समाजका दलित इलाकामा यसको धमिलो तस्बिर भेटिन्छ । उनीहरूका आफ्नै ब्राह्मण, हजाम, सिकर्मी आदि थिए । वर्णक्रम जात व्यवस्थाको सार हो र यसले भारतीय उपमहाद्वीपका सबै समुदायलाई सङ्क्रमित गरेको छ, चाहे उनीहरूले जुनसुकै धर्मको अनुसरण गरेका किन नहुन् ।
यदि तपाईँ महाराष्ट्रलाई दलित राजनीतिको घरका रूपमा लिनुहुन्छ भने अम्बेडकरको समयमा गैरमहर दलितहरू (मांग, चंभार, ढोर) को श्रेणीकरणमा दलितका जातहरूको प्रभाव स्पष्टरूपमा पाउनुहुनेछ । महरका उप–जातहरूअनुसार यसको विभाजन भएको छ । महारहरूबिच उपवर्ण चेत यति जबर्जस्त थियो कि बाबासाहेब अम्बेडकरले उनीहरूलाई सहभोजजस्ता उपायद्वारा एकताबद्ध गर्न विशेष प्रयास गर्नुपरेको थियो । भनिन्छ, उनले गैरकङ्ग्रेस, गैरकम्युनिस्ट प्रतिपक्षी पार्टीको रूपमा परिकल्पना गरेको ‘रिपब्लिकन पार्टी अफ इन्डिया (आरपिआई)’ महरहरूको उपजातमाझ विभाजित भयो ।
‘दलित प्यान्थर्स’ का संस्थापकमध्येका एक जेभी पवारले आफ्नो पुस्तकमा उल्लेख गरेअनुसार यो महर उपजातले दलित प्यान्थर आन्दोलनको समयमा पनि टाउको उठाएको थियो, तर त्यसलाई दबाइयो । यस्तो महाराष्ट्रमा मात्र भएको होइन । ‘माला–मडिगा सिन्ड्रोम’ (तेलगुको सूचीकृत दलित जातको फुटपरस्त समस्या) प्रेरित दलित विखण्डन सबै ठाउँको वास्तविकता हो, जसलाई भाजपाजस्ता दलले आजको राजनीतिमा घिनलाग्दो रूपमा प्रयोग गर्छन् । यसले मेरो मान्यता (हाइपोथेसिस) लाई पनि प्रमाणित गर्छ : जातका सागम्री (अवधारणा, चेतना, मुहावरा) को प्रयोगले जातलाई बलियो मात्र बनाउँछ, कहिल्यै नाश हुन हुँदैन । यदि तपाईँ यसलाई नष्ट गर्न चाहनुहुन्छ भने तपाईँले जात (व्यवस्था) भन्दा बाहिर जानुपर्छ र वैकल्पिक श्रेणीलाई अपनाउनुपर्छ ।

दलित राजनीतिलाई हिन्दुत्वका दुई वैचारिक प्रतिपक्ष द्रविड वा वामपन्थी राजनीतिसँग जोड्ने सम्भावना कत्तिको छ ?
विषाक्त ध्रुवीकरणको यो युगमा अभिसरण (संयोजन) को कुरा गर्न धेरै ढिलो भइसकेको छ । तर, सकारात्मक कुरा के छ भने म अझै पनि यस्तो अभिसरण (संयोजन) को सम्भावना देख्छु, द्राभिडियन राजनीतिसँग भन्दा पनि वर्गीय राजनीतिसँग मेरो बढी अपेक्षा छ । मेरा लागि जात भनेको विषालु पहिचान हो, जसको नियति अमिबाजस्तै विभाजित हुनु हो । यो अभिसरणको आधार हुन सक्दैन । एक मात्र आशा वर्गीय आधारसँग छ । मेरा आलोचक मलाई माक्र्सवादी भन्छन् ।
यद्यपि, मलाई उनीहरूको लेबलको पर्वाह छैन, तर म उनीहरूको अज्ञानतालाई हटाउन चाहन्छु कि वर्गको अर्थ माक्र्सवाद नै हो भन्ने होइन । विद्यमान शक्तिबारेको तपाईँको बुझाइका आधारमा तपाईँसँग अझै पनि आफ्नो राजनीतिको रेखा कोर्ने स्वतन्त्रताका धेरै कोण छन् । समस्या के भने यो देशमा वर्गीय राजनीतिको पर्याप्त प्रयास कहिल्यै भएको छैन । अन्यत्र यसको असफलता मेरो लागि वैध उदाहरण होइन । भारत सभ्यतागत (जात व्यवस्थागत) राजनीतिबाट केवल वर्गमा आधारित आन्दोलनको माध्यमबाट मात्र मुक्त हुन सक्छ । मेरो विचारमा यसले मात्र हिन्दुत्वजस्ता खतरनाक आन्दोलनको सशक्त वैचारिक प्रतिरोध गर्न सक्छ ।

संविधानवाद र एक्टिभिजम (अधिकारवाद) बिचको बहसले वर्षौंदेखि अम्बेडकरवादी आन्दोलनलाई प्रभावित गरिराखेको छ । अहिले यो कत्तिको सान्दर्भिक छ ?
यो बहस उत्तिको महत्वपूर्ण छैन । यसलाई धेरैअघि नै अवसरवादले अपहरण गरिसकेको हो । मुख्यतया अम्बेडकरवाद के हो भन्ने विषयमा रिपब्लिकन पार्टीभित्रको प्रारम्भिक बहसमा यो कुरा उठेको थियो । एउटा समूहले सङ्घर्ष पक्षधरको विरोध गर्न संविधानवाद अम्बेडकरवाद हो भन्ने धारणा राखेको थियो, उसले त्यो समूहलाई माक्र्सवादीको लाञ्छना लगाएको थियो । यसैले आरपिआईलाई विभाजन ग¥यो । अम्बेडकरवादी बौद्धवादी बनेपछि दलित प्यान्थर्सको समयमा पनि सङ्घर्ष पक्षधरहरूलाई माक्र्सवादीको रूपमा चित्रण गर्दै यो पुनः सतहमा देखाप¥यो । यसले दलित प्यान्थर्सलाई पनि विभाजित ग¥यो । यो बहस अहिले मरिसकेको छ, तर माक्र्सवाद अवसरवादी ढङ्गबाट कुनै पनि पार्टीमा, यहाँसम्म कि भाजपासमेतमा सामेल हुन खोज्नेहरूका लागि बहाना बनेको छ ।
जातविरोधी सङ्घर्षका हिसाबले मात्र होइन, उनीहरूकै वर्गसङ्घर्षका हिसाबले पनि जातलाई उपेक्षा गर्नु कम्युनिस्टहरूको सबैभन्दा ठूलो मूर्खता हो । जातको यथार्थलाई छाडेर वर्गको अवधारणा नै पूरा हुन सक्दैन । यदि उनीहरूले जात व्यवस्थाविरुद्ध लड्ने गरी आफ्नो वर्गसङ्घर्षको रणनीति बनाएको भए उनीहरू अहिलेको दुःखद स्थितिमा पुग्ने नै थिएनन् ।

कम्युनिस्टहरूले जातको महत्व बुझ्न ढिला गरे । उनीहरूले आफ्नो बाटो कत्तिको सच्याएको देख्नुहुन्छ ?
जातविरोधी सङ्घर्षका हिसाबले मात्र होइन, उनीहरूकै वर्गसङ्घर्षका हिसाबले पनि जातलाई उपेक्षा गर्नु कम्युनिस्टहरूको सबैभन्दा ठूलो मूर्खता हो । जातको यथार्थलाई छोडेर वर्गको अवधारणा नै पूरा हुन सक्ंदैन । मेरो विचारमा यदि उनीहरूले जातलाई समेट्ने वर्गको कल्पना गरेको भए र जात व्यवस्थाविरुद्ध लड्ने गरी आफ्नो वर्गसङ्घर्षको रणनीति बनाएको भए उनीहरू अहिलेको दुःखद स्थितिमा पुग्ने नै थिएनन् । आज पनि यो प्रयास गर्न सकिन्छ, तर यो एक शताब्दीअघि दलित र कम्युनिस्ट आन्दोलन उद्भव हुँदाको भन्दा लाखौँ गुणा बढी कठिन हुन सक्छ अब ।

अम्बेडकरलाई समेट्ने (दुरूपयोग गर्ने) हिन्दू राष्ट्रवादीहरूको प्रयासलाई कसरी विफल पार्न सकिन्छ ? हिन्दुत्वले बौद्धलाई पनि आफूमा समेट्ने प्रयास गरेको छ । यसले अम्बेडकरवादीहरूलाई कसरी प्रभाव पार्छ ?
हिन्दुत्ववादीको अम्बेडकर अपहरणको प्रयोग उनीहरूको चुनावी खेलको एउटा रणनीतिक कदम मात्र हो । अम्बेडकर र हिन्दुत्व परस्परविरोधी अवधारणा हुन् । सन् १९८० को दशकको सुरुमा दियोरसले आरएसएसको रणनीतिक सुधार नगर्दासम्म हिन्दुत्ववादी शक्तिहरू अम्बेडकरलाई घृणा गर्थे । यदि तथाकथित अम्बेडकरवादीहरूले उनलाई जडप्रतीकमा सीमित नगरेका हुन्थे भने उनीहरू यसमा कहिल्यै सफल हुने थिएनन् । सन् २०२४ को आमचुनावले उनीहरूको यो मैत्रीको अन्त्य गर्न सक्छ, किनकि त्यसपछि हिन्दुत्ववादी शक्तिलाई अम्बेडकरवादीको प्रयोजनिता बाँकी नरहन सक्छ ।

पेरियार (द्रविडियन आन्दोलनका प्रणेता एवं प्रसिद्ध भारतीय समाज सुधारक) लाई दुरूपयोग गर्न भने हिन्दू राष्ट्रवादीहरूका लागि कठिन हुन सक्छ । तर, के दलित राजनीतिले पेरियारलाई तमिलनाडु वा दक्षिण भारतबाहिरसमेत प्रयोग गर्न सक्छ ?
हिन्दू राष्ट्रवादीका लागि पेरियार यति प्रखर र तिक्ततापूर्ण ब्राह्मणवादविरोधी आइकन हुन् कि उनलाई हिन्दू राष्ट्रवादीहरूले दुरूपयोग गर्न सक्दैनन् । तर, जहाँसम्म हिन्दू, हिन्दूवाद र हिन्दुत्वबारे उनको धारणाको सवाल छ, त्यो अम्बेडकरको जस्तै नै थियो । मैले भनेजस्तै उहाँका स्वघोषित अनुयायीले नै उनको दुरूपयोगमा सहयोग गरे । तथापि, मलाई यस्तो व्यक्तिकेन्द्रित नायकीय दृष्टिकोणले उप्रान्त प्रतिरोध आन्दोलनहरूको निर्माण गर्नेछ, जस्तो भने लाग्दैन । एउटा नयाँ र संयोजनकारी वर्गीय राजनीति नै भविष्यको आवश्यकता हो ।

के जातका अवरोध कहिल्यै हट्न सक्दैनन् ? सक्दैनन् भने सरकार र नागरिक समाजले उनीहरूसँग कसरी व्यवहार गर्नुपर्छ ?
जात नाश हुन सक्दैन भन्ने सोच्नु विशुद्ध मूर्खता हो । विश्वका धेरै ठाउँमा जातजस्ता संस्थाहरू मानव इतिहास बनेका छन्, लोप भइसकेका छन् । यद्यपि, भारतको जात व्यवस्थाले धेरै तरिकामा इतिहास र भूगोलको माध्यमबाट आफ्नो विशिष्टता प्राप्त गरेको छ, एक स्वसङ्गठित, स्वनियमित प्रणाली बनेको छ, अपितु यसलाई तोड्न असम्भव छैन । तर, यसको प्रतिवाद आफ्नै स्रोतसाधन अर्थात् धर्म, संस्कृति आदिको प्रयोगबाट गर्न सकिँदैन, आधुनिकताका स्रोतसाधन (जात व्यवस्थाबाहिर आधुनिक मूल्य–मान्यता) को उपयोग गरेर मात्रै निर्माण गर्न सकिन्छ ।

के तपाईँ भविष्यप्रति आशावादी हुनुहुन्छ ?
तर्कसङ्गतरूपमा भन्नुपर्दा चिजहरू जसरी चलिरहेको छ, म यो देशमा यस्तो कुनै आशा देख्दिनँ । फासीवादी विधिहरू प्रयोग गरेर भारत ब्राह्मणवादको पूर्वमध्ययुगतर्फ धकेलिसकेको छ । यो कुरा धेरै मानिसलाई थाहै छैन । फासीवाद विश्वयुद्धको अर्थमा मात्र परास्त भएको तथ्य र वर्तमान नवउदारवादी भूराजनीतिलाई दृष्टिगत गर्दा भारतलाई प्राचीन समतामूलक लयमा फर्काउने कार्य कठिन देखिन्छ । तर, कुनै पनि समस्याको समाधान हुन्छ भन्नेमा मेरो अटुट विश्वास छ । यदि हामीले जनताको मुक्तिलाई मूल ध्येय बनाएको राजनीति निर्माण ग¥यौँ र शासक हुने लालच त्याग्यौँ भने भारतलाई मात्र होइन, विश्वलाई पनि मानवताका लागि मुक्त गर्न सम्भव छ । अहिलेको दलदल हामी आफैँले रचेको हो र यसलाई सफा पनि हामी आफैँले गर्नुपर्छ ।
– ‘नयाँ पत्रिका’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *