भर्खरै :

एकै हुन् यी तीनैवाद

एकै हुन् यी तीनैवाद

चुनावमा हार–जित हुन्छ तर इमान र नैतिकता छोड्नु हुँदैन । यो विषयमा हामी पूर्ण सचेत छौँ र नै भक्तपुर नगरपालिकाका अत्यधिक जनता स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीलाई धेरै मत दिन्छन् र विजयी गराउँछन् । यसो गर्न लागेको धेरै पटक भइसक्यो । नेमकिपाले भक्तपुर नगरका साक्षरमात्र होइन निरक्षर जनतामा पनि आफ्नो पक्षमा मत दिने गराएको छ । यो चानचुने उपलब्धि हो र ? हामी स्थानीय होस् वा प्रान्तीय होस् र राष्ट्रिय होस् जुन तहको निर्वाचन भए पनि मतदाता जो हाम्रा छन् प्रायः कहिल्यै पैसामा कत्ति लोभ गर्दैनन् । मतपत्र कहिल्यै बिक्री गर्दैनन् । हो, नेमकिपाले अरू धेरै काम गर्न बाँकी छ । तर, गर्वसाथ भन्न सकिन्छ जस्तै विपन्न मजदुर किसान मजदुर वा सर्वसाधारण जनता पनि भक्तपुर नगरपालिकाको मत बेच्दैनन् । यो सा¥है ठूलो उपलब्धि हो भन्ने लाग्छ र गर्व गर्न मन लाग्छ । पैसा नै सबैथोक होइन । भक्तपुर सहरमा हाम्रा तन्नम तन्नम मतदाता पनि आफ्नो अमूल्य मत बेच्दैनन् । यो अत्यन्त बृहद् उपलब्धि हो । भक्तपुर नगरपालिका मात्र होइन, कीर्तिपुर, पाँगा, नगाउ, टोखा आदि जहाँ जहाँ नेमकिपाले मत पाउँछ ती ती ठाउँमा पनि जस्तै सर्वहारा भए पनि नेमकिपा मत बेच्दैन, आफ्नै प्रत्याशीलाई मत दिन्छ । त्यसैले नेमकिपाको उम्मेदवार बरू निर्वाचन हार्छ तर कसैसँग पनि एक पैसा पनि लिँदैन र मतपत्र बेच्दैन । यो ठूलो कमाइ हो नेमकिपाको । हाम्रा शत्रुहरूको टाउको दुख्छ हाम्रा कार्यकर्ताहरूको मात्र होइन हामीलाई मत दिनेहरूको पनि अरू पार्टी लोभ गर्छन् ।
यो गाँठी कुरा बुझेको छ
२०४५ भदौ ९ गते नेमकिपालाई समाप्त पार्न पञ्चायतले सोच्नै नहुने काम ग¥यो । एउटा लोभी पात्रलाई उभ्यायो । भूकम्प पीडितहरूलाई नगद जिन्सी सहयोग गर्छु भन्ने बहाना बनाइएको थियो । त्यो सहयोग कहाँबाट वितरण गर्ने भन्ने ठाउँको पनि यकिन भएन । त्यो सहयोग वास्तवमा सहयोग षड्यन्त्र थियो । त्यो सहयोग वितरण साथै सहयोग वितरण हुन्थ्यो भने त्यो काम सजिलै सम्पन्न हुन्थ्यो, सहयोग पाउनेहरू प्रसन्न हुन्थे । नेमकिपाले पार्टी ठूलो गराउन विश्वासघात गर्ने अपराधीहरूलाई पार्टीभित्र हुलेन किनभने पार्टी सङ्लो होस्, राम्रो होस्, सानो पार्टी भएर केही फरक पर्दैन भन्ने भावनाले काम भइरहेको थियो । नेमकिपाले भोज–भतेर गरेर, पैसा खर्च गरेर कहिल्यै निर्वाचन लडेन । जनताको मत जितेर, भावना बुझेर अघि बढ्दै गयो त्यही बाटोबाट अघि बढ्दै छ । चुनावमा हार–जित हुन्छ । त्यो स्वाभाविक हो । तर, हा¥यौँ वा जित्यौँ भनेर इमान वा नैतिकता छाड्नु हुँदैन । शासक दलहरू चुनावमा बढी पैसा खर्च गर्छन् । यता नेमकिपा चुनावमा पैसा खर्च गर्दै जनतालाई धोखा दिँदैन, पैसामा जनताको मत किन्दैन । जनताको आँखा दूरविनजस्तो हुन्छ । जनतालाई छल गर्नु अपराध हो । अपराध कहिल्यै गर्नुहुँदैन । यो कुरो बुझ्यो भने राम्रो हुन्छ बुझेन भने राम्रो त हुँदै हुँदैन । बरू नराम्रो हुन्छ । नेमकिपाले गाँठी कुरा बुझेको छ र नै बेइमानी गर्दैन ।
साक्षरतामा के शक्ति छ ?
नेमकिपाले २०१९ साल पहिले नै किसान कार्यकर्ताहरूलाई साक्षरता कक्षा सुरू गरेको हो । त्यसको केही पछि महिलाहरूको प्रौढ कक्षा सुरू गरियो । कक्षाले महिलाहरूलाई साक्षर एवं सङ्गठितमात्र बनाएन सङ्गठन गर्न पनि सिकायो । त्यता नगरपालिकाले प्रसूतिगृहदेखि बाल उद्यान र ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको बन्दोबस्त गर्नुपर्छ । यी कामले कामदार महिलालाई अझ सहयोग पुग्छ । यसबाट समाज अगाडि बढ्छ । नेमकिपालाई उखेल्ने उद्देश्यले पञ्चायती निरङ्कुशताले यो भक्तपुर काण्ड गराएको थियो । परन्तु, केही समयमै पञ्चायत आफूमात्र उेखेलिएन आफ्ना मालिकलाई पनि उखेल्यो । भक्तपुर काण्डको कारण पञ्चायत चाँडो धराशायी बनाउन पूर्वाङ्गको काम ग¥यो । जनता पञ्चायत कालदेखि पर्खिरहेको थियो । भक्तपुर काण्डले पञ्चायतको काललाई अलि छिट्टै डाक्यो । अब अहिले त व्यवस्था फेरिएको छैन । व्यवस्था फेरिन अवस्था फेरिनुपर्छ । कक्षा १२ सम्म निःशुल्क र अनिवार्य शिक्षा स्वदेशमै रोजगारी, सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न निषेधजस्तै अवस्था स्थापित गर्न प्रस्ताव गर्दा नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायत शक्ति मिलेर अस्वीकार गरे । यतिसम्म बाटो छेक्छन् यी पार्टीहरू सम्पूर्ण पूर्वाधार भएर पनि ख्वप विश्वविद्यालयको विधेयक पेश नै गर्दैनन् । २०१९ सालको निर्वाचनपछि नै पार्टी निर्वाचित भएका जनताको सेवाको निम्ति शैक्षिक एवं सांस्कृतिक परिवर्तनमा जोड दिँदा नै भक्तपुर काण्डजस्ता अपराधपूर्ण बदमासी गर्दा पनि त्यो व्यवस्था टिकाउन सकेनन् । जनता भनेको जनता नै हो भन्ने बुझाए ।
कसैको पनि विमति नहुने
साम्राज्यवाद, उपनिवेशवाद पुँजीवादका टुङ्गा हुन् । एउटा बलियो टेको पायो भने साम्राज्यवाद लामो समयसम्म बसिरहन सक्छ । तसर्थ साम्राज्यवाद उन्मूलन गर्न उपनिवेशवाद र पुँजीवादलाई उखेलेर फाल्नु जरूरी हुन्छ । साम्राज्यवादविरोधी आन्दोलन भनेको पुँजीवाद एवं उपनिवेशवादविरोधी आन्दोलन पनि हो भन्ने गाँठी कुरा कदापि बिर्सनु हुँदैन । भारतका साम्राज्यवादविरोधी आन्दोलनका अथक लेखक विजयप्रसाद नेपालको भ्रमण गर्दै हुुनुहुन्छ । उहाँ भारतीय भएर पनि भारतको मात्र एकसुरे समर्थन गर्नुहुन्न । मूलतः साम्राज्यवादको विरूद्ध अवसर आयो कि आगो लगाएर हिँड्नुहुन्छ । विजयप्रसादको ठम्याइ छ, वर्तमानको आन्दोलन र सङ्घर्षबाट नै भविष्यको समाजवादको चरित्र निर्माण एवं निर्धारण हुने हुँदा यस्ता मुख्य कुरामा गम्भीर ध्यान जानुपर्छ । कम्युनिस्ट पार्टी भनेको एउटा सशक्त आन्दोलनको सशक्त स्वरूप हो । यो मूल कुरा उपेक्षित भयो भने आन्दोलन आन्दोलन रहँदैन । एउटा शोखको खेलमात्र रहन्छ । यो वास्तविकता नेमकिपाले जरैदेखि बुझेको छ र जनतालाई बुझाउन पनि सकेको छ । सर्वसाधारण जनताको अहितमा सरक्क केही भयो भने भक्तपुरका जनता राँको लिएर निस्कन्छन् । तब त्यस्तो अनुचित काम गर्न उद्यत तत्व पुच्छर लुकाएर सुइँकुच्चा ठोक्छ । भक्तपुरले कमाएको यही हो । यो वास्तविकता बुझेर जानु भयो भने विजयप्रसादको नेपाल भ्रमण फलदायी हुने कुरामा कसैको विमति हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *