भर्खरै :

सुन तस्करीसम्बन्धी टिपोट – १३

सुन तस्करीसम्बन्धी टिपोट – १३

अनुसन्धानको निम्ति सीआइबीले पठायो भारत
बरामद भएको तस्करीको सुनको गन्तव्य भारत भएको यकिन भएपछि सूचना सङ्कलनका लागि १ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई भारत पठाइएको हो । सीआईबी स्रोतका अनुसार धर्मराज भण्डारीलाई थप सूचना सङ्कलनको लागि भारत पठाइएको हो ।
(नेपाल समाचारपत्र, १५ भदौ २०८०)

छानबिनले कर्मचारीमा सरुवा माग्ने होडबाजी
सुन तस्करीको घटनाले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमा यतिबेला आतङ्क मच्चिएको छ । ब्रेक सुभित्र लुकाएर ल्याएको ६० किलो सुन भित्रिएपछि केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान तथा छानबिनले कर्मचारीमा सरुवा माग्ने होडबाजी चलेको छ । छुट्टाछुट्टैरूपमा सरुवा माग्दै आएका उनीहरूले बुधबार भने एकमुष्ट १ सय ३७ कर्मचारीले सरुवा मागेका छन् । छानबिनको बहानामा निर्दोष कर्मचारीलाई समेत दुःख दिइएको बताउँदै उनीहरूले सामूहिकरूपमा सरुवा मागेका हुन् ।
“भन्सारमा एक्स–रे गर्ने हो, शङ्का लागेको अवस्थामा हेर्न सकिन्छ । तर ब्रेक सु वा अन्य सामानभित्र सुन भए/नभएको फुटाएर हेर्नुपर्छ । फुटाउन औजार छैन,” ती नासुले भने, “फुटाउन अधिकार पनि छैन । फुटाउँदा कर्मचारी स्वयम्ले क्षतिपूर्ति तिर्नुपर्छ । कर्मचारीहरू त्रसित अवस्थामा छन्, काम गर्ने वातावरण नै भएन ।” माथिल्लो ओहदामा बसेकाले गल्ती गरे पनि सजाय र बदनामी साना कर्मचारीले भोग्नुपरेको ती कर्मचारीको भनाइ छ ।
(कान्तिपुर, १५ भदौ २०८०)

सुन तस्कर गिरोह क्रिप्टोकरेन्सी र हुन्डीको कारोबारमा पनि संलग्न
नेपालमा कार्गाेमार्फत ठूलो मात्रामा सुन तस्करी गर्दै आएको चिनियाँ गिरोह क्रिप्टोकरेन्सी र हुन्डीको कारोबारमा पनि संलग्न रहँदै आएको प्रहरीले पत्ता लगाएको छ । सुन तस्करीलगायत आपराधिक कारोबारको लेनदेन उनीहरूले क्रिप्टो र हुन्डीमार्फत मिलाउँदै आएका थिए ।
सीआइबी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन्, “अन्तरदेशीय सङ्गठित अपराध भएकोले यो घटनाका धेरै पाटा छन्, सबै कोणबाट हामीले अनुसन्धान गरिरहेका छौँ ।” पक्राउ परेका चिनियाँको मोबाइलमाथि अनुसन्धान गर्ने क्रममा क्रिप्टो कारोबार पुष्टि भएको र यसमा छुट्टै मुद्दा दायरको तयारी भइरहेको सीआइबीले जनाएको छ ।
(नयाँ पत्रिका, १५ भदौ २०८०)

सात सय तीस थान भेपमा नौ किलो सुन
सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले तयार गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार २०७९ पुस १० गते बिहान ७ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट (भेप) भित्र राखेर करिब ९ किलो सुन ल्याएका थिए ।
उनका दुई वटा सुटकेस एक्स–रे गर्दा शङ्कास्पद वस्तु देखिएपछि आरसी ट्याग लगाएर विमानस्थल भन्सारले राखेको थियो । सात सय ३० थान भेपमा उनले करिब ९ किलो सुन ल्याएको अनुसन्धानबाट खुलेको छ । ती भेप ७३ वटा बट्टामा थिए । विमानस्थल भन्सार कार्यालयले शङ्कास्पद सुटकेस राखेर लीलाई पासपोर्ट लिएर छाडिदिएको थियो ।
भोलिपल्ट भन्सार कार्यालयबाट पासपोर्ट फिर्ता लिएर उनी पर्सिपल्ट चीन गएका थिए । त्यसपछि मात्रै उनले नेपालमा रहेका साथी दाओजिन वाङलाई विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएका सुटकेसभित्र भेपमा सुन भएकोले छुटाउन भनेका थिए ।
(नागरिक, १४ भदौ २०८०)

भिन्नभिन्न स्वरूपमा अपराध धन्दा
नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोबारसमेत गर्दै आएको पाइएको हो ।
प्रहरीका प्रवक्ता डीआइजी कुबेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन् । यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन् । त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन् ।
प्रहरीको पछिल्लो तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७९–८० मा नेपालमा ४२ चिनियाँ पक्राउ परेका छन् । त्यसैगरी आव २०७८–७९ मा १३ र २०७७–७८ मा १६ जना चिनियाँ पक्राउ परेका छन् । उनीहरू सबै कल बाइपास, एटीएम तोडफोड, म्याच फिक्सिङ, विदेशी मुद्राको अवैध कारोबार र सुन तस्करी अभियोगमा पक्राउ परेका हुन् ।
(नागरिक, १५ भदौ २०८०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *