यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
हो चि मिन्ह – १
हो चि मिन्हको जन्म १९ मई १८९० मा नाम लिएन गाउँको किमलेन टोलमा एउटा गरीब किसान र बुद्धिजीवी परिवारमा भएको थियो । उहाँको आमाले विवाहमा जुन कटेरा दाईजोको रूपमा पाउनुभएको थियो त्यही कटेरामा हो चि मिन्हको जन्म भएको थियो ।
भियतनाम कृषिप्रधान देश हो । अधिकांश भियतनामीहरू कृषक नै थिए । हो चि मिन्हको गाउँका मानिसहरूको पेसा पनि कृषि नै थियो । गाउँको धेरैजसो जग्गा जमीन धनी मानिसहरूको हातमा रहन्थ्यो । धनी मानिसहरूको जग्गा जमीनमा किसानहरूले खेतीपाती गर्दथे । खान पुग्दैनथ्यो । ज्यादै दुःख गर्दथे । खुबै पसिना बगाउँथे । भियतनामी जनता पुस्तौँ पुस्तादेखि धेरै प्रकारका परिस्थितिहरू, प्रकृति, उपनिवेशवाद तथा सामन्तवादको विरुद्ध सङ्घर्ष गरेर पनि सधँै गरीब थिए । धनी जग्गावालहरूले किसानहरूलाई हेप्दथे । जग्गा कमाउन दिँदैनथे । मोहियानी हक पाउँदैनथे । दुःख दिन्थे । व्यापक शोषण हुन्थ्यो । जग्गावालहरूको शोषण, अन्याय, अत्याचारविरुद्ध पटक–पटक किसानहरूले सङ्घर्ष गरे । तर, सङ्गठन, योजनाको कमीले गर्दा सङ्घर्ष सफल हुन सकेन ।
हो चि मिन्हले किसानहरूको सङ्घर्षको अध्ययन गर्नुभयो । हो चि मिन्हको केटाकेटीको नाम कुङ थियो । कुङ्गलाई आमाबाबुले खुबै माया गर्नुहुन्थ्यो । बुबा परीक्षा सञ्चालनको निरीक्षणमा जानु हुँदा मुमा सुत्केरी हुनुभयो । सुत्केरी खर्च थिएन । औषधिलगायत खानेकुरो थिएन । आमाको दूध नआएर बच्चाको मृत्यु भयो । आमा कमजोर भई बिरामी परी देहावसान हुनुभयो । हो चि मिन्ह १० वर्ष पुगेपछि हो चि मिन्हको नाम कुङ्गबाट ङु एन तात थान्ह भयो । थान्ह गाउँघरतिर घुम्नुहुन्थ्यो । थान्ह असल, शान्त स्वभावको परिश्रमी हुनुहुन्थ्यो । थान्ह पढ्नमा खुबै चाख लिनुहुन्थ्यो । उहाँ मन लगाएर खुबै मिहिनेत गरेर लेखपढ गर्नुहुन्थ्यो । उहाँ इतिहास र उपन्यास खुबै पढ्नुहुन्थ्यो । चेस खेल्न सिपालु हुनुहुन्थ्यो । पढाइको साथसाथै खेल पनि खुबै मन पराउनु हुन्थ्यो ।
उहाँले नेताहरूको कथा पढ्नुभयो । देशको कथा पढ्नुभयो । जनताको व्यथा पढ्नुभयो । देशभक्तिको कथा पढ्नुभयो । स्वतन्त्रता सम्बन्धी कथा पढ्नुभयो । इतिहास पढ्नुभयो । उहाँले धेरै ज्ञान हासिल गर्नुभयो । फ्रान्सविरोधी आन्दोलन, गुरिल्ला युद्धसम्बन्धी ज्ञान थाहा पाउनुभयो ।
सन् १९०५ मा हो चि मिन्हले १५ वर्षको उमेर पार गर्दा एउटा स्कूलमा भर्ना भई फ्रान्सेली भाषाको अध्ययन गर्नुभयो । फ्रान्सेली भाषा पढाउने शिक्षक जापान गएकोले हो चि मिन्हले पनि स्कूल छोड्नुभयो । यही बेला ‘पूर्वतिर जाऊ’ आन्दोलन सुरु भयो र गाउँको प्रमुख पक्राउ पर्नुभयो । हो चि मिन्हले गाउँ प्रमुखको सट्टा आफू जेल बस्न तयार भई हो चि मिन्हले रिहाइ गर्न अनुरोध गर्नुभयो । तर, हो चि मिन्हको अनुरोध स्वीकार गरिएन । फ्रान्सेलीहरूको अन्याय, अत्याचार, शोषण देखेर एक दिन फ्रान्सेलीहरूले भियतनामबाट भाग्नै पर्छ भन्ने कुरा उहाँले राम्ररी बुझ्नुभयो ।
हो चि मिन्ह युवा भइसक्नुभएको थियो । फ्रान्सेलीहरूलाई कसरी धपाउने भनेर चौबिसै घण्टा सोच्न थाल्नुभयो । भियतनामलाई कसरी मुक्त गर्ने भनेर विचार गर्न थाल्नुभयो । हो चि मिन्हको बुबाले भियतनामीहरूलाई सहयोग गरेको आरोपमा जागिरबाट हात धुनुप¥यो । आर्थिक सङ्कटले गर्दा हो चि मिन्हले पढाइ बढाउन सक्नुभएन र स्कूलमा मास्टर हुन थाल्नुभयो । मास्टर भएर विद्यार्थीहरूलाई देशभक्ति, राष्ट्रियता, भाषा, देश, मित्र, शत्रुबारे राम्ररी ज्ञान दिनुभयो । मास्टर भएको आठ महिनापछि हो चि मिन्ह अकस्मात् बेपत्ता हुनुभयो । उहाँको बेपत्ताले गर्दा शिक्षक, विद्यार्थीहरू सबै चिन्तित भए । फ्रान्सेली उपनिवेशबाट भियतनामीहरू ज्यादै शोषित, पीडित भएका थिए । ‘पूर्वतिर जाउ’, ‘राजशाही आन्दोलन’ र श्रम शोषणविरुद्ध प्रदर्शनहरूले हो चि मिन्हलाई एउटा जब्बर विचारले छोइसकेको थियो ।
हो चि मिन्हले आफ्नो नाम फेरेर वा नाम राखेर भान्सेको काम पनि गर्नुभयो । बिहान ४ बजेदेखि राति ९ बजेसम्म काम गर्नुपर्दथ्यो । पढ्न लेख्न नजान्ने कामदारहरूलाई लेख्न पढ्न सिकाउनुहुन्थ्यो राति राति । कामदारहरूको पारिवारिक चिठी लेखिदिनुहुन्थ्यो । सम्पूर्ण कामदारहरूले हो चि मिन्हलाई अति मन पराउनुहुन्थ्यो ।
जहाजमा भान्से भएर स्पेन, पुर्तगाल, अल्जेरिया, ट्युनिशिया, अफ्रिका, कङ्गोको भ्रमण पनि गर्नुभयो ।
फ्रान्सेलीहरू खुबै रक्सी पिउँदथे । देह व्यापारको लागि फ्रान्सले नाम कमाएको थियो । रक्सी पिउनु हुन्न, देहव्यापार गर्न हुन्न भनेर हो चि मिन्हले सरसल्लाह दिने गर्नुहुन्थ्यो ।
सन् १९१७ मा हो चि मिन्ह इङ्गल्यान्ड जानुभयो । इङ्गल्यान्डमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र बेलुकी ५ बजेदेखि राति १० बजेसम्म काम गर्नुहुन्थ्यो र अरू समयमा अङ्ग्रेजी भाषा सिक्नुहुन्थ्यो ।
इलैण्डबाट हो चि मिन्ह फ्रान्स जानुभयो र भियतनामी देशभक्तहरूसँग सम्पर्क राख्नुभयो । सन् १९१७ मा सोभियत सङ्घमा समाजवादी अक्टोबर क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । हो चि मिन्हको सङ्घर्षमय जीवनमा अक्टोबर क्रान्तिको शानदार सफलताको निर्णयात्मक प्रभाव प¥यो । उहाँले माक्र्सवाद, लेनिनवाद तथा अक्टोबर क्रान्तिको अनुभवको अध्ययन गर्ने प्रयास गर्नुभएको र जुन बाटोमा लेनिन र लेनिनको नेतृत्वमा सोभियत सङ्घको जनता चलेका थिए, उहाँले पनि त्यही बाटोमा हिँड्ने फैसला गर्नुभयो । हो चि मिन्हले ‘फ्रान्समा बस्ने भियतनामी देशभक्तहरूको सङ्गठन’ सङ्गठित गर्नुभयो । फ्रान्सेली समाजवादी पार्टीको सदस्य भएर माक्र्सवादीहरूसँग सम्पर्क स्थापना गर्नुभयो ।
सन् १९१८ मा प्रथम विश्वयुद्धका विजयी शक्तिहरूका प्रतिनिधिहरूको एउटा शान्ति सम्मेलन भरसाइल्समा आयोजना गरियो । यसमा शोषित, उत्पीडित देशका प्रतिनिधिहरूलाई पनि आमन्त्रित गरिएको थियो । यस सम्मेलनमा भियतनामी देशभक्तहरूको सङ्गठनको तर्फबाट हो चि मिन्हले आठबुँदे माग पत्र तयार गरी पेस गर्नुभयो । मुख्यतया भियतनामलाई आत्मनिर्णयको अधिकार प्रदान गर्नुपर्ने माग पेस गरिएको थियो ।
आठबुँदे माग पत्र निम्नानुसार थिए – भियतनामलाई स्वराज्यको अधिकार । सङ्घ, धर्म, प्रेम, आन्दोलनको स्वतन्त्रता र राजनीतिक कैदीहरूको मुक्ति । भियतनामी र फ्रान्सेलीहरूको बिचमा समान अधिकार । रक्सी र अफिमको उपयोगको जबरजस्ती तरिकाहरूको समाप्ति, जबरजस्ती काम लिने प्रथाको समाप्ति र जबरजस्ती कर उठाउने प्रथा खारेजी ।
हो चि मिन्हको आठबुँदे प्रस्तावले सम्मेलनका प्रतिनिधिहरूको बिचमा खलबली मच्चियो । आठबुँदे माग पत्र शक्तिशाली बमभन्दा शक्तिशाली ठहरियो । सम्मेलनका प्रतिनिधिहरूले झूठो आश्वासनमात्र दिए । काम केही गरेनन् ।
हो चि मिन्हको कमजोर आर्थिक अवस्थाले गर्दा एक छाक खाएर कहिले खाँदै नखाएर पैसा जोगाएर आठबुँदे प्रस्ताव छापेर बाँड्नुभयो । यो आठबुँदे माग पत्र हेरेर अरू देशका जनताले पनि भियतनामी जनताको क्रान्तिकारी आन्दोलनको समर्थन गरे ।
हो चि मिन्ह पत्रकार पनि हुनुभयो । पत्रिकाहरूमा लेख्नुभयो । पत्रिका सम्पादन पनि गर्नुभयो । मजदुरहरूको वास्तविक जीवनको झलक देखाएर एउटा उपन्यास पनि तयार गर्नुभयो । यो उपन्यास मानवता नामको छापामा दुईपल्ट गरेर छापियो । यो उपन्यास छापेको पारिश्रमिक हो चि मिन्हले १०० फ्रान्क पाउनुभयो । उहाँले अर्को पुस्तक ‘फ्रान्सेली उपनिवेशवादीहरूको अपराध’ लेख्नुभयो । ‘ब्याम्बु ड्रागोन’ नामक एउटा नाटक तयार गर्नुभयो । यो नाटक मञ्चन गर्न प्रतिबन्ध लगाइए पनि ठाउँ–ठाउँमा नाटक मञ्चन सफलतापूर्वक गरियो । हो चि मिन्ह फोटो खिच्न र चित्र कोर्न पनि सिपालु हुनुहुन्थ्यो । चित्रकला र फोटोग्राफीको काम पनि गर्नुभयो । हो चि मिन्ह कामबाट फुर्सद भएको बेला पुस्तकालय जाने वा पढ्ने लेख्ने गर्नुहुन्थ्यो ।
हो चि मिन्हको पछाडि जासुस लागेको थियो । कतै पनि काम नदिनु भनेर काम दिनेहरूलाई धम्की दिइएको थियो । हो चि मिन्हलाई धन, सम्पत्ति, पद दिएर फकाउने धेरै प्रयास गरियो । तर, लोभ, लालचमा फस्नुभएन ।
फ्रान्समा रहनु हुँदा हो चि मिन्ह पेरिसको मजदुर गाउँमा बस्नुहुन्थ्यो । बिहानको लागि तयार गरिएको खाना दुई भाग लगाई एक भाग रातिको लागि छुट्याउनु हुन्थ्यो । खाने, लाउने, बस्ने दुःख हुँदाहुँदै पनि हो चि मिन्ह हँसिलो अनुहार लिएर मिठो बोलीमा मजदुर गाउँमा रमाउनु हुन्थ्यो र जाँड, रक्सी, अफिम, भ्रष्टाचार र दमनको खुबै विरोध गर्नुहुन्थ्यो ।
हो चि मिन्हले आफ्ना साथीहरूसँग सङ्गठित भई एउटा अखबार निकाल्न थाल्नुभयो । ‘तिरस्कार’ नामको अखबारमा राजनैतिक लेख, रचनाहरू प्रकाशित हुन थाल्यो । ‘तिरस्कार’ को मूल्य तोकिएन जसले जति मूल्य दिन्छ लिइयो । विद्यार्थीहरूले लुकिछिपी पढ्न थाले । ‘तिरस्कार’ पढ्नेलाई गिरफ्तार गर्न थालियो । यो अखबार खुबै चल्ति भयो । ‘तिरस्कार’ प्रकाशनले हो चि मिन्ह धेरै लोकप्रिय हुनुभयो । हो चि मिन्हलाई पक्राउ गर्न र देश निकाला गर्न ज्यादै गा¥हो भइरहेको थियो । किनकि, हो चि मिन्हलाई जनसमर्थन व्यापक थियो । दिन प्रतिदिन जनप्रिय हुँदै गएको थियो । गाउँ गाउँमा मजदुर सङ्गठनहरू सल्लाह लिन जाने गर्दथ्यो । समस्या समाधानका उपाय निकाल्न हो चि मिन्ह पोख्त हुनुहुन्थ्यो । हो चि मिन्ह सैद्धान्तिक व्यक्ति, व्यवहारिक व्यक्ति मात्र नभई योद्धा पनि हुनुहुन्थ्यो । माक्र्सवादी पुस्तकहरूको अध्ययन खुबै गर्नुहुन्थ्यो र अरू सबैलाई माक्र्सवादी पुस्तक पढ्न सल्लाह दिनुहुन्थ्यो । फ्रान्सको कम्युनिस्ट पार्टीमा सामेल भई जनतासँग काम गर्न थाल्नुभयो । सन् १९२३ मा फ्रान्सबाट सोभियत सङ्घ जानु भई अन्तर्राष्ट्रिय किसान अधिवेशनमा भाग लिनुभयो र कार्यकारिणी समितिको सदस्यमा अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभयो । सन् १९२४ मा लेनिनको देहावसानमा दुःख प्रकट गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभयो र ‘लेनिन र उपनिवेशका जनता’ शीर्षकमा महत्वपूर्ण रचना तयार गर्नुभयो । उक्त रचनामा लेख्नुभयो, “लेनिन जिउँदो छँदा उहाँ हाम्रा पिता, गुरु, मित्र, सहयोगी र उपदेशक हुनुहुन्थ्यो । अब उहाँ हामीलाई धु्रवताराजस्तो भएर समाजवादी क्रान्तिको बाटो देखाउँदै हुनुहुन्छ ।” यसरी नै उक्त रचनामा यो पनि लेख्नुभयो, “लेनिनको अपूर्णनीय क्षतिमा सम्पूर्ण मुलुकका जनताका साथ हामी हाम्रा भाइ बहिनीहरूका साथ अति दुःखी छौँ । कम्युनिस्ट अन्तर्राष्ट्रियता र यसका शाखाहरूले त्यसमा पनि उपनिवेश मुलुकहरूले, हाम्रा महान् नेताका शिक्षाहरू र उपदेशहरूलाई अगाडि बढाउने छन् भन्ने हामीलाई विश्वास छ ।”
सोभियत सङ्घमा रहनु हुँदा कम्युनिस्ट अन्तर्राष्ट्रियताका लागि धेरै महत्वपूर्ण कामहरू गर्नुभयो । सोभियत सङ्घबाट प्रकाशित पत्रिका ‘प्राभ्दा’, ‘सत्य’, ‘अन्तर्राष्ट्रिय संवाद’ मा महत्वपूर्ण लेख रचनाहरू लेखेर प्रकाशित गर्नुभयो । उहाँका रचनाहरूको खुबै तारिफ गरियो । उहाँका रचनाहरू प्रकाशित भएका पत्रिकाहरू हारालुछ भएर बिक्री वितरण हुन्थ्यो । उहाँका रचनाहरू खोजी खोजी पढिन्थ्यो ।
सन् १९२४ मा सोभियत सङ्घको मस्कोमा सम्पन्न भएको कम्युनिस्ट अन्तर्राष्ट्रियको पाँचाँै अधिवेशनमा भाग लिनुभयो । अन्तर्राष्ट्रिय मजदुर सङ्घ, युवक सङ्घ र महिला सङ्घहरूको भव्य अधिवेशनमा हो चि मिन्हले फ्रान्सेली कम्युनिस्ट पार्टीको कार्यालय प्रतिनिधिको रूपमा सक्रिय भई भाग लिनुभएको थियो ।
मस्कोमा रहनु हुँदा हो चि मिन्हले लेनिनको सिद्धान्तमुताबिक पार्टी निर्माणको अनुभव प्राप्त गर्नुभयो र सोभियत शासन पद्धतिको पूरै अध्ययन गर्नुभयो ।
मस्कोबाट हो चि मिन्ह चीनतर्फ लाग्नुभयो । चीनमा उहाँले अखबार बेच्न थाल्नुभयो । अखबार बेचेर आएको आम्दानीले एक छाक खाएर चीनको शासन पद्धति केलाउन थाल्नुभयो । चीनमा बस्दा उहाँले के सङ्कल्प गर्नुभयो भने भियतनाम गएर भियतनामी जनताबिच काम गर्ने, सङ्गठित पार्ने, अनुशासित हुने र शिक्षित बन्ने विचार राख्नुभयो । चीनमा रहेका भियतनामीहरूसँग सम्बन्ध, सम्पर्क बढाउन थाल्नुभयो । सम्पर्क राम्ररी बढेपछि चीनमा रहेका सबै भियतनामीहरूलाई सङ्गठित पारी ‘क्रान्तिकारी भियतनामी युवा सङ्घ’ खोल्नुभयो । ‘युवा’ नामक अखबारको प्रकाशन थाल्नुभयो ।
भियतनामी क्रान्तिकारी युवा लिगले माक्र्सवादी, लेनिनवादी सिद्धान्तको प्रचारप्रसार गर्न थाले । भियतनाममा कम्युनिस्ट पार्टीको स्थापना गर्न युवा लिगका कम्युनिस्ट कार्यकर्ताहरूलाई सङ्गठित गर्न थालियो । सन् १९२७ देखि भियतनामी क्रान्तिकारी युवा लिगले तलब वृद्धि, कामको घण्टा घटाउने, शारीरिक दण्ड उन्मूलनको माग गर्दै हडताल गर्न थाले । धेरै कलकारखानामा हडताल भए । यो मजदुर आन्दोलन गाउँ–गाउँमा पनि व्यापक हुन थाल्यो । सबै मजदुरहरू सङ्गठित भई एकजुट भए । मजदुरहरूको हडतालको समर्थन जनाउँदै किसानहरूले पनि कर घटाउनु पर्छ भनेर जुलुस प्रदर्शन गरे । भियतनामी मजदुर र किसान आन्दोलन दबाउन फ्रान्सेलीहरूले खुबै कोसिस गरे ।
भियतनामीहरूलाई क्रान्तिकारी शिक्षा दिनको लागि हो चि मिन्हले चीनको कवाङ्ग चाउँमा एउटा विद्यालय खोल्नुभयो । भियतनामी युवाहरूले गोप्यरूपले चीनमा गई क्रान्तिकारी शिक्षा लिई भियतनाम फर्कन थाले । भियतनाममा गएर क्रान्तिकारी शिक्षाको प्रचारप्रसार गर्न थाले । चीनमा पनि कम्युनिस्ट पार्टीको स्थापना भइसकेको थियो । चीनमा माओ त्सेतुङले देश उपनिवेशबाट मुक्त पार्नका लागि ‘जनयुद्ध’ को बाटो देखाइदिनुभएको थियो । चिनियाँ जनताले भियतनामी जनतालाई सकेसम्म सबै प्रकारले सहयोग गरिरहेका थिए । हो चि मिन्ह तथा भियतनामी योद्धाहरूले माओ त्सेतुङको ‘जनयुद्ध’ को सिद्धान्त नै भियतनामी जनताको मुक्तिको एकमात्र सिद्धान्त हो भनेर व्यवहारमा उतार्न थालिसकेका थिए । चीनमा कोमिन्ताङ शासकहरूले हो चि मिन्हका गतिविधिहरू थाहा पाई पक्राउ गर्न योजना बनाए । हो चि मिन्हलाई चीनमा पक्रन खोजेपछि थाइल्यान्ड जानुभयो । थाइल्यान्डको भियतनामी गाउँमा हो चि मिन्हले भियतनामी भाषाको एउटा विद्यालय खोल्नुभयो । गाउँका किसानहरू, साना व्यापारीहरू, मजदुरहरू विद्यालयमा आउन थाले । गुरिल्ला युद्धका कथा, वीरताका कथा, देशभक्तिका कथाहरू विद्यालयमा सुन्न थाले । किसानहरू चेतनशील हुन थाले । गाउँले किसानहरूको खेतबारी खन्न, जोत्न हो चि मिन्ह सघाउनुहुन्थ्यो । किसानहरूलाई सङ्गठित पार्नुहुन्थ्यो । उहाँले त्यस गाउँमा एउटा भियतनामी सहयोग समिति गठन गर्नुभयो । यही विद्यालयमा बसेर उहाँले ‘मानवता’ नामको साप्ताहिक अखबार पनि प्रकाशित गर्नुभयो । अखबार खुबै लोकप्रिय भयो । हो चि मिन्हले थाइल्यान्डको यो गाउँमा परिवर्तन गरिदिनुभयो । तास, जुवा खेल्न बन्द भयो । झैझगडा बन्द भयो । छलफल, पढाइ लेखाइपट्टि सबै लागिसकेका थिए । फुर्सदमा पढ्ने लेख्ने बानी परिसकेको थियो । सबै किसानहरू साक्षर हुन थाले । एक अर्काको पूरै सहयोगी बन्न थाले ।
स्रोत : हो चि मिन्ह, अक्षलोक प्रकाशन
Leave a Reply