भर्खरै :

ललितपुरको गोदावरीमा ‘भक्तपुर काण्ड’ को भत्र्सना

ललितपुरको गोदावरीमा ‘भक्तपुर काण्ड’ को भत्र्सना

ललितपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टी गोदावरी नगर समितिको आयोजनामा भदौ ९ को भक्तपुर काण्डको भत्र्सना एवम् विरोध कार्यक्रम बुधबार ठेचोमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भक्तपुर काण्ड गरी नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने पञ्चायती निरङ्कुश व्यवस्था षड्यन्त्रकै कारण अन्त्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बहुदल पुनःस्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सरकारको नेतृत्व काङ्ग्रेसले ११ पटक, एमालेले ५ पटक र माओवादीले ४ पटक गरिसकेका छन् । तर, व्यवस्था फेरिए पनि देश र जनताको अवस्था फेरिएन । शासक पार्टीले देश २२ खर्बको सार्वजनिक ऋणमा डुबायो । ललिता निवासको १४३ रोपनी सार्वजनिक जग्गा शासकहरूले निजी बनाए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई भ्रष्टाचार गरे ।”
नेपाल मजदुर किसान पार्टी वाग्मती प्रदेश समितिका सदस्य एन. महर्जनले शासकवर्गले आफ्नो राज्यसत्ता कायम गरिराख्न विपक्षहरूको नास गर्न अनेक षड्यन्त्र गर्ने गर्छ; कामदार जनताको हक हितको लागि काम गर्ने पार्टीलाई निर्ममतापूर्वक दबाउने गर्दछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सन् १९३३ मा जर्मनीका फासीवादी शासक हिटलरले षड्यन्त्रपूर्वक त्यहाँका कम्युनिस्टहरूलाई दबाउन संसद भवन (राइख्स्टाग) मा आगो लगाई ८१ जना कम्युनिस्ट सांसदहरूलाई बर्खास्त गरे ।”
नेमकिपा ललितपुरका सचिव नरेश महर्जनले नेमकिपाका जनप्रतिनिधिहरूले भक्तपुर नगरलगायत आफू निर्वाचित भएको स्थानमा निःस्वार्थपूर्वक जनताको सेवा गरी जनताको मन जित्न सफल भएको हुँदा तत्कालीन पञ्चहरूलाई त्यो कार्य सह्य भएन र नेमकिपा नष्ट नगरी ती भ्रष्ट पञ्चहरू निर्वाचित बन्न सकिँदैन भन्ने आशयले त्यो काण्ड रचेको थियो भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ललितपुरका उपाध्यक्ष अशोक महर्जनले नेमकिपाको उद्देश्य देश र जनताको पक्षमा आवाज उठाउनु हो भन्नुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिका सदस्य महन्त महर्जनले पार्टीले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मानी जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
समितिका संयोजक अशोक महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विष्णुभक्त महर्जन, उपेन्द्र महर्जन र सूर्यलक्ष्मी देसारले कुनै पनि बेला वर्ग शत्रुले षड्यन्त्र गरी फसाउन सक्छ भनी सोचेर कार्य गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *