भर्खरै :

खस्किँदै छ सुर्खेत बहुमुखी क्याम्पस

खस्किँदै छ सुर्खेत बहुमुखी क्याम्पस

सुर्खेत बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो । वि.सं. २०२९ सालमा शिक्षा क्याम्पसको नामले स्थापना भएको पुरानो शैक्षिक संस्था हो । उक्त क्याम्पसले २०७७ चैत ४ गतेदेखि व्यवस्थापन सङ्कायअन्तर्गत बीबीएस कार्यक्रम पठनपाठन सुरु गरेपछि साविकको नाम परिवर्तन गर्न निवेदन दियो । सोही अनुसार त्रिवि कार्यकारी परिषद्को २०७७ फागुन १८ गतेको निर्णयले शिक्षा क्याम्पसको नाम परिवर्तन गरी सुर्खेत बहुमुखी क्याम्पस राखियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको क्याम्पसमा प्रदेशका अधिकांश जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । विद्यार्थीको चाप र विद्यार्थी राजनीतिले सधैँ तातिरहने यस क्याम्पस अहिले भ्रष्टाचारमा डुबेको छ ।
भ्रष्टाचारको घटना
घटना २०८० साउन १ गते राति १२ः०० बजेतिरको हो । मध्यरातमा क्याम्पसको आमदानी शाखामा सम्बन्धित शाखाका कर्मचारीसहित केही सन्दिग्ध मानिसहरू पसे । होस्टेलमा बस्ने विद्यार्थीहरूले थाहा पाएपछि गाइँगुइँ चल्यो । त्यसपछि भ्रष्टाचार भएको आरोप सत्य साबित भयो । रकम हिनामिना गरेको प्रमाण नस्ट गर्न आएको हुनसक्नेमा दुईमत रहेन । भोलिपल्ट विद्यार्थीले भ्रष्टाचारको भन्डाफोर गरे ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलगायत विभिन्न विद्यार्थी सङ्गठनहरूले नियमित पठनपाठन जारी राख्दै भ्रष्टाचारको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्ने आवाज उठायो । त्यसपछि बाध्य भएर अनुसन्धान गरेको क्याम्पस प्रशासनले साउन २ गते क्थकतझ (ERASOFT Software) मार्फत भर्ना भएका २१० जना विद्यार्थीको नाम भर्ना सूचिबाट क्यान्सिल गरेको वा हटाएको तथा आर्थिक वर्ष २०७९/८० मा रु. ८,४५,५०५।– रकम हिनामिना भएको कुरा सार्वजनिक ग¥यो । आरोपितमध्येकी एक ईश्वरी रेग्मीले आफूले सो रकम हिनामिना गरेको स्वीकार गरेर सबै रकम फिर्ता गरिसकेको प्रशासनको भनाइ छ । ईश्वरी रेग्मीको स्वीकारोक्ति ठूला माछालाई बचाउने चाल भएको आशङ्का छ ।
भ्रष्टाचारमा क्याम्पस प्रमुख माधवप्रसाद खनाल पनि संलग्न भएको आशङ्का छ । उनैको अग्रसरतामा साउन ५ गते सहायक क्याम्पस प्रमुख ओमप्रकाश न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बन्यो । सो समिति विभिन्न पार्टीसम्बद्ध प्राध्यापक तथा कर्मचारीहरूलाई समेटेर बनाइएको थियो । समितिमा लेखा अधिकृत धर्मराज शाही पनि थिए । आफूमाथि पनि छानबिन हुने भएपछि उनले राजीनामा दिए । छानबिनको क्रममा समितिमाथि राजनैतिक दबाब परेपछि मानसिक तनावका कारण उक्त समितिले नै साउन २० गते राजिनामा बुझायो । साउन २३ गते रजिस्ट्रारको केन्द्रीय कार्यालयले लेखा अधिकृत धर्मराज शाही र आमदानी शाखाका पाँचौँ तहका लेखा सहायक ईश्वरी रेग्मी र विष्णु सुनारलाई निलम्बन ग¥यो ।
२०७७ असार २४ गते नियुक्ति लिएका क्याम्पस प्रमुख माधवप्रसाद खनाल भन्छन्, “क्याम्पसको वार्षिक आमदानीमात्रै औसत १ करोडभन्दा बढी हुन्छ । प्रत्येक वर्ष साउन–भदौमा अडिट हुन्छ । मङ्सिरतिर महालेखा परिक्षकले त्यसलाई पुनः चेकजाँच गर्छन् । क्याम्पस प्रमुख खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ११ विद्यार्थीको भर्ना गरिएको तर भर्ना शुल्कको रसिद नकाटी (वा सफ्टवेयरमा एन्ट्री नगरी) हिनामिना गरेको पाइएको थियो । क्याम्पसको साख जोगाउन त्यस घटनालाई हामीले मिलायौँ ।”
बैङ्कका कर्मचारीको गैरहाजिरी र आमदानी शाखाका कर्मचारीको लापरबाहीका कारण यस्तो समस्या आएको उनको भनाइ छ । कर्मचारी ईश्वरी रेग्मी डिप्रेसनका बिरामी छन् भने विष्णु सुनारलाई रक्सीको लत छ ।
यता लेखा प्रमुख धर्मराज शाही आफ्नो कारण घटना बाहिर आएकोले निलम्बनमा पारिएको बताउँछन् । घटना मिलाउन क्याम्पस प्रमुख र रजिस्ट्रार कार्यालयले निरन्तर दबाब दिएको तर आफूले नमानेपछि क्याम्पस प्रमुख र रजिस्ट्रार मिलेर निलम्बन गरेको उनको भनाइ छ । उनी थप भन्छन्, “खासमा लेखा सहायक ईश्वरी रेग्मीमाथि रकम हिनामिना तथा क्याम्पस प्रमुखमाथि त्यसलाई संरक्षण दिएको आरोप छ । विगत दुई आर्थिक वर्षमा करिब २० लाखभन्दा बढी रकम लेखाको आमदानी शाखाबाटै गायब भएको शाहीको दाबी छ ।”
अब के भन्ने ?
आन्तरिक स्रोत नभएको र शुल्क वृद्धि नगर्ने हो भने कार्यक्रम नै नचल्ने अवस्था रहेको भन्दै २०७९ माघ २८ गते क्याम्पस प्रशासन तथा अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, नेविसङ्घलगायत विद्यार्थी सङ्गठनबिच अगामी शैक्षिक सत्रबाट लागू हुने गरी शुल्कवृद्धि गर्ने सहमति गरेको क्याम्पसमा कसरी लाखौँ रकम भ्रष्टाचार हुन सम्भव भयो ? प्रत्येक विद्यार्थी र सरोकारवालाले यो प्रश्नको जवाफ खोजिरहेका छन् । प्रश्नको जवाफ दिनुको साटो बिरामी भएको बहाना बनाएर भ्रष्टाचार मुद्दा मिलाउन क्याम्पस प्रमुख माधवप्रसाद खनाल रजिस्ट्रार भेट्न काठमाडौँ गएको भन्ने आरोप विद्यार्थी सङ्गठनहरूले लगाएका छन् । शुल्कवृद्धि गर्ने निर्णयमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र सम्पूर्ण विद्यार्थीहरूले विरोध जनाएपछि क्याम्पस प्रशासनले अहिलेसम्म शुल्कवृद्धि गर्न सकिरहेको छैन ।
रजिस्ट्रारको केन्द्रीय कार्यालयले अवकाशप्राप्त सहआर्थिक नियन्त्रण प्रमुख चिरञ्जीवीप्रसाद थपलियाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति सुर्खेत पठाएको छ । उक्त समितिले साउन ३२ गतेदेखि छानबिन सुरु गरेको छ । थपलियाको नेतृत्वमा बनेको समितिले १० वर्षअघिसम्मको फाइल पल्टाउने म्यान्डेट पाएको र आफूसँग अनुसन्धानका लागि एक महिना वा भदौ ३० गतेसम्मको समयसीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दुई आर्थिक वर्ष (२०७९/८० र २०७८/७९) को छानबिन सकाइसकेका छौ । फरक नपरेको पाइएपछि मात्रै अनुसन्धान रोकिनेछ ।” छानबिन समितिमा थपलियासहित उपप्राध्यापक तथा प्रशासक खेमबहादुर पुलामी मगर, लेखा अधिकृत रेशम आचार्य र एक आइटी इन्जिनियर छन् ।
जानकारहरूका अनुसार सुर्खेत बहुमुखी क्याम्पसमा भर्नाको समयमा विभिन्न बहानामा शासक दलका विद्यार्थी एवम् शिक्षक सङ्गठनहरूले आन्दोलन गर्ने र क्याम्पस प्रशासनले जानाजान कानमा तेल हालेर बस्ने गरेको छ । यसबाट आन्दोलन गर्ने विद्यार्थी सङ्गठन र शिक्षकहरूले निजी क्याम्पसहरूसँग साँठगाँठ गरेको अनुमान छ । यस्ता गतिविधिले त्रिभुवन विश्वविद्यालय ध्वस्त हुने र विद्यार्थी सस्तो मूल्यमा पढ्ने अधिकारबाट वञ्चित हुने सरोकारवालाहरूको भनाइ छ । प्रदेशकै प्रसिद्ध क्याम्पस शैक्षिक माफियाको चङ्गुलमा पर्नु पिछडिएको कर्णालीको शैक्षिक उन्नतिका निम्ति शुभ सङ्केत भने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *