भर्खरै :

संरा अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवादको विरोध नगर्नेहरु वामपन्थी होइनन्–रोहित

भक्तपुर, ११ कात्र्तिक ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले दक्षिण एसियाको सन्दर्भमा संरा अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवादको विरोध नगर्ने राजनीतिक शक्ति वामपन्थी हुन नसक्ने बताउनुभएको छ ।
शनिबार नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भएको जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै उहाँले नेपालका माओवादी केन्द्र र एमालेले भारतीय बिस्तारवाद र संरा अमेरिकी साम्राज्यवादको विरोध नगरेकाले उनीहरु वामपन्थी शक्ति नभएको प्रष्ट बताउनुभयो ।
वामपन्थीको अर्थ सरकारका नीति कार्यक्रमको विपक्षमा उभिनु भए तापनि माओवादी केन्द्र आफै सरकारमा भएको र एमाले प्रतिपक्ष भएर पनि सरकारले अघि ल्याएका नीति कार्यक्रमको विपक्षमा मत नराखेका कारण दुवै दललाई वामपन्थी भन्न नसकिने उहाँको धारणा थियो । ‘संसद चलाउन आवश्यक गणपुरक सङ्ख्या पनि नपुगेको बखत विधेयक पारित गराउन मद्दत गर्ने एमाले र माओवादी केन्द्रलाई कसरी वामपन्थी भन्न सकिन्छ र ?’, अध्यक्ष रोहितले भन्नुभयो ।
एमाले र माओवादी केन्द्र साँच्चै कम्युनिष्ट हुँदा हुन् त आफू सरकारमा हुँदा किसान र मजदुरको दीर्घकालीन हितका लागि ऐन कानुन बनाउनु पर्ने तर नबनाएको, शिक्षा र स्वास्थ्य निःशुल्क र अनिवार्य नगरेको विचार राख्दै बिजुक्छेंले नेपालका कतिपय कम्युनिष्ट भनिएका पार्टीहरु भारतीय विस्तारवादबाट किनिएको बताउनुभयो ।
उहाँले वर्षौं वर्ष संसदीय दलको बैठक समेत बस्न नसकेको काङ्ग्रेस लोकतान्त्रिक पार्टी हुन नसक्ने धारणा प्रस्तुत गर्दै क्षेत्रीय, धार्मिक अनुदारवादी, साम्प्रदायिक, सामन्तहरुका पार्टीहरु समेटिएको कथित लोकतान्त्रिक गठबन्धन लोकतान्त्रिक नभएको बताउनुभयो ।
नेमकिपाले चुनावलाई जनताबीच राजनीतिक विचार प्रचार गर्ने र सचेत बनाउने अभियानको रुपमा उपयोग गर्ने नीतिबारे प्रष्ट पार्दै अध्यक्ष रोहितले क्रान्तिका लागि संसदलाई उपयोग गर्ने र संसदभित्र पनि देश र जनताको विरोधमा ल्याइएका ऐन कानुनविरुद्ध सङ्घर्ष गर्ने नीति क्रान्तिकारी संसदवादी नीति भएको विचार राख्नुभयो ।
उहाँले नेपालको कम्युनिष्ट आन्दोलनभित्र पसेका पूँजीवादी विचारका पक्षधर नेता र कार्यकर्ताविरुद्ध सङ्घर्ष गर्नु पर्ने विचार राख्नुभयो ।
अध्यक्ष बिजुक्छेंले भेटाए जति खान नछोड्ने शासक दलहरु अघोरी बाबा चरित्रका भएको बताउनुभयो ।
उहाँले एमाले, काङ्ग्रेस र माओवादी केन्द्रका नेताहरुमध्ये एक चौथाई नेताहरु भारतीय शासक वर्गबाट परिचालित भएको धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले मदन भण्डारीको हत्या विरुद्ध आन्दोलन गरेका एमालेका नेताहरु आफू सरकारमा जाँदा समेत भण्डारीका हत्यारा पत्ता लगाउन नसकेको विचार राख्नुभयो ।
पञ्चायतकालका अपराधी र पञ्चहरुलाई एक एक गरी पैसा लिंदै काङ्गे्रस र एमालेले पार्टी भित्र्याएका कारण नेपालमा २०४६ सालपश्चात राजनीतिक विकृतिक बढेको धारणा राख्दै वाम र लोकतान्त्रिक गठबन्धन दुवै भारतीय दलालहरुको गठबन्धन भएको धारणा राख्नुभयो ।
उहाँले प्रधानमन्त्रीले जिम्मेवारीबाट हटाइसकेका माओवादी केन्द्रका मन्त्रीहरु सरकारमा बसेर अझै भत्ता पचाइरहनु राजनीतिक अनैतिकता भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले चिनियाँ कम्युनिष्ट पार्टी अनुशासनमा दिइरहेको जोडबारे प्रकाश पार्दै पार्टी अनुशासन पार्टीको विकासका लागि मात्र नभई देशको रक्षाका लागि पनि उत्तिकै महत्वपूर्ण हुने विचार राख्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको भेलामा नारायणबहादुर दुवाल र नीरज लवजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *