जीवनको विश्वविद्यालय, दुःखको कसी र चेतनाको रूपान्तरण
- कार्तिक १, २०८३
पाठेघरको मुखको क्यान्सर
चौधदेखि १५ वर्ष उमेरका किशोरीहरूलाई सातै प्रदेशका एक–एक अस्पतालबाट भदौ २७ गतेदेखि एचपीभी खोप दिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपीभी नामक भाइरसविरुद्ध उक्त खोप दिन लागिएको हो ।
नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा छ भने महिला र पुरुष दुवैको गणना गर्दा पनि फोक्सोको क्यान्सरपछि दोस्रो स्थानमा छ । पाठेघरको क्यान्सर प्रायः ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) का कारण हुने बताइन्छ । तर, यसलाई खोपले रोकथाम गर्न सकिने क्यान्सर मानिन्छ ।
“त्यसैले रोगको भारका कारण यसलाई राष्ट्रिय खोप कार्यक्रममै राख्ने योजनामा हामी छौँ । तर, अहिले खोपको उपलब्धता सीमित भएको हुनाले प्रारम्भिक चरणमा थोरै सङ्ख्यामा लगाउन लागेका हौँ,” खोप अभियानको सञ्चालक निकाय परिवार स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले भने ।
कति खोप उपलब्ध छ ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अनुमति दिएको तथा चीनमा उत्पादित केकोलिन नामक खोपको २०,००० मात्रा अहिले नेपाल सरकारले लगाइदिन लागेको डाक्टर लालले जानकारी दिए ।
“यो खोप दुई मात्रा दिनुपर्छ अनि केही खेर जाला भनेर घटाउँदा यसपालि हामीले यो झन्डै ९,५०० किशोरीहरूलाई मात्र दिन सक्छौँ,” उनले भने ।
तर, डब्ल्यूएचओले सन् २०३० सम्म न्यून आय भएका मुलुकहरूमा एचपीभी खोपको पहुँच ९० प्रतिशत पु¥याउने भनिरहेको सन्दर्भमा नेपाल सरकारले आगामी वर्षबाट गाभीजस्ता खोपका विश्व संस्थाहरूको सहयोगमा पर्याप्त सङ्ख्याको व्यवस्था गरेर नियमित अभियान चलाउन चाहेको उनले बताए ।
खासगरी १०–१५ वर्ष उमेरका किशोरीहरूलाई विद्यालयकेन्द्रित खोप अभियान चलाउन चाहेको उनले बताए ।
“हाम्रो जनसङ्ख्याको पछिल्लो विवरणअनुसार हामीलाई १६–१७ लाख खोप आवश्यक पर्छ । सुरुका वर्षमा धेरै चाहिए पनि पछि नियमित अभियानमा बर्सेनि साढे तीनदेखि साढे चार लाख खोप चाहिने हुन्छ । तर, यो अलि महँगो र थोरैमात्र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भएकाले हामीलाई चुनौती छ,” डा. लालले बताए ।
नेपालमा क्यान्सरका बिरामी कति ?
क्यान्सर रोगको निदान र उपचारमा हुने खर्च, यसको मृत्युदर र त्यसले दिने कष्टका कारण घरपरिवार र देशकै लागि ठूलो भारको विषय हो ।
क्यान्सरसम्बन्धी तथ्यका लागि सबभन्दा विश्वसनीय मानिने ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण ग्लोबोक्यान २०२० ले नेपालमा उक्त वर्ष क्यान्सरका २०,५०८ नयाँ बिरामी भेटिएको जनाएको छ ।
तीमध्ये सबभन्दा धेरै फोक्सोको क्यान्सर २,५०५ जनामा अनि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर २,२४४ जनामा भेटिएको जनाइएको छ ।
पाँच वर्षदेखिको सङ्ख्या हेर्दा सन् २०२० मा नेपालमा क्यान्सर पीडितको सङ्ख्या ३६,९०६ रहेको र सो वर्ष क्यान्सरबाट १३,६२९ जनाले ज्यान गुमाएको ग्लोबोक्यान २०२० प्रतिवेदनमा उल्लेख छ ।
“पाठेघरको मुखको क्यान्सरलाई खोपले धेरै हदसम्म रोक्न सकिन्छ । त्यसैले सरकारले यो खोप अभियान थाल्नु स्वागतयोग्य कुरा हो । यो खोप प्रभावकारी भएकै कारण धेरै देशले एचपीभी खोपलाई राष्ट्रिय कार्यक्रममा राखिसके,” नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रका कार्यकारी अध्यक्ष एवं मेडिकल क्यान्सरविज्ञ डा. सुदीप श्रेष्ठले बताए ।
“तर, खोपका साथसाथै नियमित चेकजाँचको विषय पनि उत्तिकै महत्वपूर्ण छ । समयमै पत्ता लगाउन सकिए यो क्यान्सर ८०–९० प्रतिशत निको हुन्छ,” उनले भने ।
‘प्याप स्मिअर’ भनिने परीक्षण तथा भाइरसको परीक्षणजस्ता माध्यमबाट यो रोग पत्ता लाग्छ ।
एचपीभी खोपले कसरी क्यान्सरबाट जोगाउँछ ?
एचपीभी खोपले कैयौँ प्रकारका एचपीभी भाइरसबाट जोगाउँछ ।
तीमध्ये पाठेघरको मुखमा हुने क्यान्सर गराउने लगभग सबै भाइरस तथा मलद्वारको क्यान्सर गराउने अधिकांश अनि जननेन्द्रिय तथा टाउको र घाँटीको क्यान्सर गराउने केही भाइरस पर्छन् ।
अध्ययनहरूले खोपले एचपीभी सङ्क्रमणबाट कम्तीमा १० वर्ष जोगाउने देखाएका छन् । यद्यपि, विज्ञहरू खोपले अझ लामो समय सुरक्षा दिने ठान्छन् ।
एउटा महत्वपूर्ण अध्ययनले एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरलाई ९० प्रतिशतसम्म घटाइदिन प्रभावकारी भएको उल्लेख गरेको छ ।
सन् २००८ मा इङ्गल्यान्डमा किशोरीहरूमा यो खोप लगाउन थालिएपछि के भयो भनेर गरिएको उक्त अध्ययन ‘द लान्सिट’ जर्नलमा प्रकाशित भएको थियो ।
कसलाई दिन मिल्छ एचपीभी खोप ?
एचपीभी भाइरससँग संसर्गमा आउनुभन्दा अगावै किशोरकिशोरीलाई दिँदा यो खोप सबभन्दा प्रभावकारी हुने मानिन्छ ।
किनभने खोपले सङ्क्रमण हुनबाट मात्र जोगाउने हो । यदि उक्त भाइरस कसैको शरीरमा पहिलेदेखि नै छ भने यसले त्यसलाई शरीरबाट हटाइदिन सक्दैन ।
त्यसैले यो खोप यौनिक क्रियाकलापमा संलग्न हुनुअगावै किशोरकिशोरीहरूलाई दिनु उपयुक्त हुन्छ ।
पुरुषहरूको शरीरमा पनि यो भाइरस हुने भए पनि अधिकांशमा यसको कुनै लक्षण देखिँदैन । कसैकसैलाई चाहिँ मुसा आउने वा कुनै किसिमको क्यान्सर हुनसक्छ ।
के हो एचपीभी ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) सानो र सामान्य डीएनए भाइरस हो । यसमा बाहिरी ‘खोल’ हुँदैन । यसले प्रायः छाला र म्युकोसल कोशिका अर्थात् शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ ।
यो भाइरसका पनि १०० भन्दा बढी प्रकार छन् । सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन – कुनै कुनैले भने शरीरमा ‘मुसा’ उत्पन्न गराउँछ ।
त्यस्तो मुसा हात, खुट्टा, जननेन्द्रिय वा मुखको भित्री भागमा देखा पर्न सक्छन् ।
अधिकांश मानिसहरूले भने यसको सङ्क्रमण भएको चाल पाउँदैनन् र उनीहरूको शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ ।
तर, उच्च जोखिमयुक्त एचपीभीले भने तन्तुहरूमा अस्वाभाविक वृद्धि गराइदिन सक्छ जसले क्यान्सरसमेत हुनसक्छ ।
कसलाई एचपीभी सङ्क्रमण हुन्छ र के यो यौन सम्पर्कबाट सर्छ ?
यो भाइरस निकै सङ्क्रामक हुन्छ र सजिलै सर्ने सम्भावना हुन्छ । यो निकट सम्पर्कमा पुग्दा छालाबाट छालामा सरिहाल्छ ।
पच्चीस वर्षको उमेर पुग्दै गर्दा ८० प्रतिशत मानिसहरू यसको संसर्गमा पुगिसक्छन् ।
धेरैजसो मामिलामा मानिसहरू १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित भइरहन्छन् ।
अन्य यौन रोगजस्तो यो खासमा यौन सम्पर्कबाट सर्ने रोग त होइन तर पनि यौन सम्पर्कको बेला हुने निकट स्पर्शजस्ता कारणले यो सर्छ ।
एचपीभी खोप अरू देशमा पनि दिइन्छ ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट हुने ९० प्रतिशतजति मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।
यी देशहरूमा लक्षणहरू प्रकट भइसक्दा वा क्यान्सर धेरै फैलिसकेपछि मात्र बिरामीहरूमा पाठेघरको मुखको क्यान्सर भएको पहिचान हुने गर्छ ।
गत वर्ष डब्ल्युएचओले यो शताब्दीभित्र यो रोग उन्मूलन गर्ने उद्देश्यका साथ सन् २०३० भित्र एचपीभी खोपको पहुँच ९० प्रतिशत बनाउने योजना ल्यायो ।
एक सत्न्दा धेरै देशहरूले यसको खोप अभियान थालिसकेका छन् ।
तर, सन् २०२० सम्ममा न्यून आय भएका मुलुकहरूमध्ये २५ प्रतिशतले मात्र यो खोप लगाउन थालेका छन् जबकि उच्च आय भएका मुलुकहरूमध्ये ८५ प्रतिशतले यो थालिसकेका छन् ।
एचपीभी खोप लगाइसकेपछि पनि महिलाहरूले परीक्षण गर्नुपर्छ ?
पर्छ ।
यो खोपले पाठेघरको मुखको क्यान्सरलाई निकै हदसम्म रोके पनि यसले सबै प्रकारका एचपीभीबाट जोगाउँदैन ।
त्यसैले २५ वर्षको उमेर भइसकेका महिलाहरूले यसको नियमित परीक्षण गराउनु जरुरी हुन्छ ।
बीबीसी न्यूज नेपाली युट्युबमा पनि छ । हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस् । तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ । अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमबारदेखि शुक्रबारसम्म सुन्न सक्नुहुन्छ ।
– ‘बीबीसी न्युज नेपाली’ बाट
Leave a Reply