अल्गोरिदम र एआई – डिजिटल युगमा पुँजीवादको नयाँ हतियार
- आश्विन २३, २०८३
मानिसको लागि पुँजी वा पैसा चाहिन्छ । बाँच्नको लागि पैसा चाहिन्छ तर पैसाको लागि बाँच्ने होइन । तर, पुँजीवादले त्यसो भन्दैन र सिकाउँदैन । नाफा, घाटाको मात्र हिसाब हुन्छ । पैसामा अन्धो मान्छेले पैसालाई सबथोक मान्छन् । पैसालाई प्राण ठान्ने मानिसले आफ्नो जीवन त्यही पैसामा सिध्याइदिन्छन् । उनीहरूले पैसाबाहेक आफ्नो जहान, छोराछोरी, दाजुभाइ, आफन्त, समाज तथा देश कसैलाई चिन्दैनन्, देख्दैनन् । यस्ता विकृतिहरू बढी ब्याजको लोभमा पैसा राखेको ओरेन्टलजस्ता वित्तीय संस्था, सहकारी संस्थाका सञ्चालकहरू भाग्दा देखियो । त्यही पैसा र सम्पत्तिको लोभमा आफूलाई जन्माउने, हुर्काउने, आफू नखाइकन मायाले खुवाउने आमा, बाबुलाई छोराछोरीले घरबाट निकाले । त्यस्ता सन्तानले वृद्ध आमाबुबालाई पाटी, वृद्धाश्रममा कोच्न लगे । यो पुँजीवाद अर्थात् आमाबुबालाई सम्पत्तिसँग तौलने, आमाबाबुभन्दा पैसालाई ठूलो र प्राण मान्दाको परिणाम हो ।
विश्वका गरिब देशहरूमा यहीँ पुँजीवाद र नवउदारवादले स्वास्थ्य उपचारलाई महँगो बनाए । स्वास्थ्य उपचार महँगो हुँदा पैसा हुनेले मात्र उपचार गर्न सक्छन् र गरे । तर, बहुसङ्ख्यक गरी खाने गरिब जनताले सिटामोल, जीवन जल पनि खान पाउँदैनन् । पैसाको अभावमा बाँच्ने आस हुँदाहुँदै मर्न बाध्य भएका छन् । नेपाली जनताले कोरोना कालमा हेरिसकेका छन् । पैसा भएकाले उपचार समयमा पाए तर गरिब जनताले समयमा उपचार पाएनन् । उनीहरू बाँच्ने, जिउने आशा हुँदाहुँदै प्राण त्याग गर्न बाध्य भए । सरकारले हिमाल, पहाड तथा तराईको गाउँठाउँमा उपयुक्त अस्पताल, स्वास्थ्य चौकी नबनाउँदा बहुमत नेपाली गरिब, अशिक्षित जनताले गुणस्तरीय उपचार समयमा पाएनन् । उनीहरू हप्तौँ, महिनौँ लगाएर काठमाडौँमा आएर उपचार गर्न बाध्य छन् । त्यसमा पनि पैसा नहुँदा आफ्नो मान्छे नहुँदा ठाउँ नपाएर भर्ना हुन सक्दैनन्, उनीहरूको उपचार हुँदैन । शल्यक्रिया समयमा हुँदैन । तर, शासक नेताहरू आफ्नो नेपाली जनताको रगत पसिना बगाई तिरेको करबाट, राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्न जान्छन्† निजी अस्पतालमा गएर उपचार गर्न जान्छन् त्यहाँ नेपाली गरिब जनताको औकात हुँदैन । यस्ता दुःख देख्ने नेताहरू सत्तामा गएपछि अन्धो हुन्छन् र सबै बिर्सछन् । उनीहरू बहुसङ्ख्यक गरिब जनताको दुःख, कथा र व्यथा हेर्दैनन्, देख्दैनन् ।
देशमा शिक्षा महँगो हुँदा धेरै नेपाली जनताका छोराछोरी पढाइ छोड्न बाध्य भएका छन् । देशमा सरकारी शिक्षालयको अवस्था नाजुक छ । त्यहाँ पढाउने शिक्षकहरू पनि दिन कटाउँछन् र माना पचाउँछन् । राम्रो पढाइ हुँदैन । शिक्षकको तन विद्यालयमा मन बाहिर हुन्छ अर्थात् पैसा बढी कमाउन धेरैभन्दा धेरै कक्षा थप्नेमा, सेयर कारोबार गर्नेमा, घर जग्गा खरीद बिक्री वा दलालको काममा, डलर आउने एनजीओ, आइएनजीओमा लाग्छन् तर समाज बनाउन, देश बनाउन र रक्षा गर्नतिर लागेका छैनन् भन्ने आरोप छ । उनीहरू पढाइको गुणस्तर बढाउन, राम्रो पढाउनतिर त्यति ध्यान दिँदैनन् । यसको मुख्य दोषी भनेको सरकार र शासक दलहरू हुन् । उनीहरू सरकारी विद्यालयको जागिर खान्छन् तर आफ्ना छोराछोरी, सन्तान निजी महँगो विद्यालयमा राख्छन् । त्यस्तै नेपाल सरकारको माना खाने, जागिर खाने उच्चस्तरका कर्मचारीहरू आफ्नो सन्तान सरकारी शिक्षालयमा नराखी निजी महँगा शिक्षालयमा राख्छन् र पढाउँछन् । वर्षमा लाखौँ नेपाली विद्यार्थीहरू पढाइको नाममा विदेसिरहेका छन् । ५०/६० अर्ब रूपैयाँ प्रतिवर्ष विदेसिरहेका छन् । यो नेपाली माटो चिन्ने शिक्षा नहुँदा, विदेशीले सहयोगको नाममा थोपरेको शिक्षा नीतिले गर्दा नेपालको अवस्था कङ्गाल भएका छन् । यहीँ रफ्तारमा विद्यार्थीहरू विदेसिएमा केही दशकपछि सरकारी विद्यालय र क्याम्पसहरू रितिन सक्ने, बन्द हुने चिन्ता शिक्षाविद्हरूले व्यक्त गर्न थालेका छन् । आफ्नो सन्तान सरकारी विद्यालय, क्याम्पस, विश्वविद्यालयमा पढ्दैनन् । ती सरकारी शिक्षालयको गुणस्तर कसरी माथि उठ्न सक्छ ? कुनै देशलाई ध्वस्त पार्नु छ भने त्यहाँ लामो दूरीसम्म मार हान्न सक्ने मिसाइल वा एटम बमको आवश्यकता पर्दैन । त्यस देशको शिक्षाको स्तर गिराइदिए पुग्छ भनेर नेल्सन मन्डेलाले त्यसै भनेका होइनन् ।
यहीँ पुँजीवादले नेपालका खाती कम्युनिस्ट भनिएका कम्युनिस्ट पार्टी र त्यसका नेता, कार्यकर्ताहरूलाई नैतिकरूपमा पतन गराएको छ । उनीहरू हिजो नेपाली गरिब जनतालाई मीठो सपना बाँड्थे । हाम्रो सत्ता आएपछि, हाम्रो सरकार आएपछि सबैले निःशुल्क शिक्षा स्वास्थ्य, आवास रोजगार पाउनेछन्; काठमाडौँका ठूला ठूला, राम्रा घर बङ्गलाहरू हाम्रो हुनेछन्, त्यसका मालिक, घरधनी हामी हुनेछौँ, जमिनदारको जमिन हाम्रो हुनेछ भनी झूटा सपना बाँडेर पटक पटक सरकारमा गए तर केही भएन । ती आश्वासनहरू सपना भए । यसरी पुँजी, सत्ताको भोकले, लोभले कम्युनिस्ट पार्टीहरू, नेता कार्यकर्ताहरू पतन भए । यसले उनीहरूलाई सरकारबिना, सत्ताबिना बाँच्न नसक्ने अवस्थामा पु¥याएको छ ।
अमेरिकी साम्राज्यवादको विरोधमा, पुँजीवादको विरोधमा देशमा कम्युनिस्ट व्यवस्था ल्याउन, समाजवाद ल्याउन, बहुमत गरिब जनताको निःशुल्क सेवा गर्न, उनीहरूको हक, अधिकार, स्थापति गर्न हिजो ज्यान हत्केलामा राखेर सङ्घर्ष गर्ने नेताहरू आज त्यसैमा डुबेका छन् । गन्हाएको फोहर पानीमा पौडी खेलेको हुँदा उनीहरूको शरीरमात्र होइन हेराइ, बोलाइ र विचार गन्हाएको छ । उनीहरू सबै पुँजीवादको गुलियो चास्नीमा डुबेका छन् । उनीहरू साम्राज्यवादी र पुँजीवादी देशका गुलाम बनेका छन् । उनीहरू हजारौँ वर्षको गौरवशाली इतिहास बोकेको चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झन्डा फेर्न तयार भएका थिए ।
पुँजीवादले नेपालको विश्वको २/३ प्रतिशत मात्र मानिसलाई धनी र सम्पन्न बनाउँछ भने बाँकी ९७/९८ प्रतिशत जनता गरिब बनाएको तथ्याङ्कले देखाएको छ । यही पुँजीवादले देश कङ्गाल बनाएको कारण ७०/८० लाख युवाहरूलाई विदेशीको नोकर, दास सरह विदेशमा काम गर्न बाध्य छन् । शिक्षामा नवउदारवादका कारण हरेक वर्ष देशका भविष्यका कर्णधार लाखौँ विद्यार्थीहरू अध्ययनको नाममा विदेसिएका छन् । यसका कारक यहाँका दलाल सरकार, शासक दलालहरू हुन् । यही पुँजीवादका कारण देशको अर्थतन्त्र उकास्न, आत्मनिर्भर बन्न मित्र देशहरूले बनाइदिएका उद्योग, कारखानाहरू कौडीको मूल्यमा व्यक्तिलाई बेचिदिएका छन् । यो पुँजीपतिवर्ग पोस्ने काम हो ।
Leave a Reply