यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अङ्ग्रेजी चिन्तक सी ई एम जोडले भनेका थिए,‘समाजवाद त्यस्तो एउटा टोपी जस्तै भयो जसलाई सबैले लगाउँदा–लगाउँदा त्यसको मुल आकार नै बिग्रिसकेको छ ।’ समकालीन नेपालको लागि जोडको यो भनाई निकै सान्दर्भिक बनेको छ । एकातिर एमाले र माओवादी केन्द्र ‘समाजवाद’ स्थापना गर्न ‘वाम एकता’ को औचित्य पुष्टि गर्न लागेका छन् । मङ्गलबार नेपाली काङ्ग्रेसले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा पनि ‘समाजवाद’ कै चर्चा गरिएको छ । तर व्यवहारमा ती तीनै दलहरुले नेपालमा पूँजीवादी व्यवस्थालाई संस्थागत गरे ।
२०४६ सालपश्चात सबभन्दा बढी सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले ग¥यो । नेपालमा नवउदार अर्थव्यवस्थाको लागि सबभन्दा बढी मिहिनेत गर्ने दल नेपाली काङ्ग्रेस हो । उसैका सरकारले सरकारको स्वामित्वमा भएका कलकारखानाहरु कौडीको मोलमा निजीकरण गरिए । शिक्षा–स्वास्थ्य, खानेपानीजस्ता जनताका दैनिक जीवनसँग गाँसिएका क्षेत्रहरुसमेत निजी पूँजीको नाफा नोक्सानको क्षेत्रमा रुपान्तरण गर्ने कामका शुरुवात काङ्ग्रेसबाटै भएको थियो ।
एमाले र माओवादी केन्द्रले पनि पटक पटक सरकारको नेतृत्व गरे । तर तिनले पनि नेपाली काङ्गे्रसका सरकारभन्दा मौलिक रुपमा केही भिन्न काम गर्न सकेनन् । बरु नवउदार अर्थव्यवस्थाकै जगलाई बलियो बनाउन उनीहरुले मसला थपे । तसर्थ एमाले र माओवादी केन्द्र नामले भिन्न भए पनि नेकाँभन्दा कुनै पनि कोणबाट फरक छैनन् ।
आज ती तीनै दलहरुले समाजवादको कुरा गर्न थालेका छन् ।
आफ्नो हातमा सरकारको लगाम हुँदा पूँजीवादको भक्ति गर्ने अनि अहिले चुनावको मुखमा समाजवादको उच्चारण फेरि पनि जनतालाई झुक्याउने जालसाझी हो । सस्तो लोकप्रियताको भोक निधान गर्न मात्र उनीहरुले समाजवादको कुरा गरिरहेका छन् । तर वास्तवमा उनीहरु कुनै पनि मापदण्डका आधारमा पनि समाजवादी होइनन् । उनीहरु समाजवादी हुँदा हुन् त किन उनीहरुले आजसम्म समाजवाद स्थापनाको निम्ति किन कुनै सिन्को भाँचेका छैनन् । बरु किन उनीहरुले समाजवादको उल्टो बाटो हिंडे ?
नेपाली जनताले बुझ्नुपर्ने कुरा स्पष्ट छ, न नेकाँको समाजवाद सत्य हो न त एमाले–माओवादी केन्द्रको समाजवाद इमान्दार कथन हो । राजनीतिक दल एउटा निश्चित दर्शन र लक्ष्यका लागि स्थापना भएका हुन्छन् । ती शासक दलहरु साँचो अर्थमा समाजवादी बन्दोबस्त स्थापनाको लागि इमान्दार भएका भए किन आफ्नो हातमा कार्यकारी अधिकार भएर पनि, व्यवस्थापिकामा आफ्नो बलियो उपस्थिति भएर पनि समाजवादी बन्दोबस्तको झल्को दिने सम्म काम गर्न सकेनन् ? अथवा उनीहरुले त्यसो गर्न चाहेनन् ? तसर्थ उनीहरुले जतिसुकै समाजवादको कुरा गरे पनि उनीहरु समाजवादी होइनन् । उनीहरुको समाजवादको नारा या त झुठ हो वा त्यो पूँजीवादकै स्वरुप मात्र हो । उनीहरुले समाजवादको कुरा गर्दा गर्दै समाजवादको स्वरुप नै भत्काइसकेका छन् । नक्कली समाजवादीहरुदेखि होश पु¥याउनु बाहेक नेपाली जनतासँग अर्को बाटो छैन ।
Leave a Reply