भर्खरै :

मध्यपूर्वमा उत्तेजना फैलिनुमा अमेरिकी साम्राज्यवाद जिम्मेवार

मध्यपूर्वमा उत्तेजना फैलिनुमा अमेरिकी साम्राज्यवाद जिम्मेवार

हेटौँडा, २२ असोज । वाग्मती प्रदेशसभाको बैठक सोमबार बस्यो । बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले इजरायलमा हालै १० जना नेपालीहरू मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।
बैठकमा प्रदेश सांसद गोसाईले भन्नुभयो, “इजरायलको घटनामा १० जना नेपालीको मृत्यु भएको घटना र केही घाइते भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । मृतकहरूप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”
उहाँले तदारूकताका साथ उद्धार कार्य अगाडि बढाउन माग गर्दै विगत ७५ वर्षदेखि मध्यपूर्वमा युद्ध उत्तेजना फैलाइरहेको संरा अमेरिका वर्तमान परिस्थितिको निम्ति जिम्मेवार रहेकोले अमेरिकी साम्राज्यवादको विरोध तथा भत्र्सना गर्नुभयो ।
प्रदेश सांसद गोसाईले वाग्मती प्रदेश सरकारले ९ महिनासम्म पनि संसदीय समितिलाई पूर्णता नदिएकोमा विरोध गर्दै सरकारको कमजोर कार्यक्षमता उदाङ्गो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकार निरङ्कुशताको बाटो होइन प्रजातन्त्रको बाटोमा हिँडोस्; यही बुद्धिमानी हुनेछ ।”
संसदीय समितिको सङ्ख्या बढाएर भागबन्डा मिलाउने खेलप्रति नेमकिपाको तर्फबाट विरोध जनाउँदै प्रदेश सांसद गोसाईले भन्नुभयो, “नेमकिपा भागबन्डाको फोहरी खेलमा लाग्दैन । हामी अडिग छौँ । दलहरूलाई सुविधा बढाउने प्रस्तावप्रति पनि हाम्रो विरोध तथा विमति छ । हामी मितव्ययिता र नैतिकताको पक्षमा छौँ ।”
सोमबार बसेको वाग्मती प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पारित ग¥यो ।
वाग्मती प्रदेशसभाको सोमबारको बैठकको अन्त्यसँगै बजेट अधिवेशनको अन्त्य गरिने चर्चा छ ।

सुरेन्द्रराज गोसाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *